नेपालगन्ज। तीन सयभन्दा बढी धावक सहभागी तेस्रो राप्तीसोनारी नेचर रनमा स्वस्तिका शाही र टेकेन्द्र डाँगीले उपाधि जितेका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवामा शनिबार सम्पन्न १० किलोमिटर खुला दौडमा स्वस्तिका महिला र टेकेन्द्र पुरुषतर्फ विजेता बनेका हुन्।
महिलातर्फ रीता कुसारी दोस्रो र नन्दिता थारु तेस्रो भए। पुरुषतर्फ निराजन चौधरी दोस्रो र प्रशान्त तामाङ तेस्रो स्थानमा रहे।
पालिकास्तरीय विद्यालय छात्रतर्फ भविन्द्र बोहरा प्रथम, समिर थारु दोस्रो र विशाल यादव तेस्रो भए। छात्रातर्फ तीन किलोमिटर दौडमा रेणुका चौधरी प्रथम, अनुजा थारु दोस्रो र निस्मा थारु तेस्रो भए।
प्रतियोगिताका सबै विधाका शीर्ष तीन खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित पदक प्रदान गरिएको थियो।

जर्मनीमा बसोबास गर्दै आएका मदुवानिवासी पूर्वराष्ट्रिय खेलाडी तीर्थ ओलीको पहलमा धारा नेपालगन्ज म्याराथनको भगिनी दौडका रूपमा राप्तीसोनारी नेचर रन आयोजना हुँदै आएको छ। प्रतियोगिताका शीर्ष १० धावकले आगामी मंसिर १२ गते हुने धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणमा स्वतः सहभागिता जनाउन पाउने रेस डाइरेक्टर चन्द्र गुरुङले जानकारी दिए।
यसैबीच, आयोजित एक किलोमिटर वाकाथनमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा थारु, लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कृष्णा केसी नमुनालगायत करिब सय जनाले सहभागिता जनाएका थिए।
दौडको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले तेस्रो संस्करणदेखि गाउँपालिका र वडा नम्बर २ ले प्रतियोगिताको अपनत्व लिएको बताए। उनले प्रतियोगितालाई निरन्तरता दिन आवश्यक आधार तयार भएको उल्लेख गरे।
विजयी खेलाडीलाई पूर्वप्रदेशसभा सदस्य कृष्णा केसी, वडाध्यक्ष ज्ञानेन्द्र ओली र धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलगायतले पुरस्कार वितरण गरेका थिए।
















