२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

हृदयाघातबाट दैनिक १६ देखि १८ जनासम्मको मृत्यु हुने गरेकोमा ४० प्रतिशत ४५ वर्षमुनिका रहने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक, पहिला पाको उमेरका व्यक्तिमा बढी देखिने गरेको भए पनि अहिले युवाहरूमै समस्या ।जसले मुटुलाई ख्याल नगरी खानेकुरा खान्छ, निद्रा पुर्‍याउँदैन र भड्किलो जीवनशैली जिउँछ, त्यस्तालाई बढी हृदयाघातको डर हुन्छ ।

 

वरिष्ठ कलाकार सुनील थापा शनिबार बिहान मृत अवस्थामा भेटिए । चिकित्सकले थापालाई झुक्याउने किसिमको हृदयाघात भएको बताए । उनी ६८ वर्षका थिए । पोस्टमार्टम रिपोर्टले उनलाई ‘साइलेन्ट हार्टअट्याक’ भएको पुष्टि गर्‍यो । ‘साइलेन्ट हार्टअट्याक’मा बिस्तारै ब्लकेज बढ्दै जान्छ र अन्तिममा मृत्यु हुन्छ ।यस्तै, २७ पुसमा हृदयाघातकै कारण गायक तथा अभिनेता प्रशान्त तामाङको पनि ज्यान गएको थियो । दिल्लीस्थित आफ्नै निवासमा मृत्यु भएको उनलाई पनि ‘साइलेन्ट हार्टअट्याक’ भएको चिकित्सकहरूले बताए । उनी ४३ वर्षका थिए । पछिल्ला केही दिनको फरकमा दुई चर्चित कलाकारको मृत्युवरणको कारण बनेको हृदयाघातबाट दैनिक कैयौँले ज्यान गुमाएका छन्‌ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक हृदयाघात भएर १५ देखि २० जनालाई सरकारी अस्पताल ल्याउने गरिन्छ । त्यसमध्ये दैनिक १० देखि १२ जनाको मृत्यु हुन्छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हृदयाघात भएर निजी अस्पतालमा पुगेकामध्ये करिब पाँचदेखि ६ जनाको पनि दैनिक मृत्यु हुन्छ ।
यसरी सरकारी र निजी अस्पतालमा हृदयाघातबाट मृत्यु हुनेको तथ्यांक जोड्दा दैनिक १६ देखि १८ जनासम्मको मृत्यु हुन्छ । यसबाहेक कतिपय हृदयाघातका मृत्यु अस्पताललाई नै थाहा नहुने हुँदा यसको यकिन तथ्यांक अस्पतालको तथ्यांकले मात्रै नपुग्ने प्रवक्ता बुढाथोकीले बताए ।

‘हृदयाघातको एकीकृत तथ्यांक छैन । निजी अस्पतालहरूले सही रूपमा मन्त्रालयलाई रिपोर्टिङ नगर्दा ठ्याक्कै तथ्यांक यकिन गर्न कठिन भएको छ,’ प्रवक्ता बुढाथोकीले भने । नेपालमा मुटु तथा हृदयाघातका बढी बिरामी सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आउँछन्‌ । तर, केन्द्रले यहाँ आउनेमध्ये कतिलाई हृदयाघात हुन्छ तथ्यांक राखेको छैन । केन्द्रका कार्यकारी निर्देशक डा. रविसिंह मल्लले आफूसँग हृदयाघातको तथ्यांक नभएको बताए । ‘दैनिक पाँचदेखि आठ सयसम्म ओपिडीमा आउँछन्‌ । त्यसमा विभिन्न किसिमका मुटुसम्बन्धी समस्या भएका बिरामी हुन्छन्‌ । इमर्जेन्सीमा पनि सयजना हाराहारी बिरामी आउँछन्‌ । तर, हृदयाघात कतिमा हुन्छ भनेर तथ्यांक भन्न सक्दिनँ,’ उनले भने ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार अहिले हृदयाघात बढिरहेको छ र पहिला पाको उमेरका व्यक्तिमा बढी देखिने गरेको भए पनि अहिले युवाहरूमा बढी छ । उनले हृदयाघात हुनेमध्ये ४० प्रतिशत ४५ वर्षमुनिका हुने बताए । ‘युवाहरूमा आकस्मिक र झुक्याउने हृदयाघात हुन्छ,’ उनले भने, ‘समग्र आकस्मिक मृत्युको कारणमध्ये ७० प्रतिशत कारण हृदयाघात नै हो ।’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले जीवनशैली नै आकस्मिक र झुक्याउने हृदयाघात कारण हुने बताए । ‘पछिल्लो समय युवाहरूको जीवनशैली बिग्रिएको छ,’ उनले भने, ‘उनीहरूमा जंकफुड र धूम्रपान बढी भयो । मानसिक तनाव थपियो । उपचारमा पनि ध्यान नदिने बानी छ । यसले हृदयाघात बढ्यो,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार भागदौडको जीवनशैली अपनाउने सेलेब्रिटी होस् वा राजनीतिज्ञ, स्वास्थ्यमा ध्यान नदिने युवा होस् वा पाको उनीहरूमा हृदयाघातको सम्भावना बढी हुने बताउँछन्‌ ।

‘मूलतः जीवनशैली नमिल्नु तथा समयमै स्वास्थ्य परीक्षण नगर्नुलगायत कारणले हृदयाघात निम्त्याउने गर्छ । हामीले सेलेब्रिटी भन्छौँ, तर उहाँहरूको जीवनशैली झन् अस्तव्यस्त हुन्छ, त्यसकारण पनि हृदयाघात बढी हुन्छ,’ उनले भने, ‘त्यस्तै, राजनीतिज्ञलाई पनि हृदयाघातको सम्भावना बढी हुन्छ, त्यो भनेको जीवनशैलीका कारण हो । जसले मुटुलाई ख्याल नगरी खानेकुरा खान्छ, निद्रा पुर्‍याउँदैन र भड्किलो जीवनशैली जिउँछ, त्यस्तालाई बढी हृदयाघातको डर हुन्छ ।’
विश्व स्वास्थ्य संगठनको २०२५ को तथ्यांकअनुसार नेपालमा हृदयाघातबाट वार्षिक ३० हजार दुई सयको मृत्यु हुन्छ । उक्त अध्ययनले पनि ४० प्रतिशत युवालाई हृदयाघात हुने देखाएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले बताए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. रत्नमणि गजुरेलका अनुसार आधुनिक जीवनशैलीका कारण युवामा मुटुरोग उल्लेख्य रूपमा बढिरहेको छ । ‘नयाँ पुस्तामा असन्तुलित खानपानको प्रवृत्ति बढेको छ । जंकफुडको अत्यधिक सेवन, पोषिलो आहारप्रति बेवास्ता र शारीरिक निष्क्रियताले नसर्ने रोगको जोखिम बढाएको छ, जसको प्रत्यक्ष असर मुटुमा परेको छ । पछिल्ला वर्षहरूमा कम उमेरमै हृदयघात हुनेको संख्या बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ,’ उनले भने, ‘निकोटिनजन्य पदार्थको प्रयोग, धूम्रपान तथा अत्यधिक मद्यपानले मुटुको रक्तनलीमा प्रतिकूल असर पार्छ । त्यस्तै, उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोलजस्ता दीर्घकालीन रोगले पनि मुटुरोगको जोखिम थप बढाउँछन्‌ ।’
कसरी हुन्छ हृदयाघात ?

हाम्रो मुटुमा मुख्यतः तीनवटा नसा हुन्छन्‌ । तीमध्ये दुईवटा नसा दायाँबायाँ र एउटा नसा बिचमा हुन्छ । त्यो बिचको नसा ‘ब्लकेज’ भयो भने ठुलो हृदयाघात हुन्छ । यस्तो अवस्थामा बचाउन निकै कठिन हुन्छ । दायाँबायाँका दुई रक्तनली हुन्छन्‌ । ती नलीमा पनि दुईवटा स–साना नसा हुन्छन्‌ । ती नसाहरू ‘ब्लक’ भए हृदयाघात हुन्छ । यी दुई रक्तनली ब्लक भएको समयमै थाहा भएन भने मृत्यु हुन्छ । हृदयाघात हुनु भनेको मुटुको धड्कन बन्द हुने अवस्था भएकाले यो अवस्थामा बिरामी धेरैबेर बाँच्न सक्दैन । समयमै थाहा भएका सीमित बिरामी मात्रै अस्पतालमा पुगेर बाँचेका हुन्छन्‌ ।

मुटुरोगबाट कसरी जोगिने ?

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेल भन्छन्,
मुटुरोग विश्वव्यापी रूपमा बढ्दो महामारीजन्य समस्या बनिरहेको छ, जसमा हृदयाघातको दर विशेषगरी तीव्र रूपमा बढिरहेको छ । समयमै सतर्कता अपनाए धेरै हदसम्म यसबाट जोगिन सकिन्छ । मुटुरोगको जोखिम कम गर्न नियमित स्वास्थ्य परीक्षण अत्यावश्यक छ । विशेषगरी परिवारमा मुटुरोगको इतिहास भएमा समय–समयमा जाँच गरिरहनु झन् महत्वपूर्ण हुन्छ । सन्तुलित र पोषिलो आहार, नुन र बोसोको सीमित प्रयोग, नियमित शारीरिक व्यायाम तथा सक्रिय जीवनशैलीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

दीर्घकालीन रोग– जस्तै, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्नु अनिवार्य छ । धूम्रपान र मद्यपान मुटुरोगका प्रमुख जोखिम कारक छन्‌ । अध्ययनअनुसार धूम्रपान र अत्यधिक मद्यपान गर्ने व्यक्तिमा मुटुरोगको जोखिम करिब ३० प्रतिशतसम्म बढी हुन्छ । जन्मजात वा वंशाणुगत मुटुरोग भएमा अझ बढी सचेतता आवश्यक छ । स्वस्थ जीवनशैली, नियमित जाँच र समयमै उपचार नै मुटुलाई सुरक्षित राख्ने मुख्य आधार हुन् ।

नेपालगन्ज, फागुन ४ बाँके जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा अभियान औपचारिकरूपमा सुरु गरिएको छ । मतदाता सचेतना अभिवृद्धि गर्ने र बदर मत न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाँके ले जनाएको छ ।जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाका आठवटै स्थानीय तहबाट एक/एकजना अधिकृत तहका कर्मचारीलाई तालिम प्रदान गरिएको छ । तालिमप्राप्त अधिकृतहरूले आआफ्ना पालिकामा स्वयम्‌सेवकहरूलाई प्रशिक्षण दिएका छन् ।

आइतबारदेखि जिल्लाभर औपचारिकरूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेका ८१ वटै वडामा एक/एकजना स्वयम्‌सेवक परिचालन गरिएको छ । जिल्लामा रहेका स्थानीय तहअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका मा २३ वडा, कोहलपुर नगरपालिका मा १५ वडा, राप्तीसोनारी गाउँपालिका मा ९ वडा, नरैनापुर गाउँपालिका मा ६ वडा, डुडुवा गाउँपालिका मा ६ वडा, जानकी गाउँपालिका मा ६ वडा, बैजनाथ गाउँपालिका मा ८ वडा र खजुरा गाउँपालिका मा ८ वडा रहेका छन् ।

कार्यालयका अनुसार स्वयंसेवकहरूले गाउँबस्तीमा पुगेर नमूना मतपत्रमार्फत सही तरिकाले मत संकेत गर्ने अभ्यास गराउने छन् । मतदानका दिन आवश्यक कागजात के–के लैजानुपर्छ, मतपत्रमा हुने सामान्य त्रुटि कसरी सच्याउने, र मत खेर नजाने गरी कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी दिइनेछ । ‘यस कार्यक्रमको मुख्य उद्देश्य बदर मत घटाउने नै हो,’ जिल्ला निर्वाचन अधिकारी शाहीले बताए ।

बाँकेमा तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल मतदाताको संख्या तीन लाख ५० हजार ३७१ रहेको छ । १३९ मतदान केन्द्र र ४०० मतदान स्थल निर्धारण गरिएका छन् । साथै, हालसम्म दुई हजार ३३८ जना अस्थायी मतदाता दर्ता भइसकेका छन् ।

पछिल्ला निर्वाचनहरूमा बदर मतको संख्या उल्लेख्य देखिएपछि यसपटक मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको हो । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन मतदाता शिक्षा महत्वपूर्ण आधार मानिन्छ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी गराएर सहभागिता वृद्धि गर्नुका साथै मतको वैधता सुनिश्चित गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा स्वयंसेवकहरू घरदैलो तथा सामुदायिक भेला मार्फत मतदातासम्म पुग्नेछन् । जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई सचेत, जिम्मेवार र सक्रिय रूपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।

उम्मेदवार बिष्टले भ्रष्टाचारमुक्त शासनका लागि ‘शून्य सहनशीलता’को नीति लागू गर्दै सरकारी सेवा क्षेत्रमा पूर्ण पारदर्शिता सुनिश्चित गर्ने घोषणा गरेका छन् । मालपोत, भन्सार, नक्सा पास र राजस्व संकलनलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा ल्याइनेछ । डिजिटल उजुरी प्रणालीमार्फत उजुरीकर्ताको पूर्ण गोपनीयता सुनिश्चित गरिनेछ भने वडा र टोलस्तरमा अनिवार्य सार्वजनिक सुनुवाइ गरिनेछ ।

 

नेपालगन्ज, फागुन ४ नेपाली कम्युनिस्ट पार्टी बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्जलाई प्रविधिमैत्री, भ्रष्टाचारमुक्त र समावेशी शहर बनाउने लक्ष्यसहित विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । होटल ग्यालेक्सी दरबारमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारमुक्त शासन, डिजिटल सेवा, आर्थिक सशक्तिकरण, बाढी व्यवस्थापन, पर्यटन र सामाजिक समावेशिता जस्ता विषयमा स्पष्ट योजना प्रस्तुत गरे ।

उम्मेदवार बिष्टले भ्रष्टाचारमुक्त शासनका लागि ‘शून्य सहनशीलता’को नीति लागू गर्दै सरकारी सेवा क्षेत्रमा पूर्ण पारदर्शिता सुनिश्चित गर्ने घोषणा गरेका छन् । मालपोत, भन्सार, नक्सा पास र राजस्व संकलनलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा ल्याइनेछ । डिजिटल उजुरी प्रणालीमार्फत उजुरीकर्ताको पूर्ण गोपनीयता सुनिश्चित गरिनेछ भने वडा र टोलस्तरमा अनिवार्य सार्वजनिक सुनुवाइ गरिनेछ । भ्रष्टाचारमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन र कानुनी कारबाही अघि बढाइने, साथै राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन् ।

नेपालगन्जलाई नवप्रवर्तन र प्रविधिमैत्री सेवा हबको रूपमा विकास गर्ने योजना बिष्टले सार्वजनिक गरेका छन् । यस अन्तर्गत सबै सरकारी शुल्क र कर भुक्तानी डिजिटल प्रणालीबाट हुनेछन् भने ‘फाइल कहाँ रोकियो’ भन्ने अनलाइन ट्र्याकिङ प्रणाली लागू गरिनेछ । उच्च गतिको इन्टरनेटसहित टेक पार्क र इनोभेसन सेन्टर स्थापना गरिनेछ । युवालाई कोडिङ, डिजिटल मार्केटिङ र फ्रिल्यान्सिङ तालिम प्रदान गरिनेछ भने बेरोजगार युवाका लागि उत्पादनमूलक स्वरोजगार कार्यक्रम सञ्चालन हुनेछ । बिना धितो सस्तो ब्याजमा स्टार्टअप कर्जा उपलब्ध गराउने योजना समेत प्रस्तुत गरिएको छ ।

डुडुवा र नेपालगन्जमा प्रत्येक वर्ष दोहोरिने बाढी समस्यालाई स्थायी समाधान गर्ने योजना बिष्टले अघि सार्दै राप्ती नदीमा वैज्ञानिक तटबन्ध निर्माण गर्ने बताएका छन् । बगर क्षेत्रमा व्यावसायिक तरकारी खेती प्रवद्र्धन गरिनेछ र स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गरिनेछ । अव्यवस्थित बसोबास र भूमिहीन सुकुम्बासी समस्याको नीतिगत समाधान पनि यसै योजनामा समावेश गरिएको छ ।

पर्यटन र धार्मिक क्षेत्रलाई प्रवद्र्धन गर्दै बिष्टले लुम्बिनी–नेपालगन्ज पर्यटकीय सर्किट सुदृढीकरणमा पहल गर्ने बताएका छन् । कम्दी–बालापुर क्षेत्रमा बुद्धकालीन पुरातात्विक खोज तथा अनुसन्धानको लागि लुम्बिनी विकास कोष र नेपाल सरकारसँग समन्वय गरिनेछ । बागेश्वरी मन्दिरलाई ‘स्मार्ट बागेश्वरी’ का रूपमा विकास गर्दै डिजिटल दान प्रणाली र व्यवस्थापन सुधार गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

सामाजिक सद्भाव र समावेशिताको दृष्टिकोणमा नेपालगन्जलाई सबै जात–जाति, धर्म, भाषा र संस्कृतिका अगुवासहित उच्चस्तरीय संवाद संयन्त्र गठन गर्ने योजना बिष्टले अघि सारेका छन् । अफवाह नियन्त्रण र विवाद समाधानका लागि पनि संयन्त्र निर्माण हुनेछ । युवाका लागि सस्तो ब्याजयुक्त स्टार्टअप फण्ड, महिलाका लागि घरमै स्वरोजगार तालिम र उत्पादनलाई बजारसँग जोड्ने निश्चित खरिद व्यवस्था तथा नीति निर्माण तहमा समानुपातिक सहभागिता सुनिश्चित गर्ने योजना समेत प्रस्तुत गरिएको छ ।
मातृ–शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिइने, प्रशासनिक समस्या डिजिटल माध्यमबाट समाधान हुने, लागूऔषध नियन्त्रणका लागि आपूर्ति स्रोत बन्द गर्ने र पुनर्स्थापना कार्यक्रम विस्तार गर्ने योजना पनि बिष्टले सार्वजनिक गरेका छन् ।

विद्यालय लक्षित कार्यक्रममार्फत विद्यार्थीहरूलाई लागूऔषधको असरबारे सचेत गराइनेछ । विद्युत वितरण प्रणाली सुधार, सीमा क्षेत्रमा प्रविधि प्रयोग गरेर वैध व्यापार र आवतजावत सहज बनाउने, बालबालिका तथा वातावरणमैत्री पार्क निर्माण, सार्वजनिक स्थललाई अपांगता मैत्री बनाउने र डुडुवालाई आधुनिक कृषि शहरका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।उम्मेदवार दिपेन्द्र बिष्टले आफ्नो प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्ने दाबी गर्दै बाँके क्षेत्र नम्बर २ लाई प्रविधिमैत्री, पारदर्शी र समृद्ध क्षेत्र बनाउने लक्ष्य प्रस्तुत गरेका छन् ।

मुख्यमुख्य बुँदाहरु

भ्रष्टाचारमुक्त शासन
शून्य सहनशीलता, अनलाइन प्रणालीमा मालपोत, भन्सार, नक्सा पास र राजस्व संकलन, डिजिटल उजुरी प्रणाली, कर्मचारीको मूल्यांकन र कानुनी कारबाही ।
प्रविधिमैत्री शहर
नेपालगन्जलाई आईटी हब र नवप्रवर्तन केन्द्र बनाउने, डिजिटल सरकारी सेवा, ‘फाइल कहाँ रोकियो’ ट्र्याकिङ प्रणाली, टेक पार्क र इनोभेसन सेन्टर ।
आर्थिक सशक्तिकरण
युवाका लागि उत्पादनमूलक स्वरोजगार, घरमै महिलाको तालिम र बजारसँग जोड, स्टार्टअप कर्जा र समानुपातिक नीति निर्माण सहभागिता ।
बाढी व्यवस्थापन
राप्ती नदीमा वैज्ञानिक तटबन्ध, बगर क्षेत्रमा व्यावसायिक तरकारी खेती, स्थानीय समुदायको निर्णायक सहभागिता, भूमिहीन समस्या समाधान ।
पर्यटन र धार्मिक क्षेत्र विकास
लुम्बिनी–नेपालगन्ज पर्यटकीय सर्किट सुदृढीकरण, पुरातात्विक अनुसन्धान, ‘स्मार्ट बागेश्वरी’ मन्दिर र डिजिटल दान प्रणाली ।
सामाजिक सद्भाव र सहअस्तित्व
जात, धर्म, भाषा र संस्कृतिका अगुवासहित उच्चस्तरीय संवाद संयन्त्र, अफवाह नियन्त्रण र विवाद समाधान ।
स्वास्थ्य र लागूऔषध नियन्त्रण
मातृ–शिशु स्वास्थ्य प्राथमिकता, लागूऔषध आपूर्ति नियन्त्रण, पुनर्स्थापना केन्द्र र विद्यालय लक्षित सचेतनामूलक कार्यक्रम ।
पूर्वाधार सुधार
विद्युत वितरण प्रणाली सुधार, सीमा क्षेत्रमा प्रविधि प्रयोग, बालबालिका र वातावरणमैत्री पार्क, अपांगता मैत्री सार्वजनिक स्थल, डुडुवालाई आधुनिक कृषि शहर बनाउने ।

बाँके, फागुन ०४  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेताहरु पनि पार्टीका उम्मेदवार जिताउन अग्रसर भएका छन् । बाँके क्षेत्र नं. १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नारायण प्रसाद गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रिय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किएका छन् । सोमवार बिहानको मधुरो घामसँगै गौडेलसंगै खत्री कोहलपुर नगरपालिका वडा नं. १० मा पुग्छन् । स्थानीयका ढोकाढोका पुग्दै उनी मतदातासँग हातेमालो गर्दै आफ्ना प्रतिबद्धता सुनाउँछन् ।

वडा कार्यसमितिको आयोजनामा भएको घरदैलो कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरुको उल्लेखनीय उपस्थिति देखिएको थियो । घरदैलोको क्रममा देखिएको उत्साहले चुनावी माहोललाई गौडेलमय बनाउँदै लगेको देखिन्थ्यो । स्थानीय बासिन्दा घरबाहिर निस्केर उम्मेदवारलाई स्वागत गर्छन्, आफ्ना समस्या राख्छन् र भविष्यका अपेक्षाहरु सुनारहेका थिए । पूर्व क्षेत्रिय सभापति खत्रीले गौडेलको घरदैलो अभियान उत्साहपूर्ण तरिकाले अघि बढिरहेको बताए । लामो समयदेखि बाँके क्षेत्र नं. १ का जनताको सुखदुःखमा खटिँदै आएका गौडेललाई यसपटक आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा पाउँदा मतदातामा थप उत्साह जागेको खत्रीले बताए । खत्री भन्छन्, “गौडेल जी यहाँका जनताको दुःखसुखसँग नजिकबाट जोडिनु भएको नेता हो ।

अहिले उहाँ उम्मेदवार बनेपछि स्थानीयले आफ्नो मान्छे चुनावमा उठेको अनुभूति गरेका छन् ।” घरदैलोमा भेटिएका धेरै मतदाताले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनीहरु भन्छन् अबको नेतृत्वले प्रतिवद्धता मात्रै होइन, परिणाम पनि देखाउनुपर्छ । गौडेलले पनि आफ्ना सम्बोधनमा जनताको अपेक्षा बुझ्दै त्यसअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । उनले विकास र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो अभियान अघि बढाइरहेको बताएका छन् ।

अहिलेको काँग्रेस “बदलिएको काँग्रेस, देश बदल्ने अठोट” का साथ जनतामाझ आएकाले पनि मतदाताहरु उत्साहित भएको कोहलपुर नगरपालिका-१० का सभापति मेघनाथ भट्टराईले बताए । यही सन्देशले पनि मतदातामा नयाँ उत्साह र विश्वास जगाएको उनको भनाइ छ । उनले थपे, “जनताले अब परिवर्तन चाहेका छन् । काँग्रेसले त्यो परिवर्तनको जिम्मा लिने प्रतिबद्धता बोकेको छ ।”

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।