२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

वडाको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर योजना छनोट गरिएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै महादेवपुरी स्वास्थ्य चौकीका लागि आवश्यक मसलन्द तथा कार्यालय सामग्री खरिद गरिनेछ । स्वास्थ्य चौकीमा सेवा प्रवाह सहज बनाउन आधारभूत सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो ।


राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ मा चालु आर्थिक वर्षका लागि गाउँपालिकाबाट विनियोजित ९५ लाख रुपैयाँ बजेटबाट योजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ । उक्त बजेटबाट वडाभित्र स्वास्थ्य सेवा सुदृढीकरण, सीप विकास, कृषि प्रवद्र्धन, सडक तथा पूर्वाधार विकास, वातावरण संरक्षण, धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणलगायत बहुआयामिक कार्यक्रम सञ्चालन भएका छन् । वडाको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर योजना छनोट गरिएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै महादेवपुरी स्वास्थ्य चौकीका लागि आवश्यक मसलन्द तथा कार्यालय सामग्री खरिद गरिनेछ ।

स्वास्थ्य चौकीमा सेवा प्रवाह सहज बनाउन आधारभूत सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो । यससँगै स्थानीय नागरिकलाई वैकल्पिक उपचार प्रणालीमा सहज पहुँच पु¥याउन आयुर्वेदिक औषधि खरिद कार्यक्रम पनि सञ्चालन गरिनेछ । परम्परागत उपचारप्रति जनविश्वास बढ्दै गएको अवस्थामा आयुर्वेदिक औषधिको उपलब्धताले नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ । वडामा सीप विकास र रोजगारी सिर्जनालाई पनि बजेटको महत्वपूर्ण प्राथमिकतामा राखिएको छ । युवाहरूलाई प्रविधिमैत्री बनाउन कम्प्युटर तालिम सञ्चालन गरिनेछ भने महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले चप्पल बनाउने तालिम दिइनेछ ।

यी तालिममार्फत सीप सिकेर स्थानीयस्तरमै आयआर्जन गर्न सक्ने वातावरण बनाउने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ । यसका साथै कृषिमा आधारित जीविकोपार्जनलाई सुदृढ बनाउन हाते ट्याक्टर र च्याप कटर मेसिन खरिद गरिनेछ, जसले किसानको श्रम घटाउनुका साथै उत्पादन बढाउन सहयोग गर्ने विश्वास गरिएको छ । सरसफाइ र वातावरण संरक्षणतर्फ पनि बजेट केन्द्रित गरिएको छ । वडाका विभिन्न क्षेत्रमा फोहर व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ, जसले वडालाई सफा र व्यवस्थित बनाउन सहयोग पुग्नेछ । यसैगरी गौशाला व्यवस्थापन खर्चका लागि बजेट विनियोजन गरिएको छ, जसले गौ संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

सार्वजनिक सेवाको निरन्तरताका लागि विद्युत महसुल सडक बत्ती कार्यक्रमसमेत सञ्चालन गरिनेछ । रात्रीकालीन सुरक्षा र आवतजावतलाई सहज बनाउन वडाका विभिन्न स्थानमा सडक बत्ती विस्तार तथा मर्मत–सम्भार गरिनेछ । सडक बत्तीको प्रभावकारी सञ्चालनले दुर्घटना न्यूनीकरण हुनुका साथै सामुदायिक सुरक्षा सुदृढ हुने विश्वास लिइएको छ । यससँगै आकस्मिक मर्मत–सम्भारका लागि छुट्टै बजेट व्यवस्था गरिएको छ, जसले आपतकालीन अवस्थामा तत्काल प्रतिक्रिया दिन सहज बनाउनेछ । वडामा सम्भावित प्राकृतिक विपद् र आकस्मिक परिस्थितिलाई ध्यानमा राख्दै विपद् तथा अन्य कार्यक्रम सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको छ ।

यसले बाढी, कटान वा अन्य आपतकालीन अवस्थाहरूमा स्थानीय सरकारलाई सक्रिय भूमिका निर्वाह गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । भूमि सम्बन्धी समस्या समाधानका लागि भूमि नापजाँच व्यवस्थापन खर्च पनि बजेटमा समेटिएको छ । खेलकुद र सामाजिक गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले वडा अध्यक्ष कप तथा रनिङ शिल्ड छनोट प्रतियोगिता आयोजना गरिनेछ । यसले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै स्थानीय प्रतिभा पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, विभिन्न दिवस तथा पर्व मनाउनका लागि आवश्यक खर्च व्यवस्था गरिएको छ, जसले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुत बनाउने विश्वास गरिएको छ ।

संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत स्थानीय मौलिक संस्कृति, परम्परा र पहिचान जोगाउने गतिविधि सञ्चालन गरिनेछ । भौतिक पूर्वाधार विकास वडाको अर्को प्रमुख प्राथमिकता हो । दमार टोलमा बाटो स्तरोन्नति गरिनेछ भने मुलपानीदेखि रिङरोडसम्म सडक स्तरोन्नति गरी आवागमन सहज बनाइनेछ । माथिल्लो महादेवामा समेत बाटो स्तरोन्नति गरिनेछ, जसले स्थानीय बासिन्दाको दैनिकीमा प्रत्यक्ष राहत पु¥याउने अपेक्षा गरिएको छ । सिक्टा नहरदेखि मुलपानी हुँदै नमुना टोलसम्मको बाटो स्तरोन्नति कार्यक्रम गाउँपालिकासँग साझेदारीमा सञ्चालन गरिनेछ, जसले ठूला पूर्वाधार योजनामा सहकार्यको उदाहरण प्रस्तुत गर्ने विश्वास गरिएको छ ।

वडाको सौन्दर्यकरणका लागि विभिन्न कार्यक्रम अघि बढाइनेछ । ह्युमपाइप खरिद गरी ढल व्यवस्थापन सुधार गरिनेछ भने सार्वजनिक स्थानहरूलाई व्यवस्थित र आकर्षक बनाउने काम गरिनेछ । वडा कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालय मेसिनरी तथा फर्निचर खरिद गरिनेछ । साथै वडा कार्यालयको पूर्वाधार निर्माण तथा प्राङ्गन व्यवस्थापनले सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । बाढी र कटानको जोखिम न्यूनीकरणका लागि तटबन्ध तथा मेशिनरी वाल निर्माणका योजनाहरू पनि समेटिएका छन् । गुरुवागाउँ सोतामा तटबन्ध निर्माण गरिनेछ भने घोप्टा खोलामा मेशिनरी वाल निर्माण गरिनेछ ।

बुच्चापुर बाघेसाल सामुदायिक भवन नजिक तटबन्ध निर्माण र बुच्चापुर क्षेत्रमा मेशिनरी वाल तथा तटबन्ध निर्माण गरिनेछ । लाहुरे टोलका विभिन्न स्थानमा तटबन्ध तथा माटो फिलिङ कार्य गरिनेछ, जसले बस्ती संरक्षणमा दीर्घकालीन योगदान पु¥याउने अपेक्षा गरिएको छ । धार्मिक तथा सांस्कृतिक संरचनाको संरक्षण र विकासका लागि पनि बजेट विनियोजन गरिएको छ । उद्दैन शिव मन्दिरमा मेश जाली निर्माण गरिनेछ भने खैरी खल्यान भुईँयार थानमा भवन तथा मेश जाली निर्माण गरिनेछ । महादेवा दुर्गा मन्दिर निर्माण कार्यले धार्मिक आस्थासँगै सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडा अध्यक्ष सोहनलाल थारुले विनियोजित बजेटलाई जनताको आवश्यकता अनुसार सदुपयोग गरिने प्रतिबद्धता जनाए । उनका अनुसार सीमित स्रोतका बाबजुद वडाको समग्र विकासलाई केन्द्रमा राखेर योजना छनोट गरिएको हो । ‘स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार र वातावरण संरक्षण हाम्रो प्राथमिकता हो । ९५ लाखको बजेटलाई पारदर्शी र प्रभावकारी रूपमा खर्च गरी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकास गर्ने हाम्रो लक्ष्य छ,’ वडा अध्यक्ष थारुले भने ।

उनले स्थानीय उपभोक्ता समिति, जनप्रतिनिधि र सरोकारवालासँगको सहकार्यमा सबै योजना समयमै सम्पन्न गरिने पनि बताए । विकासका कार्यक्रमले वडा नम्बर ९ को जीवनस्तर सुधार गर्नुका साथै दीर्घकालीन समृद्धिको आधार तयार गर्ने विश्वास उनले व्यक्त गरे । स्थानीयवासीहरूले पनि विनियोजित बजेटबाट सञ्चालन हुने कार्यक्रमहरूले वडामा सेवा सुविधा विस्तार, रोजगारी सिर्जना र पूर्वाधार विकासमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन् । योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ समग्र विकासतर्फ अग्रसर हुने विश्वास गरिएको छ ।

कोहलपुर, फागुन ७  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं.१ का काँग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले विहीबारदेखि राप्तीसोनारीमा घरदैलो अभियान सुरु गरेका छन् । राप्तीसोनारीमा गौडेलको घरदैलो ११ गतेसम्म चल्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए । पहिलो दिन राप्तीसोनारी गाउँपालिका वडा नं.२, ५ र ९ का विभिन्न वस्तीमा भएको छ । वडा नं.२ को माछेबासमा काँग्रेस वडा कार्यसमितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उम्मेदवार गौडेलले स्थानीयका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

‘बाटोघाटो, पुलपुलेसा जस्ता विकास निर्माणका विषयहरु यहाँका दाजुभाइ–दिदीबहिनीहरुले उठाउनुभएको छ उनले भने–‘यी मागहरु स्वाभाविक छन् र म निर्वाचित भएमा यिनलाई सम्बोधन गर्न पहल गर्छु ।’ उनले स्थानीय र प्रदेश सरकारले पूर्वाधार विकासका केही काम अघि बढाइरहेको उल्लेख गर्दै केन्द्रबाट नीतिगत सुधार आवश्यक रहेको धारणा पनि राखे । आफु निर्वाचित भएर प्रतिनिधिसभामा पुगे नीति निर्माण तहमा आवाज उठाउनु नै आफ्नो मुख्य प्राथमिकता हुने उनको भनाइ छ । राप्तीसोनारी क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यहाँका बासिन्दा वर्षौँदेखि वन्यजन्तुको आतंकसँग जुधिरहेका छन् । खेतबारीमा वन्यजन्तुले अन्नपात खाएर क्षती पुर्याइरहेका छन् भने बाघ, हात्ती लगायतका जनावरले असुरक्षा बढाइरहेका छन् । गौडेलले यस विषयलाई आफ्नो अभियानको मुख्य एजेन्डा बनाएको बताए । उनले भने–‘यो समस्या भाषण गरेर समाधान हुँदैन,

ऐन नै संशोधन गर्नुपर्छ । मलाई जिताएर संसद पठाउनुहोस्, म त्यहाँबाट यो ऐन संशोधनका लागि बोल्छु ।’ गौडेलको यो भनाइले स्थानीयमा केही आशा जगाएको देखिन्थ्यो । स्थानीय भीमा ओलीले भनिन्–‘हामीले धेरै पटक नेताहरुलाई यो कुरा सुनाएका छौँ, तर समाधान भएको छैन । यसपटक गौडेललाई जिताउने हो भने साँच्चै काम हुन्छ कि भन्ने आशा लागेको छ ।’ चुनावी व्यस्तताका कारण प्रत्येक मतदाताको घरमा व्यक्तिगत रुपमा पुग्न सम्भव नहुने कुरा गौडेलले खुलेर स्वीकारेका छन् । तर उनले स्थानीय पार्टी नेता–कार्यकर्तालाई ‘स्वयं उम्मेदवार’ बनेर जनतासम्म पुग्न आग्रह पनि गरेका छन् । ‘हामी सबै मिलेर जनताको घरदैलोमा पुग्नुपर्छ ।

तपाईँहरु पनि आफैँलाई उम्मेदवार ठानेर सबैको घरमा पुग्नुहोस् र काँग्रेसको पक्षमा मत माग्नुहोस्’–उनले कार्यकर्तालाई निर्देशन दिए । भेलामा तरुण दलका राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, टोपबहादुर खड्का, होमराज अधिकारी, दिलबहादुर बस्नेत, शेरबहादुर ओली लगायतले उम्मेदवार गौडेल समक्ष स्थानीय समस्याहरु सुनाएका थिए । गौडेलले ती समस्या सम्वोधनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफू सधै तत्पर रहेको विश्वास दिलाए ।

घरदैलो कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी, राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, अग्रज नेता हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी, प्रदेश ‘क’ का सभापति अमर बुढाथोकी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । विहीबार वडा नंं ५ का जुरपानी, बनजरिया, गोभारपुर, वडा नं.२ का माछेबास, मधुवा, शम्शेरगन्ज, राजपुर र वडा नं.९ को ढकेरीमा घरदैलो कार्यक्रम गरिएको छ ।

नेपालगन्ज, फागुन ७ बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सांसदले देशको नीति राम्रो भएपछि मात्र देश र जनता समृद्ध हुने धारणा ब्यक्त गरेका छन् । महेन्द्र पुस्तकालय नेपालगन्जले बिहीबार (आज) आयोजना गरेको ‘एजेन्डा बस कार्यक्रम’ मा आफ्नो धारणा राख्दै उनले मतदातालाई भेट्ने क्रममा आफुले उधारो र पुरा गर्नै नसकिने आश्वास अहिले नबाँडेको बताए ।

‘सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन,’ उनले भने, ‘सांसद भईसकेपछि सरकारसँग पहल गरेर आफ्नो क्षेत्रको विकासमा कसरी पहल गर्न सक्छौं, हामीले आफ्नो क्षेत्रका जनताको स्तर कसरी माथी उठाउन सक्छौं, विकास भनेको सडक र नाला मात्र होईन, मानविय विकासमा पनि हामीले ध्यान दिनुपर्छ ।’ जनताले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पठाईसकेपछि यही ठाउँका जनतासँग हातेमालो गरेर आफुले स्वास्थ्य, शिक्षा, कृषि, अपांगता, दलित, मधेसी, मुस्लिम लगायत समुदाय तथा क्षेत्रसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

बाँकेको क्षेत्र नम्बर २ अन्तरगत रहेका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा विभिन्न समस्याहरु रहेको कुरा आफुले राम्रोसँग बुझेको भन्दै यि समस्यालाई समाधान गर्नका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए । ‘नेपालगन्जमा फोहोर व्यवस्थापन, पार्किङ जस्ता समस्याहरु छन्, यि लगायत बाँकेको क्षेत्र नम्बर २ मा देखा परेका समस्यालाई समाधान गर्न एउटा ठोस नीति बनाउन आवश्यक छ,’ उम्मेदवार कोइरालाले थपे । बहस कार्यक्रमका सञ्चालकले राखेको प्रश्नको जवाफमा कोइरालाले आफु नेताभन्दा पनि सेवक बनेर जनतको काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सुरुदेखी अन्तिम समयसम्म समय दिएर बसेका युवा उम्मेदवार कोइरालाले हरेक समस्याका पछाडी समाधान पनि रहेको बताए । अर्को प्रसंगमा उनले आफु सांसदमा निर्वाचित भएपछि जनताले खोज्न नपर्ने गरी सेवा दिने प्रतिवद्धता पनि जनाए । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई वातावरणमैत्री बनाउन अधिकतम रुपमा रुख, विरुवा रोपेर शहरभित्र रहेका ताल, तलैयाहरु पनि संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गरे ।

शिक्षा क्षेत्रका विषयमा उठेको प्रश्नको जवाफमा उम्मेदवार कोइरालाले कुल बजेटको २५ प्रतिशत जति बजेट छुट्याइयो भने शिक्षक दरबन्दी, शिक्षकले पाउने तलब बृद्धि, भौतिक संरचना निर्माण र शिक्षाको गुणस्तर सुधार गर्न सकिने बताए । ‘यो काम अब बन्ने सरकारले गर्नुपर्छ, यसका लागि हामी जोडदार रुपले आवाज उठाउनेछौं,’ उनले अगाडी थपे ।

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु कोइराला मैदानमा छन् । आफ्ना उम्मेदवार जिताउन क्षेत्रीय कार्यसमिति अहोरात्र खटिएको छ । युवा नेता कोइरालालाई उम्मेदवारका रुपमा पाउँदा मतदाताहरुमा पनि उत्साह देखिएको छ । जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएकाले पनि देशभर छुट्टै खालको उत्साह मिलेको काँग्रेसका नेताहरु बताउँछन् । बाँके क्षेत्र नम्बर २ मा काँग्रेसको चुनावी अभियानबारे क्षेत्रीय सभापति रमेशकुमार गुप्तासँग गरिएको

कुराकानीको अंश :-

बाँके क्षेत्र नम्बर २ मा काँग्रेसको चुनावी अभियान कस्तो चल्दै छ ?
बाँके क्षेत्र नम्बर २ मा हाम्रो चुनावी अभियान निकै उत्साहजनक ढंगले अघि बढिरहेको छ । सहर तथा गाउँबस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छौं । घरदैलो कार्यक्रम, टोल–भेला, सभा सबै ठाउँमा जनताको उल्लेखनीय सहभागिता देखिएको छ । उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ । हामीले विशेष गरी युवाहरु, महिला र किसानसँग बढि जोड दिएको छौं । विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दा लिएर हामी जनतामाझ पुगेका छौं । समग्रमा भन्नुपर्दा, जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं र वातावरण हाम्रो पक्षमा देखिन्छ ।

यो सुशील कोइरालाको विरासत बोकेको क्षेत्र पनि हो, मतदाताहरु के भन्छन् ?
हो, बाँके क्षेत्र नम्बर २ दिवंगत नेता सुशील कोइरालाको क्षेत्र हो । उहाँको सादगी, इमानदारी र देशप्रतिको निष्ठा आज पनि यहाँका जनताले स्मरण गरिरहेका छन् । कोइराला परिवारको राजनीतिक विरासत बोकेको ठाउँ हो । काँग्रेसले विरासत बोकेका परिवारको उम्मेदवार त उठाएको छ नै, पछिल्लो जेनजी आन्दोलनपछि युवा नेतृत्वको चर्चाले पनि हामीले ४४ वर्षका शुधान्सु कोइरालालाई चुनावी प्रतिस्पर्धामा उतारका छौं । शुधान्सु बेदागी(कुनै दाग नलागेका) युवा हुन् । सम्भावना बोकेका युवा हुन् । उनको राम्रो छवि छ । युवा पुस्तामा पनि लोकप्रिय छन् । युवा र अत्यन्तै इमान्दार उम्मेदवार पाएकाले पनि मतदाताहरु उत्साहित देखिनुहुन्छ ।

नयाँ–नयाँ पार्टी पनि प्रतिस्पर्धामा आएका छन् नि ?
लोकतन्त्रमा नयाँ पार्टीहरु आउनु स्वाभाविक हो । यो सकारात्मक पनि हो । तर चुनाव जित्नका लागि केवल नयाँ हुनु मात्र पर्याप्त हुँदैन । अनुभव, संगठन, स्पष्ट नीति र जनतासँगको निरन्तर सम्बन्ध आवश्यक हुन्छ । नेपाली काँग्रेससँग लामो राजनीतिक अनुभव, संगठनात्मक मजवुती र जनताको भरोसा छ । त्यसैमा अहिले काँग्रेस बद्लिएर आएको छ । एक हिसाबले भन्ने हो भने नयाँ भनेकै काँग्रेस पार्टी हो ।

काँग्रेसको नेतृत्व बद्लिएर आएपछि जनतामा उत्साह देखिएको छ भन्नुभएको हो ?
हामीले जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएर आफूलाई बदल्यौँ । तर हाम्रा प्रतिस्पर्धी दलहरुले त अझै पुरानै नेतृत्व बोकिरहेका छन्, जसलाई जनताले मन पराएका छैनन् । नयाँ भनिएका पार्टीहरुले पनि २०७९ को चुनावमा भाग लिइसकेकै हुन्, उनीहरु पनि पूर्णरुपमा नयाँ होइनन् । त्यसैले यो क्षेत्रमा जनताको भरोसा अहिले नेपाली कांग्रेसप्रति नै छ । अन्य दलहरु मुद्दा र कलंकले घेरिएका छन् । तर हाम्रा सभापति गगन थापामाथि त्यस्तो कुनै दाग छैन । उहाँले नेपाल बदल्ने जुन सपना र सोच राख्नुभएको छ, त्यसलाई अहिले देशभरका जनताले पत्याएका छन् । बाँके क्षेत्र नम्बर २ मा पनि हाम्रो उम्मेदवार निस्कलंक हुनुहुन्छ । जनताले पनि त्यही भावना व्यक्त गरिरहनु भएको छ ।

काँग्रेसको चुनावी एजेण्डा के छ ?
हाम्रो मुख्य एजेण्डा विकास र समृद्धि हो । विशेष गरी हामीले बाँके क्षेत्र नम्बर २ का लागि यी विषयमा जोड दिएका छौं । कृषि आधुनिकीकरण र किसानको आम्दानी बृद्धि, युवालाई रोजगारी र सीप विकास, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, सडक, खानेपानी, सिचाइँ, महिला सशक्तिकरण र सामाजिक न्याय हाम्रा मुद्दा हुन् । त्यतिमात्र होइन राप्ती नदीको कटान र डुवानको समस्या पनि छ । त्यसको दीर्घकालिन समाधानमा पनि हाम्रो ध्यान छ । हामी स्थानीय आवश्यकता अनुसार योजना बनाएर काम गर्ने प्रतिबद्धता लिएका छौं ।

मतदाताले काँग्रेसलाई किन जिताउने ?
पहिलो कुरा, काँग्रेस लोकतन्त्रको मुख्य र जिम्मेवार शक्ति हो । हामीले सधैं जनताको अधिकार र स्वतन्त्रताको रक्षा गरेका छौं । दोस्रो, हाम्रो नेतृत्वमा देशले स्थायित्व र विकासको मार्ग समातेको छ । तेस्रो, हामीसँग स्पष्ट योजना, सक्षम टिम र कार्यान्वयन गर्ने अनुभव छ ।

नेपालगन्ज, फागुन ७  नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले आफुले जनमतको सधैं कदर गर्ने प्रतिवद्धता जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा बिहीबार(आज) बिहान भएको घरदैलोका क्रममा उनले जनताको मतबाट आफु निर्वाचित भएपछि जनताको काममा समय खर्च गर्ने बताए । ‘तपाईहरुले मलाई यसपटक विश्वास गरेर आफ्नो अमुल्य मत दिनुहोस्,’ कोइरालाले भने, ‘तपाईहरुको मतलाई म कत्तिपनि खेर जान दिनेछैन, म जनमतको सधैं कदर गर्नेछु ।’

सो क्रममा उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ अन्तरगत रहेका बिशाल चोक, संगम नगर, कारकाँदो लगायत क्षेत्रमा घरदैलो गरेका थिए । घरदैलोका क्रममा मतदाताहरुबाट पाएको मायाले आफु एकदमै उत्साहित भएको कोइरालाले बताए । ‘मलाई तपाईहरुले जसरी माया गरेर संसदमा पठाउँदै हुनुहुन्छ, मैले पनि तपाईहरुको भावनाहरुलाई सडक र सदनमा बोलिरहनेछु,’ उनले भने ।

सो क्रममा मतदाताहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का अधुरा कामहरु पुरा गरिदिन र उपमहानगरलाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि नेतृत्वदायी भूमिका निभाउन सुझाव दिएका थिए । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ सभापति जगदिश बर्माको नेतृत्वमा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, पार्टीका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी ‘पप्पु’, युवा नेता सानु बर्मा, रामबहादुर भण्डारी, रामचन्द्र बर्मा, केशु पोख्रेल, पूर्णिमा कटुवाल लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

 
कोहलपुर, फागुन ७ राजनीतिक नेतृत्वमा नभई नहुने गुण हुन्, ‘सैद्धान्तिक स्पष्टता, निरन्तरता र इमान्दारिता ।’ तर पछिल्लो चरण यी गुण विरलै पाइन्छ । विरलै गुण पाइने व्यक्ति मध्यका एक हुन्, ‘नारायण प्रसाद गौडेल ।’ नेपाली कांग्रेसको राजनीतिक यात्रामा गौडेलको पार्टीप्रतिको लगाव, निष्ठा, संघर्ष, सक्रियता र सेवा जस्ता कैयन विशेषता र स्वभावहरु लोभलाग्दा छन् । संगठनप्रतिको निष्ठाको प्रतीकका रूपमा पनि उनलाई सम्झीने गर्छन् ।
 
लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै पार्टी संगठन सुदृढीकरण र समाज सेवामा अविचलित योगदान दिँदै आएका गौडेल अहिले जनताको भरोसाको प्रतिनिधि बनेर उभिएका छन् । नेपाली कांग्रेस बाँकेका सभापति समेत रहेका गौडेल  बाँके क्षेत्र न १ मा प्रतिनिधि सभा सदस्यका लागि प्रतिष्पर्धामा छन् । वि.सं. २०२१ सालमा पर्वत जिल्लामा जन्मिएका गौडेल हाल  कोहलपुर नगरपालिका–३ मा स्थायी बसोबास गर्दै आइरहेका छन् । बाल्यकालदेखि नै सामाजिक न्याय, समानता र लोकतान्त्रिक मूल्यप्रति आकर्षित उनी कलिलो उमेरमै समाजसेवा र राजनीतिमा सक्रिय बने । यही चेतना र प्रतिबद्धताले उनलाई नेपाली कांग्रेसको संगठनभित्र स्थापित नेतृत्वको रूपमा उभ्यायो ।
वि.सं. २०४६ सालमा नेपाली कांग्रेसको साधारण सदस्य बनेका गौडेल २०४८ सालमा क्रियाशील सदस्य हुँदै औपचारिक राजनीतिक यात्रामा प्रवेश गरे । यहीँबाट सुरु भएको उनको यात्रा निरन्तर संघर्ष, जिम्मेवारी र संगठन निर्माणको उदाहरणीय इतिहास बनेको छ ।
 
उनले नेपाली कांग्रेसको प्रचारप्रसार समिति सदस्य (क्षेत्र नं. १ – २०५६), क्षेत्रीय प्रतिनिधि (२०५७), जिल्ला सदस्य (२०५७–२०५८), विकास शाखा बाँके संयोजक (२०५८), माओवादी पीडित अभिलेख उप–समिति संयोजक, मध्यपश्चिम क्षेत्रीय आमसभा यातायात समिति संयोजक, इलाका नं. ४ बाँकेको अनुगमन संयोजक लगायतका महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरे ।नेपाल तरुण दल कोहलपुरको स्थापना (२०५५–२०६०) मार्फत युवालाई संगठित गर्दै उनले पार्टीको जरा बलियो बनाउन महत्वपूर्ण भूमिका खेले । जिल्ला कार्यसमिति सह–सचिव (२०५९–२०६०) हुँदै उनी पार्टी संगठनको केन्द्रमा उभिए ।
 
प्रतिगमन विरुद्धको जनआन्दोलन (२०५९–२०६३) का क्रममा उनले यातायात, झण्डा, माइक, पम्प्लेट, प्लेकार्ड व्यवस्थापन तथा आन्दोलनकारी समन्वयमा उप–संयोजक र क्षेत्रीय संयोजकको भूमिकामा अग्रपंक्तिबाट नेतृत्व गरे ।जनआन्दोलन भाग–२ मा तत्कालीन सभापति स्व. शुशिल कोइरालासहित आन्दोलनमा सक्रिय सहभागिता जनाएका गौडेल लोकतन्त्र स्थापनाका लागि जेल जीवन समेत भोग्न बाध्य भए ।
 
माओवादी संकटकालमा वि.सं. २०६१/१२/०२ देखि २०६२/०२/१७ सम्म तथा २०६२/१०/१४ देखि २०६२/११/१२ सम्म उनी जेल बन्दी रहे ।
आन्दोलनकै क्रममा तत्कालीन शाही नेपाली सेनाबाट अमानवीय कुटपिट र यातना सहँदै पनि उनी विचलित भएनन् । १० वर्षे सशस्त्र द्वन्द्वकालमा माओवादी पीडित बनेका गौडेलले नेपाली कांग्रेसको संगठन जोगाउन, कार्यकर्ताको संरक्षण गर्न र आम नागरिकको अभिभावकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।२०५९ देखि २०६३ सम्म ११औँ महाधिवेशनबाट नेपाली कांग्रेस क्षेत्रीय सभापति ,१२औँ महाधिवेशनबाट केन्द्रीय संगठन विभाग सदस्य तथा जिल्ला सदस्य,१३औँ महाधिवेशनबाट हालसम्म महासमिति सदस्य तथा जिल्ला सदस्य हुँदै उनी पार्टीको नीति, सिद्धान्त र संगठन निर्माणमा निरन्तर सक्रिय छन् ।दोस्रो संविधान सभामा समानुपातिक उम्मेदवार तथा नेपाली कांग्रेस बाँकेको शिक्षा विभाग प्रमुख (२०७३) को जिम्मेवारी पनि उनले सफलतापूर्वक वहन गरे ।
 
राजनीतिसँगै सामाजिक सेवामा पनि गौडेलको योगदान उल्लेखनीय छ ।नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाको सचिव हुँदै सभापति, जिल्ला शाखा सदस्य, ज्ञानोदय सामुदायिक पुस्तकालयका संस्थापक सदस्य, कोहलपुर बसपार्क सुधार समिति अध्यक्ष, साझा सहकारी संस्था, विद्यालय व्यवस्थापन, रेडियो कोहलपुर एफ.एम., सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरका अध्यक्ष जस्ता थुप्रै संस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । हाल भने रेडक्रस र विद्यालय बाहेक अन्य संघ–संस्थामा उनी प्रतिनिधि छैनन् ।
 
उनले नेपाली कांग्रेसका अग्रज नेता स्व. शिवप्रसाद अर्यालको स्मृतिमा लेख, रचना तथा कविताको संग्रह प्रकाशन गर्दै वैचारिक योगदान पनि दिएका छन् । राष्ट्रिय रूपमा ५६ जिल्लाको भ्रमण गरेका गौडेलले भारत, चीन र अमेरिका भ्रमणमार्फत अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका छन् ।लामो संघर्ष, अनुभव र निष्ठाका धरोहर गौडेलले क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिइरहदा मतदाताहरु समेत उत्साही देखिएका छन् ।
 
गौडेलका मुख्य चुनावी एजेन्डा
 
कृषिमा श्रमिक किसान केन्द्रित उत्पादन प्रणाली,
प्रविधिमैत्री शिक्षा र शिक्षा ऐन संशोधन,
स्वास्थ्य बीमामार्फत सबै नागरिकको स्वास्थ्य पहुँच,
र बाँके राष्ट्रिय निकुञ्जमा जनावरहरुबाट भइरहेको आक्रमणबाट पीडित जनताको लागि ऐन संशोधन गरि जनता मुखी ऐन निर्माण गर्ने र वैकल्पिक आय आर्जन गर्ने योजना निर्माण  गर्ने । बाँके राष्ट्रिय निकुञ्जलाई समेटेर पर्यटन विकाससँगै नागरिक सुरक्षाको सुनिश्चितता गर्ने आदि रहेका छन् ।
 
जनसेवामा सदैव समर्पित गौडेलको समाजसेवा, विकास र सुशासनमा दृढ विश्वास छ ।  गौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासलाई प्राथमिकतामा राखेका छन् ।  जनताको विश्वास र समर्थनसहित प्रतिनिधि सभा सदस्यका रूपमा सेवामा समर्पित हुने अठोटका साथ अघि बढिरहेका गौडेललाई हामी सबले साथ दिऔं ।

आर्थिक समृद्धिलाई प्रतिज्ञापत्रको अर्को मुख्य स्तम्भका रूपमा प्रस्तुत गरिएको छ । निजी क्षेत्र, श्रमिक र उद्यमशीलतालाई विकासको प्रमुख साझेदार मान्दै लगानीमैत्री वातावरण निर्माण गर्ने नीति अघि सारिएको छ । वैध नाफालाई सम्मान र अवैध आर्जनमाथि कडाइ गर्ने उल्लेख गर्दै आर्थिक स्वच्छता र सदाचारलाई राजनीतिक संस्कृतिका रूपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।

 

नेपालगन्ज, फागुन ७ मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा अघि बढिरहेको वर्तमान राजनीतिक परिवेशमा प्रमुख दल नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । ‘सम्मानित नेपाल, समुन्नत नेपाल’ भन्ने मूल नारा बोकेको उक्त दस्तावेज केवल पाँच बर्से कार्ययोजना मात्र नभई दीर्घकालीन राष्ट्रिय रूपान्तरणको मार्गचित्रका रूपमा प्रस्तुत गरिएको छ । पार्टीले यसलाई विगतका ऐतिहासिक उपलब्धिको निरन्तरता र कमजोरीबाट सिकेर अघि बढ्ने संकल्पपत्रका रूपमा व्याख्या गरेको छ ।

प्रतिज्ञापत्रको आरम्भमै कांग्रेसले आफूलाई लोकतान्त्रिक मूल्य, मानवअधिकार र नागरिक स्वतन्त्रताको पक्षधर शक्तिका रूपमा पुनः प्रस्तुत गरेको छ । प्रत्येक नागरिकले स्वतन्त्रता, पहिचान र स्वाभिमानसहित बाँच्न पाउने व्यवस्था नै समृद्ध नेपालको आधार हुने उल्लेख गर्दै कानूनको शासनलाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । ‘निमुखालाई ऐन र ठूलालाई चैन’ भन्ने विगतको आलोचित अवस्थाको अन्त्य गर्ने दाबी गर्दै राज्यका सबै निकायलाई निष्पक्ष र उत्तरदायी बनाउने वाचा गरिएको छ ।

दस्तावेजले सामाजिक विभेदको अन्त्यलाई विशेष प्राथमिकतामा राखेको छ । जात, धर्म, लिंग, भाषा, क्षेत्र वा वर्गका आधारमा हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य हुने उल्लेख गर्दै समावेशी समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । शारीरिक, मानसिक तथा लैंगिक हिंसाबाट मुक्त वातावरण सिर्जना गर्न कानुनी र संस्थागत सुधार गरिने जनाइएको छ । कांग्रेसले सामाजिक न्यायलाई केवल नीतिगत घोषणा नभई व्यवहारिक अभ्यास बनाउने लक्ष्य राखेको दाबी गरेको छ ।

आर्थिक समृद्धिलाई प्रतिज्ञापत्रको अर्को मुख्य स्तम्भका रूपमा प्रस्तुत गरिएको छ । निजी क्षेत्र, श्रमिक र उद्यमशीलतालाई विकासको प्रमुख साझेदार मान्दै लगानीमैत्री वातावरण निर्माण गर्ने नीति अघि सारिएको छ । वैध नाफालाई सम्मान र अवैध आर्जनमाथि कडाइ गर्ने उल्लेख गर्दै आर्थिक स्वच्छता र सदाचारलाई राजनीतिक संस्कृतिका रूपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ । साना तथा मझौला उद्योगलाई विशेष प्रोत्साहन, रोजगारी सिर्जना र उत्पादन वृद्धि मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ ।

कांग्रेसले युवालाई राष्ट्र निर्माणको केन्द्रमा राखेको छ । स्वदेशमै रोजगारी र अवसर सिर्जना गरी वैदेशिक पलायन घटाउने उद्देश्यसहित सीपमूलक तालिम, नवप्रवर्तन र स्टार्टअप प्रवद्र्धन कार्यक्रम अघि सारिएको छ । विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई स्वदेश विकासमा जोड्ने नीति अवलम्बन गरिने उल्लेख छ । ‘फर्कन रहर लाग्ने’ र ‘यहीँ भविष्य देखिने’ वातावरण निर्माण गर्ने प्रतिबद्धता प्रतिज्ञापत्रमा दोहोरिएको छ ।

कृषि क्षेत्रलाई सम्मानित र आधुनिक पेशाका रूपमा विकास गर्ने योजना पनि दस्तावेजको महत्वपूर्ण अंश हो । किसानलाई सिँचाइ, मल, बीउ, प्रविधि, बीमा र बजारको सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखिएको छ । कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डका रूपमा स्थापित गर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । युवालाई कृषिमा आकर्षित गर्न प्रविधिमैत्री खेती प्रणाली र कृषि उद्यमशीलतालाई प्रोत्साहन गरिने जनाइएको छ ।

स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि कांग्रेसले दोहोर्याएको छ । ‘उपचार नागरिकको अधिकार’ भन्ने मान्यताका आधारमा स्वास्थ्य बीमा प्रणाली सुदृढ गरिने उल्लेख गरिएको छ । राष्ट्रिय स्वास्थ्य बीमा बोर्डमार्फत सेवा विस्तार गरी गम्भीर रोग उपचारमा आर्थिक भार कम गर्ने योजना अघि सारिएको छ । गर्भावस्थादेखि वृद्धावस्थासम्म राज्यको स्वास्थ्य सुरक्षा जिम्मेवारी रहने उल्लेख छ । अस्पताल सेवा विस्तार, जनशक्ति व्यवस्थापन र गुणस्तरीय औषधि उपलब्धता सुनिश्चित गर्ने वाचा पनि गरिएको छ ।

शिक्षालाई राष्ट्रको सबैभन्दा महŒवपूर्ण लगानीका रूपमा परिभाषित गर्दै कांग्रेसले आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने सुनिश्चितता गर्ने जनाएको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई प्रविधिमैत्री, प्रयोगमुखी र अनुसन्धानमुखी बनाउने लक्ष्य राखिएको छ । त्रिभुवन विश्वविद्यालयलगायत उच्च शिक्षण संस्थालाई नवप्रवर्तन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने उल्लेख छ । बालबालिकाको पोषण र सुरक्षा सुनिश्चित गर्दै हिंसामुक्त शैक्षिक वातावरण निर्माण गर्ने प्रतिज्ञा पनि गरिएको छ ।

सुशासन र डिजिटल रूपान्तरणलाई पनि प्रतिज्ञापत्रले विशेष स्थान दिएको छ । अदालत, संवैधानिक निकाय, प्रहरी र विश्वविद्यालयमा दलियकरण अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । योग्यता, क्षमता र इमानदारीका आधारमा नियुक्ति प्रणाली सुदृढ गर्ने उल्लेख छ । ‘डिजिटल नेपाल’ अवधारणामार्फत सरकारी सेवा प्रवाहलाई छिटो, पारदर्शी र पहुँचयोग्य बनाउने योजना अघि सारिएको छ । नागरिकले घरमै बसेर सेवा प्राप्त गर्न सक्ने प्रणाली विकास गर्ने जनाइएको छ ।

सांस्कृतिक विविधता र मौलिकताको संरक्षणलाई आधुनिकतासँग समन्वय गर्ने नीति पनि दस्तावेजमा समेटिएको छ । हिमाल, पहाड र मधेसका समुदायबीच सहअस्तित्व, सम्मान र एकताको भावना सुदृढ गर्ने उल्लेख छ । नेपाललाई विश्वमाझ सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने परराष्ट्र नीति अवलम्बन गरिने जनाइएको छ । राष्ट्रिय हित, समानता र आपसी सम्मानका आधारमा छिमेकी तथा मित्र राष्ट्रसँग सम्बन्ध विस्तार गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सगरमाथा, लुम्बिनी, पशुपति र जानकी मन्दिर जस्ता ऐतिहासिक तथा सांस्कृतिक धरोहरमार्फत नेपाललाई विश्वसामु चिनाउने नीति लिइएको छ । पर्यटन, ऊर्जा, सूचना प्रविधि, खेलकुद र यातायात क्षेत्रमा तीव्र विकासमार्फत समृद्धि हासिल गर्ने लक्ष्य पनि प्रतिज्ञापत्रमा उल्लेख छ । पूर्वाधार विकासलाई विश्वस्तरको गुणस्तरमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।

समग्रमा कांग्रेसको प्रतिज्ञापत्रले लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासनलाई एकै सूत्रमा बाँध्ने प्रयास गरेको देखिन्छ । कागजमा लेखिएका प्रतिबद्धता कार्यान्वयनमा रूपान्तरण हुन सके मात्र ‘सम्मानित र समुन्नत नेपाल’ को लक्ष्य साकार हुने राजनीतिक विश्लेषकहरूको धारणा छ । निर्वाचनको प्रतिस्पर्धात्मक वातावरणमा यो प्रतिज्ञापत्र मतदातामाझ कति प्रभावकारी हुन्छ भन्ने प्रश्न आगामी जनमतले नै टुंगो लगाउनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।