
नेपालगन्ज ,फागुन १० देशकै जेठाे अस्पताल बीर अस्पतालसंगै स्थापना भएको नेपालगन्जकाे भेरी अस्पतालकाे पूर्वाधारले फड्काे मारेकाे छ । त्यसकाे श्रेय मोहम्मद ईस्तियाक राईलाई जान्छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको बेला राईले बजेटकाे सुनिश्चिततासंगै २०७९ मा अस्पतालकाे नयाँ भवन शिलान्यास गरेका थिए ।
निर्माणकाे काम सम्पन्न भई उपचार समेत शुरु भईसकेकाे छ । जिर्ण भवनबाट अत्याधुनिक भवनमा अस्पतालले सेेवा दिईरहेकाे छ । अस्पतालसंंगै निर्माण भएको क्षेत्रीय रक्तसंचार केन्द्र नयाँ बन्नुमा राईकै याेगदान छ ।
साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको करिब ३० लाख गरि जम्मा ६९ लाख जनसंख्याको प्रमुख आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेपालगञ्ज स्थीत भेरी अस्पताल बि.सं.१९४७ मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रशूती गृह नामाकरण भई बि.सं.२०२१ सम्म चलेको र त्यस पश्चात बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको थियाे ।
देेशकै पुरानाे याे अस्पतालले पश्चिमका नागरिकको भराेसाे हाे । जसलाई पूर्वाधारसंगै जनशक्ति थपेर भब्य बनाउनुपर्ने आवश्यकता खड्किएको छ । यसै ईस्तियाक राईले चुनावी मुद्दा बनाएका छन् । बाँके-२ मा नेकपा एमालेका उम्मेदवार रहेका राईले स्पष्टरुपमा भनेका छन्,-‘पूर्वाधार बन्याे अब सेवा सुधार हुनुपर्छ । त्यसमा लाग्छु । पश्चिमकाे भराेसाकाे केन्द्र बनाउँछु ।’
नेपालगन्ज, फागुन १० प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ बाट मोहम्मद इश्तियाक राईले आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । उनले शनिबार नेपालगन्ज उपमहानगरपालिका–१ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।वडा नं. १ अन्तर्गत चन्दननाथ टोल, दीपज्योति टोल, पिपल चौतारा टोललगायत क्षेत्रमा पुगेर राईले स्थानीय बासिन्दासँग भेटघाट गरे । घरदैलोका क्रममा मतदाताहरूले सडक, नाला, सरसफाइ तथा स्वास्थ्य सेवासम्बन्धी समस्या औंल्याएका थिए ।
यसअघि सहरी विकास मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालिसकेका राईले आफ्नो कार्यकालमा उक्त वडामा केही पूर्वाधार योजना ल्याएको उल्लेख गर्दै बाँकी कामहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।घरदैलो कार्यक्रमपछि सुन्दर टोलमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले महिलाहरूका मुद्दालाई प्राथमिकतामा राख्ने बताएका छन् । महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य एजेण्डा रहेको उनको भनाइ थियो ।
“महिला सशक्तिकरणका सवालमा हामी अझै पछाडि छौँ । लुम्बिनी प्रदेशमा मातृ मृत्युदर उच्च छ, त्यसमा पनि बाँके जिल्लाको अवस्था चिन्ताजनक छ,” उनले भने, “समयमै गुणस्तरीय प्रसुति सेवा नपाउँदा धेरै महिलाले ज्यान गुमाउनुपरेको छ । स्थानीय तहसम्म सुविधा सम्पन्न प्रसुति सेवा विस्तारका लागि म पहल गर्नेछु ।” राईले भेरी अस्पतालमा भौतिक संरचनामा सुधार भए पनि विशेषज्ञ चिकित्सक र सेवाको अझै अभाव रहेको उल्लेख गरे । स्वास्थ्य क्षेत्रको सुदृढीकरणमार्फत मातृ तथा शिशु मृत्युदर घटाउने लक्ष्य आफूले लिएको उनले बताए ।
वडा नं. १ को सुन्दर टोल विकासका दृष्टिले पछाडि परेको स्वीकार गर्दै उनले निर्वाचित भएपछि सडक, नाला तथा आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।यसैबीच उनले आजै क्षेत्रका बुद्धिजीवी तथा शिक्षासेवीहरूसँग पनि अन्तरक्रिया गरेका छन् । शैक्षिक गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार तथा युवालाई रोजगारीमुखी सीपसँग जोड्ने विषयमा प्राप्त सुझावअनुसार अघि बढ्ने उनले जनाएका छन् ।
कोहलपुर, फागुन १० नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल आइतबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का विभिन्न बस्तिमा घरदैलो अभियानमा निस्किएका छन् ।
राप्तीसोनारीका बैशा, नवलपुर, भवानियापुर, ठूलो खैरेनी लगायतका बस्तीहरुमा गौडेलले घरदैलो सुरु गरेका छन् । त्यसक्रमम स्थानीय बासिन्दाले उत्साहका साथ स्वागत गरेका छन् । घर–घरमा पुगेर हात मिलाउँदै, वृद्ध–वृद्धासँग आशीर्वाद लिँदै र युवासँग कुराकानी गर्दै उनी मतदाताको दैलोमा पुगिरहेका छन् ।
काँग्रेस वडा कार्यसमितिको अगुवाइमा सञ्चालन गरिएको घरदैलो कार्यक्रमबारे वडा सभापति शंकर महतराले भने-`हामीले टोल–टोलमा पुगेर मतदातासँग मत माग्ने काम गरिरहेका छौँ । उम्मेदवारज्यूलाई जनताको वास्तविक समस्या बुझाउने र समाधानको प्रतिबद्धता दिलाउने हाम्रो उद्देश्य हो । यसले मतदाताहरु उत्साहित पनि बनाएको ।´ घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक, सिंचाइ, शिक्षा र स्वास्थ्य सेवा जस्ता आधारभूत समस्याहरु सुनाउने गरेका छन् ।
कतिपयले रोजगारी अभावका कारण युवाहरु विदेशिनु परेको पीडा सुनाउने गरेका छन् भने कतिले बाढी तथा डुबानको समस्या बारम्बार झेल्नुपरेको गुनासो पनि गरेका छन् । ती सबै कुरा ध्यानपूर्वक सुनेका गौडेलले जनताको समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
घरदैलो अभियानका क्रममा स्थानीयले देखाएको उत्साह र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा थारु अगुवा लाहुराम थारुले बताए । घरदैलोमा काँग्रेस क्षेत्रिय सभापति पोषण केसी, प्रदेश `क´का सभापति अमर बहादुर बुढाथोकी, पालिका सभापति भिम बहादुर राना, नेताहरु हुर्मत न्यौपाने, संगिता थारु लगायत सहभागी छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान तथा सहायक मतदान अधिकृतको तालिम आजबाट ।
कोहलपुर, फागुन १० निर्वाचन आयोग, नेपालअन्तर्गतको जिल्ला निर्वाचन कार्यालय बाँकेले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान तथा सहायक मतदान अधिकृतहरूको तालिमसम्बन्धी विस्तृत सूचना सार्वजनिक गरेको छ । कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थितरूपमा सम्पन्न गर्न आवश्यक जनशक्ति तयारी तीव्र बनाएको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित विवरणअनुसार मतदान केन्द्रहरूमा खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको नामावली सार्वजनिक भइसकेको उल्लेख गरेको छ । सोही आधारमा तोकिएका कर्मचारीहरूलाई अनिवार्य रूपमा तालिममा सहभागी हुन निर्देशन दिइएको छ । कार्यालयका अनुसार निर्वाचन प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न हुने कर्मचारीहरूलाई समयमै आवश्यक ज्ञान र सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो ।
सूचनाअनुसार तालिम फागुन १० गतेअर्थात आजदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
तालिमको उद्घाटन सत्र बिहान ठीक १० बजे जिल्ला समन्वय समिति, बाँकेको सभा हलमा हुनेछ । उद्घाटनपछि सहभागीहरूलाई समूहमा विभाजन गरी मंगलप्रसाद क्याम्पसको तेस्रो तलामा तालिम सञ्चालन गरिने जनाइएको छ । तालिम अवधिभर निर्वाचन कानुन, मतदान प्रक्रिया, मतपत्र र निर्वाचन सामग्रीको प्रयोग, मतपेटिका व्यवस्थापन, मतदाता पहिचान प्रक्रिया, मतदानको अभिलेखीकरण तथा मतगणनापूर्वको तयारीबारे विस्तृत जानकारी प्रदान गरिने कार्यक्रम रहेको छ ।
निर्वाचन कार्यलाई प्रभावकारी, पारदर्शी र विवादरहित बनाउन तालिमलाई विशेष महत्व दिइएको कार्यालयले जनाएको छ । मतदान अधिकृतहरू मतदान केन्द्रका प्रमुख जिम्मेवार अधिकारी हुने भएकाले उनीहरूलाई कानुनी प्रावधान, आचारसंहिता, सुरक्षासम्बन्धी सतर्कता तथा आकस्मिक अवस्थाको व्यवस्थापनबारे स्पष्ट निर्देशन दिइने बताइएको छ । सहायक मतदान अधिकृतहरूलाई पनि मतदान प्रक्रियामा सहजीकरण, कागजात व्यवस्थापन र मतदाता सहायतासम्बन्धी अभ्यासात्मक प्रशिक्षण दिइनेछ ।
तालिममा सहभागी हुन तोकिएका कर्मचारीहरूले आफ्नो नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइज फोटो तथा सम्बन्धित कार्यालयबाट प्राप्त परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
बिना कारण अनुपस्थित हुने कर्मचारीलाई निर्वाचन कार्यमा खटाउन नसकिने चेतावनीसमेत दिइएको छ ।
कार्यालयले थप विवरण तथा नामावली आयोगको आधिकारिक वेबसाइटमार्फत डाउनलोड गर्न सकिने जनाएको छ । जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।
आगामी निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा आवश्यक पूर्वतयारीलाई तीव्रता दिइएको छ । तालिम सम्पन्न भएसँगै मतदान केन्द्रमा खटिने कर्मचारीहरू पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले सबै प्रक्रिया कानुनसम्मत र पारदर्शी ढंगले सञ्चालन हुने विश्वास व्यक्त गरेको छ ।




