राप्तीसोनारी, असोज २ राप्तीसोनारी गाउँपालिकास्थित सिधनिया घाटमा निर्माणाधीन पुललाई ११४० मिटर लम्बाइमा विस्तार गर्ने विषयमा सडक विभागमा व्यापक छलफल भएको छ । पुलको लम्बाइ बढाउन स्थानीयस्तरबाट उठ्दै आएको मागलाई सम्बोधन गर्न जनप्रतिनिधि तथा राजनीतिक नेतृत्व काठमाडौं पुगेर सडक विभागका उच्च अधिकारीसँग छलफल गरेका हुन् ।
सडक विभाग पुलचोकस्थित कार्यालयमा भएको छलफलमा पुलको हालको डिजाइन, राप्ती नदीको बहाव क्षेत्र, भौगोलिक अवस्था तथा भविष्यमा आउन सक्ने बाढी र कटानको जोखिमबारे विस्तृत रूपमा छलफल भएको बताइएको छ । छलफललाई सहभागीहरूले सकारात्मक र उपलब्धिमूलक भएको बताएका छन् । छलफलमा सडक विभागका महानिर्देशक विजय जैसी हड्खले, पुल महाशाखा प्रमुख ललिजन खनाल, हुलाकी सडक नेपालगन्जका प्रमुख लिला भण्डारी, आयोजना प्रमुख कुबेर नेपाली, जियोटेक्निकल विज्ञ मनुसुधन शर्मा तथा पुल निर्माण कम्पनीका ठेकेदार धिरेन्द्र दाहाललगायतको सहभागिता थियो ।
सिधनिया घाटको पुललाई हाल कायम रहेको डिजाइनभन्दा विस्तार गरी ११४० मिटर पुर्याउनुपर्ने माग स्थानीयले लामो समयदेखि गर्दै आएका छन् । राप्ती नदीको वर्षायामको बहाव क्षेत्र फराकिलो हुने भएकाले सात सय मिटरको पुलले नदीको सम्पूर्ण बहाव क्षेत्र समेट्न नसक्ने स्थानीयको भनाइ छ । पुल छोटो हुँदा भविष्यमा नदीको बहाव, कटान तथा बाढीको जोखिम आसपासका बस्ती र खेतीयोग्य जमिनतर्फ बढ्न सक्ने भन्दै स्थानीयले प्राविधिक पुनरावलोकनको माग गर्दै आएका छन् । यसै विषयलाई लिएर लुम्बिनी प्रदेशकी सांसद मिना श्रेष्ठ, लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कृष्ण केसी, राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेल र वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारुसहितको टोली काठमाडौं पुगेको हो ।
छलफलमा टोलीले सिधनिया घाटको भौगोलिक तथा नदीजन्य अवस्थालाई ध्यानमा राखेर पुलको लम्बाइ पुनरावलोकन गर्नुपर्ने धारणा राखेको थियो । स्थानीयको माग तत्कालको निर्माण प्रक्रियालाई अवरुद्ध गर्नेभन्दा पनि दीर्घकालीन रूपमा सुरक्षित र प्रभावकारी पूर्वाधार निर्माणसँग सम्बन्धित रहेको उनीहरूको भनाइ थियो । पूर्वमन्त्री कृष्ण केसीले राप्ती नदीको प्रकृति र आसपासको भौगोलिक अवस्थालाई ध्यानमा राखेर पुल निर्माण गर्नुपर्नेमा जोड दिइन् । पुलजस्तो दीर्घकालीन संरचना निर्माण गर्दा अहिलेको अवस्थामात्र नभई भविष्यमा आउन सक्ने जोखिमसमेत मूल्याङ्कन गर्नुपर्ने उनको धारणा थियो ।

वडाध्यक्ष लवराज खरेलले स्थानीयले सुरुदेखि नै पुलको लम्बाइ बढाउन माग गर्दै आएको बताए । राप्ती नदीको बहाव वर्षायाममा अत्यधिक फैलिने भएकाले पुलको लम्बाइ पर्याप्त हुनुपर्ने स्थानीयको माग रहेको उनले बताए । त्यस्तै, वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले पुलको लम्बाइसँगै आसपासको नदी क्षेत्रको व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने बताए । स्थानीयको सरोकारलाई प्राविधिक अध्ययनसँग जोडेर समाधान खोज्नुपर्नेमा उनले जोड दिए । सडक विभागका अधिकारी तथा प्राविधिक पक्षबाट समेत पुलको अवस्था, नदीको बहाव र जियोटेक्निकल पक्षबारे छलफल भएको जनाइएको छ । पुल निर्माण कम्पनीका प्रतिनिधिसमेत सहभागी भएकाले निर्माणको वर्तमान अवस्था र सम्भावित प्राविधिक पक्षबारे छलफल गर्न सहज भएको सहभागीहरूले बताएका छन् ।
सिधनिया घाटमा निर्माणाधीन पुलको ठेक्का सम्झौता २०७९ माघमा भएको हो । सम्झौताअनुसार पुल २०८४ असार मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ । हाल पुल सात सय मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण भइरहेको छ । पुलमा दुवैतर्फ १.७५ मिटरका फुटपाथसमेत निर्माण गर्ने योजना छ । आयोजनाको कुल लागत करिब एक अर्ब १९ करोड रुपैयाँ रहेको छ । पुल निर्माणको प्रगति अपेक्षाअनुसार हुन नसकेको अवस्थामा लम्बाइ विस्तारको विषय थप प्राविधिक र प्रशासनिक निर्णयसँग जोडिएको छ । त्यसैले सडक विभागमा भएको पछिल्लो छलफललाई स्थानीय सरोकारवालाले पुलको भविष्यबारे निर्णयका लागि महŒवपूर्ण पहलका रूपमा लिएका छन् । सहभागीहरूका अनुसार छलफल सकारात्मक रहेकाले अब प्राविधिक अध्ययन तथा आवश्यक प्रक्रियामार्फत पुलको लम्बाइ विस्तारको सम्भावनाबारे थप काम अघि बढ्ने अपेक्षा गरिएको छ । राप्तीसोनारीका जनप्रतिनिधिले स्थानीयको मागलाई संघीय सरकार, सडक विभाग र सम्बन्धित निकायसम्म निरन्तर पुर्याउने बताएका छन् ।
















