
दाङ, चैत ३ गाउँघरमा गृहिणीहरूको फुर्सदको समय प्रायः गफगाफ वा घरायसी काममै सीमित हुने गरेको देखिन्छ । तर दाङको राप्ती गाउँपालिका–८ पिपरीका केही महिलाले भने यही फुर्सदको समयलाई आम्दानीको अवसरमा बदल्न थालेका छन् । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै उनीहरूले धुप र साबुन उत्पादन सुरु गरेका छन् । सानो प्रयासबाट सुरु गरिएको यो काम अहिले गाउँमै सानो घरेलु उद्योगका रूपमा विकास हुँदै गएको छ ।
पिपरीका पिङकु चौधरी, यमा चौधरी, अनिता चौधरी, माया चौधरी, शोभा चौधरी र अञ्जु चौधरीले मिलेर “राप्ती लालीगुराँस साबुन तथा धुप उद्योग” सञ्चालन गरेका छन् । दैनिक घरधन्दा सकेपछि खाली समय सदुपयोग गर्ने उद्देश्यले उनीहरूले यो उद्यम सुरु गरेका हुन् । कृषिबाहेक अन्य समयमा गाउँमा धेरै महिलाहरू खाली बस्नुपर्ने अवस्था रहेकाले सानो लगानीबाट केही गरौँ भन्ने सोचले उद्योग स्थापना गरिएको उनीहरू बताउँछन् । स्थानीय वडा कार्यालय र गाउँपालिकाको सहयोगमा धुप, साबुन तथा अन्य घरेलु सामग्री उत्पादनसम्बन्धी तालिम पाएपछि उनीहरू उद्यमतर्फ आकर्षित भएका थिए । सुरुमा १६–१७ जना महिलाले तालिम लिए पनि अन्ततः छ जनाले जनही दुई हजार पाँच सय रुपैयाँ संकलन गरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योगले गाउँमै पाइने कच्चा पदार्थ प्रयोग गरेर अर्गानिक ‘बाटेको धुप’ उत्पादन गरिरहेको छ । सयपत्रीका सुकेका फूल, धुपी सल्लो, कपुर र खोटालगायत सामग्री प्रयोग गरी धुप तयार गरिन्छ । धुपको प्याकेजिङका लागि स्थानीय रूपमा उत्पादन हुने नेपाली कागज प्रयोग गरिन्छ । उद्योग सञ्चालक समितिका सदस्य शोभा चौधरीका अनुसार आवश्यक अधिकांश कच्चा पदार्थ गाउँमै पाइने भएकाले उत्पादन गर्न सहज भएको छ । महिलाहरूका अनुसार बजारमा पाइने धेरैजसो धुपमा बाँसको डण्डी प्रयोग गरिन्छ, जसबाट निस्कने धुवाँ स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । त्यसैले आफूहरूले बाँसको डण्डीबिनाको ‘बाटेको धुप’ उत्पादनमा जोड दिएको उद्योग सञ्चालक समितिका सदस्य माया चौधरी बताउँछिन् । यस्तो धुप तुलनात्मक रूपमा स्वास्थ्यका लागि सुरक्षित मानिने भएकाले उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाइएको उनीहरूको भनाइ छ ।
उद्योगले उत्पादन गरेको धुप अहिले स्थानीय बजारसँगै विभिन्न मठमन्दिर र मेला–महोत्सवमा बिक्री हुँदै आएको छ । विशेषगरी प्युठानस्थित स्वर्गद्वारी मन्दिरमा यसको माग बढी रहेको छ । प्रतिप्याकेट धुप फुटकरमा १ सय रुपैयाँ र थोकमा ८० रुपैयाँमा बिक्री हुने गरेको छ । धुपसँगै महिलाहरूले एलोभेरा, निम र तितेपातीजस्ता जडीबुटी प्रयोग गरी साबुन पनि उत्पादन गरिरहेका छन् । सानो, मझौला र ठुलो गरी तीन साइजका साबुन बजारमा उपलब्ध छन् । सानो साबुन मुख्यतः हात धुने प्रयोजनका लागि स्थानीय होटलहरूमा आपूर्ति हुने गरेको छ । उद्योग सञ्चालन गरेको करिब एक वर्ष भए पनि घरायसी जिम्मेवारीका कारण महिलाहरू पूर्ण रूपमा व्यावसायिक रूपमा काम गर्न सकेका छैनन् । उनीहरू बिहान घरको काम सकेपछि करिब १०–११ बजेदेखि बच्चाहरू स्कुलबाट फर्किनुअघि सम्म उत्पादनमा समय दिन्छन् ।
यद्यपि, सानो लगानीबाट सुरु गरिएको यो प्रयासले उनीहरूलाई आत्मनिर्भर बन्ने आत्मविश्वास दिएको छ । आवश्यक पुँजी, उपकरण र बजार विस्तारको सहयोग प्राप्त भएमा उद्योगलाई अझ व्यवस्थित र ठूलो बनाउन सकिने उनीहरूको विश्वास छ । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै सुरु गरिएको पिपरीका महिलाहरूको यो सानो प्रयासले ग्रामीण क्षेत्रमा घरेलु उद्योगमार्फत रोजगारी र आयआर्जनको सम्भावना उजागर गरेको छ ।
राप्तीसोनारी, चैत ३ राप्तीसोनारी गाउँपालिकाका दुईवटा विद्यालयमा शौचालयसहितका चार/चार कोठे विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । नेपाल सरकार सशर्त अनुदानबाट निर्मित गुरुयोजनाका आधारमा स्थानीय तहको साझेदारीमा विद्यालयका भौतिक पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत शौचालयसहितका चार/चार कोठे विद्यालय भवन शिलान्यास गरिएको हो ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नेपाल राष्ट्रिय आधारभूत विद्यालय राप्तीसोनारी–२ महेन्द्रपुर तथा अमर ज्योति माध्यमिक विद्यालय राप्तीसोनारी–७ लालपुरमा निर्माण हुने शौचालयसहितका चार कोठे भवनको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा अध्यक्ष पौडेलले गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनु अत्यन्त आवश्यक रहेको बताए । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयका भवन, कक्षाकोठा, शौचालयलगायत आवश्यक संरचना निर्माणमा निरन्तर लगानी गर्दै आएको उनको भनाइ छ ।
‘विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध गराउनु सरकारको दायित्व हो,’ उनले भने, ‘गुरुयोजनाको आधारमा आवश्यकता भएका विद्यालयमा भौतिक संरचना निर्माण गर्दै शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउने हाम्रो लक्ष्य छ ।’ गाउँपालिकाका अनुसार नेपाल सरकारको सशर्त अनुदानबाट यी भवन निर्माण गर्न लागिएको हो । विद्यालयका भौतिक पूर्वाधार विकासका लागि तयार गरिएको गुरुयोजनाको आधारमा स्थानीय तहको साझेदारीमा निर्माण कार्य अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिकाका सवइन्जिनियर दुर्गा केसीका अनुसार दुवै विद्यालयमा शौचालयसहित चार/चार कोठे भवन निर्माण गरिनेछ । उनले दुवै भवन निर्माणका लागि कुल एक करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको जानकारी दिए । निर्माण कार्य समयमै सम्पन्न गरी विद्यार्थीलाई आधुनिक र व्यवस्थित कक्षाकोठामा अध्ययन गर्ने वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको उनले बताए ।
स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले पनि भवन निर्माण कार्यले विद्यालयको शैक्षिक वातावरण सुधार हुने विश्वास व्यक्त गरेका छन् । हाल कक्षाकोठाको अभाव तथा पुराना संरचनाका कारण पठनपाठनमा समस्या भइरहेका विद्यालयमा नयाँ भवन निर्माणपछि विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।
कोहलपुर, चैत २ आइतबार कोहलपुरमा परेको सामान्य वर्षाले यहाँको वातावरण केही चिसो बनाएको थियो । मौसममा हल्का शीतलता थियो । तर सोमबार बिहान सूर्य उदाएसँगै मौसम फेरियो । दिउँसोसम्म आइपुग्दा सूर्यको चर्को घामले धरती तताइसकेको थियो । घाम चर्किँदै गए पनि खेलप्रेमीहरूको उत्साह भने कम भएन । कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मैदानमा सयौँ दर्शकको भीड जम्मा भएको थियो । रंगशालाको वरिपरि दर्शकको बाक्लो उपस्थिति देखिन्थ्यो । मैदानको एकतर्फ मञ्चमा विशिष्ट अतिथिहरूको उपस्थिति थियो भने अर्कोतर्फ प्याराफिटमा दर्शकको हुटिङले वातावरण झनै तातिएको थियो । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलगायतका अतिथिहरू मञ्चमा बसेर खेलको रोमाञ्चक दृश्य नियालिरहेका थिए ।
मैदानको बीच भागमा भने टि–२० ‘केपीएल’ प्रतियोगिताको फाइनल खेलले सबैको ध्यान तानेको थियो । न्यू होराइजन स्पोर्टस् क्लब र युनाइटेड भिजन सीसी एकेडेमीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक देखिन्थ्यो । बल र ब्याटको टक्करले खेल झनै रोचक बनिरहेको थियो । कुनै टोलीले चौका प्रहार गर्दा वा विकेट लिँदा दर्शकको हुटिङ र तालीले मैदान गुञ्जिन्थ्यो । चर्को घाममा पनि खेल हेर्न आएका दर्शकहरूको उत्साहले खेलाडीहरूलाई थप ऊर्जा दिएको देखिन्थ्यो । मैदानमा खेलिरहेका खेलाडीहरू पनि दर्शकको समर्थनबाट उत्साहित देखिन्थे । प्रत्येक राम्रो बलिङ, आकर्षक चौका वा छक्कामा दर्शकबाट आउने आवाजले खेललाई उत्सवजस्तै बनाइरहेको थियो ।
पछिल्ला केही वर्षयता कोहलपुरमा क्रिकेटप्रतिको आकर्षण उल्लेखनीयरूपमा बढ्दै गएको छ । यहाँ आयोजना हुने घरेलु प्रतियोगिताले स्थानीय युवामा क्रिकेटप्रति रुचि बढाउन ठूलो भूमिका खेलेका छन् । टि–२० ढाँचाका प्रतियोगिताले विशेषगरी युवालाई मैदानतर्फ तानिरहेका छन् । विद्यालय, कलेज र क्लबस्तरमा आयोजना हुने प्रतियोगिताले नयाँ प्रतिभा जन्माउने वातावरण बनाएको छ । कोहलपुरले नेपाली क्रिकेटलाई खेलाडी पनि दिएको छ । यहाँबाट राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडी उत्पादन भएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एलबी क्षेत्री कोहलपुरकै खेलाडी हुन् । उनले राष्ट्रिय टोलीको नेतृत्व गर्दै कोहलपुरको नाम देशभर चिनाएका थिए । अहिले उनी राष्ट्रिय टोलीमा सक्रिय नरहे पनि उनको योगदानले यहाँका युवालाई प्रेरणा दिइरहेको छ ।
महिला क्रिकेटतर्फ पनि कोहलपुरले उल्लेखनीय योगदान दिएको छ । ममता थापा र सीता राना मगरले महिला राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी सम्हालिसकेका छन् । राना मगर अहिले पनि राष्ट्रिय टोलीमा सक्रिय छिन् । त्यस्तै मनिषा रावत र मनिषा राना मगरले अन्तर्राष्ट्रिय क्रिकेट खेलेर कोहलपुरको पहिचानलाई थप मजबुत बनाएका छन् । पुरुषतर्फ अजय सहानी पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन् । लुम्बिनी प्रदेशबाट छनोट भई राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि कोहलपुरका खेलाडीहरूले राम्रो सहभागिता जनाउँदै आएका छन् । प्रदेशस्तरका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै यहाँका खेलाडीहरूले आफ्नो क्षमता देखाइरहेका छन् । स्थानीय क्लब, प्रशिक्षक र खेलप्रेमीहरूको सहयोगले खेलाडीहरूलाई अघि बढ्न प्रेरणा मिलिरहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएपछि कोहलपुरमा खेल गतिविधि अझ बढेको छ । अभ्यास, प्रशिक्षण र प्रतियोगिताका कारण मैदान सधैंजसो चलायमान देखिन्छ । बिहान र साँझ मैदानमा अभ्यास गरिरहेका युवाको संख्या पनि बढ्दै गएको छ । सोमबार भएको फाइनल खेलले एउटा सन्देश स्पष्ट दिएको थियो, ‘कोहलपुरमा क्रिकेटको क्रेज दिनप्रतिदिन बढिरहेको छ ।’ चर्को घामलाई बेवास्ता गर्दै मैदानमा उपस्थित सयौँ दर्शकले खेलप्रतिको आफ्नो माया प्रकट गरेका थिए । स्थानीय प्रतियोगिता, राष्ट्रिय खेलाडीहरूको प्रेरणा र दर्शकको उत्साहले कोहलपुरलाई क्रिकेटको महत्वपूर्ण केन्द्र बन्ने सम्भावना देखिएको छ । यही उत्साह र निरन्तरता कायम रहेमा भविष्यमा कोहलपुरबाट अझ धेरै प्रतिभावान खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किने अपेक्षा गर्न सकिन्छ । ‘कोहलपुुरमा पछिल्लो समय भएका क्रिकेट प्रतियोगिताले दर्शक तानेको छ,’ खेल हेर्न पुगेको युवा विक्रम केसीले भने, ‘क्रिकेटका लागि स्थानीय सरकारले अझ बढी ध्यान दिनुपर्छ ।’





