२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

बाढी–पहिरोमा जाजरकोटका दुई जना बेपत्ता

जाजरकोट, भदौ ५ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । जुनीचाँदे गाउँपालिका–६ डोग्राका ६४ वर्षीय देवबहादुर सिंह र सोही वडाको छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापा बाढीमा परी बेपत्ता भएका हुन् ।

डोग्रामा डोग्राखोला थुनिएर एक्कासि फुट्दा आएको बाढीमा परी सिंह बेपत्ता हुनुभएको हो । शुक्रबार बिहान करिब २ बजे अविरल वर्षाका कारण खोला थुनिएर जम्मा भएको पानी एक्कासि फुटेपछि पानीघट्ट सञ्चालन गर्न जानुभएका सिंह सम्पर्कविहीन हुनुभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक बुद्धीसागर पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले सिंहसँगै सो क्षेत्रमा सञ्चालनमा रहेका आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ । बाढीको बहाव तीव्र रहेकाले बेपत्ता सिंहको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही वडाको छिर्का टोलकी थापा बुधबार साँझ सेती खोलाले बगाउँदा बेपत्ता हुनुभएको हो । प्रहरीका अनुसार बुधबार साँझ करिब ७ बजे गोठबाट घरतर्फ फर्कने क्रममा थापालाई सेती खोलाले बगाएको थियो ।

थापा बेपत्ता भएको घटनाबारे बिहीबार बिहान करिब १० बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरीले स्थानीयवासीको सहयोगमा सम्भावित स्थानमा खोजी गरिरहेको जनाएको छ ।

लगातारको वर्षाका कारण जुनीचाँदे गाउँपालिकाका विभिन्न क्षेत्रमा खोला तथा नदीको बहाव बढेको छ । कतिपय स्थानमा खोला थुनिएर एक्कासि फुट्दा बाढीको जोखिमसमेत बढेको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार दुवै बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ । लगातारको वर्षा र बाढीका कारण खोजी कार्यमा चुनौती देखिए पनि सम्भावित स्थानमा प्रहरी टोली परिचालन गरेर खोजीलाई तीव्रता दिइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।