२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

कोहलपुर, चैत ११ गते   लुम्बिनी प्रदेश सरकारले चैत १२ गते बिहीबार चैते दसैं (शुक्ल अष्टमी) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले चैत ९ गते जारी गरेको सूचनामा बिदा दिने निर्णयको जानकारी गराइएको हो । यस निर्णयलाई प्रदेश राजपत्र भाग ३, खण्ड ६, संख्या १४ मा प्रकाशित गरिएको छ ।

दुबई, चैत ११ गते   अमेरिका र इरानबीच जारी द्वन्द्वलाई अन्त्य गर्ने उद्देश्यले अमेरिका सरकारले १५ बुँदे युद्धविराम प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्‍याएको छ । यसले वार्ता पुनः सुरु गराउन मध्यस्थताको संकेत दिएको छ भने पाकिस्तानले पनि यस प्रयासमा सक्रिय भूमिका खेल्ने तयारी देखाएको छ।

तर, परिस्थिती अझै जटिल बनेको छ । अमेरिका मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ गर्दैछ । हाल करिब ५० हजार सैनिक क्षेत्रमै तैनाथ छन् भने थप एक हजार सैनिक पठाउने तयारी छ । साथै, समुद्री सैनिकहरूको ठूलो सङ्ख्या परिचालन भइरहेको छ । यसलाई भविष्यमा आवश्यक निर्णय लिन लचिलोपन कायम राख्ने रणनीतिका रूपमा हेरिएको छ।

इरानले भने अमेरिका सङ्ग औपचारिक वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ, तर अमेरिकाले वार्ता भइरहेको संकेत दिएको छ । यसले दुवै पक्षबिच गहिरो अविश्वास कायम रहेको देखाउँछ ।

मध्यपूर्वको महत्त्वपूर्ण जलमार्ग हर्मुज जलडमरूमध्यमा नियन्त्रण कडा हुँदा अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको छ । इन्धनको मूल्यमा वृद्धि हुँदा विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता बढेको छ ।

सैन्य गतिविधि पनि जारी छ । इरानले इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ भने इजरायलले इरान र लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ । यसका क्रममा सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटनाहरू भएका छन् । लेबनानमा तनाव बढ्दै, सरकारले इरानी राजदूतलाई देश छोड्न निर्देशन दिएको छ ।

समग्रमा, एकातर्फ कूटनीतिक पहल अघि बढिरहेको छ भने अर्कोतर्फ सैन्य गतिविधि बढ्दै जाँदा मध्यपूर्वको अवस्था अझ संवेदनशील र अनिश्चित बनेको छ । दुवै पक्षका कडा अडान र आपसी अविश्वासले तत्काल समाधान चुनौतीपूर्ण बनाएको छ । पाकिस्तानको मध्यस्थतामा वार्ता सफल भए निकट भविष्यमा युद्धविराम सम्भव देखिएको छ।

काठमाडौँ, चैत्र ११ गते  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सफलता पूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोगमा विशेष कार्यक्रम गरेको छ ।  आयोग कार्यालयमा आयोजित जलपान समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकासमान सिंह राउत प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीलगायत उच्च पदस्थ व्यक्तित्वको सहभागिता थियो ।

काठमाडौँ ,११ चैत  प्रधानमन्त्री सुशीला कार्की ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोग नेपाल ले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्नेमा जोड दिएकी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा आयोगले बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण रूपमा निर्वाचन सफल भएको उल्लेख गर्दै उक्त मानक आगामी निर्वाचनमा पनि कायम राख्नुपर्ने बताइन् ।

‘यसपटकको निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सकारात्मक बनेको छ । यसबाट नेपालप्रतिको सम्मान बढेको छ । यो निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य, मान्यतालाई संरक्षण गर्नुका साथै लोकतन्त्रको संवर्द्धनमा टेवा पुर्‍याएको छ,’ उनले भनिन् ।

गत भदौ अन्तिम साता आफू प्रधानमन्त्रीमा नियुक्त हुँदा देश कानुनी र राजनीतिक शून्यता तथा सुरक्षा संवेदनशीलताको अवस्थाबाट गुज्रिरहेको स्मरण गर्दै उनले त्यस्तो परिस्थितिबाट निर्वाचन सम्पन्न गरिनु उल्लेखनीय उपलब्धि भएको बताइन् । सुरुका दिनमा निर्वाचन चुनौतीपूर्ण रहे पनि आयोगको अठोट र सरकारको सहयोगले त्यसलाई सफल बनाउन सम्भव भएको उनको भनाइ थियो ।

निर्वाचन घोषणा भएपछि जारी गरिएको अध्यादेशअनुसार करिब १० लाख युवा मतदाताले उत्साहपूर्वक मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचनमा सहभागी भई जनप्रतिनिधि चुनेको उनले जानकारी दिइन् । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरेकोमा उनले आयोगलाई धन्यवाद दिइन् ।

नेपालगन्ज, चैत ११  देशभरका प्रारम्भिक चरणका उद्यमीलाई व्यवसाय सञ्चालन र लगानी आकर्षणका व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले अमेरिकी दूतावासले सोमबार नेपालगन्जमा राष्ट्रिय उद्यमशीलता सीप निर्माण कार्यक्रमको सुरुवात गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले यस पहल अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीसँगको साझेदारीमा सञ्चालन गर्दै आएको छ । प्रारम्भिक चरणमा कार्यक्रम लुम्बिनी प्रदेशबाट सुरु भई धनगढी, विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा र पोखरामा जारी रहनेछ । सातै प्रदेशमा करिब २०० उद्यमी प्रत्यक्ष कार्यशाला, गोष्ठी र भर्चुअल बुटक्याम्पमा सहभागी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमका प्रशिक्षण सत्रहरूले व्यवसायका आधारभूत पक्ष, बजार पुष्टि, लगानीकर्तासँग सञ्चार, डिजिटल मार्केटिङ, निर्यात तयारी लगायतका विषयमा विशेष ध्यान दिनेछन् । सहभागी उद्यमीले यसबाट नवीन सोचलाई व्यावसायिक अवसरमा परिणत गर्ने, दीर्घकालीन आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान दिने व्यवहार्य कम्पनी निर्माणका सीप सिक्नेछन् । नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, ‘आर्थिक वृद्धि र नवप्रवर्तनमा उद्यमीहरूको भूमिका अपरिहार्य छ । यस कार्यक्रमले नेपाली संस्थापकहरूलाई व्यवसाय विस्तारमा सहयोग गर्ने मात्र होइन, अमेरिका–नेपालबीच व्यापार र वाणिज्य सहकार्यका नयाँ अवसर पनि सिर्जना गर्नेछ ।’

कार्यक्रम अमेरिकी नेपाल वाणिज्य कूटनीति शृंखलाको हिस्सा हो, जसले उद्यमशीलता, नवप्रवर्तन र निजी क्षेत्रको विकास प्रवर्धन गरी दुई देशबीचको आर्थिक सम्बन्ध मजबुत बनाउने उद्देश्य राखेको छ । यसअन्तर्गत उद्यमीहरूलाई सल्लाहकार, लगानीकर्ता र उद्योग विशेषज्ञसँग जोड्दै व्यवसाय मोडेल परिष्कृत गर्ने, वृद्धि र अमेरिकी फर्मसँग साझेदारीका लागि तयार गर्ने अवसर उपलब्ध गराइनेछ ।

यस पहललाई अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीद्वारा अमेरिकी वाणिज्य संघ र द ग्लोबल इम्प्याक्ट कलेक्टिभसँगको सहकार्यमा कार्यान्वयन गरिएको छ । यसले नेपालको नवप्रवर्तन वातावरणलाई थप मजबुत बनाउन र अमेरिका–नेपाल आर्थिक सहकार्यलाई प्रवर्धन गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

बर्दिया, चैत ११  बर्दियाको गेरुवा गाउँपालिका–३ मा चार महिनाभित्र निर्माण सम्पन्न हुने भनिएको कल्भर्ट निर्माणको काम करिब एक वर्षदेखि अलपत्र अवस्थामा छ  । चाइना टोल जाने बाटोमा पर्ने उक्त कल्भर्ट निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीको लापरबाहीका कारण गाउँलेहरू दैनिक असुविधामा परेका छन् ।

गाउँपालिका–३ का वडाध्यक्ष निर्मल चौधरीका अनुसार, वडा कार्यालय नजिक कुलोमा निर्माण हुने कल्भर्टको काम समयमा सम्पन्न गराउन पटक–पटक निर्माण कम्पनीलाई चेतावनी दिइएको भए पनि अहिलेसम्म ठोस काम भएको छैन  । ‘निर्माण कम्पनीले छिट्टै काम सम्पन्न गर्ने प्रतिबद्धता त व्यक्त गरेको छ, तर अहिलेसम्म कुनै प्रगतिले गाउँलेको अपेक्षा अनुसार देखिएको छैन,’ उनले बताए । माँ लक्ष्मी निर्माण सेवा, गेरुवा–६ ले उक्त कल्भर्ट निर्माणको जिम्मेवारी २५ चैत ०८१ मा पाएको थियो  ।

सम्झौताअनुसार निर्माण कम्पनीले १० असार ०८२ भित्र काम सक्ने तय भएको थियो, तर समयमै काम सम्पन्न नगरेपछि पालिकाले २९ माघ ०८२ सम्म काम सक्नुपर्ने गरी म्याद थप गरेको थियो । पालिकाका सूचना अधिकारी कुननारायण चौधरीले भने, ‘निर्माण कम्पनीले अहिलेसम्म कुनै काम गरेको छैन । पटक–पटक सम्झाइ–सुझाइ गर्दा पनि प्रगति नगरेकाले स्थानीयवासीको असुविधा बढेको छ ।’

पालिकाले सार्वजनिक जानकारीअनुसार ठेक्का निर्माण कम्पनीले १४ लाख ४० हजार ७९७ रुपैयाँमा प्राप्त गरेको थियो । निर्माणको ढिलाइ र लापरबाहीका कारण स्थानीयवासी दैनिक आवत–जावतमा जोखिम सामना गरिरहेका छन् । वर्षौंदेखि बाढी र पानीको बहावले सडकमा गहिरा खाल्चा बनेका कारण पैदल र सवारी साधन दुबैलाई समस्या भइरहेको छ ।

सार्वजनिक खरिद नियमावली, २०७४ अनुसार पूर्वनिर्धारित समयमा काम नगर्ने आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीलाई जरिवाना लगाउने र ठेक्का रद्द गर्ने व्यवस्था छ । गाउँपालिकाले पनि निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न दबाब दिइरहेको भए तापनि ठोस कदम चालिने संकेत अहिलेसम्म देखिएको छैन ।
स्था

नीयवासीले निर्माण ढिलाइका कारण रोजमर्रा जीवनमा असुविधा भोग्दै आएका छन् भने गाउँपालिकामा पनि निर्माण ढिलाइ रोक्ने दबाब बढ्दै गएको छ । वडाध्यक्ष चौधरीले भने, ‘गाउँलेले सहज यात्रा गर्न सकून् भन्ने उद्देश्यले काम छिटो सम्पन्न हुनुपर्छ । ढिलाइ भए स्थानीय असन्तुष्टि बढ्छ ।’ अहिलेसम्म निर्माण कम्पनीको ढिलाइले गाउँपालिकाको विकास योजनामा ठुलो बाधा पुर्‍याएको देखिन्छ, र स्थानीय प्रशासनले कानूनी प्रक्रिया अपनाएर काम छिटो सम्पन्न गराउने बाटो खोजिरहेको छ ।

दाङ, चैत ११  लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी) अझै उच्च दरमा फैलिरहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांकअनुसार पछिल्ला वर्षमा टिबीका केही सूचकमा सुधार भए पनि संक्रमण दर अझै चुनौतीपूर्ण अवस्थामा छ । आर्थिक वर्ष २०७६/७७ मा प्रति एक लाख जनसंख्यामा ११२ जना संक्रमित रहेकोमा, २०७८/७९ मा यो संख्या १५८ पुगेको थियो । त्यसपछि केही उतारचढाव भए पनि २०८०/८१ मा १६४ पुगेको संक्रमण दर २०८१/८२ मा घटेर १५१ मा झरेको छ । उपचार सफलता दर भने निरन्तर सुधार गर्दै २०७६/७७ मा ९१ प्रतिशत रहेकोमा २०८१/८२ मा ९४ प्रतिशत पुगेको छ । तर मृत्युदर ३–४ प्रतिशतमा स्थिर रहनु र समयमै पहिचानमा चुनौती हुनुले रोग नियन्त्रणमा अझै समस्या रहेको देखिन्छ ।

जिल्लागत विवरणअनुसार रुपन्देहीमा सबैभन्दा बढी टिबीका बिरामी भेटिएका छन्, जहाँ १,११५ केस दर्ता भएका छन् । दाङमा ७७४, बाँकेमा ५७९, कपिलवस्तुमा ५६२ र बर्दियामा ३८० केस रहेका छन् । पहाडी जिल्लामा संख्या कम देखिए पनि सेवा पहुँच सीमित भएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने स्वास्थ्य अधिकारीको अनुमान छ । प्रदेशभर कुल ४,५८० टिबी बिरामी दर्ता भएका छन् । स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन कृष्ण गोपाल चौधरीका अनुसार कुल केस दर ८५.९५ प्रतिशत र उपचार सफलता दर करिब ९० प्रतिशत पुगेको छ । त्यस्तै, टिबी र एचआईभी सह–संक्रमणका ३२ केस फेला परेका छन् भने एआरटी सेवामा रहेका २० बिरामीलाई पनि उपचार दिइँदैछ, जसले रोग नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ ।

यस वर्ष विश्व क्षयरोग दिवस २०२६ ‘हामी क्षयरोग अन्त्य गर्न सक्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित लुम्बिनी प्रदेशमा मनाइएको छ । सो अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालयले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले साझा प्रयासबिना क्षयरोग नियन्त्रण सम्भव नहुने बताउँदै समयमै परीक्षण, नियमित उपचार र जनचेतना अभिवृद्धिमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए । उनले भने, ‘समयमै पहिचान र उपचार मात्रले टिबी नियन्त्रण गर्न सकिन्छ, यसमा सरकार, स्वास्थ्यकर्मी र समुदाय सबैको भूमिका महŒवपूर्ण छ ।’

विशेषज्ञहरूको चेतावनी छ कि स्थानीय तह र स्वास्थ्य संस्थाले समुदायसम्म नियमित स्वास्थ्य सेवा र सचेतनामूलक कार्यक्रम पुर्‍याउन नसकेमा टिबी नियन्त्रण चुनौतीपूर्ण रहनेछ । प्रदेशभरको स्वास्थ्य सेवा सुदृढीकरण र जनचेतनामा जोड दिइएको खण्डमा मात्रै संक्रमण दर घटाउने सम्भावना बढ्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।