२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

नेपालगन्ज, वैशाख ६  बाँकेका अटो व्यवसायीहरूले सवारी साधन जाँचपास तथा नामसारी प्रक्रियालाई सरल र व्यवहारिक बनाउन माग गर्दै सम्बन्धित निकायमाथि दबाब बढाएका छन् । हालको प्रक्रिया झन्झटिलो र खर्चिलो भएको भन्दै उनीहरूले तत्काल सुधारको आवश्यकता औँल्याएका हुन् । बाँके अटोमोबाइल्स एसोसिएसनले शुक्रबार यातायात व्यवस्था कार्यालय नेपालगन्जमा पुगेर औपचारिक रूपमा मागपत्र बुझाएको छ । एसोसिएसनका अध्यक्ष नरेन्द्रबहादुर वली नेतृत्वको टोलीले कार्यालय प्रमुख कालिदास बस्याललाई मागपत्र बुझाउँदै वर्तमान प्रणाली सेवाग्राहीमैत्री नभएको स्पष्ट पारे ।

अध्यक्ष वलीले देशका विभिन्न प्रदेश र जिल्लामा सवारी साधन सञ्चालन हुने भए पनि दर्ता वा नामसारीका लागि अनिवार्य रूपमा मूल दर्ता भएको कार्यालयमै सवारी लैजानुपर्ने व्यवस्था अव्यवहारिक रहेको बताए । उनका अनुसार काठमाडौँमा दर्ता भएका सवारी साधन लुम्बिनी वा कर्णालीमा सञ्चालन भइरहेका छन् भने ती क्षेत्रका सवारी साधन बागमती र गण्डकीमा प्रयोग भइरहेका उदाहरण प्रशस्त छन् । यस्तो अवस्थामा नामसारीका लागि सयौँ किलोमिटर टाढा सवारी लैजानु समय, श्रम र खर्चका हिसाबले अत्यन्त जटिल बन्ने गरेको उनले बताए ।

व्यवसायीहरूले समस्या समाधानका लागि वैकल्पिक उपायहरू पनि अघि सारेका छन् । उनीहरूले सवारी रहेको स्थान नजिकैको यातायात कार्यालयका प्राविधिक र दर्ता भएको कार्यालयका प्राविधिकबीच समन्वय गरी जाँचपास गर्ने व्यवस्था लागू गर्नुपर्ने सुझाव दिएका छन् । त्यसैगरी, आधुनिक प्रविधिको प्रयोग गर्दै भिडियो कलमार्फत सवारीका इन्जिन, चेसिस नम्बरलगायत आवश्यक विवरण प्रमाणीकरण गर्ने प्रणाली विकास गर्न सकिने प्रस्ताव पनि गरिएको छ । मागपत्र बुझ्दै कार्यालय प्रमुख कालिदास बस्यालले व्यवसायीका गुनासोप्रति आफू संवेदनशील रहेको प्रतिक्रिया दिए । उनले यस विषयमा केन्द्रसँग समन्वय गरी समाधान खोज्ने प्रतिबद्धता जनाएको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार अहिलेको जाँचपास प्रणालीका कारण सवारी धनीहरू राज्यबाट प्राप्त गर्नुपर्ने न्यूनतम सेवाबाट समेत वञ्चित भइरहेका छन् । त्यसैले कानुनी तथा नीतिगत सुधारमार्फत सेवा प्रणालीलाई सहज, छरितो र प्रविधिमैत्री बनाउन आवश्यक रहेको उनीहरूको जोड छ । उक्त विषयमा यातायात व्यवस्था विभाग, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लगायत सम्बन्धित निकायहरूमा समेत मागपत्र पठाएर ध्यानाकर्षण गराइएको एसोसिएसनले जनाएको छ ।

गुल्मी, वैशाख ६  गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब सातामा चार दिन नियमित हवाई उडान सञ्चालन हुने भएको छ । नेपाल वायुसेवा निगम ले उडान संख्या थप्दै नयाँ तालिका सार्वजनिक गरेसँगै जिल्लावासीका लागि हवाई पहुँच अझ सहज बनेको हो । यसअघि सातामा तीन दिन मात्रै उडान हुँदै आएकोमा अब आइतबार, मंगलबार, बिहीबार र शनिबार नियमित सेवा सञ्चालन गरिने निगमले जनाएको छ । निगमका अनुसार आन्तरिक उडानमा प्रयोग हुने ट्विनअटर जहाजको मर्मतसम्भार सम्पन्न भएसँगै उडान संख्या विस्तार गरिएको हो । रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाका अनुसार उडान थपिएसँगै हवाई भाडादर पनि बढाइएको छ । नयाँ दरअनुसार काठमाडौंबाट रेसुङ्गाका लागि १० हजार ९०२ रुपैयाँ र रेसुङ्गाबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएको छ । यसअघि भने काठमाडौंबाट ७ हजार ५०० र रेसुङ्गाबाट ७ हजार ३०० रुपैयाँ मात्रै भाडा लाग्दै आएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि मुख्य कारण देखाउँदै करिब ३ हजार ४०० रुपैयाँसम्म भाडा बढाइएको उनले बताए ।

हाल १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत सेवा दिइँदै आएको छ । मौसम प्रतिकूल नभएसम्म पछिल्ला पाँच महिनादेखि नियमित उडान हुँदै आएको निगमले जनाएको छ । प्राविधिक कारणले दिउँसो हावाको चाप बढी हुने भएकाले बिहानको समयमा मात्रै उडान तालिका राखिएको स्टेशन प्रमुख थापाको भनाइ छ । नयाँ तालिकाअनुसार आइतबार काठमाडौंबाट बिहान ८ः०५ बजे उडान भई रेसुङ्गाबाट ९ः०५ बजे फर्किनेछ । मंगलबार, बिहीबार र शनिबार भने काठमाडौंबाट बिहान ६ः१५ बजे र रेसुङ्गाबाट ७ः१५ बजे उडान हुनेछ ।

हवाई सेवा नियमित भएपछि गुल्मीमा आउने पर्यटकको संख्या समेत बढ्दो देखिएको छ । यसअघि राजधानी पुग्न १६ देखि १८ घण्टासम्म लाग्ने लामो सडक यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले भने हवाईमार्गबाट करिब ४५ देखि ५० मिनेटमै काठमाडौं आवतजावत गर्न सकिने भएको छ । रेसुङ्गा विमानस्थलबाट नेपाल वायुसेवा निगम ले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । हाल उडान संख्या वृद्धि भएसँगै जिल्लाको आवागमन र पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।