
गुल्मी, वैशाख १२ सरकारी सेवा प्रवाहलाई जनमैत्री र सहज बनाउने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको राहदानी घरघरमै पुर्याउने व्यवस्था सुरु गरेको छ । पहिलो चरणमा बिहीबारदेखि रेसुङ्गा नगरपालिकाका केही वडामा यो सेवा कार्यान्वयनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी तयार भएपछि सेवाग्राहीले कार्यालय धाउन नपर्ने भएको छ । तोकिएको हुलाक शुल्क बुझाएपछि हुलाक कर्मचारीले राहदानी सम्बन्धित व्यक्तिको घरमै पुगेर हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिककेन्द्रित बनाउने उद्देश्यसहित यो व्यवस्था सुरु गरिएको हो । मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णयअनुसार १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नं. २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख छ ।
पहिलो चरणमा रेसुङ्गा नगरपालिका–११, १२ र १४ का १६ जना सेवाग्राहीलाई लक्षित गर्दै राहदानी घरमै पुर्याउने प्रक्रिया सुरु गरिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार सेवाग्राहीलाई सम्पर्क गरी सहमति लिएपछि हुलाक कार्यालयमार्फत सेवा वितरण गरिएको हो । प्रजिअ गैरेले तत्कालका लागि स्रोत र कार्यविधि पूर्ण रूपमा स्पष्ट नभएकाले सीमित क्षेत्रबाट सेवा सुरु गरिएको बताए । उनले भने, ‘अहिले रेसुङ्गा नगरपालिकाबाट परीक्षणका रूपमा सेवा सुरु गरेका छौं, आवश्यक स्रोत र स्पष्ट मोडालिटी आएपछि यसलाई विस्तार गर्दै लैजाने योजना छ ।’
सरकारी सेवा कार्यालयमै पुग्नुपर्ने बाध्यता कम गर्दै नागरिकलाई घरमै सेवा पुर्याउने अभ्यासले गुल्मीमा प्रशासनिक सेवामा नयाँ अभ्यासको सुरुवात भएको मानिएको छ ।
सहर व्यवस्थापनको दृष्टिकोणबाट हेर्दा यो समस्या गम्भीर देखिन्छ । सार्वजनिक स्थानको अतिक्रमण, सडक प्रयोगमा अव्यवस्था र नियम कार्यान्वयनमा कमजोरीले समग्र यातायात प्रणाली अस्तव्यस्त बनेको छ । स्थानीय सरकारले एकपटक हटाएको अव्यवस्थित बसपार्कलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न नसक्नुले समस्या पुनः दोहोरिएको देखिन्छ । ट्राफिक व्यवस्थापनमा कमजोरी देखिनु अर्को प्रमुख पक्ष हो । सडकमै सवारी रोकिने, यात्रु तानातान हुने र प्रहरीको निर्देशन बेवास्ता हुने जस्ता घटनाले कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको संकेत गर्छ ।
नेपालगन्ज, वैशाख १२ नेपालगन्जस्थित वाटरपार्कको मूल प्रवेशद्वार अगाडि लामो समयदेखि सञ्चालन हुँदै आएको अव्यवस्थित मिनी बसपार्क हटाइएपछि केही समयका लागि राहत महसुस गरिएको थियो । तर, उक्त स्थान खाली गराइए हप्ता दिन नपुग्दै समस्या समाधान हुनुको सट्टा फेरि उस्तै अव्यवस्था दोहोरिन थालेको छ । अहिले यातायात व्यवसायीले सडकमै गाडी रोकेर यात्रु चढाउने कार्य पुनः सुरु गरेका छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै सहरको सौन्दर्यसमेत प्रभावित बनेको छ ।
वाटरपार्कदेखि कारकाँदोतर्फ जाने मुख्य सडक खण्डमा अहिले दिनहुँ जसो मिनीबस, माइक्रोबस र अन्य सवारीसाधन अनियमितरूपमा रोकिने गरेका छन् । पहिले बसपार्कको रूपमा प्रयोग भएको क्षेत्र हटाइए पनि व्यवसायीले त्यसको विकल्पको रूपमा सडक नै रोजेका छन् । उनीहरू सञ्चारग्रामस्थित औपचारिक बसपार्कबाट छुटेका गाडी यहीँ रोकेर यात्रु चढाउने र झार्ने गरेका छन् । स्थानीयका अनुसार सडकमै सवारी रोक्ने क्रम बढ्दै जाँदा ट्राफिक जाम, दुर्घटनाको जोखिम र पैदलयात्रीलाई असहजता सिर्जना भएको छ । विशेषगरी बिहान र साँझको समयमा अत्यधिक भीडभाड हुने भएकाले अवस्था झनै जटिल बन्ने गरेको छ । सडक साँघुरो हुनु र त्यसमा थप सवारी रोकिनुले सवारी आवागमनमा अवरोध सिर्जना गरिरहेको छ ।
सडकमै गाडी रोकेर यात्रु तानातान गर्ने दृश्य अहिले सामान्यजस्तै बनेको छ । एकै यात्रुलाई चढाउन विभिन्न गाडीका सहचालकबीच प्रतिस्पर्धा चल्ने गरेको देखिन्छ । यस क्रममा यात्रुहरूलाई तानातान गर्ने, हतारमा गाडी चढाउने जस्ता गतिविधि भइरहेका छन्, जसले दुर्घटनाको जोखिमलाई झनै बढाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन प्रयास नगरेका भने होइनन् । इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीबाट खटिएका सुरक्षाकर्मीहरूले सवारी हटाउन सिटी बजाउने, गाडी अगाडि बढाउन निर्देशन दिने जस्ता प्रयास गरिरहेका छन् । तर, ती प्रयास प्रभावकारी हुन सकेका छैनन् । एक सुरक्षाकर्मीले भने, ‘हामीले जति धपाए पनि उनीहरू मान्दैनन् । केही समय हटे पनि फेरि त्यहीँ आएर रोकिन्छन् ।’ उनले यातायात व्यवसायीको अटेरीपनका कारण प्रहरीसमेत लज्जास्पद स्थितिमा पुगेको बताए ।
यातायात व्यवसायीहरू भने आफूहरू बाध्य भएर यस्तो गर्नुपरेको दाबी गर्छन् । उनीहरूको भनाइमा यात्रुहरू औपचारिक बसपार्कसम्म जान इच्छुक नहुने भएकाले सडकमै गाडी रोकिनुपरेको हो । ‘यदि यात्रुहरू बसपार्कमै गएर गाडी चढ्ने भए हामीलाई यहाँ रोकिनु पर्ने थिएन,’ एक व्यवसायीले भने, ‘तर यात्रुहरू सहज स्थान खोज्छन्, त्यसैले हामी पनि यहाँ रोकिन बाध्य छौं ।’ तर, यस दाबीप्रति स्थानीयवासी र सरोकारवालाहरू सहमत छैनन् । उनीहरूका अनुसार यात्रुहरूलाई सडकमै गाडी चढ्ने बानी बसाल्ने काम स्वयं यातायात व्यवसायीहरूले नै गरेका हुन् । यदि नियमअनुसार बसपार्कबाट मात्र सवारी सञ्चालन गरिने हो भने यात्रुहरू पनि त्यहीँ जाने वातावरण बन्ने उनीहरूको भनाइ छ ।
सहर व्यवस्थापनको दृष्टिकोणबाट हेर्दा यो समस्या गम्भीर देखिन्छ । सार्वजनिक स्थानको अतिक्रमण, सडक प्रयोगमा अव्यवस्था र नियम कार्यान्वयनमा कमजोरीले समग्र यातायात प्रणाली अस्तव्यस्त बनेको छ । स्थानीय सरकारले एकपटक हटाएको अव्यवस्थित बसपार्कलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न नसक्नुले समस्या पुनः दोहोरिएको देखिन्छ । ट्राफिक व्यवस्थापनमा कमजोरी देखिनु अर्को प्रमुख पक्ष हो । सडकमै सवारी रोकिने, यात्रु तानातान हुने र प्रहरीको निर्देशन बेवास्ता हुने जस्ता घटनाले कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको संकेत गर्छ । यदि नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही नहुने हो भने यस्ता गतिविधि नियन्त्रणमा आउन कठिन हुने देखिन्छ ।
यसका साथै, वैकल्पिक व्यवस्था प्रभावकारी रूपमा लागू गर्न नसक्नु पनि समस्याको जड हो । सञ्चारग्रामस्थित बसपार्क भए पनि त्यसको पहुँच, सुविधा र व्यवस्थापनमा कमजोरी रहेकाले यात्रुहरू आकर्षित हुन सकेका छैनन् । बसपार्कसम्म पुग्ने सार्वजनिक यातायात, सूचना प्रणाली र सुरक्षाको सुनिश्चितता नहुँदा यात्रुहरू नजिकैको सडकबाटै गाडी चढ्न रुचाउने गरेका छन् ।
विशेषज्ञहरूका अनुसार यस्तो अवस्थालाई समाधान गर्न समन्वित पहल आवश्यक छ । स्थानीय सरकार, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच स्पष्ट सहमति र कडाइका साथ नियम कार्यान्वयन हुनुपर्छ । सडकमै सवारी रोक्नेलाई जरिवाना, गाडी नियन्त्रणमा लिने जस्ता कडा कदम चाल्नुपर्ने सुझाव दिइन्छ । साथै, बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउँदै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
अहिलेको अवस्थामा भने अव्यवस्थित यातायात सञ्चालन, कमजोर सुरक्षा रणनीति र नियम कार्यान्वयनको अभावले सर्वसाधारण नागरिक नै जोखिममा परेका छन् । सडकमा हिँड्ने पैदलयात्रीदेखि गाडी चढ्ने यात्रुसम्म सबैले असुरक्षित महसुस गर्न थालेका छन् । समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न नसके आगामी दिनमा अझ गम्भीर दुर्घटना र अव्यवस्था निम्तिन सक्ने देखिन्छ ।





