
नेपालगञ्ज । नेपालगञ्ज कान्जी हाउसका पशुलाई गौ सेवाधाममा स्थानान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा अवस्थित कान्जी हाउसमा रहेका पशुचौपायाहरुलाई ट्रकमा राखी राप्तीसोनारी गाँउपालिका वडा नम्बर २ सम्शेरगञ्जस्थित १८५ हेक्टरमा फैलिएको मंगल राधिका सदानन्द गौ सेवाधाममा ब्यवस्थापन गरिएको छ । नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायाको व्यवस्थापनलाई निरन्तरता दिँदै कान्जीहाउसमा राखिएका पशुहरुलाई स्थानान्तरण गरिएको हो ।
नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीका अनुसार सडकमा छाडा रुपमा विचरण गर्ने गाई, गोरु लगायतका पशुका कारण बढ्दो सवारी दुर्घटना र सार्वजनिक असुविधालाई मध्यनजर गर्दै यस्तो अभियान सञ्चालन गरिएको हो । संकलित पशुहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरी दीर्घकालीन समाधानतर्फ पहल गरिएको जनाइएको छ ।
यसैबीच आज विहान थप ३० छाडा पशुलाई नियन्त्रणमा लिई कान्जीहाउस पुर्याइएको नगर प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । नगर प्रहरीले गत शनिबारदेखि छाडा पशु नियन्त्रण अभियानलाई निरन्तर अघि बढाएको छ ।
नेपालगन्ज । मर्यादित र अनुशासित पत्रकारिताका लागि सामूहिक सहकार्यमा जोड दिइएको छ । फ्रि मिडिया नेटवर्क लुम्बिनी प्रदेशमा आवद्ध सरोकारवाला पक्षबीचको बुटवलमा बुधबार सम्पन्न समिक्षात्मक बैठकमा सो कुरामा जोड दिइएको हो । नेपाल पत्रकार महासंघ अन्तर्गत अधिकारकर्मी, पेशागत/ ब्यवसायिक संघ संगठनका प्रमुख, नागरिक समाजका अगुवा सहितको फ्रि मिडिया नेटवर्क लुम्बिनी प्रदेशमा क्रियाशील छ ।
चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश समितिको संयोजनमा बसेको बैठकमा अधिकांश ब्यक्तिले सामाजिक संजालको दुरुपयोगलाई पत्रकारितासंग जोडेर बुझ्ने प्रवृतिले पनि अनेकन समस्या र चुनौती निम्त्याइरहेको बताएका थिए । सहभागी वक्ताले डिजिटल मिडिया लिटरेसीको आवश्यकता औंल्याउँदै सामूहिक चिन्तन र सहकार्यमा जोड दिए ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पेशागत सुरक्षा मानव अधिकार र साझा सवालको विषय भएकाले सामूहिक पहलकदमीका साथ बढ्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलले पत्रकारिता मर्यादित बनाउन प्रथमतः पत्रकारसंगै समाजले पनि पत्रकारिता बुझ्न् र खवरदारी गर्नुपर्नेमा अहिले असुरक्षित वातावरण बनाइन लागिएकोमा चिन्ता व्यक्त गरे । उच्च अदालत वार एशोयिसन बुटवलका अध्यक्ष अध्यक्ष गोविन्द मरासिनीले पत्रकारले कानुन, पत्रकारिताको सीमा/दायरा र आचारसहिंता पालनामा ध्यान दिन जरुरी रहेको आवश्यकता औंल्याए ।
नेटवर्कका संयोजक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा पत्रकारको मात्र सवाल नभएर राज्यका सबै अंग र नागरिक समाजको एजेण्डा हुनुपर्ने बताए । कार्यक्रममा अलर्ट इन्टरनेशनलका प्रतिनिधि रविना श्रेष्ठ, प्रतिष्ठा थापा, लुम्बिनी प्रदेश सरकार सञ्चार समन्वय परिषद्का अध्यक्ष मिलन गाहा मगर, चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोख्रेल, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्बासे, होटेल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ लगायतले पत्रकारिताको पछिल्लो अवस्था र गर्न सकिने भूमिकाबारे आ-आफ्नो धारणा राखेका थिए । पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका पदाधिकारीको समेत उपस्थिति रहेको कार्यक्रमले ३/३ महिनामा नेटवर्कको बैठक बस्ने तय गरेको छ ।



