
काठमाडौं, वैशाख २४ गते राष्ट्रपति रामचन्द्र पौडेल ले जिम्मेवार र निष्पक्ष पत्रकारिताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँदै सुशासन, विकास र आर्थिक समृद्धिको अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा नेपाली पत्रकारिताको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै पत्रकारलाई निर्भय र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको धारणा राख्नुभयो ।
राष्ट्रपति पौडेलले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म भएको उल्लेख गर्दै नेपाली प्रेस यसप्रति सदैव सजग र उत्तरदायी रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता परिवर्तनको वाहक तथा राष्ट्र निर्माणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिँदै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने सुनिश्चितताका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । श्रमजीवी पत्रकारहरूको हकहित, सञ्चार गृहहरूको आर्थिक दिगोपन तथा पत्रकारको पेशागत सुरक्षाका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको बढ्दो प्रयोगसँगै आधारहीन तथा मिथ्या सूचना फैलिने खतरा बढेको उल्लेख गर्दै यस चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा लाई सम्मान गर्नुभयो । त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराज सम्मानित हुनुभयो । सम्मानित पत्रकारलाई जनही दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले सरकारले प्रेसमाथि कुनै प्रकारको अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पार्दै स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिने धारणा राख्नुभयो ।
मन्त्री तिमिल्सिनाले डिजिटल युगमा प्रविधिमैत्री र जिम्मेवार पत्रकारिता सुशासनको आधार भएको उल्लेख गर्दै फेक न्यूज र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि तथ्य जाँचलाई पत्रकारिताको महत्वपूर्ण अङ्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सञ्चारमाध्यमको व्यावसायिकता र दिगोपनका लागि विज्ञापन नीति २०८३ ल्याउने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य लगायतले लोकतन्त्र, सुशासन र नागरिकको सुसूचित हुने अधिकारको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
नेपालगञ्ज । बाँके कला केन्द्र नेपालगञ्जले “प्रथम मेयर सांस्कृतिक कप” आयोजना गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा अन्तर माध्यमिक विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिताका रूपमा कार्यक्रम आयोजना गर्न लागिएको हो । आयोजकले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ ।
आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिने बाँके कला केन्द्रका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार प्रतियोगितामार्फत विद्यालय तहका विद्यार्थीहरूमा लुकेको कला, प्रतिभा र सांस्कृतिक पहिचानलाई उजागर गर्ने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन् । विभिन्न जातजातिको मौलिक संस्कृति झल्किने गरी सामूहिक लोक नृत्य प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
हरेक सहभागी समूहमा न्यूनतम ६ जना र अधिकतम १२ जना विद्यार्थी कलाकार सहभागी हुन सक्नेछन् । प्रतियोगितामा नृत्य प्रस्तुति, सांस्कृतिक मौलिकता, समन्वय, पोशाक तथा प्रस्तुति शैलीलाई मूल्यांकनको आधार बनाइने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन सामुदायिक विद्यालयका लागि २ हजार ५ सय रुपैयाँ र संस्थागत विद्यालयका लागि ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । आयोजकका अनुसार दर्ता शुल्कबाट कार्यक्रम व्यवस्थापनमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुरस्कारतर्फ प्रथम हुने समूहले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेलाई ३१ हजार रुपैयाँ र तेस्रो हुनेलाई २१ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी अन्य सबै समूहलाई प्रमाणपत्र प्रदान गरिने पनि आयोजकले स्पष्ट पारेको छ ।
कार्यक्रममा कला क्षेत्रको सम्मानलाई विशेष प्राथमिकता दिइएको छ । नेपालगञ्जमा लामो समयदेखि कला तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आएका एक जना वरिष्ठ तथा अग्रज कलाकारलाई “दोसल्ला अवार्ड” सहित सम्मानपत्र र नगद ५ हजार रुपैयाँले सम्मान गरिने आयोजकले जनाएको छ ।
कुल कार्यक्रमको अनुमानित बजेट ३ लाख ३० हजार रुपैयाँ रहेको छ । जसमा नेपालगञ्ज उपमहानगरपालिकाबाट ३ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको र बाँकी ३० हजार रुपैयाँ संस्था आफैंले व्यहोर्ने बाँके कला केन्द्रले जनाएको छ ।
कार्यक्रम वीपी चोकस्थित सुनाखरी रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सांस्कृतिक उत्सवका रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ ।
पत्रकार सम्मेलनमा बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले कला र संस्कृतिको क्षेत्र पछिल्लो समय ओझेलमा परेको अनुभूति भइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं र बाँके शाखा अध्यक्ष नवीन गिरीले पनि शुभकामना व्यक्त गर्दै यस्ता सांस्कृतिक गतिविधिले स्थानीय कला र प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत गर्ने धारणा राखे ।
नेपालगञ्जमा आयोजना हुन लागेको यो सांस्कृतिक प्रतियोगितालाई स्थानीय स्तरको कला, संस्कृति र विद्यार्थी प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।
कोहलपुर, बैशाख २४ गते कोहलपुरमा जारी कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी नाइजेरियाली टोली जस्ट जोन एफसी वर्क परमिट विवादका कारण प्रतियोगिताबाट बाहिरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले वर्क परमिट नलिएका विदेशी खेलाडीलाई सहभागी नगराउन निर्देशन दिएपछि आयोजकले दोस्रो सेमिफाइनलको खेल तालिका परिवर्तन गरेको हो।
आयोजक रेसिङ साहारा क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशासनको निर्देशनअनुसार नयाँ खेल तालिका सार्वजनिक गरेको जनाएको छ। यसअघि लिग चरणमा रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई हराएर सेमिफाइनल पुगेको जस्ट जोन एफसी अब प्रतियोगिताबाट बाहिरिएको आयोजकले पुष्टि गरेको छ।
आयोजकका अनुसार जस्ट जोन एफसीको स्थानमा अब रोयल फुटबल क्लब (कर्णाली प्रदेश) ले नेपाल पुलिस क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ। खेल भने पूर्वनिर्धारित समयमै सञ्चालन गरिने प्रतियोगिता संयोजक कर्ण बस्नेतले जानकारी दिए।
बस्नेतले देशभर सञ्चालन हुने विभिन्न गोल्डकप प्रतियोगितामा विदेशी खेलाडी सहभागी हुँदै आएको उल्लेख गर्दै कोहलपुर गोल्डकपलाई मात्रै रोक लगाइनु दुःखद भएको प्रतिक्रिया दिए। क्लबका सचिव नवकिरण शाहले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनुमति लिएर प्रतियोगिता सञ्चालन गरिएको र टोली सेमिफाइनलसम्म पुगिसकेको अवस्थामा अचानक विदेशी खेलाडीलाई रोक लगाउँदा प्रतियोगिताको प्रतिष्ठामै असर पुगेको बताए।
उनले हालै सम्पन्न खजुरा गोल्डकपमा समेत विदेशी खेलाडी सहभागी भएको स्मरण गराउँदै कोहलपुर गोल्डकपलाई मात्रै लक्षित गरिएको जस्तो देखिनु राम्रो सन्देश नभएको बताए। उल्लेखनीय छ, खजुरा गोल्डकपको उपाधि पनि नाइजेरियाकै जस्ट जोन एफसीले जितेको थियो।
त्यस्तै, क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिताका लागि एक महिनाअघि नै सम्बन्धित सबै निकायबाट अनुमति लिइसकेको अवस्थामा खेल सञ्चालन भइरहँदा आएको अप्रत्याशित निर्णयले आयोजक टोली हतोत्साहित बनेको बताए। उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
दोस्रो कार्यकालका लागि २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि गठन भएको मधेस प्रदेश सरकार निरन्तर अस्थिर बन्दै गएको छ । साढे तीन वर्ष पुग्न लाग्दा मधेस प्रदेशले पाँच जना मुख्यमन्त्री पाइसकेको छ भने अहिले छैटौं मुख्यमन्त्री बनाउने कसरत तीव्र बनेको छ । सरकारको नेतृत्व पटक–पटक फेरिँदा मधेस प्रदेशमा राजनीतिक अस्थिरता मात्र नभई जनतामा सरकारप्रति नकारात्मक धारणा पनि बढ्दै गएको छ ।
२०७९ पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव एमाले, जनमत, माओवादी केन्द्र, लोसपा र नेकपा एसलगायत दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा सत्ता गठबन्धन पटक–पटक फेरिएसँगै त्यसको असर मधेस प्रदेशमा पनि पर्यो । यादवले पाँच पटक विश्वासको मत लिनुपर्यो । चार पटकसम्म सफल भए पनि २०८१ जेठ २३ गते विश्वासको मत गुमाएपछि उनी पदमुक्त भए । उनले करिब १७ महिना सरकारको नेतृत्व गरेका थिए ।
त्यसपछि जनमत पार्टीको नेतृत्वमा सरकार गठन भयो । जनमतका सतिशकुमार सिंह एमाले, माओवादी केन्द्र, नेकपा एस, नाउपा र संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बने । तर जनमतभित्रकै विवाद, सत्ता साझेदार दलबीचको अविश्वास र समर्थन फिर्ताको राजनीतिका कारण सिंह नेतृत्वको सरकार पनि लामो समय टिक्न सकेन । विश्वासको मत लिने क्रममा उनले असोज २८ गते राजीनामा घोषणा गरे ।
सिंह सरकार ढलेपछि लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भए । तर बहुमत जुटाउन असफल हुने देखिएपछि उनले पनि कात्तिक २२ गते राजीनामा दिए । त्यसलगत्तै एमाले संसदीय दलका नेता सरोजकुमार यादव संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले रातारात उनलाई शपथ गराएपछि मधेसको राजनीति तरंगित बन्यो । सात दलीय गठबन्धनले यसको विरोध गर्दै सर्वोच्च अदालत पुगेपछि अदालतले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । विश्वासको मत पाउने सम्भावना नरहेपछि यादवले मंसिर १७ गते राजीनामा दिएका थिए ।
त्यसपछि कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव जसपा, लोसपा, माओवादी केन्द्र र नेकपा एसको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । तर अहिले उनको नेतृत्वको सरकार पनि संकटमा परेको छ । सत्ता साझेदार दल जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो । संविधानअनुसार मुख्यमन्त्री यादवले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेस प्रदेश सरकारको अस्थिरताका मुख्य कारण केन्द्रको राजनीतिक प्रभाव, स्पष्ट बहुमतको अभाव, दलीय स्वार्थ र सत्ताको खिचातानी हुन् । कुनै पनि दलले स्पष्ट बहुमत नल्याएका कारण साना दलहरू सरकार गठनमा निर्णायक बन्दै आएका छन् । विशेषगरी जनमत पार्टीले पटक–पटक सरकार परिवर्तनमा निर्णायक भूमिका खेलेको देखिन्छ ।
प्रदेश सरकारहरू विकास, सुशासन र जनसेवाभन्दा सत्ता जोगाउने र बदल्ने राजनीतिमा बढी केन्द्रित हुँदा मन्त्रालयहरूको कामसमेत प्रभावित भएको छ । पहिलो कार्यकालमा पाँच वर्षसम्म एउटै नेतृत्वमा सरकार सञ्चालन भएको मधेस प्रदेश दोस्रो कार्यकालमा भने सबैभन्दा अस्थिर प्रदेशका
काठमाडौँ । धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः १४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको यो भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छै
नेपालगन्ज, वैशाख २४ नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा ब्रतबन्ध कार्यक्रमपछि भएको आपसी विवाद कुटपिट र धारिलो हतियार प्रहारमा परिणत हुँदा एकजनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनलाई पक्राउ गरेको छ । घटनामा संलग्नमध्ये चारजनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनी क्षेत्रबाट र थप दुईजनालाई नेपालगन्जबाट पक्राउ गरिएको हो ।
कैलाली लम्कीचुहा–१ का १९ वर्षीय दिपेन्द्रराज गिरी, २० वर्षीय बिबियस कुवँर, १८ वर्षीय सुशिल खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ का १८ वर्षीय सन्तोष संज्याल र सुर्खेत वीरेन्द्रनगर–३ का २० वर्षीय रुपेश थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पातलीले जानकारी दिए । प्रहरीले घटनास्थलबाट एक थान चक्कु, सु.प.प्र.०१–०१४ प १२५६ नम्बरको एनएस २०० मोटरसाइकल तथा बियरका बोतल र फुटेका बोतलका टुक्राहरू बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बेलुकी बेलासपुरका २१ वर्षीय प्रितम अधिकारीको ब्रतबन्ध कार्यक्रमका लागि आएका साथीहरू सोही स्थानमा बसेका थिए । बस्ने ठाउँ अभाव भएपछि उनीहरू नजिकै रहेका दिपेन्द्र रोकायको घरको एउटै कोठामा बसेर रमाइलो गरिरहेका थिए । सोही क्रममा २२ गते बिहान करिब २ः०० बजे दिपेन्द्रराज गिरी र विशाल चन्द ठकुरीबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो । विवादपछि दिपेन्द्रराज गिरी त्यहाँबाट बाहिर निस्केर कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित आफ्ना साथीहरूलाई फोनमार्फत नेपालगन्ज बोलाएको प्रहरीले जनाएको छ ।
बिहान करिब ५ः०० बजे लम्कीचुहाबाट मोटरसाइकलमा आएका उनका साथीहरू समेत घटनास्थल पुगेपछि पुनः समूहबीच झडप भएको बताइएको छ । सो क्रममा बियरका बोतल तथा चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी विशाल चन्द ठकुरीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणपछि ज्यान जोगाउन भागेका ठकुरीलाई करिब एक सय मिटरसम्म पछ्याउँदै पुनः धारिलो हतियार प्रहार गरिएको र उनी बाटोमै ढलेका थिए । घाइते अवस्थामा उनलाई सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज पुर्याइए पनि मंगलबार बिहान करिब ६ः०० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही घटनामा अर्का घाइते जुम्ला चन्दननाथ नगरपालिका–४ का २० वर्षीय योगेन्द्र कामी उपचारपछि डिस्चार्ज भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।





