२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कोहलपुर, जेठ १०  बाँकेको कोहलपुर क्षेत्रमा मण्टेश्वरी शिक्षासम्बन्धी तालिम पूरा गरेका ३२ जना महिलालाई दीक्षित गरिएको छ । कोहलपुर क्षेत्रमा बसोबास गर्दै मण्टेश्वरी शिक्षातर्फ आकर्षित भएका ती महिलाहरूलाई तालिम अवधि पूरा भएपछि आइतबार आयोजित दिक्षान्त समारोहमा दीक्षित गरिएको हो ।

सिटिएफ नेपालले प्रशिक्षक तथा सहजकर्ता तयार गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको मण्टेश्वरीसम्बन्धी तालिमपछि सहभागी महिलाहरूलाई दीक्षित गर्दै आएको छ । कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाअन्तर्गतको शिक्षा शाखा प्रमुख रविलाल मिजारले तालिमले व्यक्तिमा नयाँ सीप, ज्ञान र उर्जा विकास गर्ने भएकाले यसको महत्त्वपुर्ण भूमिका रहने बताए । उनले दीक्षित भएका महिला सहजकर्ताहरूलाई शुभकामना दिँदै जिम्मेवारी निर्वाह गर्दा कर्तव्यप्रति सचेत रहन आग्रह गरे ।

उनले मण्टेश्वरी शिक्षा बालबालिकाको आधारभूत शिक्षाको जग निर्माण गर्ने भएकाले यस क्षेत्रमा अझै थप ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत डिल्ली आचार्यको उपस्थिति थियो ।

कार्यक्रम सिटिएफ नेपालका व्यवस्थापक अशोक सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो भने सहभागी तथा सिटिएफका सहकर्मीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए । प्रशिक्षक हिरा केसीले सहभागीहरूलाई स्वागत गरेकी थिइन् ।

नेपालगन्ज, जेठ १० राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अब बिस्तारै अन्त्यतर्फ उन्मुख हुँदै गएको छ । सरकारले सुरु गरेको ‘सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने’ नयाँ अभ्यासअन्तर्गत बाँकेमा पहिलो चरणमै पाँच जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।

जिल्ला हुलाक कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकाका सेवाग्राहीलाई राहदानी तयार भएपछि हुलाकमार्फत सिधै घरमै पुगेर वितरण गरिएको हो । हालसम्म तीन स्थानीय तहका पाँच जना सेवाग्राहीले यो सेवा पाएका छन् । यससँगै सेवाग्राहीले राहदानी लिन कार्यालय–कार्यालय धाउनुपर्ने बाध्यता हट्दै गएको अनुभव गरेका छन् । डुडुवा गाउँपालिकाका कमलकुमार वर्माले पहिले राहदानी बनाउन लामो समय लाग्ने र पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था रहेको बताउँदै अहिले घरमै प्राप्त भएपछि समय र खर्च दुवै बचत भएको प्रतिक्रिया दिए ।

उनका अनुसार पहिले राहदानी बनाउन करिब एक महिना लाग्ने गरेकामा अहिले करिब १५ दिनभित्रै घरमै प्राप्त भएको छ । विदेश जाने तयारी सहज बनेको उनले बताए । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख एवं हुलाक अधिकृत गजेन्द्रप्रकाश थारुले केही सातायता यो सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार राहदानी तयार भएपछि सम्बन्धित व्यक्तिको चाहना अनुसार घर वा नजिकको वितरण केन्द्रमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

थारुले राहदानी वितरण प्रक्रिया व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको उल्लेख गर्दै राहदानी हुलाक कार्यालयमा आएपछि अधिकतम दुई दिनभित्र सम्बन्धित सेवाग्राहीसम्म पुर्‍याइने व्यवस्था गरिएको बताए । यो सेवा हाल प्रभावकारी बन्दै गएको उनको भनाइ छ । सेवाग्राहीलाई यो सेवा निःशुल्क भए पनि हुलाक शुल्कका रूपमा रु ६५ लाग्ने व्यवस्था गरिएको छ । प्रारम्भिक चरणमा व्यक्तिगत विवरण संकलन गरी सेवाग्राहीले राहदानी कहाँबाट बुझ्ने भन्ने विकल्पसमेत रोज्न पाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

गत वैशाख ३ गतेदेखि बाँकेमा यो अभ्यास सुरु गरिएको हो । संघीय सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत समावेश गरिएको यो कार्यक्रम स्थानीय तह र वडा कार्यालयको समन्वयमा कार्यान्वयन भइरहेको छ । यस सेवाले ग्रामीण क्षेत्रका नागरिकलाई सरकारी सेवा अझ सहज, छिटो र कम खर्चिलो बनाउने अपेक्षा गरिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पुगेका उनका परिवारका अनुसार सुरुमा दलालहरूले अमेरिका पुर्‍याउने भन्दै १७ लाख रुपैयाँ लिएका थिए । पछि विभिन्न चरणमा थप रकम माग्दै करिब ९७ लाख रुपैयाँसम्म असुलिएको आरोप छ । युवकलाई नेपालबाट भारत, त्यसपछि जर्मनी हुँदै ब्राजिल पुर्‍याइएको परिवारको भनाइ छ ।


कोहलपुर, जेठ १०  बाँकेको कोहलपुरका २६ वर्षीय एक युवकले परिवारको आर्थिक अवस्था फेरिने आशामा अमेरिका जाने निर्णय गरे । गाउँमै आएका एजेन्टहरूले ‘अमेरिका पुगेपछि केही महिनामै लाखौं कमाइन्छ’ भन्दै परिवारलाई विश्वस्त पारे । घरधन्दा बेचेर, ऋण खोजेर र आफन्तसँग पैसा उठाएर परिवारले दलाललाई रकम बुझायो । तर अमेरिका पुग्ने सपना देखेका ती युवक अन्ततः विदेशी भूमिमा बन्धक बने ।

मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पुगेका उनका परिवारका अनुसार सुरुमा दलालहरूले अमेरिका पुर्‍याउने भन्दै १७ लाख रुपैयाँ लिएका थिए । पछि विभिन्न चरणमा थप रकम माग्दै करिब ९७ लाख रुपैयाँसम्म असुलिएको आरोप छ । युवकलाई नेपालबाट भारत, त्यसपछि जर्मनी हुँदै ब्राजिल पुर्‍याइएको परिवारको भनाइ छ । पीडितका बुबाका अनुसार केही दिनपछि आएको भिडियो कलले परिवार स्तब्ध भयो । भिडियोमा छोरा रोइरहेका थिए । ‘मलाई बेचियो, कोठामा थुनेर राखेका छन्, खाना पनि राम्रोसँग दिएका छैनन्,’ भन्दै उनले आफूलाई उद्धार गर्न आग्रह गरेका थिए ।

त्यसपछि परिवारले छोरा बचाउने आशामा दलालले भनेजति रकम विभिन्न बैंक खातामा पठाउँदै गयो । ऋण, साहुको दबाब र छोराको ज्यान जोगाउने चिन्ताले परिवार मानसिक रूपमा भत्किएको पीडितका बुबा बताउँछन् । ‘अमेरिकाको सपना देखायो, अन्त्यमा घरबारै सकियो,’ उनले गहभरि आँसु पार्दै भने । यस्तै प्रकृतिको अर्को घटना रुकुमका ३२ वर्षीय युवकसँग पनि जोडिएको छ । खेतीपाती गरेर जीविका चलाउँदै आएका उनी पनि ‘तल्लो बाटो’ बाट अमेरिका पुर्‍याउने प्रलोभनमा परे । गाउँकै चिनजानमार्फत सम्पर्कमा आएका एजेन्टले भिसा र रोजगारीको आश्वासन दिएपछि उनले विभिन्न समयमा गरी ५७ लाख रुपैयाँ बुझाएका खबर नागरिक दैनिकमा प्रकाशित छ ।

ती युवकलाई सुरुमा दुबई पठाइएको थियो । तर त्यहाँ पुगेपछि उनको राहदानी र मोबाइल खोसिएको आरोप छ । उनले आफूलाई अपार्टमेन्टमा राखेर जबर्जस्ती घरायसी काममा लगाइएको, नमाने कुटपिट र मानसिक यातना दिइएको बताएका छन् । पछि उनलाई सिरिया लगिएको र महिनौंसम्म अलपत्र पारिएको उनले ब्युरोमा दिएको उजुरीमा उल्लेख गरेका छन् । ‘अब अमेरिका उड्ने अन्तिम प्रक्रिया बाँकी छ भन्दै परिवारसँग थप पैसा माग्न लगाइन्थ्यो,’ उनले भने, ‘पछि एजेन्ट सम्पर्कविहीन भएपछि मात्रै आफू बेचबिखनको जालोमा परेको महसुस भयो ।’ मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार पछिल्लो समय ‘अमेरिका पठाइदिन्छौं’ भन्दै हुने ठगी र मानव तस्करीका उजुरी बढ्दै गएका छन् । बेरोजगारी, गरिबी र विदेशप्रतिको मोहलाई प्रयोग गर्दै संगठित गिरोहले गाउँका युवालाई निशाना बनाइरहेको उनले बताए ।

उनका अनुसार धेरै युवालाई दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकी मुलुक हुँदै अवैध बाटोबाट अमेरिका लैजाने नाममा बन्धक बनाउने, यातना दिने र परिवारसँग थप रकम असुल्ने गरिएको छ । ब्युरोको तथ्यांकअनुसार अमेरिका पुर्‍याउने भन्दै ठगी भएको २८ वटा उजुरी दर्ता भएका छन् भने हालसम्म ९ सय ६५ जना विभिन्न मुलुकबाट उद्धार गरी फर्किएका छन् । विदेश गएर परिवारको भविष्य बनाउने सपना अहिले धेरै नेपाली युवाका लागि जोखिमपूर्ण बनेको छ । गाउँघरमा फैलिएका दलालको सञ्जालले ‘अमेरिकी सपना’ बेचिरहेको छ, तर त्यो सपनाको अन्त्य कतिपयका लागि ऋण, यातना र बेचबिखनको अन्धकारमा भइरहेको देखिन्छ ।

नेपालगञ्ज, जेठ १० । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले बाँकेमा विद्युत अनियमित हुँदा जिल्लामा सञ्चालित मिडियाहरु सञ्चालनमा कठिनाई भएकाले नियमित रुपमा विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ । पत्रकार र सञ्चारमाध्यममाथि हुने आक्रमण, धाकधम्की तथा प्रेस स्वतन्त्रता हननका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घोषणापत्रमार्फत महासंघले पत्रकारलाई निर्वाध रुपमा समाचार संकलन गर्न पाउने वातावरण सुनिश्चित गर्न तीनै तहका सरकारसँग माग गरेको हो । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने दोषीमाथि तत्काल कारबाही गर्न र पीडित पत्रकारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ । यस्तै घोषणापत्रमा हाल संघीय सरकारले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई मात्र दिने गरी कार्यान्वयनमा ल्याएको व्यवस्थाप्रति खेद प्रकट गरिएको छ । साधारणसभाले सरकारी विज्ञापन नीतिप्रति आपत्ति जनाएको छ । उक्त निर्णयले साना लगानीका निजी मिडिया बन्द हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै निजी आमसञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने व्यवस्था तत्काल रोक्न महासंघले माग गरेको छ । महासंघले प्रदेश तथा स्थानीय सरकारलाई पनि लोककल्याणकारी र समानुपातिक विज्ञापन नीति अवलम्बन गर्न आग्रह गरेको छ । त्यस्तै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मका सामग्रीलाई पत्रकारितासँग जोडेर मूलधारका सञ्चारमाध्यम र पत्रकारलाई दोष दिने क्रम बढेकोप्रति पनि साधारणसभाले चिन्ता व्यक्त गरेको छ । कन्टेन्ट क्रियटर, सामाजिक सञ्जाल प्रयोगकर्ता र श्रमजीवी पत्रकारबीचको कार्यभिन्नता बुझेर मात्रै टिप्पणी गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

साधारणसभाले सम्पूर्ण पत्रकारलाई सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न तथा पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेको छ । घोषणापत्रमा जिल्लाका स्थानीय तहले सञ्चार क्षेत्रका लागि विनियोजन गर्ने बजेट पारदर्शी नभएको उल्लेख गर्दै स्थानीय मिडियाको दिगोपन र श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार नीति निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ । साधारणसभाले पुरस्कृत पत्रकार तथा सञ्चार संस्थालाई बधाई ज्ञापन गर्दै खोजमूलक र सन्तुलित पत्रकारितामा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेको छ । त्यस्तै महासंघका केन्द्रीय परिषद् सदस्य खम्बप्रसाद पुनकी माता नदी मगर्नीको निधनप्रति दुःख व्यक्त गर्दै साधारणसभाले दिवंगत आत्माको चीरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पत्रकार शंकरप्रसाद खनाल नेतृत्वमा सावित्री गिरी र कमल खत्री सदस्य रहेको समितिले घोषणापत्र तयार गरेको थियो ।

साधारणसभाको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले उद्घाटन गरेका थिए । त्यसक्रममा उनले सरकारको विभेदकारी निर्णयका कारण संचार क्षेत्र जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरे । व्यवसायिक पत्रकार र स्थानीय मिडियाहरुको संरक्षण गर्ने दायित्व अब स्थानीय सरकारकै भएको पनि उल्लेख गरे । नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइँले सरकारका पछिल्ला निर्णयहरुले संचार क्षेत्रलाई त्रसित बनाएको बताए । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले व्यवसायिक पत्रकारहरुको पेशागत हितका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । उनले पत्रकार महासंघसँगको संस्थागत सहकार्यलाई अझै दृढतापूर्वक अगाडि बढाउने प्रतिवद्धता समेत जनाए । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु लियाकत अलि, हेमन्त कर्माचार्य, निरजकुमार गौतम, झलक गैरे, रुद्र सुवेदी, बाँकेका प्रहरी प्रमुख अंगुर जिसी, पत्रकार महासंघ बाँकेका सल्लाहकार प्रदीप वाग्ले, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, अक्षयकोष दाताहरु डा। कौशल कुमार बर्मा, माधवराम वर्मा, जीवन शर्मा, उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष पवन कुमार गुप्ता, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा नेपाल पत्रकार महासंघले कोहलपुर नगरपालिकासँगको सहयोगमा तयार पारेको ‘हाम्रो कोहलपुर’ पुस्तकको विचोन समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रीय सचिव प्रियासन, कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्य लगायतले विशिष्ट अतिथिहरुले पुस्तकको विमोचन गरेका थिए । पुस्तकमा १३ वटा फिचर र ३ वटा अन्तरवार्ता समावेश गरिएको छ । साधारण सभामा बाँके र बर्दियाका पत्रकारहरुलाई पुरस्कृत पनि गरिएको छ । रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्ली शाही पुरस्कृत भए । उनलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । यस्तै बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गणेश रावत र देवेन्द्रराज पौडेल पुरस्कृत भएका छन् । उनीहरु दुबै जनालाई जनही ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । यसैगरी माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट बाँकेका प्रियास्मृति ढकाल र बर्दियाका रामप्रसाद चौहान पुरस्कृत भएका छन् । उनीहरु दुबै जनालाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै राम आधार–रामप्यारी पत्रकारिता पुरस्कारबाट पवित्रा परियार र सजल गैरे पुरस्कृत भए । दुबै जनालाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । त्यसैगरी आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कार ९संस्थागत० स्वास्थ्य पेज डटकम अनलाइनलाई प्रदान गरियो । उक्त संस्थालाई ५ हजार ५ सय रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै सूर्यनाथ गौतम स्वास्थ्य ९मुटु रोग० पत्रकारिता पुरस्कारबाट मधु पौडेल पुरस्कृत भएका छन् । उनलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरियो ।

महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उत्कृष्टताको आधारमा पुरस्कृत हुने पत्रकारहरुको नाम केही दिन अघि टुंगो लगाएको थियो । त्यसका लागि अक्षयकोष पुरस्कारको प्रकृतिको आधारमा आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको थियो । साधारण सभाको बन्द शत्रमा सचिव कृष्ण ओलीले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष सुनिल रेग्मीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको छ । महासंघका उपाध्यक्ष तिलक गाउँलेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए । यसैबीच महासंघ बाँके शाखाले निजी मिडियामाथि सरकारले गरेको आर्थिक नाकाबन्दीको विरोधमा हस्ताक्षर अभियान पनि सुरु गरेको छ ।


राप्तीसोनारी, जेठ १०    राप्तीसोनारी गाउँपालिका–६ मा सिक्टा सिँचाइ आयोजनाअन्तर्गत रहेका शाखा तथा उपशाखा नहरहरूको अनुगमन गरिएको छ । सिँचाइ प्रणालीलाई अझ व्यवस्थित, दिगो र प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको अनुगमन गरिएको हो ।

सिक्टा सिँचाइ आयोजनाबाट यस क्षेत्रका किसानहरूले केही हदसम्म सिँचाइ सुविधा प्राप्त गर्दै आएका छन् । तर वर्षभरि पर्याप्त पानी उपलब्ध नहुँदा तथा नहर संरचनामा देखिने समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको अनुगमनका क्रममा औंल्याइएको छ । राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलका अनुसार सिक्टाबाट आएको पानी सिजनमा मात्र उपलब्ध हुने गरेको छ भने अन्य समयमा कुलोहरू प्रायः सुख्खा हुने गरेका छन् । उनका अनुसार सुख्खा मौसममा नहर सुक्खा हुँदा मुसालगायतका जीवजन्तुले कुलो खोतल्ने र संरचना कमजोर बनाउने समस्या बढ्दै गएको छ, जसका कारण नहर भत्किने जोखिम पनि देखिएको छ ।

वडाध्यक्ष खरेलले अनुगमनका क्रममा निकास व्यवस्थापनलाई सुधार गरी पानीलाई राप्ती नदीमा व्यवस्थित रूपमा निकाल्ने विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार यदि निकासलाई व्यवस्थितरूपमा राप्ती नदीतर्फ मोड्न सकिएमा वर्षभरि नै कुलोमा पानी बगिरहने अवस्था सिर्जना हुन सक्छ । यसले सिँचाइ सुविधा निरन्तर रहने मात्र नभई नहर संरचना पनि मजबुत हुने अपेक्षा गरिएको छ ।

उनले भने, ‘सिक्टाको कुलो यहाँसम्म आउँछ, सिजनमा पानी आउँछ, अरु बेला कुलोहरू सुख्खा हुन्छन् । सुख्खा समयमा मुसाले खन्दा कुलो कमजोर भएर भत्किने समस्या छ । यदि निकासलाई व्यवस्थित रूपमा राप्ती नदीमा निकाल्न सकियो भने बाह्रै महिना कुलोमा पानी बग्ने र सिँचाइ सुविधा पनि निरन्तर हुने सम्भावना छ ।’ त्यसैगरी सिक्टा सिँचाइ आयोजनाका आयोजना निर्देशक राजु आचार्यले यस क्षेत्रका किसानहरू आयोजनाबाट लाभान्वित भइरहेका बताएका छन् । उनले सिँचाइ प्रणालीलाई थप प्रभावकारी बनाउनका लागि स्थानीयस्तरमै अनुगमन गरिएको र समस्या पहिचान गरी समाधानका उपायहरू खोजिएको जानकारी दिए ।

उनका अनुसार नहरको नियमित मर्मतसम्भार, संरचनागत सुधार र पानी वितरण प्रणालीलाई व्यवस्थित बनाउने विषयमा विशेष ध्यान दिइएको बताए । अनुगमन टोलीले नहरको वर्तमान अवस्था, पानी प्रवाहको स्थिति तथा समस्या देखिएका स्थानहरूको अवलोकन गरेको थियो । टोलीले आगामी दिनमा आवश्यक प्राविधिक सुधार र समन्वयमार्फत सिँचाइ प्रणालीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । स्थानीय किसानहरूले पनि सिँचाइ प्रणाली सुधार भए उत्पादन बढ्ने र खेतीपातीमा सहजता आउने अपेक्षा व्यक्त गरेका छन् । उनीहरूले दीर्घकालीन समाधानका लागि नियमित अनुगमन र प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।