
कोहलपुर जेठ १२ बाँकेको कोहलपुरमा दोस्रो बन्धु खुल्ला राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता जेठ १६ र १७ गते सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
लुम्बिनी प्रदेश राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने जनाइएको छ । आयोजकका अनुसार प्रतियोगितामा पुरुष तथा महिला दुवै विधाका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्देश्य कराते खेलको विकास, खेलाडीबीच प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि, अनुशासनको प्रवद्र्धन तथा नयाँ प्रतिभा पहिचान गर्नु रहेको आयोजकले जनाएको छ । यसले स्थानीय तथा राष्ट्रिय स्तरमा कराते खेलको लोकप्रियता बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
कोहलपुर–५ स्थित वेष्टन स्कुलको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । आवश्यक व्यवस्थापन, खेलमैदान तयारी, आवास तथा सुरक्षा व्यवस्थापनका कामहरूलाई अन्तिम रूप दिइएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरिने पनि आयोजकले जनाएको छ । साथै विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने र विजेता खेलाडीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।
राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक रमेश कुमार डाँगीका अनुसार प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय स्तरको अनुभव दिलाउनेछ । उनका अनुसार यस्ता प्रतियोगिताले स्थानीय स्तरमै खेल प्रतिभा पहिचान गर्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार गर्न सहयोग पुर्याउनेछ ।
आयोजकले खेलप्रेमी, स्थानीय संघ–संस्था तथा सरोकारवालाहरूलाई प्रतियोगितामा उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ । प्रतियोगिताले कोहलपुरलाई खेलकुद गतिविधिको केन्द्रका रूपमा थप परिचित गराउने अपेक्षा गरिएको छ ।
राप्तीसोनारी, जेठ १२ राप्तीसोनारी गाउँपालिका–३ सरस्वती माध्यमिक विद्यालयमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालय लक्षित आँखा, नाक, कान, घाँटी तथा दन्त रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन् ।
राप्तीसोनारी गाउँपालिका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर, बाँकेको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमार्फत आँखासम्बन्धी समस्या, कानका रोग, नाक–घाँटीका जटिलता तथा दन्त स्वास्थ्यसम्बन्धी प्रारम्भिक परीक्षणदेखि आवश्यक परामर्श तथा औषधि वितरणसम्मका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
स्वास्थ्यकर्मी सुमन चौधरीका अनुसार शिविरमा कुल १७४ जनाले स्वास्थ्य परीक्षण तथा सेवा लिएका छन् । जसमध्ये २७ जनाले आँखासम्बन्धी समस्या परीक्षण गराएका छन् भने ४० जनाले कानसम्बन्धी समस्या लिएर सेवा लिएका छन् । त्यसैगरी १०७ जनाले दन्त रोगसम्बन्धी उपचार तथा परामर्श लिएका छन् । उनले धेरैजसोमा सामान्य संक्रमण, दृष्टि कमजोरी, कानको फोहोर जम्ने समस्या तथा दाँतमा कीरा लाग्ने समस्या देखिएको जानकारी दिए ।
शिविरमा सहभागी स्थानीय बासिन्दाहरूले गाउँमै विशेषज्ञ सेवा पाउँदा सहज भएको बताएका छन् । टाढा अस्पताल धाउनुपर्ने बाध्यता हटेर समय र खर्च दुवै बचत भएको उनीहरूको भनाइ छ । विद्यार्थीहरूका लागि समेत यस्तो स्वास्थ्य परीक्षण उपयोगी भएको विद्यालय प्रशासनले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिइने जनाएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित विभिन्न विद्यालय तथा समुदायस्तरमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका प्रतिनिधिहरूले बताएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पनि ग्रामीण स्वास्थ्य सेवामा सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । नियमित स्वास्थ्य परीक्षण र सचेतनाले दीर्घकालीन रूपमा समुदायको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
शिविर सफलतापूर्वक सम्पन्न भएसँगै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण योगदान पुगेको सरोकारवालाहरूले बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत मन्त्रालय संख्या १२ बाट घटाएर ८ मा सीमित गर्ने घोषणा गरेको छ । सरकारले ‘एक पालिका, एक अर्गानिक/रैथाने बाली’ नीति अघि सार्दै कृषि, डिजिटल सेवा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । साथै अधुरा आयोजना सम्पन्न गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने योजना पनि सार्वजनिक गरिएको छ ।
बुटवल, जेठ १२ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर ले प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले सुशासन, आर्थिक समृद्धि, प्रशासनिक सुधार, कृषि, स्वास्थ्य, पर्यटन र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ ।
मन्त्रालय ८ मा सीमित
प्रदेश सरकारले प्रशासनिक सुधारअन्तर्गत हाल रहेका १२ मन्त्रालयलाई घटाएर आगामी साउन १ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ मन्त्रालय कायम गर्ने घोषणा गरेको छ । सरकारको कामलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ ।
‘एक पालिका, एक अर्गानिक बाली’
कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रादेशिक कृषि ऐन ल्याइने भएको छ । स्थानीय तहसँग सहकार्य गरेर ‘एक पालिका, एक अर्गानिक/रैथाने बाली’ नीति लागू गरिनेछ ।
प्रदेशका विभिन्न जिल्लामा विशिष्टीकृत कृषि स्रोत केन्द्र स्थापना गर्ने नीति पनि सरकारले अघि सारेको छ । कपिलवस्तुमा बागवानी स्रोत केन्द्र, अर्घाखाँचीमा बाख्रा स्रोत केन्द्र, गुल्मीमा पहाडी फलफूल स्रोत केन्द्र, प्यूठानमा तरकारी बिउ स्रोत केन्द्र र रुकुम पूर्वमा आलु बिउ स्रोत केन्द्र स्थापना प्रक्रिया अघि बढाइने भएको छ । मुक्तकमैया, मुक्तकमलहरी, भूमिहीन, दलित तथा विपन्न समुदायलाई लक्षित गर्दै सामूहिक खेती, बगर खेती र पशुपालन कार्यक्रमलाई निरन्तरता दिइनेछ । कृषि क्षेत्रमा सहुलियत कर्जा र ब्याज अनुदानलाई थप सरल बनाइने सरकारको योजना छ ।
डिजिटल र उद्यमशील लुम्बिनी
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि तथा उद्यममा आकर्षित गर्न ‘उद्यमशील लुम्बिनी’ र ‘डिजिटल लुम्बिनी’ अभियान सञ्चालन गरिने भएको छ । महिलाको आर्थिक सशक्तीकरणका लागि ‘लुम्बिनीका महिला : उद्यमशीलतामा पहिला’ कार्यक्रम ल्याइने नीति कार्यक्रममा उल्लेख छ ।
पर्यटनमा ‘सिल्भर ट्राएङ्गल’
पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोडेर ‘सिल्भर ट्राएङ्गल’ अवधारणा अघि सारिएको छ । रोल्पा र रुकुम पूर्वको पुथा हिमाल क्षेत्रमा बेस क्याम्प तथा पदमार्ग निर्माण गरिनेछ ।
कोइलाबासदेखि गोरक्षरत्ननाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथ विकास गरिने तथा लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक परिपथका रूपमा प्रवद्र्धन गरिने भएको छ ।
अधुरा आयोजना पूरा गर्ने नीति
प्रदेश सरकारले ‘अधुरा : गर पूरा’ नीति अन्तर्गत अधुरा आयोजनालाई प्राथमिकतामा राख्ने जनाएको छ । ‘एक घर : एक धारा’ अभियानलाई निरन्तरता दिँदै खानेपानी आयोजनामा ८० प्रतिशत काम सम्पन्न भएका योजनालाई उच्च प्राथमिकतामा राखिनेछ ।
रामपुर–कपुरकोट सडकलाई प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाइने तथा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइने भएको छ । ‘एक वडा, एक पोखरी’ अभियानमार्फत वर्षे पानी संकलन र जल संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
स्वास्थ्य र सामाजिक सुरक्षा
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स र हवाई उद्धार सेवा सञ्चालन गरिने नीति सरकारले लिएको छ ।
राप्ती प्रादेशिक अस्पताललाई २०० शय्याको अस्पतालमा स्तरोन्नति गरिने तथा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिनेछ । डायलाइसिस, क्यान्सर र मुटु रोग उपचार सेवा पनि विस्तार गरिने नीति कार्यक्रममा उल्लेख छ ।
सेवा प्रवाह डिजिटल
सेवा प्रवाहलाई छिटो र प्रविधिमैत्री बनाउन डिजिटल टोकन, फाइल ट्र्याकिङ र एकल विन्दु सेवा प्रणाली लागू गरिने भएको छ । कर्मचारी तथा शिक्षकको विवरण विद्युतीय माध्यमबाट राख्न प्रदेश किताबखाना स्थापना गरिनेछ । साथै सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कर्मचारीका लागि प्रदेश निवृत्तिभरण कोष स्थापना गरिने नीति सरकारले अघि सारेको छ ।



