२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

क्वालालाम्पुर–  नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपालले आफ्नो विजयी यात्रा कायम राखेको हो।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा सम्पन्न खेलमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। यस जितसँगै नेपालले समूह बीमा ४ अंक जोड्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने चीन उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ। इन्डोनेसिया भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालको जितमा कप्तान इन्दु बर्मा र सोनी पाख्रिनले निर्णायक साझेदारी गर्दै टोलीलाई संकटबाट उद्धार गरेका थिए। २० रनको स्कोरमा ३ विकेट गुमाएर दबाबमा परेको अवस्थामा कप्तान इन्दु बर्मा र सोनी पाख्रिनले चौथो विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरे। इन्दु बर्माले संयमित ब्याटिङ गर्दै ४२ रनको योगदान दिइन् भने सोनी पाख्रिनले २९ रन बनाएर इनिङ्स सम्हालिन्। सीता राना मगरले १३ रनको योगदान दिइन्।

नेपालको इनिङ्स सुरुवात भने निराशाजनक रह्यो। ओपनर सम्झना खड्का १ रनमा र पूजा महतो ९ रनमा आउट भइन्। त्यसपछि रुवी पोद्दार शून्य रनमै पेभिलियन फर्किँदा नेपाल दबाबमा परेको थियो। रुबिना क्षेत्री भने गोल्डेन डक आउट भइन्। तर मध्यक्रममा कप्तान इन्दुको धैर्यपूर्ण ब्याटिङले टोलीलाई जिततर्फ डोर्‍यायो।

इन्डोनेसियाका लागि निमेड सुवान्देवी र नी अरियानीले समान २–२ विकेट लिएर नेपाललाई सुरुवाती चरणमै दबाबमा राख्ने प्रयास गरेका थिए। तर अन्त्यमा उनीहरूको प्रयास सफल हुन सकेन।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो। इन्डोनेसियाका लागि कप्तान नीपुटु आयुनन्दाले अविजित ५६ रनको उत्कृष्ट अर्धशतक प्रहार गरिन् भने नीलुह देवीले २३ रन जोडिन्।

इन्डोनेसियाको इनिङ्स सुरुवातमै झड्का लागेको थियो, किनभने पहिलो ओभरमै ओपनर गुमाएपछि टोली दबाबमा परेको थियो। तर मध्यक्रममा सम्हालिँदै उसले सम्मानजनक स्कोर खडा गर्न सफल भयो।

नेपालका लागि बलिङतर्फ मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिइन् भने रिया शर्मा एक विकेट लिन सफल भइन्। बलिङ र ब्याटिङ दुवैमा समग्र सन्तुलित प्रदर्शन गरेको नेपालले समूह चरणमा अपराजित यात्रा कायम राख्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो।

नेपालको यो प्रदर्शनले आगामी चरणका खेलहरूमा आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ। अब सेमिफाइनलमा नेपालले उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

 
 

कोहलपुर, जेठ १४  कोहलपुर–११ गोलपार्कस्थित भ्यू टावर सञ्चालनको तयारी सुरु गरिएको छ । कोहलपुर नगरपालिकाले टावरको पर्यटन शुल्क संकलन तथा सम्पूर्ण व्यवस्थापनका लागि ठेक्का आह्वान गरेसँगै सञ्चालन प्रक्रिया अघि बढेको हो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै भ्यू टावरको सञ्चालन तथा व्यवस्थापन १५ वर्षका लागि निजी क्षेत्रमार्फत गराउने तयारी गरेको जनाएको छ । नगरपालिकाका अनुसार प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्ति, फर्म वा कम्पनीलाई व्यवस्थापनको जिम्मा दिइनेछ । ठेक्का सूचनाअनुसार वार्षिक न्यूनतम मूल्य भ्याटसहित १२ लाख रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक पक्षले कबोल अंकको १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ भने बोलपत्र दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमार्फत पेश गर्न सकिने नगरपालिकाले जनाएको छ ।

कोहलपुरको प्रमुख चोक नजिक निर्माण गरिएको भ्यू टावरलाई नगरको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । टावर सञ्चालनमा आएपछि आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी बाँके, बर्दिया, दाङ तथा छिमेकी जिल्लाबाट आउने आन्तरिक पर्यटकका लागि यो आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको विश्वास छ ।

नगरपालिकाले भ्यू टावरलाई अवलोकनस्थलमा सीमित नराखी व्यवस्थित पर्यटन क्षेत्रका रूपमा विकास गर्ने तयारी गरेको जनाएको छ । टावर परिसरमा सरसफाइ, सुरक्षा, टिकट व्यवस्थापन तथा पर्यटकमैत्री सेवा विस्तार गर्ने योजना बनाइएको छ । साथै, स्थानीय उत्पादनको प्रवद्र्धन, फोटो तथा अवलोकन स्थल व्यवस्थापन र साना व्यवसायलाई समेत प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय व्यवसायीले भ्यू टावर सञ्चालनमा आएपछि होटल, रेष्टुरेन्ट तथा यातायात व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन् । नगरपालिकाले यस परियोजनाबाट राजश्व वृद्धि हुनुका साथै कोहलपुरलाई पर्यटकीय नगरका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

नेपालगन्ज, जेठ १४  बाँकेको नेपालगन्ज विमानस्थलमा मंगलबार दिउँसो भएको आगलागी समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुनबाट जोगिएको छ । पुरानो ट्रान्सफर्मर नजिक विद्युत् लाइनबाट स्पार्क भएर आगोको झिल्का खस्दा विमानस्थल परिसरभित्र आगलागी भएको थियो ।

तार आपसमा ठोक्किँदा, इन्सुलेसन बिग्रिँदा, ट्रान्सफर्मर वा लाइनमा प्राविधिक खराबी आउँदा, वा हावाहुरीका कारण लाइन सर्ट हुँदा ‘झट्का जस्तो उज्यालो’ देखिन्छ, त्यसैलाई स्पार्क भनिन्छ । विद्युत् लाइनबाट ‘स्पार्क भएर आगोको झिल्का खस्नु’ भन्नाले विद्युत् तार वा उपकरणमा अचानक विद्युत् सर्ट, ढिलो–चाँडो सम्पर्क, तार चुँडिनु, वा अत्यधिक लोडका कारण चिंगारी (स्पार्क) निस्किनु हो । यही चिंगारी वा तातो धातुको सानो टुक्रा तल झर्दा वरिपरिका सुख्खा घाँस, प्लास्टिक, तेलजन्य पदार्थ वा ज्वलनशील वस्तुमा आगो लाग्न सक्छ । आगलागी भएको क्षेत्रको उत्तरतर्फ विमानस्थलको रनवे रहेको छ भने दक्षिणतर्फ नेपाल आयल निगमको इन्धन भण्डारण केन्द्र छ । आगो लागेको स्थान नजिकै बाहिर सडकतर्फ आयल निगमका केही ट्यांकरसमेत पार्किङमा रहेकाले घटना केहीबेर तनावपूर्ण बनेको थियो ।

स्थानीय कर्मचारी र विमानस्थल सुरक्षाकर्मीले आगो देख्नेबित्तिकै नियन्त्रण प्रयास सुरु गरेका थिए । त्यसपछि विमानस्थलको फायर भेहिकल घटनास्थलमा पुगेर आगो निभाएको थियो । करिब पाँचदेखि सात मिनेटभित्र आगो पूर्णरूपमा नियन्त्रणमा आएकाले सम्भावित ठूलो दुर्घटना टरेको हो । विमानस्थल प्रशासनका अनुसार आगलागी फैलिन नपाउँदै नियन्त्रणमा आएकाले कुनै भौतिक तथा मानवीय क्षति भएको छैन । आगलागीका कारण आसपासका सुख्खा घाँस जलेका छन् भने अन्य संरचनामा क्षति पुगेको छैन ।

नेपालगन्ज विमानस्थलका प्रवक्ता दिपेन्द्र रिजालले आगो सामान्य अवस्थामै नियन्त्रणमा आएकाले ठूलो जोखिम हुन नपाएको बताए । उनले विद्युत् लाइनबाट स्पार्क हुँदा ट्रान्सफर्मर आसपासको क्षेत्रमा आगो लागेको जानकारी दिए । ‘आगो ठूलोरूप लिन पाएन । समयमै नियन्त्रणमा आएकाले कुनै ठूलो क्षति भएन,’ उनले भने, ‘आगलागी आसपासका घाँसमा मात्रै सीमित भयो ।’

घटनापछि विमानस्थल क्षेत्रमा केही समय सतर्कता अपनाइएको थियो । सुरक्षाकर्मीले रनवे आसपासको क्षेत्रको निरीक्षण गर्नुका साथै इन्धन भण्डारण क्षेत्रतर्फ थप निगरानी बढाएका थिए । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आगलागी भएको घटनाले विद्युत् सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखिएको छ । विशेषगरी गर्मीयाममा सुख्खा घाँस र उच्च तापक्रमका कारण सामान्य स्पार्कबाट पनि आगलागी फैलिन सक्ने जोखिम रहने भएकाले नियमित निरीक्षण र सुरक्षा तयारीलाई प्राथमिकता दिनुपर्ने स्थानीयले बताएका छन् ।

नेपालगन्ज विमानस्थल पश्चिम नेपालको महŒवपूर्ण हवाई नाका मानिन्छ । दैनिक आन्तरिक उडान सञ्चालन हुने यस विमानस्थलमा आगलागी नियन्त्रण समयमै हुनुले सम्भावित ठूलो दुर्घटना टरेको सरोकारवालाले बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।