२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

सुर्खेत, जेठ २१  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ भएपछि मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नीति तथा कार्यक्रम सभामा वाचन गरेका थिए । सरकारले “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी” भन्ने दीर्घकालीन सोचलाई केन्द्रमा राख्दै आगामी वर्षका प्राथमिकता तय गरेको जनाएको छ ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, विद्यमान नीति तथा कानुन, बजेटका सिद्धान्त तथा प्राथमिकता तथा प्रदेशको वर्तमान सामाजिक, आर्थिक र राजनीतिक अवस्थालाई आधार बनाइएको उल्लेख छ ।
सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने तथा निर्यात प्रवद्र्धन गर्ने नीति अघि सारेको छ । त्यसैगरी शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधार र दक्ष मानव पुँजी विकासलाई प्राथमिकता दिइएको छ ।

स्वास्थ्य क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन स्वास्थ्य पूर्वाधार विस्तार, सेवा सुदृढीकरण तथा पहुँच वृद्धि गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई आगामी वर्षका मुख्य प्राथमिकता क्षेत्रका रूपमा अघि बढाएको जनाएको छ ।

नेपालगन्ज, जेठ २१  समर्थ कार्यक्रमले बुधबार नेपालगन्जमा प्रदेशस्तरीय अनुभव तथा सिकाइ विमर्श कार्यशाला आयोजना गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

समर्थ कार्यक्रम लैंगिक समानता तथा मानव विकासका सूचकहरूमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको प्रणाली सुदृढीकरण कार्यक्रम हो । कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकारको अर्थ मन्त्रालय र ब्रिटिश दूतावासबीच समझदारी भएको छ । ब्रिटिश दूतावासको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमले लुम्बिनी र मधेश प्रदेशका मन्त्रालय, विभाग, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

समर्थले विशेषगरी शिक्षा, स्वास्थ्य, सुशासन तथा लैंगिक समानता एवं सामाजिक समावेशिताका क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रमको कार्यान्वयन एडम स्मिथ इन्टरनेशनल (एएसआई) ले गरिरहेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यशालामा कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गीता सुवेदी, राप्तीसोनारी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मनीषा सिंह थारुलगायतले आफ्नो अनुभव र धारणा राखेका थिए ।

कार्यक्रमअन्तर्गत समावेशी शासनका विषयमा प्यानल छलफल पनि गरिएको थियो । छलफलमा अध्यक्ष विक, उपप्रमुख सुवेदी, लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. नहकुल केसी तथा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य सहभागी थिए । उनीहरूले स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी, उत्तरदायी र समावेशी बनाउन आवश्यक पहलका विषयमा विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा मञ्जु थापा तुलाधरले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन् । राप्तीसोनारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बुढा क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यशालामा समूहगत छलफल, अनुभव आदानप्रदान तथा विभिन्न विषयगत प्रस्तुतीकरणसमेत गरिएको थियो ।

नेपालगन्ज, जेठ २१  महिलाका लागि महिनावारी झोला (फ्रीडम कीट ब्याग) बनाउने तालिम नेपालगन्जमा सुरु भएको छ । सामाजिक विकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा उक्त तालिम सुरु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का किशोरी तथा महिलाहरुका लागि सो तालिम आयोजना गरिएको हो । सेनेटरी प्याडको विकल्पको रुपमा कपडाको प्याद बनाउने तालिम आयोजना गरिएको सो संस्थाले जनाएको छ । संस्थाकी अध्यक्ष रमादेवी शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० कि सदस्य बिना थापा मगरको प्रमुख आथित्य थियो ।

सहसचिव शोभा थापा मगरले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष कमला वलीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि थापाले सीपमूलक तालिमबाट सीप विकास हुने आशा व्यक्त गरिन् । गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहलगायतले मन्तव्य व्यक्त गरेको उक्त तालिम ७ दिनसम्म सञ्चालन हुनेछ । तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण दिनेछन् । तालिममा २० जना सहभागी हुनेछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।