
राप्ती सोनारी गाउँपालिका–८ बालापुरकी १२ वर्षीया लक्ष्मी खड्काको परुवा खोलामा डुबेर मृत्यु भएको छ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब १२ बजेतिर साथीहरूसँग परुवा खोलामा नुहाउन गएकी लक्ष्मी अचानक खोलामा डुबेर बेपत्ता भएकी थिइन्। घटनापछि स्थानीय बासिन्दा तथा युवाहरूले उनको खोजी सुरु गरेका थिए।
स्थानीय युवा निराजन दाहालका अनुसार करिब एक घण्टासम्म खोजी गर्दा पनि बालिकाको अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्यलाई तीव्र बनाइएको थियो।
त्यसक्रममा दिउँसो करिब १ बजेतिर उनको शव खोलाभित्र डुबेको अवस्थामा फेला परेको थियो।
घटनापछि स्थानीयवासी शोकाकुल बनेका छन्। बालिकाको असामयिक निधनले परिवार तथा गाउँभरि दुःखको वातावरण सिर्जना भएको छ।
खोलानाला तथा जलाशयमा बालबालिका नुहाउन जाँदा अभिभावकको निगरानी आवश्यक रहेको भन्दै स्थानीयले यस्ता घटनाबाट सतर्क रहन आग्रह गरेका छन्।
काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई नयाँ दृष्टिकोणका साथ अगाडि बढाउँदै विकास, आर्थिक रूपान्तरण र पारस्परिक सम्मानमा आधारित सहकार्यलाई प्राथमिकता दिने बताएका छन्। भारत भ्रमणका क्रममा दिल्लीस्थित सञ्चारकर्मीहरूसँगको साक्षात्कारमा उनले दुई देशबीचका पुराना विवादहरू संवाद र कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गरे।
मन्त्री खनालले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, बहुआयामिक र गतिशील रहेको उल्लेख गर्दै वर्तमान सरकारले २०औँ शताब्दीको भूराजनीतिक सोचभन्दा माथि उठेर विकास र समृद्धिको साझा एजेन्डामा केन्द्रित सम्बन्ध निर्माण गर्न चाहेको बताए। उनले उदाउँदो आर्थिक शक्तिका रूपमा रहेको भारतको प्रविधि र लगानीसँग नेपालको ऊर्जा तथा सम्भावनालाई जोड्ने लक्ष्य रहेको स्पष्ट पारे।
सीमा विवादका विषयमा बोल्दै उनले नेपाल र भारतबीच लामो समयदेखि समाधान हुन बाँकी रहेका मुद्दाहरूलाई संवाद र कूटनीतिक प्रक्रियामार्फत टुंग्याउनुपर्ने धारणा राखे। उनले दुवै देशबीच विद्यमान धेरै कूटनीतिक संयन्त्रहरू निष्क्रिय अवस्थामा रहेको उल्लेख गर्दै ती संयन्त्रहरूलाई पुनः सक्रिय बनाउने विषयमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग सहमति भएको जानकारी दिए। हाल सीमाक्षेत्रमा प्राविधिक तथा सर्वेक्षण टोलीहरू संयुक्त रूपमा काम गरिरहेको उनले बताए।
कालापानी र लिपुलेक क्षेत्रसँग सम्बन्धित विषयमा मन्त्री खनालले नेपालको सहमति बिना भारत र चीनबीच भएका कुनै पनि समझदारीप्रति नेपालको आपत्ति रहेको दोहोर्याए। उक्त विषयमा नेपालले भारत र चीन दुवैलाई औपचारिक कूटनीतिक माध्यमबाट आफ्नो धारणा स्पष्ट गरिसकेको उनले बताए। भूमि नेपालकै भएको ऐतिहासिक दाबी दोहोर्याउँदै उनले सीमा विवाद समाधानका लागि बेलायतलाई मध्यस्थकर्ताका रूपमा ल्याउने कुनै योजना नरहेको स्पष्ट पारे।
प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतसँग पनि संवाद भइरहेको अभिव्यक्ति दिएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले सन् १८१६ को सुगौली सन्धिसँग सम्बन्धित ऐतिहासिक कागजात तथा अभिलेखहरू अध्ययनका लागि बेलायती संग्रहालय र पुस्तकालयहरूमा पहुँच खोजिएको मात्र बताए। यसलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा बुझ्न नहुने उनको भनाइ थियो।
अमेरिकी शुल्कसम्बन्धी विषयमा नेपालले अमेरिकासँग निरन्तर संवाद गरिरहेको जानकारी दिँदै उनले यो प्रक्रिया अझै छलफलकै चरणमा रहेको बताए। यस्तै, नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनबारे बोल्दै उनले उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीहरूलाई मात्र प्रस्तुत गर्न सकिने र त्यसलाई सार्वजनिक वा स्वीकार गर्ने अधिकार आफ्नो तहमा नरहेको स्पष्ट पारे।
कनेक्टिभिटी विस्तारका विषयमा मन्त्री खनालले जनकपुर–अयोध्या रेल सेवा छिट्टै पुनः सञ्चालन भएको हेर्न नेपाल इच्छुक रहेको बताए। भारतीय सेनाको ‘अग्निवीर’ योजनाबारे हालैका वार्तामा कुनै विशेष छलफल नभए पनि आवश्यक परे नेपाल यस विषयमा संवाद गर्न तयार रहेको उनको भनाइ थियो।
आफ्नो भारत भ्रमणलाई उच्चस्तरीय राजनीतिक भ्रमणहरूको सुरुवातका रूपमा व्याख्या गर्दै मन्त्री खनालले आगामी दिनमा नेपाल र भारतबीच नियमित भ्रमण, संवाद र सहकार्य थप विस्तार हुने अपेक्षा व्यक्त गरे। दिल्लीमा भएका छलफलहरू सकारात्मक र उपलब्धिमूलक रहेको उल्लेख गर्दै उनले निकट भविष्यमा त्यसका प्रत्यक्ष परिणाम देखिने विश्वास व्यक्त गरे।
तीन दिने भारत भ्रमण सम्पन्न गरी मन्त्री खनाल आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
कोहलपुर, जेठ २४ — अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख रबिलाल मिजारका अनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म सबै विद्यालयहरू बन्द रहनेछन्।
नगरपालिकाले बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको जनाएको छ। मौसममा तत्काल सुधार आउने संकेत नदेखिएको र तापक्रम निरन्तर वृद्धि भइरहेकाले बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख मिजारले बताए।
प्रचण्ड गर्मीका कारण कोहलपुर क्षेत्रको जनजीवनसमेत प्रभावित बनेको छ। दिउँसोका समयमा सडकहरू सुनसान देखिन थालेका छन् भने बजार क्षेत्रको चहलपहलमा समेत कमी आएको छ। तातो घाम र लु चल्ने जोखिम बढेसँगै सर्वसाधारण सकेसम्म घरभित्रै बस्न बाध्य भएका छन्।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई बढी असर पार्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले पर्याप्त मात्रामा पानी पिउन, अत्यावश्यक कामबाहेक घाममा ननिस्कन तथा गर्मीबाट बच्ने उपायहरू अपनाउन आग्रह गरेका छन्।
नगरपालिकाले हालका लागि तीन दिन बिदा घोषणा गरे पनि मौसम तथा तापक्रमको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकता अनुसार आगामी दिनमा बिदाको अवधि थप गर्न सकिने सम्भावना समेत रहेको नगरपालिकाले जनाएको छ।
काठमाडौं । मालीबाट इद-अल-अधा पर्व मनाएर घर फर्किरहेका यात्रु बोकेको ट्रक सहारा मरुभूमिको बीचभागमा बिग्रिँदा तिर्खा र जलवियोजनका कारण कम्तीमा ४९ नाइजेरियाली नागरिकको मृत्यु भएको छ। उत्तरी नाइजरको विकट मरुभूमि क्षेत्रमा भएको उक्त घटनामा केवल दुई जना मात्र जीवित उद्धार भएका छन्।
छिमेकी देश मालीमा आयोजित मुस्लिम पर्व (इद-अल-अधा) मा सहभागी भई आफ्नो परिवारसँग खुसी मनाउन घर फर्कँदै गरेका यात्रुहरू सवार उक्त ट्रक मरुभूमिको बीचभागमा बिग्रिएपछि यो विपद् निम्तिएको हो। नाइजरको अगादेज क्षेत्रीय प्रशासनले आधिकारिक वक्तव्य जारी गर्दै घटनाको पुष्टि गरेको छ।
अगादेज गभर्नोरेटका अनुसार दुर्घटना नाइजर र अल्जेरियाको सीमा नजिकै पर्ने मुख्य नाका ‘असामाका’ भन्दा करिब ८० किलोमिटर पश्चिमको दुर्गम मरुभूमि क्षेत्रमा भएको हो। अत्यधिक गर्मी र खानेपानीको अभाव रहेको उक्त क्षेत्रमा चालक, उनका सहयोगी तथा यात्रुहरूले ट्रक मर्मत गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्।
पानीको मौज्दात सकिँदै जाँदा यात्रुहरू सहाराको चर्को गर्मीमा शिथिल बन्दै गएका थिए। उद्धार टोली घटनास्थल पुग्दा ट्रक वरिपरि तथा घामबाट जोगिन ट्रकमुनि ओत लागेका दर्जनौँ शव फेला परेका थिए।
घटनाबाट जीवित बचेका दुई पुरुष तिर्खाले व्याकुल अवस्थामा करिब ५० किलोमिटरभन्दा बढी पैदल हिँडेर पानीको स्रोतसम्म पुगेका थिए। त्यसपछि उनीहरू असामाका सहरमा पुगेर स्थानीय अधिकारीलाई घटनाबारे जानकारी दिएका थिए।
उनीहरूको सूचनाका आधारमा गभर्नर जनरल इब्रा बौलामा इसाको नेतृत्वमा गएको उद्धार टोलीले घटनास्थलमै मृतकहरूको सामूहिक रूपमा अन्त्येष्टि गरेको जनाएको छ।
अफ्रिकी मुलुकहरूबाट युरोपतर्फ जाने आप्रवासी तथा स्थानीय यात्रुहरूले प्रयोग गर्ने यो मार्ग अत्यन्त जोखिमपूर्ण मानिन्छ। सहारा मरुभूमिमा अत्यधिक तापक्रम र पानीको अभावका कारण सामान्य प्राविधिक समस्या पनि घातक दुर्घटनामा परिणत हुने गरेको बताइएको छ।
कोहलपुर, जेठ २४ बर्दिया राष्ट्रिय निकुञ्जबाट कृष्णसार ल्याएर चितवनको टिकौलीस्थित बरण्डाभार जंगलमा बसोबास गराउने तयारी तीव्र पारिए पनि चितुवाको जोखिमका कारण स्थानान्तरण प्रक्रिया अझै अन्योलमा परेको छ । कृष्णसारको सुरक्षालाई प्रमुख चासोका रूपमा राख्दै प्राविधिक टोलीले इनक्लोजर आसपासका रुख हटाउन सुझाव दिएको छ ।
वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो प्रारम्भिक निर्णयमध्ये कृष्णसार स्थानान्तरणलाई समेटेपछि यस विषयले पुनः गति लिएको हो । वर्षौंदेखि तयारी भइरहे पनि सुरक्षा सम्बन्धी प्राविधिक प्रश्न समाधान नहुँदा बर्दियाबाट कृष्णसार चितवन ल्याउने काम रोकिएको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार कृष्णसार राख्न तयार गरिएको क्षेत्रमा घाँसे मैदान, पानीको व्यवस्था र तारबार पर्याप्त भए पनि चितुवा प्रवेशको जोखिम देखिएको छ । ‘तारबार नजिक रहेका रुख चितुवाका लागि सहज पहुँच बन्न सक्छन् । कृष्णसार चितुवाको प्रमुख आहारा भएकाले सुरक्षा सुनिश्चित गर्नुपर्छ,’ उनले भने ।
प्राविधिक अध्ययनले तारबारभित्रका २९ र बाहिरका १०३ वटा रुख हटाउन आवश्यक देखाएको छ । तीमध्ये अधिकांश पुराना सालका रुख भएकाले हटाउन उच्च तहको निर्णय आवश्यक पर्ने जनाइएको छ । रत्ननगर नगरपालिकाले सात वर्षअघि नै बर्दियाबाट कृष्णसार ल्याउने लक्ष्यसहित पूर्वाधार निर्माण सुरु गरेको थियो । नगरपालिकाले करिब तीन करोड रुपैयाँ खर्च गरेर झण्डै २० हेक्टर क्षेत्रमा तारबार, घाँसे मैदान तथा पानीको व्यवस्था मिलाइसकेको छ ।
नगर प्रमुख प्रल्हाद सापकोटाले बर्दिया राष्ट्रिय निकुञ्जबाट कृष्णसार ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताए । ‘लामो समयदेखि यो योजना कार्यान्वयनको प्रतीक्षामा छ । आवश्यक प्रक्रिया पूरा गरेर सकेसम्म चाँडो बर्दियाबाट कृष्णसार ल्याउने लक्ष्य छ,’ उनले भने । वन कार्यालयका अनुसार प्रारम्भिक चरणमा बर्दिया राष्ट्रिय निकुञ्जबाट १८ वटा कृष्णसार चितवन ल्याउने योजना छ । तीमध्ये १२ वटा पोथी र ६ वटा भाले हुनेछन् । आवश्यक परे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट समेत थप कृष्णसार ल्याउन सकिने विकल्प खुला राखिएको छ ।
चितवनमा कृष्णसारको नयाँ बासस्थान विकास गर्ने योजनालाई संरक्षणसँगै पर्यटन प्रवद्र्धनसँग पनि जोडिएको छ । स्थानीय सरकारले कृष्णसार अवलोकन केन्द्रका रूपमा क्षेत्रलाई विकास गर्ने योजना अघि सारेको छ । तर त्यसअघि चितुवाको जोखिम न्यूनीकरण गरेर स्थानान्तरण गरिएका कृष्णसारको सुरक्षा सुनिश्चित गर्नु सबैभन्दा महत्वपूर्ण विषय बनेको छ ।
नेपालगन्ज, जेठ २४ नेपाली चलचित्रमा मनोरञ्जनभन्दा माथि उठेर समाजका लुकेका घाउहरूलाई पर्दामा उतार्ने प्रयास कमै हुने गरेको छ । यस्तै प्रयासका रूपमा आएको चलचित्र ‘लालीबजार’ ले महिलामाथि हुने विभेद, गरिबी, सामाजिक अन्याय र संघर्षको कथा मार्मिक ढंगले प्रस्तुत गर्दै दर्शकलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ ।
पश्चिम नेपालको ग्रामीण परिवेश र सीमान्तकृत समुदायको जीवनलाई आधार बनाइएको चलचित्रले परम्परा र संस्कृतिका नाममा महिलाले भोग्दै आएको पीडा तथा असमानतालाई केन्द्रमा राखेको छ । बाँच्नका लागि एक युवतीले सामना गर्नुपर्ने चुनौती, संघर्ष र सामाजिक दबाबलाई कथाको मूल विषय बनाइएको छ । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिएकी छन् । उनले निर्वाह गरेको पात्रमार्फत विद्रोह, आत्मसम्मान, ममता र पीडाका अनेक आयाम जीवन्त रूपमा अभिव्यक्त भएका छन् । कलाकार रविन्द्र सिंह बानियाँ, विशाल देवकोटा, समिरा थापा र मुकुन्द श्रेष्ठ ले पनि आफ्नो भूमिकालाई प्रभावकारी बनाएका छन् ।
चलचित्रका लेखक यम थापा ले समाजको यथार्थ पक्षलाई कथामा उतार्ने प्रयास गरेका छन् भने निर्माता रविन्द्र सिंह बानियाँ र दीपेश खत्रीले त्यसलाई पर्दामा सशक्त रूपमा प्रस्तुत गरेका छन् । ‘लालीबजार’को बलियो पक्ष यसको यथार्थपरक प्रस्तुति हो । ग्रामीण जीवनका दुःख, आर्थिक अभाव र महिलाको मौन संघर्षलाई चलचित्रले कृत्रिमता बिना प्रस्तुत गरेको अनुभूति हुन्छ । चलचित्रको छायांकन, पृष्ठभूमि र संगीतले कथाको भावनात्मक प्रभावलाई अझ गहिरो बनाएको छ । यद्यपि चलचित्र पूर्ण रूपमा त्रुटिरहित भने देखिँदैन । केही दृश्य अपेक्षाभन्दा लामो लाग्छन् भने कतिपय प्रसंगमा अत्यधिक भावुकता प्रस्तुत हुँदा कथाको स्वाभाविकता केही कमजोर भएको महसुस हुन्छ । सामाजिक विषयहरू धेरै समेट्ने प्रयासका कारण मुख्य कथाको केन्द्रबिन्दु केही स्थानमा फितलो बनेको अनुभूति पनि हुन्छ ।
यी सीमित कमजोरीका बाबजुद ‘लालीबजार’ले नेपाली समाजभित्र लुकेका पीडा र अन्यायलाई उजागर गर्ने साहसी प्रयास गरेको छ । चलचित्रले सिनेमा केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक चेतना जगाउने शक्तिशाली साधन पनि हुन सक्छ भन्ने सन्देश दिएको छ । व्यापारिक सूत्रमा आधारित चलचित्रहरूको भीडबीच ‘लालीबजार’ले फरक विषयवस्तु रोज्दै नेपाली चलचित्र उद्योगलाई नयाँ दिशा देखाउने प्रयास गरेको छ । यसले दर्शकलाई एउटा कथा सुनाउनुका साथै समाजको कठोर यथार्थसँग प्रत्यक्ष साक्षात्कार गराउने काम गरेको छ ।
हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय नेपालगन्जका अनुसार तीन जिल्लामा बाँकी रहेका सडक निर्माण तथा स्तरोन्नतिका लागि करिब साढे तीन अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएको छ । यससँगै वर्षौँदेखि प्रतीक्षामा रहेको बाँकेको राप्तीपारि क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजनाले पनि नयाँ गति पाएको छ ।
राप्तीसोनारी,जेठ २४ लामो समयदेखि अलपत्र रहेको हुलाकी सडक आयोजनाअन्तर्गत बाँके, दाङ र बर्दियाका विभिन्न खण्डको निर्माण अघि बढ्ने भएको छ । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्काका लागि आवश्यक बजेट स्रोत सुनिश्चित गरेपछि रोकिएका काम पुनः सञ्चालन हुने अपेक्षा बढेको छ ।
हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय नेपालगन्जका अनुसार तीन जिल्लामा बाँकी रहेका सडक निर्माण तथा स्तरोन्नतिका लागि करिब साढे तीन अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएको छ । यससँगै वर्षौँदेखि प्रतीक्षामा रहेको बाँकेको राप्तीपारि क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजनाले पनि नयाँ गति पाएको छ । आयोजना कार्यालयका प्रमुख लिलाबहादुर भण्डारीले स्रोत सुनिश्चित भएसँगै बहुवर्षीय ठेक्का प्रक्रियामा जान सकिने अवस्था बनेको बताए । उनका अनुसार असार मसान्तभित्र ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ । उनले देशभरका अधुरा हुलाकी सडक आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अर्थ मन्त्रालयले २९ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको जानकारी दिए ।
यस निर्णयबाट विशेषगरी बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि दाङको राजपुर गाउँपालिकासम्मको करिब ३५ किलोमिटर सडक खण्ड निर्माणको प्रक्रिया अघि बढ्नेछ । पश्चिमतर्फ नेपालगन्ज हुँदै नारायणपुरसम्म र पूर्वतर्फ दाङको राजपुरसम्म सडक संरचना निर्माण भए पनि बीचको खण्ड वर्षौँदेखि अधुरो छ । यसअघि उक्त सडक निर्माणका क्रममा ठूलो संख्यामा रुख कटान गर्नुपर्ने विषयलाई लिएर कानुनी विवाद उत्पन्न भएपछि काम रोकिएको थियो । पछि वातावरणीय तथा कानुनी प्रक्रिया टुंगिए पनि बजेट अभावका कारण ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको थिएन । आयोजना कार्यालयले वातावरणीय प्रभाव मूल्यांकन तथा गुरुयोजना तयार गरिसकेको जनाएको छ ।
गुरुयोजना अनुसार बाँके–दाङ खण्ड सम्पन्न गर्न करिब ६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सडकको झण्डै १८ किलोमिटर भाग वन क्षेत्रभित्र पर्ने भएकाले निर्माण प्रक्रिया केही जटिल मानिएको छ । यद्यपि निर्देशनालयले तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । हुलाकी सडक निर्माणको प्रतिक्षामा रहेका राप्तीपारिका बासिन्दाले भने यसलाई आफ्नो जीवनस्तर परिवर्तनसँग जोडेर हेरेका छन् । सडक पहुँच नहुँदा भम्का, अमुवा, तितिनघारी, भवानीयापुर, खुटी, चुनाहा, सुनखरे र खोकरीजस्ता गाउँका नागरिकले वर्षौँदेखि आवागमन, शिक्षा, स्वास्थ्य र बजार पहुँचमा कठिनाइ भोग्दै आएका छन् ।
स्थानीय नरेन्द्र लामिछानेले सडक निर्माणले राप्तीपारिका गाउँहरूको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने बताए । उनका अनुसार सडक नहुँदा धेरै नागरिक अझै पनि पैदल यात्रा र झोलुंगे पुलको भरमा दैनिक कामकाज गर्न बाध्य छन् । स्थानीय अगुवा पोषण केसीले हुलाकी सडकलाई राप्तीपारि क्षेत्रको विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै अब थप ढिलाइ नगरी निर्माण कार्य अघि बढाउनुपर्ने बताए । उनका अनुसार वर्षौँदेखि चुनावी प्रतिबद्धतामा सीमित रहेको यो आयोजना कार्यान्वयनमा जानु स्थानीयका लागि राहतको विषय हो ।
स्रोत सुनिश्चित भएसँगै अब ठेक्का प्रक्रिया र निर्माण कार्य समयमै अघि बढे राप्तीपारि क्षेत्रको सडक पहुँच विस्तार हुने मात्र होइन, बाँके र दाङबीचको यातायात सम्पर्कसमेत थप सहज हुने अपेक्षा गरिएको छ ।
सुकुम्बासीहरूको भनाइअनुसार बस्ती हटाइएको लामो समय बितिसक्दा पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अघि नबढ्दा उनीहरू असुरक्षित र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । प्रभावित परिवारहरूले बसोबासको सुनिश्चित व्यवस्था, पुनःस्थापना तथा जीवनयापनका आधारभूत अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
कोहलपुर, जेठ २४ कोहलपुर नगरपालिका–११ शान्तिनगरका अव्यवस्थित तथा सुकुम्बासी परिवारहरूले दीर्घकालीन व्यवस्थापनको माग गर्दै आफूहरू बसेकै पुरानो स्थानमा फर्केर त्रिपाल टाँगेर बस्न बाध्य हुने चेतावनी दिएका छन् । नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गराउने क्रममा केही समयअघि शान्तिनगरस्थित सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै उनीहरूले राज्य र स्थानीय सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका हुन् ।
शनिबार कोहलपुरस्थित क्रिकेट मैदानमा आयोजित भेलामा १२० जनाभन्दा बढी प्रभावित सुकुम्बासी सहभागी भएका थिए । भेलाले वीरबहादुर परियारको संयोजकत्वमा आठ सदस्यीय संघर्ष समिति गठन गर्दै आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष राख्ने निर्णय गरेको छ । संघर्ष समितिका संयोजक वीरबहादुर परियारले बस्ती हटाइएपछि वास्तविक सुकुम्बासीमध्ये केहीलाई होल्डिङ सेन्टरमा राखिएको भए पनि धेरै परिवार अझै व्यवस्थापनविहीन अवस्थामा रहेको बताए । उनका अनुसार घरजग्गा भएका व्यक्तिहरू आआफ्नो व्यवस्थापन गरेर अन्यत्र बसाइँ सरेका छन्, तर वास्तविकरूपमा भूमिहीन र सुकुम्बासी रहेका परिवार अहिले निकै कठिन अवस्थामा जीवनयापन गर्न बाध्य छन् ।
‘न हाम्रो आफ्नै घरजग्गा छ, न त सबैलाई होल्डिङ सेन्टरमा राखिएको छ,’ उनले भने, ‘हामीमध्ये धेरैजना अहिले महँगो भाडा तिरेर बस्न बाध्य छौं । आम्दानीको स्रोत कमजोर भएकाले दैनिक जीवन चलाउनै समस्या भइरहेको छ ।’ उनका अनुसार प्रभावित परिवारले विभिन्न स्थानमा कोठा खोजे पनि सहजरूपमा बस्न पाएका छैनन् । कतिपय घरधनीले कोठा दिन नमानेको र कोठा पाए पनि अत्यधिक भाडा तिर्नुपर्ने अवस्था रहेको उनले बताए ।
प्रभावितमध्येकी रुपा परियारले बस्ती हटाइएपछि आफ्नो परिवारको जीवन निकै कष्टकर बनेको बताइन् । ‘पहिला आफ्नै झुपडी भए पनि बस्ने ठाउँ थियो । अहिले कोठा खोज्दै हिँड्नुपरेको छ,’ उनले भनिन्, ‘जसोतसो जस्तापाता राखेर बस्न खोज्दा पनि महँगो भाडा तिर्नुपरेको छ । कमाइ कम छ, खर्च धान्न सकिएको छैन ।’ त्यस्तै कमला परियारले पनि राज्यले आफूहरूको बसोबासको व्यवस्था गर्न नसके अब पुरानै ठाउँमा फर्किनुको विकल्प नरहेको बताइन् । ‘हामीलाई कि बस्ने व्यवस्था गरियोस्, नत्र घर भत्काइएको ठाउँमै त्रिपाल टाँगेर बस्न बाध्य हुन्छौं,’ उनले भनिन्, ‘हामीसँग अर्को विकल्प छैन ।’
संघर्ष समितिले पहिलो चरणमा कोहलपुर नगरपालिका र बाँकेका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने निर्णय गरेको छ । छलफलबाट समस्या समाधानको ठोस पहल नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समितिले जनाएको छ । संयोजक परियारका अनुसार प्रभावित परिवारहरू न्याय र पुनःस्थापनाको माग गर्दै आवश्यक परे धर्ना, प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने तयारीमा छन् । ‘हामी शान्तिपूर्ण रूपमा आफ्नो समस्या राख्न चाहन्छौं,’ उनले भने, ‘तर लामो समयसम्म बेवास्ता गरिए हामी थप संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौं ।’
सुकुम्बासीहरूको भनाइअनुसार बस्ती हटाइएको लामो समय बितिसक्दा पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अघि नबढ्दा उनीहरू असुरक्षित र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । प्रभावित परिवारहरूले बसोबासको सुनिश्चित व्यवस्था, पुनःस्थापना तथा जीवनयापनका आधारभूत अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।





