
बीपी राजमार्ग अन्तर्गत काभ्रेकाे नमाेबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका काभ्रेका डीएसपी रबिन विष्टका अनुसार, घटनास्थलमै सात जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य १५ जना घाइते भएको र उनीहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको विष्टले जानकारी दिए।
प्रहरीका अनुसार बनेपाबाट राेशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बुच्चाकोटमा पुग्दा दुर्घटनामा परेको हो।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्। हतियारसहित नेपाली भूमितर्फ आएका भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीलाई स्थानीय किसान तथा बासिन्दाले रोक्दै कारण सोधेपछि केही समय विवादको अवस्था सिर्जना भएको थियो।
स्थानीयका अनुसार एसएसबीका करिब ६ जना सुरक्षाकर्मी उखु खेती गरिएको क्षेत्रमा पुगेका थिए। उनीहरू नेपाली भूमितर्फ आएको देखेपछि स्थानीयले आपत्ति जनाएका थिए। स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मी फर्किएका थिए। घटनापछि सीमा क्षेत्रमा केहीबेर तनावको अवस्था बनेको थियो।
नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले भारतीय सुरक्षाकर्मी नियमित गस्तीका क्रममा भारतीयतर्फ रहेको एउटा कल्भर्ट भत्किएपछि वैकल्पिक रूपमा नेपाली किसानको उखुबारीको आलि प्रयोग गर्ने क्रममा विवाद भएको बताए।
उनका अनुसार भारतीय सुरक्षाकर्मीले आफ्नो बाटो बिग्रिएकाले अस्थायी रूपमा नेपाली खेतको आलि प्रयोग गरेको जानकारी स्थानीय किसानलाई दिइएको थियो। साथै, भारतीय क्षेत्रभित्रकै बाटो मर्मत गरेर प्रयोग गर्न उनीहरूलाई निर्देशनसमेत दिइएको भण्डारीले बताए।
केही दिनअघि सुस्तामै भारतीय सुरक्षाकर्मीले तटबन्ध निर्माणमा अवरोध गरेको विषय सार्वजनिक भएको थियो। तर सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार आजको घटना र त्यसअघिको तटबन्धसम्बन्धी विवाद एउटै वडाभित्र भए पनि फरक–फरक स्थानका हुन्।
घटनाबारे स्थानीय प्रशासनले थप जानकारी संकलन गरिरहेको जनाएको छ।
धनगढी, जेठ २९ धान रोपाइँको मुख्य सिजन सुरु भइसक्दा पनि सुदूरपश्चिम प्रदेशका २६ स्थानीय तहले आफूहरूका लागि विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । यसले किसानसम्म समयमै मल पुग्ने प्रक्रियामा समस्या उत्पन्न भएको भन्दै कृषि, वन तथा वातावरण मन्त्रालयले सम्बन्धित पालिकाहरूलाई तत्काल मल ढुवानी तथा वितरणको व्यवस्था गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार प्रदेशका नौ जिल्लामा रहेका ४३ पालिकामध्ये केवल १७ पालिकाले मात्रै आफूलाई छुट्याइएको मल उठाएका छन् । बाँकी २६ पालिकाले पटकपटक जानकारी गराउँदा पनि आवश्यक प्रक्रिया अघि नबढाएको पाइएको हो । मल उठाउन ढिलाइ भइरहेकाले मन्त्रालयले सम्बन्धित पालिकाहरूलाई तत्काल सक्रिय हुन आग्रह गरेको छ । अन्यथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने विकल्प अपनाइने चेतावनीसमेत दिइएको छ ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको तथ्याङ्कअनुसार डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी तथा अछामका विभिन्न स्थानीय तहले आफूहरूका लागि छुट्याइएको मल अझै उठाएका छैनन् । अछाममा साँफेबगर नगरपालिका, बन्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाले मल ढुवानी गर्न बाँकी रहेको जनाइएको छ । कैलालीका केही स्थानीय तहले पनि पर्याप्त परिमाणमा मल उठाउन सकेका छैनन् । गोदावरी नगरपालिकाले २१ हजार २३० किलोग्राम, गौरीगंगा नगरपालिकाले ६ हजार ६९० किलोग्राम, जानकी गाउँपालिकाले १० हजार २५० किलोग्राम तथा धनगढी उपमहानगरपालिकाले २१ हजार ५०० किलोग्राम मल अझै उठाएका छैनन् ।
त्यस्तै कञ्चनपुरमा भीमदत्त नगरपालिकाले एक लाख ६ हजार ८०० किलोग्राम र बेदकोट नगरपालिकाले एक लाख ६ हजार ४०० किलोग्राम रासायनिक मल नलगेको तथ्याङ्कले देखाएको छ । धान रोपाइँको समय नजिकिँदै जाँदा मलको माग बढिरहेको अवस्थामा स्थानीय तहबाट वितरण प्रक्रिया सुस्त बनेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । समयमै मल नपुगे उत्पादनमा प्रत्यक्ष असर पर्न सक्ने कृषि क्षेत्रका सरोकारवालाहरू बताउँछन् । सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनीमार्फत वितरण हुने कुल रासायनिक मलमध्ये कैलालीले ५२ प्रतिशत र कञ्चनपुरले ३२ प्रतिशत हिस्सा पाउने व्यवस्था छ । बाँकी १६ प्रतिशत मल डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, अछाम र डोटीलगायत जिल्लाका पालिकाहरूलाई छुट्याइएको छ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत वितरण हुने मलमध्ये कैलालीलाई ३४ प्रतिशत र कञ्चनपुरलाई ५४ प्रतिशत हिस्सा तोकिएको छ । बाँकी १२ प्रतिशत मल अन्य जिल्लाका स्थानीय तहमा वितरण गरिने भए पनि अपेक्षित रूपमा उठान हुन नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार मल मौज्दात हुँदाहुँदै स्थानीय तहले समयमै ढुवानी र वितरण व्यवस्थापन नगर्दा किसानले मल अभावको समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ । त्यसैले रोपाइँको व्यस्त समयअघि नै मल किसानको हातमा पुर्याउन सबै पालिकालाई आवश्यक समन्वय र सक्रियता बढाउन आग्रह गरिएको छ ।
राप्तीसोनारी, जेठ २९ अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड, बैजापुर सेवा केन्द्रले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पशुपालक शेयर सदस्यलाई घाँस काट्ने चारा मेसिन वितरण गरेको छ । पशुपालन व्यवसायलाई थप प्रभावकारी, व्यावसायिक तथा उत्पादनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत सहकारीमा आबद्ध पशुपालक किसानलाई मेसिन हस्तान्तरण गरिएको हो ।
सहकारीका अनुसार किसानहरूको दैनिक श्रम र समय बचत गर्दै पशुचौपायाका लागि आवश्यक हरियो घाँस तथा चारा व्यवस्थापनलाई सहज बनाउन मेसिन वितरण गरिएको उक्त सहकारीले संस्थाले जनाएको छ । कार्यक्रममा बोल्दै सहकारीका पदाधिकारीहरूले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरणका लागि यस्ता प्रविधिमैत्री उपकरणको प्रयोग आवश्यक रहेको बताए । उनीहरूले किसानको उत्पादन लागत घटाउन, श्रमको उचित व्यवस्थापन गर्न तथा पशुपालन व्यवसायलाई दिगो र लाभमुखी बनाउन सहकारीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
घाँस काट्ने मेसिन प्राप्त गरेका किसानहरूले यसबाट घाँस संकलन र तयारी गर्ने कार्य छिटो, सहज र कम खर्चिलो हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार पहिले धेरै समय र श्रम लाग्ने काम अब मेसिनको प्रयोगबाट सहज हुने भएको छ । सहकारीले आगामी दिनमा पनि पशुपालन, कृषि उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुधारका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्थानीय किसानहरूलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै आत्मनिर्भर कृषि प्रणाली विकास गर्न सहकारीले निरन्तर पहल गरिरहेको संस्थाले जनाएको छ ।
सरकारी निकायको नाम, छाप, लेटरप्याड तथा साइनबोर्ड दुरुपयोग गर्दै नक्कली कार्यालय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बर्दिया, जेठ २९ सरकारी कार्यालयकै स्वरूप नक्कल गरेर स्थानीयलाई रोजगारीको प्रलोभन देखाउँदै ठगी गर्ने एक दम्पतीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । उनीहरूले सरकारी निकायको नाम, छाप, लेटरप्याड तथा साइनबोर्ड दुरुपयोग गर्दै नक्कली कार्यालय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरूले ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली कार्यालय स्थापना गरेका थिए ।
अनुसन्धानका क्रममा उक्त दम्पतीले सरकारी कार्यालयजस्तै देखिने साइनबोर्ड, छाप र लेटरप्याड प्रयोग गरी स्थानीय व्यक्तिलाई जागिर दिने आश्वासन दिएका थिए । केही व्यक्तिलाई कर्मचारीका रूपमा नियुक्त गरेको तथा विभिन्न काममा लगाएर पारिश्रमिकसमेत नदिएको आरोप उनीहरूमाथि लागेको छ । प्रहरीका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत दाङको लमहीमा सञ्चालनमा रहेको ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’को नामसँग मिल्दोजुल्दो नाम प्रयोग गरेर उनीहरूले सर्वसाधारणलाई भ्रममा पारेका थिए ।
यस्तै, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई भवनको तल्ला थप्न लगाई त्यसबापतको रकम नतिरेको विषयमा पनि उजुरी परेको थियो । घरधनीले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेपछि नक्कली सरकारी कार्यालय सञ्चालन भइरहेको तथ्य बाहिर आएको हो । प्रहरीले जेठ २० गते दुवै जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि सरकारी कागजात तथा छापको दुरुपयोग, ठगी तथा अन्य सम्बन्धित कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीले सर्वसाधारणलाई कुनै पनि सरकारी नियुक्ति, रोजगारी वा सेवा सम्बन्धी सूचना प्राप्त गर्दा सम्बन्धित कार्यालयको आधिकारिकता यकिन गर्न आग्रह गरेको छ ।





