२०८३ मंसिर ८ सोमबार
२०८३ मंसिर ८ सोमबार

कोहलपुर ।  बाँके जिल्लाका ५९ वटा डोजाङका ४ सय ५० भन्दा बढी खेलाडीको सहभागितामा कोहलपुर–१० चटारस्थित बागेश्वरी एकेडेमीमा शनिबारदेखि जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले गर्दै खेलकुदमार्फत बालबालिकाको प्रतिभा, अनुशासन र व्यक्तित्व विकासमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताएका छन्।

“संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात् गर्दै विद्यालयले आफ्नै प्रांगणमा प्रतियोगिता आयोजना गरेको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले निजी क्षेत्रबाट यस्ता खेलकुद कार्यक्रम आयोजना हुनु बालबालिकाको समग्र विकासका लागि अत्यन्त सकारात्मक कदम भएको बताए । उनले विद्यालयले आफ्नो सामाजिक दायित्व र अपनत्व झल्किने गरी खेलकुद प्रतियोगिता आयोजना गरेकोप्रति प्रशंसा व्यक्त गर्दै शिक्षा, खेलकुद र व्यक्तित्व विकासका क्षेत्रमा सहकार्य र समन्वयमा नगरपालिकाको साथ निरन्तर रहने प्रतिबद्धता जनाए ।

उनले समाजमा सबै काम सरकारले मात्रै गर्नुपर्छ भन्ने धारणा बढ्दै गएको उल्लेख गर्दै सरकार एक्लैले सबै जिम्मेवारी वहन गर्न नसक्ने भए पनि बालबालिकाको प्रतिभा विकासमा कुनै कमी आउन नदिन सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको औंल्याए । शिक्षा र खेलकुद सिकाइका परिपूरक पक्ष भएको उल्लेख गर्दै निजी क्षेत्रले खेलमार्फत सिकाइको स्तर उकास्न थालेको अवस्थालाई उनले सुखद सुरुवातका रूपमा व्याख्या गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीले बागेश्वरी एकेडेमीले डिजिटल शिक्षादेखि शारीरिक तथा व्यवहारिक दक्षता विकाससम्मका क्षेत्रमा निरन्तर काम गरिरहेको बताए । २०६० को दशकमा १ सय ६३ विद्यार्थीबाट सुरु भएको विद्यालयको यात्रा आजसम्म अविच्छिन्न रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन तथा आत्मरक्षाको सीप विकास हुने भएकाले विद्यालय यस विषयमा विशेष संवेदनशील रहेको बताए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता विद्यालय प्राङ्गणका तीन फरक क्षेत्रमा खेल सञ्चालन भइरहेको छ । प्रतियोगिताको सम्पूर्ण खर्च विद्यालयले व्यहोरेको जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरिनेछ ।

विद्यालयका सञ्चालक समिति अध्यक्ष किशन गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रबिलाल मिजार, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख चक्रबहादुर डम्मर पाल, तेक्वान्दो संघ लुम्बिनी प्रदेश संयोजक बुद्धिबहादुर थापा, सचिव प्रेमबहादुर आले, नगर खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, तेक्वान्दो संघ बाँकेका कोषाध्यक्ष प्रेम पुन, कराते महासंघ बाँकेका अध्यक्ष सन्तोष शाह, कृसा बाँकेका अध्यक्ष ओपेन्द्र केसी, विद्यालयका आर्थिक संयोजक बेगबहादुर ओली, पूर्व अध्यक्ष चिन्तामणि धिताल, स्कुल क्याप्टेन दिप्सना ओलीलगायत पत्रकार, अभिभावक, विद्यार्थी, खेलप्रेमी, खेलाडी तथा शिक्षक–कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

इरानले अन्तरिम सम्झौताका प्रावधानहरू पूर्ण रूपमा कार्यान्वयन नभएसम्म संयुक्त राज्य अमेरिकासँग अन्तिम आणविक सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट चेतावनी दिएको छ।

इरानी विदेश मन्त्री अब्बास अराघचीले पूर्वनिर्धारित प्रतिबद्धताहरू पूरा नभएसम्म आणविक वार्तालाई अन्तिम निष्कर्षमा नपुर्‍याइने बताएका हुन्।

इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी)सँगको अन्तर्वार्तामा अराघचीले प्रारम्भिक सम्झौतापछि अमेरिकालाई आफ्ना दायित्व पूरा गर्न ६० दिनको समय दिइने र त्यसको प्रभावकारी कार्यान्वयनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताए।

उनका अनुसार समझदारी तथा ज्ञापन–पत्रमा उल्लेख गरिएका प्रावधानहरू कार्यान्वयन नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर गरिने छैन। उनले सम्झौतासम्बन्धी निर्णय इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्भित्र सामूहिक रूपमा हुने र स्वीकृति प्राप्त भएपछि मात्र हस्ताक्षर प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।

अराघचीले अमेरिकी पक्षले विगतमा पनि सम्झौताका प्रतिबद्धताहरू पूर्ण रूपमा पालना गर्न नसकेको आरोप लगाउँदै यसपटक पनि कार्यान्वयनमा चुनौती आउन सक्ने संकेत गरे। उनले अमेरिकाले दायित्व पूरा नगरेर अवरोध सिर्जना गरे अन्तिम सम्झौता नै प्रभावित हुने चेतावनी दिए।

अमेरिकी राजनीतिज्ञहरूमा प्रतिबद्धता तोड्ने प्रवृत्ति रहेको दाबी गर्दै उनले इरानले व्यवहारिक कार्यान्वयनलाई नै मुख्य आधार बनाएर निर्णय गर्ने बताए।

सुरक्षा सम्बन्धी विषयमा उनले इरानले आफ्नो सुरक्षा सुनिश्चित गर्न बाह्य शक्ति वा अन्तर्राष्ट्रिय गठबन्धनमा निर्भर नहुने उल्लेख गर्दै भगवान, जनताको समर्थन र आफ्नै सशस्त्र सेनाको क्षमतामाथि भरोसा गर्ने धारणा व्यक्त गरे।

दाङ, जेठ ३० लुम्बिनी प्रदेश सरकारले बजेट कार्यान्वयन र वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नियमावली स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली, २०८३’ पारित गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको हो । नयाँ व्यवस्थाले बजेट कार्यान्वयन प्रक्रियालाई थप सरल, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य लिएको उनले बताए । नियमावलीअनुसार अब आन्तरिक रकमान्तरका लागि सम्बन्धित मन्त्रालयले पहिले जस्तो आर्थिक मामिला तथा योजना मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था खुकुलो बनाइएको छ । यसले प्रशासनिक प्रक्रिया छिटो हुने र काममा हुने ढिलासुस्ती घट्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी योजना संशोधन गर्ने अधिकार पनि सम्बन्धित मन्त्रालयमै प्रदान गरिएको छ, जसले आवश्यक परेका योजनाहरू समयमै परिमार्जन गर्न सहज बनाउने विश्वास सरकारको छ । यसअघि पुस मसान्तसम्म मात्र सीमित रहेको योजना नाम संशोधनको अवधि अब चैत मसान्तसम्म विस्तार गरिएको छ । यस परिवर्तनले कार्यान्वयनका क्रममा देखिने व्यवहारिक समस्या समाधान गर्न सहयोग पुग्ने जनाइएको छ ।
प्रदेश सरकारले नयाँ नियमावलीले बजेट कार्यान्वयनलाई परिणाममुखी बनाउँदै विकास परियोजनाहरूको गति बढाउने अपेक्षा गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।