२०८३ कार्तिक १० सोमबार
२०८३ कार्तिक १० सोमबार

नेपालगन्ज, असार ७   युनाइटेड एजुकेशनल एकेडेमीले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक प्रणाली, आन्तरिक नियम तथा अनुशासन, शिक्षण–सिकाइ विधि, तथा उपलब्ध शैक्षिक र अतिरिक्त क्रियाकलापका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

साथै पुस्तकालय, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला लगायतका सुविधाहरूको उपयोग र पहुँचका विषयमा पनि अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य तथा शिक्षकहरूले कक्षा ११ मा अध्ययनका चुनौती र अवसरबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई नियमित अध्ययन, अनुशासन र समय व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिएका थिए । उनीहरूले उच्च माध्यमिक तह विद्यार्थीको भविष्य निर्माणको महत्वपूर्ण चरण भएकाले लक्ष्य निर्धारण गरी अध्ययन गर्न प्रेरित गरेका थिए ।

अभिमुखीकरण कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई विद्यालयको वातावरणसँग सहज रूपमा घुलमिल हुन सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास वृद्धि हुने र शैक्षिक गुणस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रम अन्त्यमा विद्यार्थीहरूलाई आगामी शैक्षिक सत्र सफल बनाउन शुभकामना दिइएको थियो । कार्यक्रममा विद्यार्थीहरूले पनि आफ्ना जिज्ञासा राख्दै कक्षा सञ्चालन, मूल्यांकन प्रणाली र अतिरिक्त गतिविधिबारे प्रश्न गरेका थिए । शिक्षकहरूले ती प्रश्नहरूको उत्तर दिँदै शैक्षिक यात्रालाई सहज बनाउन मार्गदर्शन गरेका थिए । अभिमुखीकरणलाई संवादात्मक र सहभागितामूलक बनाइएको थियो ।

कार्यक्रममा अभिभावक प्रतिनिधिहरूको पनि उपस्थिति रहेको र विद्यालयले धन्यवाद व्यक्त गरेको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । विद्यालय प्रशासनले जनाएको छ भनेका छन् । यसले कक्षा ११ का विद्यार्थीलाई नयाँ वातावरणसँग घुलमिल हुन मद्दत गरेको छ ।

बैजनाथ गाउँपालिका–५, हिरमनियाका २६ वर्षीय अजय माउत लामो समयदेखि दोहोरो प्रेम सम्बन्धमा रहेका थिए । एउटै गाउँकी दुई युवतीसँग एकैसाथ सम्बन्धमा रहेका उनले एक नाबालिका किशोरीलाई झुक्याएर भगाएको घटनापछि कानुनी समस्यामा परेका थिए । २०८२ असोज १५ गते भएको उक्त घटनापछि परिवारले किशोरीलाई फेला पारेर घर फर्काए पनि त्यसले कानुनी विवादको रूप लिएको थियो । किशोरीका परिवारले २०८२ मंसिर २८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा अजयविरुद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगसम्बन्धी किटानी जाहेरी दिएपछि उनी फरार सूचीमा पुगेका थिए । सोही मुद्दापछि उनी बदलाको योजनातर्फ उन्मुख भएको प्रहरीको निष्कर्ष छ ।

कोहलपुर, असार ६    बाँकेमा भएको एक युवतीको हत्या प्रकरणले प्रेम सम्बन्ध, बदलाको भावना र योजनाबद्ध अपराधबीचको जटिल जालो उजागर गरेको छ । पूर्वप्रेमिकामाथि भएको हत्या घटनामा अनुसन्धान गर्दै जाँदा प्रहरीले आरोपितले आफूविरुद्ध परेका पुराना मुद्दालाई ढाकछोप गर्न र बदला लिनका लागि अर्को निर्दोष युवतीलाई प्रयोग गरी अन्ततः जघन्य अपराधसम्म पुगेको तथ्य फेला पारेको छ । प्रहरी अनुसन्धान अनुसार बैजनाथ गाउँपालिका–५, हिरमनियाका २६ वर्षीय अजय माउत लामो समयदेखि दोहोरो प्रेम सम्बन्धमा रहेका थिए । एउटै गाउँकी दुई युवतीसँग एकैसाथ सम्बन्धमा रहेका उनले एक नाबालिका किशोरीलाई झुक्याएर भगाएको घटनापछि कानुनी समस्यामा परेका थिए । २०८२ असोज १५ गते भएको उक्त घटनापछि परिवारले किशोरीलाई फेला पारेर घर फर्काए पनि त्यसले कानुनी विवादको रूप लिएको थियो । किशोरीका परिवारले २०८२ मंसिर २८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा अजयविरुद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगसम्बन्धी किटानी जाहेरी दिएपछि उनी फरार सूचीमा पुगेका थिए । सोही मुद्दापछि उनी बदलाको योजनातर्फ उन्मुख भएको प्रहरीको निष्कर्ष छ ।

त्यही क्रममा अजयको अर्की प्रेमिका २० वर्षीया अवसना बानुसँगको सम्बन्ध पनि टुटिसकेको थियो । उनी कैलालीमा विवाह गरी नयाँ जीवन सुरु गरिरहेकी थिइन् । तर अजय भने फरार अवस्थामा पनि कोहलपुर क्षेत्रमा लुकीछिपी बस्दै आएका थिए । बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार उनले पहिचान लुकाएर कहिलेकाँहि राति विभिन्न जिल्लामा नाइट बससमेत चलाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यसैबीच सामाजिक सञ्जालमार्फत पुनः सम्पर्कमा आएका अजयले अवसनालाई विश्वासमा लिएर बाँके बोलाएका थिए । जेठ २३ गते कैलालीबाट हिँडेकी अवसना माइती जाने भन्दै घरबाट निस्किएकी थिइन् तर उनी त्यहाँ पुगिनन् । उनलाई कोहलपुरस्थित अजयको कोठामा राखिएको अनुसन्धानले देखाएको छ ।

अवसना सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजी निवेदन दिएका थिए । त्यही क्रममा उनले अपहरणमा परेको भन्दै आफन्तलाई फोनसमेत गरेकी थिइन् र केही व्यक्तिलाई फसाउन तयार पारिएको तस्विरसमेत पठाएकी थिइन् । त्यसका आधारमा सुरुवाती चरणमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिए पनि अनुसन्धानपछि उनीहरू निर्दोष ठहर गर्दै रिहा गरेको थियो । प्राविधिक अनुसन्धानले घटनाको दिशा मोडिएको थियो । कल डिटेल रेकर्ड र लोकेसन ट्र्याकिङका आधारमा अजयसम्म पुगेको प्रहरी जेठ २६ गते उनलाई पक्राउ गर्न सफल भयो । सोही दिनपछि गरिएको अनुसन्धानमा उनी पुरानै अपहरण तथा जबर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेको पनि पुष्टि भयो ।

त्यसको दुई दिनपछि जेठ २८ गते बाँकेको चिसापानीस्थित सामुदायिक वन क्षेत्रमा एक युवतीको शव फेला पर्‍यो । रूखको फेदमा हात पछाडि बाँधिएको अवस्थामा भेटिएको शव प्रारम्भिक अनुसन्धानमै हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो । घटनास्थलबाट बरामद सामग्री र पहिचानका आधारमा मृतक अवसना बानु भएको पुष्टि भयो । अनुसन्धान क्रममा सुरुमा अजयले घटनालाई अर्कैतर्फ मोड्ने प्रयास गरेका थिए । उनले पहिलेको विवादमा संलग्न भनिएका व्यक्तिहरूले हत्या गरेको दाबी गरे पनि लगातारको सोधपुछपछि अन्ततः उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । एसपी जिसीका अनुसार अजयले अवसनालाई घुम्न भन्दै चिसापानी जंगलतर्फ लगेका थिए र त्यहीँ घाँटी थिचेर हत्या गरेका थिए । पछि घटनालाई योजनाबद्ध अपराध देखाउन उनले शवको अवस्था बदल्ने प्रयाससमेत गरेका थिए ।

प्रहरीका अनुसार उनले घटनालाई पुरानो विवादसँग जोडेर निर्दोष व्यक्तिहरूलाई फसाउने योजना बनाएका थिए । तर आफ्नै योजनाको श्रृंखलाले अन्ततः उनलाई नै कठघरामा पुर्‍याएको छ । हाल अजय माउतविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक लगायतका मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोहलपुर, असार ७   सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न प्रकारका कर छुट तथा सहुलियतको व्यवस्था ल्याएपछि आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले स्थानीय तह र करदातालाई त्यसबारे व्यापक जानकारी दिन आग्रह गरेको छ । कार्यालयले सम्बन्धित निकायमार्फत सूचना प्रवाह गरेर छुट तथा सहुलियतको अधिकतम उपयोग गर्न अनुरोध गरेको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले जारी गरेको पत्रअनुसार सरकारले आर्थिक विधेयक २०८३ मार्फत विगतदेखि करको दायरामा नआएका, स्थायी लेखा नम्बर लिएर पनि कारोबार वा विवरण नबुझाएका तथा कर बक्यौता रहेका करदाताका लागि विशेष छुट व्यवस्था ल्याएको जनाएको छ । कार्यालयका अनुसार यस्तो व्यवस्थाले कर प्रशासनलाई व्यवस्थित बनाउनुका साथै करदातालाई कानुनी प्रक्रियामा फर्किन अवसर दिने अपेक्षा गरिएको छ । कर विवरण नबुझाएका वा पुराना बक्यौता भएका करदाताले तोकिएको अवधिभित्र विवरण पेश र कर भुक्तानी गरे ब्याज, थप दस्तुर तथा जरिवानामा छुट पाउन सक्ने व्यवस्था गरिएको छ ।

विधेयकमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्तःशुल्कसँग सम्बन्धित विभिन्न प्रकारका सहुलियत समेटिएका छन् । कर विवरण नबुझाएका व्यक्तिले निश्चित आर्थिक वर्षसम्मको विवरण पेश गरी मूल कर रकम बुझाए ब्याज तथा शुल्क मिनाहा हुन सक्ने व्यवस्था उल्लेख गरिएको छ । त्यस्तै विगतमा कारोबार नगरेर निष्क्रिय रहेका करदातालाई दर्ता खारेजी वा पुनः सक्रिय हुने अवसर पनि दिइएको छ । भ्याटतर्फ असुल हुन बाँकी कर तथा अन्तःशुल्कका केही बक्यौतामा पनि सहुलियतको व्यवस्था गरिएको छ । सम्बन्धित विवरण समयमै पेश गरी तोकिएको रकम बुझाए थप दस्तुर, जरिवाना तथा ब्याज छुट हुन सक्ने उल्लेख छ ।
विधेयकले केही विशेष क्षेत्रलाई समेत लक्षित गरेको छ । बीमा अभिकर्ता, सहायता सम्झौताअन्तर्गत सञ्चालन भएका कार्यक्रम तथा कानुनी जटिलतामा परेका करदाताका लागि छुट र सहज व्यवस्था राखिएको जनाइएको छ । अदालतमा विचाराधीन कर विवाद समाधानका लागि पनि निश्चित सर्तसहित सहुलियतको व्यवस्था गरिएको छ । यस्तै, निश्चित अवधिभित्र नवीकरण नगरिएका अन्तःशुल्क इजाजतपत्रका सम्बन्धमा समेत नवीकरण शुल्क तथा जरिवाना छुट गर्ने प्रावधान राखिएको छ । प्रयोग गर्न नमिल्ने वा म्याद सकिएका वस्तु नष्ट गरी लगत व्यवस्थापन गर्ने प्रक्रियालाई पनि विधेयकले सम्बोधन गरेको छ ।
आन्तरिक राजस्व कार्यालयले आर्थिक विधेयक २०८३ मा उल्लेख भएका छुट तथा सहुलियतबारे स्थानीय तह, व्यवसायी, उद्योगी तथा सर्वसाधारणसम्म जानकारी पुर्‍याउन अनुरोध गरेको छ । कार्यालयले वडा कार्यालय तथा सम्बन्धित निकायमार्फत प्रचार–प्रसार बढाउन आग्रह गर्दै करदातालाई अवसरको उपयोग गर्न आह्वान गरेको छ । कार्यालयका अनुसार अधिकांश छुट तथा सहुलियतका लागि २०८३ साल पुस मसान्त अन्तिम समयसीमा राखिएको छ । त्यसअघि आवश्यक विवरण पेश र कर दायित्व पूरा गरे करदाताले सहुलियतको लाभ लिन सक्नेछन् ।

काठमाडौं, असार ७  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनले आगामी कार्यकालका लागि १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति चयन गर्ने भएकाले पार्टीभित्र नेतृत्व चयनको प्रक्रिया विशेष चासोका रूपमा हेरिएको छ ।

महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न जिल्लाबाट प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी रहेको पार्टीले जनाएको छ । महाधिवेशन नजिकिँदै जाँदा केही नेताहरूले विभिन्न पदमा आकांक्षा सार्वजनिक गरेका छन् भने सहमति नभए निर्वाचनमार्फत नेतृत्व चयन हुने सम्भावना पनि देखिएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीभित्र नेतृत्व चयन संवाद, सहमति र निर्वाचनको लोकतान्त्रिक प्रक्रियाबाट हुने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) सँगको कुराकानीमा उनले रास्वपामा एकात्मक निर्देशन वा हुकुमी शैली नभएको उल्लेख गर्दै पार्टीको संगठन निर्माणदेखि नेतृत्व चयनसम्म लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिइएको बताए ।

उनका अनुसार पार्टी सभापतिले समेत वडा, पालिका, जिल्ला र प्रदेश तहका संगठन निर्माणमा संवाद, सहमति तथा आन्तरिक निर्वाचनलाई प्राथमिकता दिन लिखितरूपमा निर्देशन दिएका थिए । यही अभ्यासलाई महाधिवेशनमा पनि निरन्तरता दिइने उनले स्पष्ट पारे । महामन्त्री बुर्लाकोटीले निर्वाचन भए पनि त्यसलाई पार्टीभित्र विभाजनको कारण बन्न नदिइने र प्रतिस्पर्धापछि सबै पक्षबीच सहकार्यको वातावरण कायम गरिने बताए । उनले पार्टी निर्माणको अभियान अझै प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै लोकतान्त्रिक विधि र प्रक्रियामार्फत संगठनलाई थप सुदृढ बनाउने लक्ष्य रहेको बताए ।

उनले रास्वपा स्थापना भएको करिब चार वर्षको अवधिमा पार्टीले हासिल गरेका उपलब्धि, जनताबाट प्राप्त समर्थन तथा अपेक्षाको समीक्षा गर्दै आगामी यात्राका लागि महाधिवेशनले स्पष्ट मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे । रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक विकास, नेतृत्व हस्तान्तरणको अभ्यास र भावी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी निर्वाचन र पार्टी विस्तारको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

बर्दिया ।   धान रोपाइँका लागि सिँचाइ सुविधा सुनिश्चित गर्न कर्णाली नदीमा श्रमदान गर्न गएका एक युवा बेपत्ता भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका–१ स्थित ओखरिया इन्टेक नजिक कर्णाली नदीमा श्रमदानका क्रममा राजापुर नगरपालिका–४ शान्तिपुरका १८ वर्षीय नारायण चौधरी बेपत्ता भएका हुन् ।

धान रोप्ने मुख्य समयमा किसानलाई सिँचाइ अभाव हुन नदिन राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिब पाँच हजार किसान तथा स्थानीयवासी श्रमदानमा सहभागी भएका थिए । सोही क्रममा नदी क्षेत्रमा काम गरिरहेका चौधरी अचानक सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको हो । बेपत्ता भएका चौधरीको खोजीका लागि प्रहरी तथा स्थानीयवासी परिचालन गरिएको छ । नदीको बहाव र आसपासका क्षेत्रमा खोजी कार्य जारी रहे पनि समाचार तयार पार्दासम्म उनको अवस्था खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बेपत्ता युवाको खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ । स्थानीयका अनुसार ओखरिया इन्टेक क्षेत्रमा हरेक वर्ष सिँचाइ नहर सञ्चालनका लागि सामूहिक श्रमदान हुँदै आएको छ । यस वर्ष पनि धान रोपाइँको तयारीस्वरूप ठूलो संख्यामा किसानहरू श्रमदानमा जुटेका थिए । तर श्रमदानकै क्रममा एक युवा बेपत्ता भएपछि क्षेत्रभर चिन्ता बढेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।