
राप्तीसोनारी गाउँपालिकामा अत्यधिक गर्मी तथा तातो हावाको लहर (हिटवेभ) बाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि मौसम पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको विपद् व्यवस्थापन शाखा र वडा नं. ४ स्थित वडा विपद् व्यवस्थापन समितिको संयुक्त आयोजनामा तथा Save the Children र सामाजिक विकास मञ्च (SDF) को प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
वडा नं. ४ को सभाहलमा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा स्थानीय स्तरमा बढ्दो गर्मीका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य तथा विपद्जन्य जोखिम, त्यसको पूर्वसूचना प्रणाली र समयमै अपनाउनुपर्ने पूर्वतयारीका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा मौसम पूर्वानुमानको आधारमा जोखिमको पहिचान गर्ने, समुदायमा सचेतना फैलाउने, सम्भावित जोखिम समूहको पहिचान गर्ने तथा आपत्कालीन अवस्थामा तुरुन्त प्रतिक्रिया जनाउने उपायबारे विस्तृत छलफल गरिएको थियो। साथै, तातो हावाको लहरबाट बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित हुने भएकाले उनीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।
वडा विपद् व्यवस्थापन समिति वडा नं. ४ का सदस्यहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय तहमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न समुदायस्तरमै पूर्वतयारी र समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
सहभागीहरूले मौसमजन्य विपद्को जोखिम न्यूनीकरणका लागि समयमै सूचना प्रवाह, स्थानीय स्रोतसाधनको परिचालन र समुदायको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुने बताएका थिए।
कार्यक्रमले आगामी दिनमा गर्मीजन्य विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्य सुदृढ गर्ने अपेक्षा गरिएको छ।
नेपालगञ्ज, बाँके । राप्ती सोनारी गाउँपालिकाले केही नियमित प्रशासनिक सेवाहरू अस्थायी रूपमा बन्द हुने सूचना जारी गरेको छ ।
गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनअन्तर्गत पहिलो बैठक मिति २०८३ साल असार १० गते बुधबारका दिन आह्वान गरिएको छ । उक्त दिन सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरू गाउँसभाको विशेष कार्यक्रममा सहभागी हुने भएकाले गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै नियमित सेवाहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले उक्त दिन सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थी रहेको पनि जनाएको छ ।
गाउँपालिकाले जारी गरेको सूचनामा गाउँसभाको बैठकलाई सफल बनाउन सबै जनप्रतिनिधि तथा कर्मचारीको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ।

काभ्रेपलाञ्चोक, असार ९ गते । काभ्रेपलाञ्चोक जिल्लाका दुई वटा व्यावसायिक कुखुरा तथा हाँस फर्ममा ‘बर्ड फ्लू’ पुष्टि भएपछि ठूलो संख्यामा पन्छी नष्ट गरिएको छ भने नियन्त्रण तथा निगरानी कडाइ गरिएको छ ।
जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित एक लेयर्स कुखुरा फर्म र पनौती नगरपालिका–७ मा रहेको अर्को एग्रो फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएको पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।पशु सेवा कार्यालयका प्रमुख डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपास्थित बद्री खत्रीको लेयर्स फर्ममा असार ३ गते बर्ड फ्लू पुष्टि भएपछि फर्ममा रहेका एक हजार ६५० कुखुरा नष्ट गरिएको छ । त्यस्तै पनौतीस्थित मानेश्वरी एग्रो फार्म (शर्मिला श्रेष्ठको स्वामित्वमा रहेको) मा पालिएका हाँस र लोकल कुखुरामा असार ७ गते संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएलगत्तै सो फर्ममा रहेका पन्छीहरू डिस्पोज गर्ने कार्य जारी रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संक्रमित क्षेत्रलाई नियन्त्रणमा लिने, सरसफाइ गर्ने तथा थप फैलावट रोक्न आवश्यक प्राविधिक प्रक्रिया अपनाइएको छ ।
पशु सेवा कार्यालयले जिल्लाभर बर्ड फ्लू सम्बन्धी सचेतनामूलक सूचना फेसबुकमार्फत सार्वजनिक गर्दै आएको छ । साथै, जिल्लाका विभिन्न नाकाबाट हुने पशु ओसारपसारलाई मध्यनजर गर्दै सुरक्षा जाँच तथा अनुगमन समेत कडाइ गरिएको डा. ठाकुरले जानकारी दिनुभयो ।
हालसम्म जिल्लाका अन्य फर्महरूमा भने बर्ड फ्लू संक्रमण नदेखिएको कार्यालयले स्पष्ट पारेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये पुँजीगततर्फ २३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याइएकोमा हालसम्म १० अर्ब ५४ करोड रुपैयाँभन्दा बढी मात्र खर्च भएको छ । विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित यही पुँजीगत खर्च कमजोर देखिनु प्रदेश सरकारको प्रमुख चुनौती बनेको छ । चालु खर्चतर्फ भने तुलनात्मक रूपमा केही सुधार देखिएको छ । १५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी विनियोजित चालु बजेटमध्ये ५०.६७ प्रतिशत खर्च भएको छ । यससँगै प्रदेश सरकारको समग्र बजेट खर्च ४७.२० प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । हालसम्म कुल १८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी खर्च भएको तथ्यांकले देखाउँछ ।
दाङ, असार ९ चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणतर्फ पुगिरहँदा लुम्बिनी प्रदेश सरकारको विकास बजेट खर्च अपेक्षाकृत कमजोर देखिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, राप्ती उपत्यका देउखुरीका अनुसार जेठ मसान्तसम्म प्रदेशको कुल पुँजीगत (विकास) बजेटको ४४.९२ प्रतिशत मात्र खर्च भएको छ । विकास निर्माणका ठूला आयोजनामा अपेक्षित प्रगति नदेखिँदा समग्र बजेट कार्यान्वयन सुस्त बनेको हो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये पुँजीगततर्फ २३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याइएकोमा हालसम्म १० अर्ब ५४ करोड रुपैयाँभन्दा बढी मात्र खर्च भएको छ । विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित यही पुँजीगत खर्च कमजोर देखिनु प्रदेश सरकारको प्रमुख चुनौती बनेको छ । चालु खर्चतर्फ भने तुलनात्मक रूपमा केही सुधार देखिएको छ । १५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी विनियोजित चालु बजेटमध्ये ५०.६७ प्रतिशत खर्च भएको छ । यससँगै प्रदेश सरकारको समग्र बजेट खर्च ४७.२० प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । हालसम्म कुल १८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी खर्च भएको तथ्यांकले देखाउँछ ।
मन्त्रालयगत रूपमा हेर्दा खर्चको अवस्था निकै असमान देखिन्छ । स्वास्थ्य मन्त्रालयले सबैभन्दा राम्रो प्रदर्शन गर्दै ६२.७७ प्रतिशत बजेट खर्च गरेको छ, जसमा पुँजीगत खर्च मात्रै ७२.४८ प्रतिशत पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४७.०६ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ४८.६६ प्रतिशत र भौतिक पूर्वाधार विकास मन्त्रालयले ५०.२६ प्रतिशत बजेट खर्च गरेका छन् । यसैबीच, सहरी विकास तथा खानेपानी मन्त्रालयले ४३.१० प्रतिशत, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले ३७.१३ प्रतिशत र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ४२.७३ प्रतिशत बजेट खर्च गरेका छन् । सामाजिक विकास मन्त्रालयको खर्च ३६.४१ प्रतिशतमा सीमित रहेको छ ।
खर्चमा सबैभन्दा कमजोर प्रदर्शन गर्ने मन्त्रालयमध्ये युवा तथा खेलकुद मन्त्रालय १९.७८ प्रतिशत र आन्तरिक मामिला तथा कानुन मन्त्रालय १५.२८ प्रतिशतमा सीमित भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि २९.३९ प्रतिशत मात्र बजेट खर्च गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च ३२.१० प्रतिशतमा रोकिएको छ । प्रदेशका अन्य निकायहरूको अवस्था पनि मिश्रित देखिएको छ । प्रदेशसभा कार्यालयले ४९.१८ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ४९.६१ प्रतिशत र प्रदेश योजना आयोगले ३२.१८ प्रतिशत बजेट खर्च गरेका छन् । योजना आयोगको पुँजीगत खर्च भने निकै न्यून, ०.८० प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ । स्थानीय तहमा जाने अनुदानतर्फ भने तुलनात्मक रूपमा राम्रो कार्यान्वयन देखिएको छ । चालु शीर्षकअन्तर्गत ६२.७२ प्रतिशत बजेट खर्च भएको छ, जुन अन्य शीर्षकको तुलनामा उच्च हो ।
समग्रमा, लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन ११ महिनामा पनि आधा नपुग्दा विकास निर्माणतर्फको गति सुस्त देखिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा बजेट कार्यान्वयन तीव्र बनाउनुपर्ने चुनौती प्रदेश सरकारमाथि थपिएको छ ।
वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाको संख्या बढिरहँदा श्रमिक मृत्युको श्रृंखला भने रोकिएको छैन । चालु आर्थिक वर्षको पहिलो ११ महिनामै विदेशमा रोजगारीका क्रममा एक हजार चार सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । यस अवधिमा मृत्यु भएका श्रमिकका परिवारलाई सरकारले अर्बौं रुपैयाँ राहत वितरण गरे पनि मृत्युका वास्तविक कारणबारे पर्याप्त अध्ययन नहुँदा समस्या झन् गम्भीर बन्दै गएको देखिन्छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा १ हजार ४३८ नेपाली श्रमिकको मृत्यु भएको छ । यही अवधिमा ९६० जना अंगभंग वा बिरामी भएका छन् भने १९४ जनाको उद्धार तथा खोजतलास गरिएको छ । मृत्यु भएका मध्ये ९०५ जनाको शव गृह जिल्लासम्म ढुवानी गरिएको बोर्डले जनाएको छ । मृतक श्रमिकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने व्यवस्थाअनुसार बोर्डले हालसम्म करिब १ अर्ब ४३ करोड रुपैयाँ वितरण गरिसकेको छ । गत आर्थिक वर्षदेखि राहत रकम ७ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएपछि बोर्डमाथिको आर्थिक दायित्व पनि उल्लेख्य रूपमा बढेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य स्वास्थ्य परीक्षण पार गरेपछि मात्रै श्रम स्वीकृति पाउने व्यवस्था भए पनि विदेश पुगेपछि मृत्यु हुने क्रम भने घट्न सकेको छैन । हृदयघात, सडक दुर्घटना, औद्योगिक दुर्घटना तथा आत्महत्याका घटनाले धेरै श्रमिकको ज्यान जाने गरेको विवरण सार्वजनिक हुने गरे पनि यस्ता घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे पर्याप्त अनुसन्धान हुन नसकेको सरोकारवालाहरू बताउँछन् । बोर्डका तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा मात्रै ६ हजार ७५ नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । गत आर्थिक वर्षमा १ हजार ४९२ जना श्रमिकको मृत्यु भएको थियो, जुन हालसम्मकै उच्च संख्या हो । सोही वर्ष ५७८ जना अंगभंग भएर स्वदेश फर्किएका थिए ।
विशेषज्ञहरूका अनुसार बोर्डको तथ्यांकमा श्रम स्वीकृति लिएर गएका र सहायता पाउने मापदण्डभित्र परेका श्रमिक मात्र समेटिने भएकाले विदेशमा मृत्यु हुने नेपालीको वास्तविक संख्या अझ बढी हुन सक्छ । मृत्युका कारणबारे विस्तृत अध्ययन र गन्तव्य मुलुकमा श्रमिकको स्वास्थ्य, सुरक्षा तथा मानसिक अवस्थाको नियमित निगरानी आवश्यक रहेको उनीहरूको भनाइ छ । रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दै जाँदा श्रमिक सुरक्षाको प्रश्न पनि उत्तिकै गम्भीर बन्दै गएको छ । राहत वितरण मात्र समाधान नभएकाले मृत्युका कारण पहिचान गरी जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता अझ टड्कारो बनेको छ ।
धनगढी, असार ९ सुदूरपश्चिममा केही दिनयता बढेको चर्को गर्मी र लूका कारण विद्यार्थीको स्वास्थ्यमा जोखिम बढ्न थालेपछि धनगढी उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले आइतबार सूचना जारी गर्दै असार ९ गतेदेखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।
बढ्दो तापक्रमका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा गर्मीजन्य स्वास्थ्य समस्या देखिन सक्ने अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जनाइएको छ । नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा पछिल्ला दिनमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू प्रत्यक्ष रूपमा प्रभावित हुन थालेको उल्लेख गरिएको छ । शिक्षा अधिकृत जयराज जोशीले हस्ताक्षर गरेको सूचनाअनुसार बन्द अवधिको व्यवस्थापन वर्षे बिदासँग मिलान हुने गरी गरिनेछ ।
धनगढीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चर्को घाम र तातो हावाका कारण विद्यालय जाने बालबालिका बढी प्रभावित भएको भन्दै अभिभावक तथा सरोकारवालाले पनि विद्यालयमा बिदाको माग गर्दै आएका थिए । उपमहानगरपालिकाले शिक्षक, विद्यार्थी र अभिभावकलाई अत्यधिक गर्मी तथा लूबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । पर्याप्त पानी पिउने, अनावश्यक रूपमा घाममा ननिस्कने र स्वास्थ्यमा समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।
जलवायुजन्य जोखिम बढ्दै गएसँगै तराईका विभिन्न स्थानीय तहले गर्मीको अवस्था मूल्याङ्कन गर्दै विद्यालय सञ्चालनको समय परिवर्तन गर्ने तथा आवश्यक परे बिदा दिने निर्णय गर्न थालेका छन् । धनगढी उपमहानगरपालिकाको पछिल्लो निर्णय पनि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर गरिएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। पार्टीले सार्वजनिक गरेको बन्दसत्रको कार्यतालिकाअनुसार प्रतिनिधि दर्ता प्रक्रिया सम्पन्न भएपछि औपचारिक कार्यक्रम सुरु हुनेछ।
बन्दसत्रको सुरुवात पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। त्यसपछि अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कार्यतालिकाअनुसार कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदनमाथि छलफल गराउनेछन्।
यस्तै, सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गरी अनुमोदनका लागि पेश गर्नेछन्। त्यसपछि उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
घोराही, असार ९ घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षको अवधिमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र डिजिटल सेवा विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । नगरपालिकाले यस अवधिमा १९८ किलोमिटर सडक कालोपत्र गर्नुका साथै सयौं किलोमिटर सडक स्तरोन्नति तथा नयाँ सडक निर्माण गरेर स्थानीय पूर्वाधार विकासलाई तीव्रता दिएको छ ।
नगरप्रमुख नरुलाल चौधरीका अनुसार नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति तथा ग्राभेल गरिएको छ भने २८० किलोमिटर नयाँ सडक निर्माण गरिएको छ । यसै अवधिमा ६८ दशमलव ३ किलोमिटर सडक मर्मत गरिएको छ । नगरका सबै वडालाई केन्द्रसँग जोड्ने उद्देश्यले २०७ वटा कल्भर्ट तथा पाँच वटा झोलुङ्गे पुल निर्माण गरिएका छन् । सहरी व्यवस्थापनतर्फ ९९ किलोमिटर ढल निर्माण गरिएको छ भने फोहोर व्यवस्थापनका लागि व्यवस्थित स्यानेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । बाढी तथा कटानको जोखिम न्यूनीकरण गर्न २० दशमलव ९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ ।
खानेपानीको पहुँच विस्तारका लागि १०८ वटा कुवा र ७७ वटा डिपबोरिङ निर्माण गरिएको छ । यसबाट हाल नगरका ९२ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेको नगरप्रमुख चौधरीले बताए । कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि ४३ वटा कृत्रिम जलाशय निर्माण गरिएका छन्, जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ऊर्जा पूर्वाधार विस्तारअन्तर्गत ८७ किलोमिटर विद्युत् प्रसारण लाइन विस्तार गरिएको छ भने सात वटा सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको नगरपालिकाले जनाएको छ । शिक्षा क्षेत्रमा २७ वटा विद्यालय भवन निर्माण गरिनुका साथै ३९ वटा नयाँ कक्षाकोठा थपिएका छन् । अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउन २८ वटा स्वास्थ्य संस्थाका भवन निर्माण गरिएको जानकारी दिइएको छ ।
सामाजिक सुरक्षातर्फ १७ हजार ३७४ जना लाभग्राहीलाई बैंकिङ प्रणालीमार्फत ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय शासनलाई प्रभावकारी बनाउन घोराहीले हालसम्म १३८ वटा स्थानीय कानुन निर्माण गरेको छ । साथै वडास्तरबाटै अनलाइन घटना दर्ता, नागरिकता सिफारिस तथा राजस्व संकलनजस्ता विद्युतीय सेवा सञ्चालनमा ल्याएर सेवा प्रवाहलाई सहज र पारदर्शी बनाइएको नगरप्रमुख चौधरीको भनाइ छ । वातावरण संरक्षण तथा स्वच्छ ऊर्जाको प्रयोग प्रवद्र्धन गर्न एक हजार ३०० वटा इन्डक्सन चुलो र ४५० वटा सुधारिएको चुलो वितरण गरिएको छ । नगरपालिकाले यी कार्यक्रममार्फत धुवाँमुक्त भान्सा अभियानलाई समेत टेवा पुगेको जनाएको छ ।
सुर्खेत, असार ९ सुर्खेतमा सम्पन्न ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका धावक राजन रोकायले जितेका छन् । २१ किलोमिटर दूरीको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उनले पहिलो स्थान हासिल गरेका हुन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको आयोजनामा आइतबार भएको प्रतियोगितामा रोकायले निर्धारित दूरी १ घण्टा ९ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारे । कालिकोटका विनोद रोकाय १ घण्टा ९ मिनेट ३९ सेकेण्डसहित दोस्रो हुँदा एपीएफका गोपीचन्द्र पार्की १ घण्टा १० मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहे । पुरुष हाफ म्याराथनका विजेताले क्रमशः एक लाख ५० हजार, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ ।
महिलातर्फको खुला १० किलोमिटर दौडमा धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भइन् । उनले ३६ मिनेट ४०.६० सेकेण्डमा दूरी पार गरिन् । जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने ३७ मिनेट ३.११ सेकेण्डसहित दोस्रो तथा बाजुराकी सिर्जना पाण्डे ३९ मिनेट २८.८८ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् । उनीहरूले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे । पाँच किलोमिटर छात्रा दौडमा सुर्खेतकी कृष्णा रानाले प्रथम स्थान हासिल गरिन् । उनले २० मिनेट ३४.२ सेकेण्डमा दूरी पूरा गरिन् । जुम्लाकी अन्तिमा बुढा दोस्रो तथा बाँकेकी स्वस्तिका शाही तेस्रो भइन् ।
यस्तै, पाँच किलोमिटर छात्रतर्फ कालिकोटका अनिल शाही विजेता बने । उनले १५ मिनेट ३६.१ सेकेण्डमा दौड पूरा गरे । जुम्लाका युवकराज बुढा दोस्रो र सुर्खेतका भुवन चालिसे तेस्रो भए । छात्र–छात्रा दुवै विधाका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । ‘दौडिन्छ कर्णाली’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा विभिन्न जिल्लाका धावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले कर्णालीमा खेलकुद गतिविधि विस्तार हुँदै गएको र यसले युवालाई खेलतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
मिड वेस्टर्न फिटनेस सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले प्रतियोगिताले कर्णालीका प्रतिभावान धावकलाई राष्ट्रियस्तरको प्रतिस्पर्धामा उभिन अवसर प्रदान गर्नुका साथै प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउँदै आएको बताए ।
पाँच वर्षमा सेवा लिने बिरामी चार गुणाले बढे
खजुरा, असार ९ बाँकेको खजुरा गाउँपालिकामा आयुर्वेदिक स्वास्थ्य सेवाप्रति नागरिकको आकर्षण तीव्ररूपमा बढ्दै गएको छ । पछिल्ला पाँच वर्षमा आयुर्वेदिक उपचार तथा स्वास्थ्य प्रवद्र्धन सेवा लिने नागरिकको संख्या करिब चार गुणाले बढेको तथ्यांक सार्वजनिक भएको छ ।
खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र–आयुर्वेद शाखाले आइतबार आयोजना गरेको आयुर्वेद सेवा सम्बन्धी पत्रकारहरूसँग अभिमुखीकरण कार्यक्रम मा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ३७९ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्ष २०८२/८३ मा सेवा लिनेको संख्या बढेर २२ हजार ३९४ पुगेको छ । नागरिक आरोग्य सेवा केन्द्रका शाखा प्रमुख किरण खनालले आयुर्वेदिक उपचारप्रति बढ्दो विश्वास, योग अभ्यास, खानपान तथा जीवनशैली सुधारको चेतना विस्तारसँगै सेवाग्राहीको संख्या बढेको बताए । उनका अनुसार उपचारका लागि आउनेमध्ये सबैभन्दा धेरै हाडजोर्नी, मांसपेशी तथा नसासम्बन्धी समस्या भएका बिरामी छन् । फ्रोजन सोल्डर, ढाड दुख्ने, जोर्नी दुख्ने, गठिया, गाउट लगायतका समस्या लिएर आउने बिरामीको संख्या सबैभन्दा बढी रहेको छ । त्यसपछि अम्लपित्त तथा ग्यास्ट्रिक, बवासिर, मधुमेह, उच्च रक्तचाप तथा नसर्ने रोगका बिरामी आउने गरेका छन् ।
शाखा प्रमुख खनालका अनुसार अहिले उपचारपछि २ हजार २ सयभन्दा बढी बिरामी नियमित फलोअपमा आउने गरेका छन् । ‘उपचार मात्रै होइन, जीवनशैली परिवर्तन गर्ने अभ्यास पनि बढिरहेको छ । तर अझै पर्याप्त छैन,’ उनले भने । विद्यालय तहदेखि नै स्वस्थ जीवनशैली विकास गर्ने उद्देश्यले ११ वटा विद्यालयमा योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । विद्यालयमा योग र स्वास्थ्य सचेतनाले बालबालिकामा सकारात्मक व्यवहार विकास गर्न सहयोग पुगेको केन्द्रको दाबी छ । कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डमवर विकले उपचारमुखीभन्दा रोग लाग्न नदिने स्वास्थ्य प्रणाली अहिलेको आवश्यकता भएको बताए । उनले आयुर्वेदिक सेवा विस्तारलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे ।
खजुरा गाउँपालिका–३ का कार्यवाहक वडा अध्यक्ष देउमाया थापाले समुदाय तहसम्म पुगेर स्वास्थ्य शिक्षा र योग कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्वास्थ्यसम्बन्धी तथ्यमा आधारित सूचना नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए । कार्यक्रम नागरिक आरोग्य सेवा केन्द्रको तालिम तथा योग हलमा सम्पन्न भएको थियो । सहभागीहरूले बढ्दो सेवाग्राहीको चापअनुसार जनशक्ति, पूर्वाधार र विशेषज्ञ सेवा विस्तारमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।




