२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

टीकापुर, असार १५  कर्णाली नदीमाथि निर्माण सम्पन्न भएको दौलतपुरको झोलुङ्गे पुल सञ्चालनमा आएपछि कैलालीको टीकापुर र बर्दियाको राजापुर क्षेत्र नयाँ पर्यटकीय आकर्षणका रूपमा उदाउन थालेका छन् । साँझपख नदीको शीतल हावा, पुलबाट देखिने मनोरम दृश्य र तस्बिर खिच्ने आकर्षणले दैनिक सयौँ आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् ।

केही दिनअघि मात्रै सर्वसाधारणका लागि खुला गरिएको पुलमा विशेषगरी युवा पुस्ताको उल्लेख्य उपस्थिति देखिन्छ । पुलमाथिबाट कर्णाली नदी, हरियालीले ढाकेका फाँट र वरपरको प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउनेको संख्या दिनप्रतिदिन बढिरहेको स्थानीयले बताएका छन् । टीकापुर–५ का किरण चौधरीका अनुसार अत्यधिक गर्मीका बेला साँझको समयमा पुलमा पुगेर केही समय बिताउनेहरूको भीड लाग्ने गरेको छ । उनका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि अन्य स्थानबाट पनि मानिसहरू पुल हेर्न आउन थालेका छन् ।

पर्यटकको बढ्दो आगमनसँगै स्थानीय व्यवसाय पनि चलायमान हुन थालेका छन् । बर्दियाका फोटोग्राफर राजेश चौधरीले पुल आसपास फोटो तथा भिडियो खिच्ने सेवा दिँदै आएका छन् । उनी भन्छन्, ‘पहिले विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर काम गर्नुपर्थ्यो, अहिले यही पुलमा आउने पर्यटकबाटै राम्रो आम्दानी भइरहेको छ ।’ स्थानीयका अनुसार पुल निर्माणले पर्यटन मात्रै होइन, दुई जिल्लाबीचको आवागमनलाई पनि सहज बनाएको छ । यसअघि कर्णाली नदी पार गर्न डुङ्गाको भर पर्नुपर्ने अवस्था थियो भने अहिले सुरक्षित रूपमा पैदल यात्रा गर्न सकिने भएको छ । पुल सञ्चालनमा आएपछि टीकापुर र राजापुरबीचको दूरी पनि उल्लेख्य रूपमा घटेको छ ।

स्थानीय प्रेमप्रसाद भण्डारीले पुलले दुई जिल्लाको आर्थिक तथा सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार टीकापुर पार्क, राजापुर क्षेत्र र कर्णाली नदीलाई एउटै पर्यटकीय परिपथका रूपमा विकास गर्न सके स्थानीय रोजगारी र आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्नेछ । निर्माण कम्पनीका प्रबन्धक विक्रम बस्नेतका अनुसार २०८२ असार ११ गते सम्झौता भएको आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न गरिएको हो । पुल अहिले सञ्चालनमा आइसकेको छ भने सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।

करिब १५ करोड ७३ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त झोलुङ्गे पुल ४८२ मिटर लामो रहेको निर्माण कम्पनीले जनाएको छ । पुल उद्घाटनका लागि असार १२ गते मिति तय गरिएको भए पनि केही प्रशासनिक कारणले औपचारिक उद्घाटन स्थगित भएको थियो । स्थानीय सुन्दरलाल थारुले कर्णाली नदीमाथिको पुल भविष्यमा यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । उनका अनुसार पुल केन्द्रित होटल, रेष्टुरेन्ट, फोटोग्राफी, स्थानीय परिकार तथा अन्य साना व्यवसाय विस्तार हुने सम्भावना बढेको छ ।

यसैबीच टीकापुर–गेरुवा जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथिको पक्की पुल पनि सञ्चालनमा आइसकेको छ । कर्णालीमाथिका यी दुई पूर्वाधार सञ्चालनमा आएपछि कैलाली र बर्दियाबीचको आवागमन थप सहज हुनुका साथै पश्चिम नेपालको पर्यटन विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।

बुटवल, असार १५  दैनिक हजारौँ बिरामीको चापका कारण आकस्मिक सेवामा बढ्दो व्यवस्थापन चुनौती सामना गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालले अब गम्भीर अवस्थाका बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्ने व्यवस्था सुरु गरेको छ । आकस्मिक कक्षमा ‘ट्रयाज प्रणाली’ लागू गर्दै अस्पतालले बिरामीको स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा उपचार सेवा प्रदान गर्न थालेको हो ।

अस्पताल प्रशासनका अनुसार नयाँ प्रणाली लागू भएपछि बिरामीलाई केवल पालोका आधारमा नभई उनीहरूको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरेर उपचार प्रक्रिया अघि बढाइनेछ । यसबाट ज्यान जोखिममा रहेका बिरामीले तत्काल उपचार पाउने र आकस्मिक कक्षको व्यवस्थापनसमेत थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म बिरामी उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेको जानकारी दिए । सीमित जनशक्ति र उपलब्ध स्रोतसाधनका बीच सबै बिरामीलाई एकै प्रकारको प्राथमिकता दिन सम्भव नभएकाले ट्रयाज प्रणाली आवश्यक बनेको उनले बताए ।

उनका अनुसार ट्रयाज प्रणालीअन्तर्गत सबैभन्दा गम्भीर अवस्थाका बिरामीलाई ‘रातो’ वर्गमा राखेर तुरुन्त उपचार सुरु गरिनेछ । मध्यम जोखिममा रहेका बिरामीलाई ‘पहेँलो’ वर्गमा राखिनेछ भने सामान्य ज्वरो, सामान्य चोटपटक वा केही समय पर्खंदा स्वास्थ्यमा गम्भीर असर नपर्ने बिरामीलाई ‘हरियो’ वर्गमा वर्गीकरण गरी उपचार गरिने व्यवस्था गरिएको छ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थामा उपलब्ध हुँदै आएको सेवा बन्द गरेपछि सरकारी अस्पतालमा बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको अस्पतालले जनाएको छ । बिमामार्फत उपचारका लागि सिधैँ आउने तथा निजी अस्पतालबाट रिफर गरिएका बिरामी थपिँदा आकस्मिक कक्षसहित अस्पतालका विभिन्न सेवामा दबाब बढेको छ ।

डा. गौतमका अनुसार यस्तो अवस्थामा ट्रयाज प्रणालीले सीमित स्रोतसाधनको प्रभावकारी परिचालन गर्न सहयोग पुर्‍याउनेछ । विशेषगरी आकस्मिक उपचार आवश्यक भएका बिरामीले उपचार ढिलाइका कारण थप जटिलता भोग्नुपर्ने अवस्था कम हुने विश्वास अस्पतालको छ । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बढ्दो बिरामीको चापका बीच उपलब्ध जनशक्ति र पूर्वाधारको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र गुनासोरहित बनाउन अस्पताल निरन्तर प्रयासरत रहेको बताए ।

उनले अस्पतालको क्षमता र सेवाग्राहीको संख्याबीच ठूलो अन्तर रहेकाले सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै ट्रयाज प्रणालीले आकस्मिक सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । अस्पतालका अनुसार नयाँ प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै आकस्मिक कक्षमा उपचार प्रक्रियामा पारदर्शिता बढ्नुका साथै गम्भीर बिरामीले समयमै उपचार पाउने वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।