२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

कैलालीमा रोटरीको हरियाली अभियान, ५ हजार बिरुवा रोपियो

कैलाली, साउन ५ वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले रोटरी क्लब अफ सेन्ट्रल बाँकेले रोटरी वृक्षारोपण सप्ताह–२०२६ अन्तर्गत कैलालीका सामुदायिक वन र तीन सामुदायिक विद्यालयमा करिब पाँच हजार बिरुवा रोपेर वृहत् वृक्षारोपण अभियान सञ्चालन गरेको छ।

आरसीसी चेतना सामुदायिक विकास मञ्चको सहयोग तथा जनकी गाउँपालिका–९, कटासेस्थित चेतना सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २५० परिवार लाभान्वित हुने अपेक्षा गरिएको क्लबले जनाएको छ।

वृक्षारोपण कार्यक्रमको नेतृत्व रोटरी क्लब अफ सेन्ट्रल बाँकेका कैलाली परियोजना संयोजक रोटेरियन मनीष मण्डल तथा चेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक सोडारीले गरेका थिए। कार्यक्रममा सहभागीहरूले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै जैविक विविधता संरक्षण र हरियाली विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

अभियानअन्तर्गत टिकापुर–६ नारायणपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालय, टिकापुर–८ स्थित त्रिभुवन माध्यमिक विद्यालय तथा टिकापुर–९ खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयमा पनि स्थानीय युवा, शिक्षक र विद्यार्थीको सक्रिय सहभागितामा वृक्षारोपण गरिएको थियो। क्लबका अनुसार तीनवटै विद्यालयमा एक–एक सयका दरले कुल ३०० बिरुवा रोपिएको छ।

कार्यक्रमको सफलतामा योगदान पुर्‍याएको भन्दै राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर कठायत, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक विक्रमबहादुर धामी तथा भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद चौधरीलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो।

यस्तै, स्थानीय युवा यमन शेट्टी, पर्शुराम चौधरी, टिकापुर नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाकी प्रमुख निर्मला चौधरी तथा विद्यालय निरीक्षक नरेश अवस्थीलाई वातावरण संरक्षण अभियानमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रोटेरियन ईश्वरी जंग मल्लले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय समुदाय, विद्यालय परिवार, सरकारी निकाय तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

रोटरी वृक्षारोपण सप्ताह–२०२६ अन्तर्गत सञ्चालन गरिएको उक्त अभियानले हरियाली विस्तार, वातावरणीय संरक्षण तथा दिगो विकासका लक्ष्य हासिल गर्न उल्लेखनीय योगदान पुग्ने विश्वास क्लबले व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।