नेपालगन्ज, साउन ४ नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र बढ्दै गएको छाडा चौपायाको समस्या नियन्त्रण गर्ने अभियानअन्तर्गत आइतबार बिहान ६ बजेदेखि १९ वटा छाडा पशु चौपाया संकलन गरी कान्जीहाउमा व्यवस्थापन गरेको छ । उपमहानगरपालिकाका अनुसार नगर क्षेत्रका विभिन्न स्थानमा सडक, बजार तथा सार्वजनिक स्थलमा छाडा रूपमा घुमिरहेका पशु चौपायालाई नियन्त्रणमा लिई वडा नम्बर २१ स्थित विर्तामा रहेको कान्जीहाउमा राखिएको हो ।
संकलन गरिएका चौपायामध्ये ८ वटा गाई, बाच्छा र बाछी रहेका छन् भने ११ वटा घोडा, घोडी, बछेरा तथा खच्चड रहेका छन् । यससँगै एकै दिनमा कुल १९ वटा चौपाया व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्नुका साथै बजार क्षेत्रको सरसफाइ, यातायात सञ्चालन र सर्वसाधारणको आवतजावतमा समेत समस्या हुँदै आएको छ । विशेषगरी रातिको समयमा सडकमा छाडा रूपमा रहेका गाई र घोडाका कारण दुर्घटनाका घटना हुने गरेको भन्दै नगरपालिकाले नियमित रूपमा संकलन अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
नगरपालिकाले नियन्त्रणमा लिइएका चौपायालाई कान्जीहाउमा राखी आवश्यक हेरचाह तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको जनाएको छ । सम्बन्धित पशुधनीले कानुनी प्रक्रिया पूरा गरी आफ्नो पशु फिर्ता लैजान सक्ने व्यवस्था पनि रहेको बताइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया सडकमा खुला छाड्ने प्रवृत्ति नियन्त्रण गर्न पशुधनीलाई जिम्मेवार बन्न आग्रह गरेको छ । आफ्ना पशु सुरक्षित रूपमा बाँधेर राख्न तथा सार्वजनिक सडक र बजार क्षेत्रमा खुला नछाड्न अनुरोध गर्दै नगरपालिकाले नियम उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
नगरपालिकाले आगामी दिनमा पनि नगर क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दुर्घटनामुक्त बनाउन छाडा चौपाया नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ ।















