२०८३ श्रावण १९ मंगलवार
२०८३ श्रावण १९ मंगलवार

बर्दिया, साउन १४ — बर्दियाका जैविक मार्ग र सामुदायिक वन क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व अझै भयावह बन्दै गएको छ। पछिल्लो सात वर्षमा डिभिजन वन कार्यालय, बर्दिया अन्तर्गतका वन क्षेत्रमा ३६ जनाले ज्यान गुमाएका छन्, जसमध्ये सबैभन्दा धेरै १८ जनाको मृत्यु बाघको आक्रमणबाट खाता जैविक मार्ग क्षेत्रमा भएको तथ्यांकले देखाएको छ।

डिभिजन वन कार्यालय, बर्दियाका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता जैविक मार्ग हुँदै भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षसम्म फैलिएको वन क्षेत्रमा बाघको आक्रमणका घटना निरन्तर दोहोरिरहेका छन्। वन क्षेत्रमा घाँस, दाउरा, च्याउ वा अन्य वनजन्य वस्तु संकलन गर्न जाने स्थानीय बासिन्दा सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन्।

पछिल्लो समय २०८२ पुस १५ गते मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा १७ वर्षीया विनिता परियारको बाघको आक्रमणमा मृत्यु भएको थियो। त्यसको करिब एक महिनापछि २०८२ माघ २२ गते मधुवन नगरपालिका–९ धर्मबस्तीकी ४९ वर्षीया मैसरा डाँगीको पनि बाघकै आक्रमणबाट ज्यान गएको थियो।

यसअघि २०७७ कात्तिक ११ गते मधुवन नगरपालिका–३ धनौरास्थित बेलझुण्डी सामुदायिक वनमा च्याउ टिप्न गएका रमेश थारुलाई बाघले आक्रमण गरी मारेको थियो। सोही दिन दाइको खोजीमा वन पुगेका उनका भाइ २८ वर्षीय दिनेश चौधरी पनि बाघको आक्रमणमा परेर मारिएका थिए।

डिभिजन वन कार्यालयका अनुसार निकुञ्ज आसपासका जैविक मार्ग र सामुदायिक वन क्षेत्रमा वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि बाघको आक्रमणका घटना पूर्ण रूपमा नियन्त्रणमा आउन सकेका छैनन्। स्थानीयवासीले वनमा प्रवेश गर्दा उच्च सतर्कता अपनाउनुपर्ने र जोखिमयुक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

 


सल्यान, साउन १४    असार बितेर मध्यसाउन पुग्न लाग्दासमेत आकाशले साथ नदिएपछि सल्यानका किसानका लागि यस वर्षको धान रोपाइँ निकै महँगो र कठिन बनेको छ । वर्षाको भरमा खेती गर्दै आएका किसान अहिले खेतमा पानी पुर्‍याउन मोटरको सहारा लिन बाध्य छन् । प्राकृतिक स्रोत सुकेपछि प्रतिघण्टा एक हजार रुपैयाँ तिरेर पानी किन्दै धान रोप्नुपर्ने अवस्था आएपछि उत्पादन लागत बढेको मात्र होइन, किसानको चिन्ता पनि उत्तिकै बढेको छ ।

कुमाख गाउँपालिका–१ शान्तिबजारका किसान अहिले बिहानदेखि बेलुकासम्म खेतमा भन्दा बढी मोटर र पाइपको व्यवस्थापनमै व्यस्त देखिन्छन् । सामान्यतया असारभित्रै हराभरा देखिने खेतहरू यस वर्ष सुक्खा छन् । आकाशबाट पानी नपरेपछि मर्मखोलाबाट मोटरमार्फत खेतमा पानी तानेर रोपाइँ गरिँदै आएको छ । स्थानीय किसान केशव शर्माका अनुसार पानी तान्न प्रयोग हुने मोटर भाडामै ल्याउनुपर्छ । त्यसका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तिर्नुपर्ने भएकाले धान खेतीको लागत अप्रत्याशित रूपमा बढेको छ । उनका अनुसार खडेरीका कारण रोपाइँ ढिलो हुँदा किसान आर्थिक रूपमा थप भारमा परेका छन् भने मानसिक तनावसमेत बढेको छ ।

विगतका वर्षमा असार महिनाभित्र अधिकांश खेतमा रोपाइँ सकिने गरेको भए पनि यस वर्ष अवस्था फरक छ । वर्षा नहुँदा मर्मखोला र आसपासका साना खोलामा पानीको सतह निकै घटेको छ । यही कारण किसानले प्राकृतिक सिँचाइको विकल्प खोज्दै मोटरबाट पानी तानेर खेती जोगाउने प्रयास गरिरहेका छन् । अर्का किसान रामकुमार लामिछानेका अनुसार पानी किनेर खेती गर्नु रहर होइन, बाध्यता हो । प्रतिघण्टा एक हजार रुपैयाँ तिरेर पाँच घण्टासम्म मोटर चलाउँदा पनि एउटा खेत राम्रोसँग भिजाउन मुस्किल हुने उनले बताए । यसले लागत बढाएको मात्र होइन, उत्पादनबाट हुने आम्दानीसमेत घट्ने चिन्ता थपिएको उनको भनाइ छ ।

उनका अनुसार कुमाख गाउँपालिका–१ का करिब ४० देखि ५० घरधुरीले करिब १० देखि १२ बिघा क्षेत्रफलमा मोटरबाट पानी तानेर धान रोपेका छन् । शान्तिबजार, स्विकोट ज्युजा, बेलखेतदेखि चिसाखेतसम्मका धेरै किसानले यही उपाय अपनाएका छन् । वर्षा नहुँदा अन्य विकल्प नभएकाले खर्चिलो भए पनि पानी किनेरै खेती जोगाउनुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । तर रोपाइँ नै ढिलो हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने कृषि विज्ञहरूको भनाइ छ । रोपाइँ ढिलो भए धान पाक्ने समय पनि पछि सर्ने, उत्पादन घट्ने र रोग–किराको जोखिमसमेत बढ्ने सम्भावना रहने भएकाले किसान थप चिन्तित बनेका छन् ।

कृषिमा निर्भर कुमाख क्षेत्रका अधिकांश परिवार अहिले आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गरिरहेका छन् । समयमा पानी नपर्दा खेतमा लगानी बढेको छ भने त्यसअनुसार उत्पादन हुनेमा पनि उनीहरू विश्वस्त छैनन् । यसले किसानको वार्षिक आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ । स्थानीय किसानहरूले तत्काल खडेरी प्रभावित क्षेत्रमा राहत र सहुलियत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । साथै वर्षेनी दोहोरिने यस्तो समस्याको दीर्घकालीन समाधानका लागि भरपर्दो सिँचाइ पूर्वाधार निर्माण, जलस्रोत संरक्षण र कृषि क्षेत्रमा आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यान जानुपर्ने उनीहरूको आग्रह छ ।

यस वर्षको खडेरीले सल्यानका किसानलाई एउटा यथार्थ महसुस गराएको छ—आकाशले साथ नदिँदा खेती जोगाउन अब पानी पनि किनेर ल्याउनुपर्ने अवस्था आउन सक्छ । खेतमा हरियाली बचाउन किसानले पसिना मात्र होइन, अतिरिक्त रकमसमेत खर्च गर्नुपर्ने यो अवस्था जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्दै गएको प्रभावको एउटा स्पष्ट संकेत बनेको छ ।

कोहलपुर, साउन १४ — खेतीपातीको मुख्य समयमा पनि रासायनिक मलको अभाव हट्न नसक्दा बाँकेका किसानले यस वर्ष पनि विगतझैं सास्ती खेप्नुपरेको छ। धान गोड्ने महत्वपूर्ण समय बित्न लाग्दासमेत पर्याप्त मल नपाएपछि किसानहरू बिहानैदेखि सहकारीको गेटमा लामो लाइन बस्न बाध्य भएका छन्।

कोहलपुरको साझा चोकस्थित साझा सहकारीमा बिहीबार बिहानैदेखि ठूलो संख्यामा किसानहरू रासायनिक मल लिन पुगेका थिए। मल सीमित परिमाणमा उपलब्ध हुँदा पालो कुर्दै घण्टौँ लाइन बस्नुपरेको किसानहरूले गुनासो गरेका छन्।

किसानहरूका अनुसार प्रत्येक वर्ष खेतीको समयमा यस्तै समस्या दोहोरिने गरेको भए पनि यसको स्थायी समाधान हुन सकेको छैन। यस वर्ष वितरण प्रणालीमा केही सुधार हुने र सहज रूपमा मल पाइने अपेक्षा गरिए पनि अवस्था फेरि उस्तै बनेको उनीहरूको भनाइ छ।

धान गोड्ने समय भइसक्दा पनि आवश्यक मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। समयमै मल प्रयोग गर्न नसके धानबालीको वृद्धि र उत्पादन दुवै प्रभावित हुने भएकाले किसानहरू थप चिन्तित बनेका छन्।

स्थानीय किसानहरूले मल आपूर्ति र वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्। हरेक वर्ष एउटै समस्या दोहोरिरहँदा किसानले खेतीभन्दा बढी समय मलको खोजीमै खर्चिनुपर्ने अवस्था अन्त्य गर्न दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको भनाइ छ।

बाँकेसहित तराईका जिल्लामा बर्खे धानबालीको महत्वपूर्ण समयमा रासायनिक मलको माग उच्च हुने गर्छ। तर मागअनुसार आपूर्ति हुन नसक्दा किसानले प्रत्येक वर्षजस्तै यस पटक पनि मलका लागि लामो संघर्ष गर्नुपरेको अवस्था देखिएको छ।

यसअघि गरिएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेकोमा पछिल्लो गणनाले थप २६ वटा बाघ बढेको देखाएको हो । संरक्षण, चोरीसिकारी नियन्त्रण, आहारा व्यवस्थापन र जलस्रोत विस्तारका कारण निकुञ्ज बाघ बस्नका लागि अझ उपयुक्त बासस्थान बन्दै गएको संरक्षणकर्मीहरूको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघको संख्या बढ्नु सबै सरोकारवाला निकाय, सुरक्षाकर्मी र स्थानीय समुदायको सामूहिक प्रयासको परिणाम हो । उनका अनुसार बाघ बढेसँगै संरक्षणका चुनौती पनि बढेका छन्, तर यसले पर्यटन र जैविक विविधता संरक्षणका नयाँ अवसरसमेत सिर्जना गरेको छ ।


कोहलपुर, साउन १४  बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । पछिल्लो बाघ गणनाअनुसार निकुञ्जमा बाघको संख्या २५ बाट बढेर ५१ पुगेको छ । यससँगै बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या शतप्रतिशतभन्दा बढी अर्थात् १०४ प्रतिशतले वृद्धि भएको छ, जुन नेपालका राष्ट्रिय निकुञ्जहरूमध्ये प्रतिशत वृद्धिका आधारमा सबैभन्दा उल्लेखनीय मानिएको छ ।

यसअघि गरिएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेकोमा पछिल्लो गणनाले थप २६ वटा बाघ बढेको देखाएको हो । संरक्षण, चोरीसिकारी नियन्त्रण, आहारा व्यवस्थापन र जलस्रोत विस्तारका कारण निकुञ्ज बाघ बस्नका लागि अझ उपयुक्त बासस्थान बन्दै गएको संरक्षणकर्मीहरूको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघको संख्या बढ्नु सबै सरोकारवाला निकाय, सुरक्षाकर्मी र स्थानीय समुदायको सामूहिक प्रयासको परिणाम हो । उनका अनुसार बाघ बढेसँगै संरक्षणका चुनौती पनि बढेका छन्, तर यसले पर्यटन र जैविक विविधता संरक्षणका नयाँ अवसरसमेत सिर्जना गरेको छ ।

‘जहाँ आहारा र सुरक्षित ठाउँ हुन्छ, बाघ त्यही आउँछ,’ कँडेलले भने, ‘बाँके राष्ट्रिय निकुञ्ज अहिले पर्याप्त आहारा, पानी र सुरक्षित बासस्थान भएको क्षेत्रका रूपमा स्थापित भएको यो तथ्यांकले पुष्टि गरेको छ ।’ उनका अनुसार बाँके राष्ट्रिय निकुञ्ज चुरे–भावर क्षेत्रमा पर्ने भएकाले यहाँ सुख्खा मौसममा पानीको अभाव हुने समस्या थियो । त्यसलाई समाधान गर्न निकुञ्जले करिब ३० वटा कृत्रिम पोखरी निर्माण गरेको छ भने पाइपमार्फत विभिन्न जलाशयमा पानी पुर्‍याउने व्यवस्था गरिएको छ । चारैतिर पानीको पहुँच विस्तार भएपछि वन्यजन्तुका लागि अनुकूल वातावरण बनेको उनले बताए । निकुञ्जभित्र घाँसे मैदानको व्यवस्थापन, आहारा प्रजातिको संरक्षण तथा चोरीसिकारी नियन्त्रणमा गरिएको प्रभावकारी प्रयासले पनि बाघको संख्या बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । जरायो, चित्तल, चौका, निलगाई लगायतका आहारा प्रजातिको उपलब्धता बढ्दा बाघका लागि आवश्यक खाद्य शृंखला सुदृढ भएको संरक्षणकर्मीहरू बताउँछन् ।

त्यसैगरी निकुञ्ज क्षेत्रमा करिब ५६ किलोमिटर परिधिसम्म सुरक्षा व्यवस्थापन र नियमित निगरानी सुदृढ गरिएको छ । चोरीसिकारी नियन्त्रणका लागि नेपाली सेना, निकुञ्ज प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाइएको कँडेलले जानकारी दिए । उनका अनुसार बाघको संख्या बढ्नु बाँके राष्ट्रिय निकुञ्जको पारिस्थितिक प्रणाली सुदृढ हुँदै गएको संकेत हो । बाघ बस्नका लागि आवश्यक पानी, आहारा र सुरक्षित बासस्थान उपलब्ध हुँदा बाघको प्रजनन दर पनि सकारात्मक भएको उनले बताए ।

‘बाघको संख्या बढ्नु मात्र पर्याप्त होइन, त्यसको दीर्घकालीन संरक्षण अझ महत्वपूर्ण विषय हो,’ कँडेलले भने, ‘अब मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सडक दुर्घटनाबाट हुने क्षति रोकथाम र बासस्थानको संरक्षणमा थप ध्यान दिन आवश्यक छ ।’ बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेसँगै यो क्षेत्र नेपालका महŒवपूर्ण बाघ बासस्थानमध्ये एकका रूपमा थप मजबुत बनेको छ । संरक्षणविद्हरूका अनुसार पछिल्लो उपलब्धिले बाँकेमा गरिएको संरक्षण प्रयास प्रभावकारी रहेको पुष्टि गरेको छ र भविष्यमा पर्यटन, अनुसन्धान तथा जैविक विविधता संरक्षणका क्षेत्रमा नयाँ सम्भावनाहरू समेत खोल्ने अपेक्षा गरिएको छ ।

‘जहाँ आहारा र सुरक्षित बासस्थान हुन्छ, बाघ त्यही आउँछ’


वीरेन्द्रप्रसाद कँडेल
प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत
बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

यो बाँके राष्ट्रिय निकुञ्जका लागि अत्यन्तै सकारात्मक र उत्साहजनक उपलब्धि हो । यसअघि २५ वटा बाघ रहेकोमा अहिले ५१ पुगेको छ, अर्थात् शतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । यो केवल निकुञ्ज प्रशासनको मात्र उपलब्धि होइन, नेपाली सेना, सुरक्षाकर्मी, स्थानीय समुदाय र सबै सरोकारवालाको सामूहिक प्रयासको परिणाम हो ।

बाघको संख्या यति धेरै बढ्नुको मुख्य कारण के हो ?

मुख्य कारण भनेको बाघका लागि आवश्यक आहारा, पानी र सुरक्षित बासस्थानको उपलब्धता हो । जहाँ आहारा र सुरक्षित ठाउँ हुन्छ, बाघ त्यही आउँछ । बाँके राष्ट्रिय निकुञ्ज अहिले बाघ बस्नका लागि उपयुक्त क्षेत्र बनेको छ । चोरीसिकारी नियन्त्रण, घाँसे मैदान व्यवस्थापन र वन्यजन्तुको संरक्षणले पनि ठूलो भूमिका खेलेको छ ।

निकुञ्जले पानी व्यवस्थापनका क्षेत्रमा के काम गरेको छ ?

बाँके राष्ट्रिय निकुञ्ज चुरे–भावर क्षेत्रमा पर्ने भएकाले यहाँ सुख्खा मौसममा पानीको अभाव हुने समस्या थियो । त्यसलाई समाधान गर्न हामीले करिब ३० वटा कृत्रिम पोखरी निर्माण गरेका छौं । पाइपमार्फत विभिन्न जलाशयमा पानी पुर्‍याउने व्यवस्था पनि गरिएको छ । यसले वन्यजन्तु र बाघ दुवैका लागि अनुकूल वातावरण बनाएको छ ।

आहारा प्रजातिको व्यवस्थापन कत्तिको प्रभावकारी भएको छ ?

निकुञ्जभित्र घाँसे मैदानको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । जरायो, चित्तल, चौका, निलगाई लगायतका आहारा प्रजातिको संख्या र उपलब्धता बढेको छ । बाघका लागि पर्याप्त खाद्य स्रोत उपलब्ध हुनु यसको वृद्धिको महत्वपूर्ण आधार हो ।

अबको सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?

बाघको संख्या बढ्नु खुशीको कुरा हो, तर यससँगै चुनौती पनि बढ्छन् । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सडक दुर्घटनाबाट हुने क्षति रोकथाम, बासस्थान संरक्षण र चोरीसिकारी नियन्त्रणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । संरक्षणलाई दिगो बनाउन स्थानीय समुदायको सहभागिता झन् महत्त्वपूर्ण हुन्छ ।

अन्त्यमा, बाँकेका नागरिकलाई के भन्न चाहनुहुन्छ ?

बाघ हाम्रो प्राकृतिक सम्पदा हो । यसको संरक्षण केवल निकुञ्जको जिम्मेवारी होइन, सबैको साझा दायित्व हो । स्थानीय समुदायको साथ र सहयोगले नै आजको उपलब्धि सम्भव भएको हो । आगामी दिनमा पनि यही सहकार्य कायम रह्यो भने बाँके राष्ट्रिय निकुञ्ज अझ सुरक्षित र समृद्ध वन्यजन्तु आवासका रूपमा स्थापित हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।