२०८३ श्रावण १९ मंगलवार
२०८३ श्रावण १९ मंगलवार

नेपालगन्जबाट डोल्पातर्फ ३२० वटा ग्यास सिलिण्डर बोकेर जाँदै गरेको ट्रक सडकबाट चिप्लिएर चालकतर्फको खोलामा पल्टिएको प्रहरीले जनाएको छ ।

कोहलपुर, साउन १६  नेपालगन्जबाट डोल्पातर्फ ग्यास सिलिण्डर लिएर जाँदै गरेको एक मिनि ट्रक रुकुम पश्चिमको भेरी करिडोर सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रकमा रहेका केही ग्यास सिलिण्डर खोलामा बगेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार लु.प्र.०३–००१ क ००४१ नम्बरको मिनि ट्रक आठबिसकोट नगरपालिका–६ स्थित रिजिगार्ड खोला नजिक शुक्रबार दुर्घटनामा परेको हो । नेपालगन्जबाट डोल्पातर्फ ३२० वटा ग्यास सिलिण्डर बोकेर जाँदै गरेको ट्रक सडकबाट चिप्लिएर चालकतर्फको खोलामा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक बाँकेको बैजनाथ गाउँपालिका–३ निवासी अन्दाजी २५ वर्षीय टेकबहादुर बुढाले चलाइरहेका थिए । सडकको लिकभन्दा बाहिर टायर गएपछि ट्रक अनियन्त्रित भई खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा चालकसहित कुनै पनि व्यक्तिको ज्यान नगएको प्रहरीले जनाएको छ । ट्रकमा लोड गरिएका ३२० ग्यास सिलिण्डरमध्ये करिब ७ देखि ८ वटा सिलिण्डर खोलामा बगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर सिलिण्डरको खोजी तथा दुर्घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

नेपालगन्ज, साउन १६  भारत सरकारले वाराणसी सिटी–गोरखपुर एक्सप्रेस रेल सेवा नेपालगन्ज रोड स्टेशनसम्म विस्तार गर्ने निर्णय गरेसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन तथा आवागमनमा नयाँ सम्भावना देखिएको छ । रेल मन्त्रालयको स्वीकृतिअनुसार अब १५१३२ वाराणसी सिटी–नेपालगन्ज रोड एक्सप्रेस र १५१३१ नेपालगन्ज रोड–वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालन हुने भएको हो ।

सार्वजनिक गरिएको नयाँ समयतालिकाअनुसार रेल वाराणसी सिटीबाट राति १०ः३५ बजे प्रस्थान गरी बिहान ४ः०० बजे गोरखपुर पुग्नेछ । १० मिनेटको विश्रामपछि ४ः१० बजे गोरखपुरबाट छुटेर ११ः२० बजे नेपालगन्ज रोड स्टेशन आइपुग्नेछ । फर्किने क्रममा रेल नेपालगन्ज रोडबाट दिउँसो ४ः१५ बजे छुट्ने, राति १२ः१० बजे गोरखपुर पुग्ने र १० मिनेटपछि पुनः प्रस्थान गरी बिहान ८ः३० बजे वाराणसी सिटी पुग्ने तालिका तय गरिएको छ । नेपालगन्ज रोडसम्म रेल सेवा विस्तार भएसँगै बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, कर्णाली र सुदूरपश्चिमका यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । यसअघि गोरखपुरसम्म मात्र रेल सेवा भएकाले यात्रुले सडकमार्गबाट थप यात्रा गर्नुपर्ने बाध्यता थियो । अब नेपाल सीमासम्म रेल पुग्दा यात्रा थप सहज, सुरक्षित र समय बचत हुने विश्वास गरिएको छ ।

व्यापारिक दृष्टिले पनि यो विस्तारलाई महŒवपूर्ण मानिएको छ । नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले भारतीय बजारसँगको पहुँच अझ मजबुत हुनेछ । उद्योगी–व्यवसायीका अनुसार व्यापारिक आवतजावत बढ्नुका साथै सीमावर्ती क्षेत्रमा होटल, यातायात, गोदाम, खुद्रा व्यापार तथा सेवा क्षेत्रका गतिविधि विस्तार हुने सम्भावना छ । पर्यटन क्षेत्रले समेत यसको प्रत्यक्ष लाभ लिन सक्ने देखिएको छ । भारतका धार्मिक पर्यटक वाराणसीबाट सहज रूपमा नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यतर्फ पुग्न सक्नेछन् । त्यस्तै नेपालका धार्मिक तथा स्वास्थ्य उपचारका लागि भारत जाने यात्रुहरूलाई पनि सहज रेल पहुँच उपलब्ध हुनेछ ।
शिक्षा र स्वास्थ्य सेवाका लागि भारत जाने विद्यार्थी तथा बिरामीलाई समेत यो रेल सेवा उपयोगी हुने अपेक्षा गरिएको छ । वाराणसी र गोरखपुरका विश्वविद्यालय तथा अस्पतालमा जाने नेपाली यात्रुहरूले अब कम खर्च र सहज यात्राको विकल्प पाउनेछन् । रेल सेवा विस्तारले सीमावर्ती आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने स्थानीय व्यवसायीहरूको विश्वास छ । नेपालगन्ज बजारमा भारतीय पर्यटकको आगमन बढेमा होटल, रेष्टुरेन्ट, यातायात, बैंकिङ तथा अन्य सेवा क्षेत्रको कारोबारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

यद्यपि, रेल सेवा विस्तारबाट अधिकतम लाभ लिन नेपालतर्फको पूर्वाधारलाई पनि समानरूपमा सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । नेपालगन्ज नाकामा सहज आवागमन, आधुनिक भन्सार सेवा, पार्किङ, सार्वजनिक यातायातको समन्वय तथा यात्रु सुविधाको विस्तार गरिएमा यस रेल सेवाको प्रभाव अझ व्यापक हुने जानकारहरू बताउँछन् । वर्षौंदेखि नेपालगन्जसम्म रेल सेवा विस्तारको माग उठ्दै आएको थियो । भारत सरकारको स्वीकृतिसँगै उक्त मागले मूर्त रूप लिएको छ । यसलाई पश्चिम नेपालको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । स्थानीय तह, निजी क्षेत्र र सरकारबीच आवश्यक समन्वय हुन सके नेपालगन्ज रेल पहुँचसँगै पश्चिम नेपालको व्यापारिक र पर्यटन केन्द्रका रूपमा अझ सशक्त बन्ने अपेक्षा गरिएको छ ।

खजुरा, साउन १६   बाँकेको खजुरा गाउँपालिका–४, बद्रीपुरस्थित श्री जन कल्याण माध्यमिक विद्यालयमा १६ कोठे नयाँ भवन निर्माण हुने भएको छ । नेपाल–भारत विकास सहयोगअन्तर्गत निर्माण हुन लागेको उक्त भवनको शुक्रबार एक समारोहबीच काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै काउन्सिलर गीताञ्जली ब्रान्डनले विद्यालय भवन निर्माणलाई उच्च प्रभावयुक्त विकास परियोजनाका रूपमा लिइएको बताइन् । उनले नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा भवन निर्माण हुन लागेको उल्लेख गर्दै यो परियोजना नेपाल–भारत विकास साझेदारीको महत्त्वपूर्ण उदाहरण बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘मलाई पूर्ण विश्वास छ कि यस परियोजनाले बाँकेको खजुरा गाउँपालिकाका विद्यार्थी र शिक्षकका लागि अध्ययन–अध्यापनको वातावरण अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।’

शिलान्यासपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले खजुरामा यस्तो महत्त्वपूर्ण परियोजना सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गरे । उनले नयाँ भवन निर्माण भएपछि विद्यार्थीले घाम, पानी र हावाहुरीका कारण हुने समस्याबाट राहत पाउने बताए । साथै उनले भारत सरकार, भारतीय राजदूतावास तथा भारतीय जनताप्रति धन्यवाद ज्ञापन गरे । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार भवन निर्माणका लागि खजुरा गाउँपालिका र भारतीय राजदूतावासबीच २०८२ चैत १९ गते सम्झौता भएको थियो । भ्याटबाहेक ४ करोड ८१ लाख ९७ हजार ९ सय ४२ रुपैयाँमा भएको सम्झौताअनुसार कुल लागतको ९५ प्रतिशत भारतीय राजदूतावास र ५ प्रतिशत खजुरा गाउँपालिकाले व्यहोर्नेछन् । भ्याट रकम भने नेपाल सरकार र खजुरा गाउँपालिकाले बेहोर्ने गरी सम्झौता गरिएको उनले जानकारी दिए ।

कुल अनुमानित लागत ५ करोड ४२ लाख १ हजार २ सय ३६ रुपैयाँ रहेको परियोजनाको ठेक्का प्रक्रियामा १५ निर्माण कम्पनी सहभागी भएका थिए । प्रतिस्पर्धाबाट जेबीजी र नागरिक निर्माण सेवा, बारबर्दिया–९, बर्दियाले ३ करोड ७७ लाख ९५ हजार ९ सय ९८ रुपैयाँमा ठेक्का प्राप्त गरेको जनाइएको छ । निर्माण व्यवसायीसँग २०८३ असार ११ गते सम्झौता भइसकेको छ भने १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कार्यादेश दिइएको खजुरा गाउँपालिकाले जनाएको छ । अध्यक्ष विकका अनुसार भवनमा १६ वटा स्मार्ट कक्षाकोठा रहनेछन् । भुइँतलामा ८ वटा र पहिलो तलामा ८ वटा कक्षाकोठा निर्माण गरिनेछ । साथै छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय तथा विद्यालय परिसरमा इन्टरलक बिछ्याउने व्यवस्था पनि गरिनेछ ।

विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले हाल केही कक्षाकोठा टिनले छाइएका कारण पठनपाठनमा समस्या भइरहेको बताउँदै नयाँ भवन निर्माणपछि विद्यार्थीलाई गुणस्तरीय वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । शिलान्यास समारोहमा पूर्व संसद् सचिवालयका सचिव गोपालनाथ योगी, खजुरा गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्री, वडा नं. २ का वडाध्यक्ष धनराम वली, वडा नं. ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारी, कार्यपालिका सदस्य, वडा सदस्य, इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज नवीन चापागाईं, भूपू सैनिक, पूर्व तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
समारोहमा स्थानीयवासी तथा विद्यालय परिवारले भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनलाई पञ्चेबाजा र फूलमालासहित स्वागत गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।