नेपालगन्जबाट डोल्पातर्फ ३२० वटा ग्यास सिलिण्डर बोकेर जाँदै गरेको ट्रक सडकबाट चिप्लिएर चालकतर्फको खोलामा पल्टिएको प्रहरीले जनाएको छ ।
कोहलपुर, साउन १६ नेपालगन्जबाट डोल्पातर्फ ग्यास सिलिण्डर लिएर जाँदै गरेको एक मिनि ट्रक रुकुम पश्चिमको भेरी करिडोर सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रकमा रहेका केही ग्यास सिलिण्डर खोलामा बगेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार लु.प्र.०३–००१ क ००४१ नम्बरको मिनि ट्रक आठबिसकोट नगरपालिका–६ स्थित रिजिगार्ड खोला नजिक शुक्रबार दुर्घटनामा परेको हो । नेपालगन्जबाट डोल्पातर्फ ३२० वटा ग्यास सिलिण्डर बोकेर जाँदै गरेको ट्रक सडकबाट चिप्लिएर चालकतर्फको खोलामा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक बाँकेको बैजनाथ गाउँपालिका–३ निवासी अन्दाजी २५ वर्षीय टेकबहादुर बुढाले चलाइरहेका थिए । सडकको लिकभन्दा बाहिर टायर गएपछि ट्रक अनियन्त्रित भई खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा चालकसहित कुनै पनि व्यक्तिको ज्यान नगएको प्रहरीले जनाएको छ । ट्रकमा लोड गरिएका ३२० ग्यास सिलिण्डरमध्ये करिब ७ देखि ८ वटा सिलिण्डर खोलामा बगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर सिलिण्डरको खोजी तथा दुर्घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
















