धनगढी, साउन १८ कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा बोक्सीको आरोपमा कुटपिटपछि ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु भएको घटनामा पक्राउ परेका सातैजना अदालतको आदेशबाट १३ दिनमै धरौटीमा रिहा भएपछि पीडित परिवारले न्याय नपाएको भन्दै पुनः निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।परिवारका अनुसार असार ३२ गते साँझ मुसलधारे वर्षा भइरहेका बेला केही व्यक्तिले जालिना देवीलाई सडकबाट तानेर घरसम्म ल्याई निर्घात कुटपिट गरेका थिए ।
ज्यान जोगाउन उनी घर पछाडिको शौचालयमा लुके पनि त्यहाँबाट समेत निकालेर फेरि कुटपिट गरिएको मृतकका छोरा रवि चौधरीले बताएका छन् । रविका अनुसार घटनापछि आमाको मुख र नाकबाट फिज निस्किरहेको अवस्थामा प्रहरी घटनास्थल पुगेको थियो । तर तत्काल उपचारका लागि अस्पताल नलगिई कम्बल ओढाएर भोलिपल्ट अनुसन्धान गर्ने भन्दै प्रहरी फर्किएको र त्यसको भोलिपल्ट बिहान करिब ५ बजे आमाको मृत्यु भएको उनको दाबी छ ।
मृतकका श्रीमान् राजेन्द्र चौधरीका अनुसार जालिना देवीले मृत्यु हुनुअघि आफूलाई धेरै कुटिएको र अब बाँच्न नसक्ने बताएका थिए । परिवारले घटनाको सीसीटीभी भिडियोसमेत आफूसँग रहेको दाबी गर्दै त्यसमा कुटपिटका दृश्य स्पष्ट देखिने जनाएको छ । परिवारका अनुसार छिमेकीको घरअगाडि चामल फालिएको विषयलाई लिएर जालिना देवीमाथि बोक्सीको आरोप लगाइएको थियो । सोही आरोपमा करिब १५ दिनअघि पनि उनीमाथि दुर्व्यवहार र कुटपिट भएको परिवारको भनाइ छ । घटनापछि रवि चौधरीले इलाका प्रहरी कार्यालय मालाखेतीमा सरिता थरुनीसहित सात जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले सातै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
तर जिल्ला अदालत कैलालीले थुनछेक बहसपछि सातैजनालाई जनही एक लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आरोपितहरू रिहा भएको जानकारी आफूहरूले आमाको क्रियाकर्मका क्रममा मात्र पाएको भन्दै परिवारले अनुसन्धान हतारमा टुंग्याइएको र दोषीलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरेको छ । मृतकका श्रीमान् राजेन्द्र चौधरीले हत्या जस्तो गम्भीर घटनामा सामान्यतया लामो अनुसन्धान हुने भए पनि आफ्नो मुद्दामा १३ दिनमै अनुसन्धान पूरा गरी आरोपितलाई धरौटीमा छाडिएको भन्दै निष्पक्ष न्यायको अपेक्षा गरेको बताए ।

यता इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक हिरा सिंह महराले भने अनुसन्धान कानुनअनुसार नै सम्पन्न गरिएको बताएका छन् । उनका अनुसार घटनामा एक जना नाबालक पनि संलग्न रहेकाले कानुनी समयसीमाभित्र अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको हो । डीएसपी महराले पोस्टमार्टम प्रतिवेदनमा कुटपिटकै कारण मृत्यु भएको स्पष्ट उल्लेख नभएको र भिसेरा परीक्षणको प्रतिवेदन आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार भिसेरा परीक्षणका लागि नमुना नेपालगञ्ज पठाइएको छ । उनले उपलब्ध भिडियोमा महिलालाई लछारपछार गरिएको दृश्य देखिए पनि कुटपिटको प्रकृति र त्यसको कानुनी मूल्यांकन अनुसन्धानका क्रममा गरिएको बताए ।
जिल्ला अदालत कैलालीका न्यायाधीश भुवनसिंह थापाको इजलासले साउन १२ गते सातै आरोपितलाई जनही एक लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । पीडित परिवारले भने घटनाको निष्पक्ष अनुसन्धान, भिसेरा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग पुनः माग गरेको छ ।
















