२०८३ श्रावण १९ मंगलवार
२०८३ श्रावण १९ मंगलवार

नेपालगन्ज, साउन १७  नेपालगन्जमा शनिबार शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको सद्भाव र्‍यालीले सकारात्मक सन्देश दिएको छ । तर, र्‍यालीको एउटा पक्षले भने गम्भीर प्रश्न उठाएको छ, ‘आम नागरिक कहाँ थिए ?’

र्‍यालीमा धार्मिक अगुवा, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरूको सहभागिता देखिए पनि समुदायका सामान्य नागरिकको उपस्थिति अत्यन्त न्यून रह्यो । सामाजिक सद्भावको आधार नै समुदायको सक्रिय सहभागिता हो । त्यसैले यस्तो अभियानमा सर्वसाधारणको उल्लेख्य उपस्थिति हुन नसक्नु सामान्य विषय होइन ।

यसले केही स्वाभाविक प्रश्नहरू जन्माएको छ । शान्ति र सद्भावका कार्यक्रमप्रति आम नागरिकको अपनत्व किन देखिएन ? उनीहरूलाई सहभागी गराउने वातावरण, विश्वास र प्रेरणा पर्याप्त बनाउन सकियो कि सकिएन ? अथवा यस्ता कार्यक्रमहरू अझै पनि सीमित समूहमा केन्द्रित भइरहेका छन् ?

शान्ति र सामाजिक सद्भाव प्रशासन वा नेतृत्व तहको पहलले मात्र दिगो बन्दैन । त्यसका लागि समुदाय स्वयम् अभियानको केन्द्रमा हुनुपर्छ । नागरिकको सहभागिता जति व्यापक हुन्छ, सद्भावको सन्देश त्यति नै विश्वसनीय र प्रभावकारी बन्छ । त्यसैले र्‍यालीको सफलताको मूल्यांकन उपस्थित व्यक्तिको संख्याले मात्र होइन, समाजका सबै तहलाई कति जोड्न सकियो भन्ने आधारमा पनि हुन आवश्यक छ ।

नेपालगन्ज बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान बोकेको सहर हो । यस्तो सहरमा सद्भावका कार्यक्रम सबै समुदायको साझा अभियान बन्न सके मात्र त्यसको वास्तविक उद्देश्य पूरा हुन्छ । अन्यथा, समुदायको सीमित सहभागिताले सामाजिक संवेदनशीलताबारे थप आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइरहनेछ । थप दुई प्रश्न, ‘नागरिक सहभागिता नहुनुको अर्थ के ? के नागरिक सहभागिता चाहिँदैन ?’

केशव निमेषको मृत्युगञ्जको मौनताभित्र कविता संग्रहको पहिलो खण्डको विश्लेषणात्मक समीक्षा ।

केशव निमेषको मृत्युगञ्जको मौनताभित्र कविता संग्रहको पहिलो खण्ड ‘आक्रोशको आँधी’ समकालीन नेपाली राजनीतिक कविताको एउटा सशक्त, वैचारिक र प्रतिरोधमुखी हस्तक्षेपका रूपमा देखापर्छ । ८६ पृष्ठसम्म रहेको संग्रहको पृष्ठ ९ देखि २७ सम्म फैलिएको यस खण्डमा रहेका मानिसहरू, उचाइ, कोरा सपना, एउटा गद्दारको डायरी, मलाई जवाफ चाहिन्छ, झिल्काहरूको योजना, मुखुण्डो विरुद्ध र वर्गसंघर्ष शीर्षकका आठवटा कविताले एउटै वैचारिक धरातल साझा गर्छन् । ती सबै कविताको केन्द्रमा सत्ता, इतिहास, वर्ग, क्रान्ति, विश्वासघात र जनताको अपूर्ण आकांक्षा छन् । यी कविता पढ्दा कवि कुनै सौन्दर्यवादी एकान्तमा उभिएको स्रष्टा होइन, समयसँग प्रत्यक्ष बहस गरिरहेको एक सचेत नागरिक र इतिहासको साक्षीका रूपमा देखिन्छन् । यही कारण यी कविताको आक्रोश व्यक्तिगत आवेग होइन, सामाजिक यथार्थको गहिरो अनुभवबाट जन्मिएको चेतना हो ।
‘आक्रोशको आँधी’ का कवितालाई राजनीतिक कविता भनेर सीमित गरिदिँदा त्यसको काव्यगत गहिराइलाई पूर्णरूपमा बुझ्न सकिँदैन । यी कविताले राजनीति मात्र लेखेका छैनन्, राजनीतिले मानिसको जीवन, स्मृति, नैतिकता र सम्बन्धलाई कसरी प्रभावित गर्छ भन्ने प्रश्न पनि उठाएका छन् । कविताभित्र बारम्बार दोहोरिने सत्ता, आन्दोलन, किसान, विद्यार्थी, श्रमिक, छापामार, सहिद, गाउँ, झुपडी, सडक, जुलुस, रगत र कलमजस्ता शब्द दृश्य निर्माणका लागि आएका छैनन् । तिनीहरू एउटा ऐतिहासिक अनुभवका सांकेतिकरूप हुन् । कविले इतिहासलाई घटनाहरूको सूचीका रूपमा होइन, अधुरो न्यायको निरन्तर यात्राका रूपमा हेरेका छन् ।
यस खण्डको पहिलो कविता मानिसहरूले सम्पूर्ण खण्डको वैचारिक दिशा निर्धारण गर्छ । सामान्यतः सत्ता शक्तिशाली हुन्छ भन्ने स्थापित धारणालाई कविले उल्ट्याउँदै वास्तविक शक्तिशाली जनता र विचार हुन् भन्ने निष्कर्षमा पुग्छन् । कविका अनुसार आफ्नै नागरिकसँग डराउने, समाचारसँग तर्सिने, जुलुसमाथि प्रतिबन्ध लगाउने, विद्यार्थी र किसानलाई शत्रु देख्ने सत्ता शक्तिशाली होइन, गहिरोरूपमा असुरक्षित हुन्छ । कविताले सत्ता र भयबीचको सम्बन्धलाई अत्यन्त सूक्ष्म ढंगले उद्घाटन गर्छ । इतिहासमा दमनकारी सत्ताहरूले हिंसा प्रयोग गर्नुको कारण उनीहरूको शक्ति नभई आफ्नै असुरक्षा रहेको तर्क कविताले प्रस्तुत गर्छ । त्यसैले कविले अन्त्यमा एउटा कविताले समेत कायर सत्तालाई हल्लाउन सक्छ भन्ने विश्वास व्यक्त गर्छन् । यहाँ कविता सौन्दर्यको वस्तु नभई परिवर्तनको राजनीतिक हस्तक्षेप बन्छ ।
यो सत्तालाई किन यति भयानक सोच्छन् ।
पलाउन सक्छन् बेलाबखत
सत्ताको पञ्जामा धारिला नंग्राहरू ।
उम्रिन सक्छन्, टाउकोमा
धर्ती उधिन्न सक्ने भालाजस्ता सिङहरू ।
डर लाग्दो देखिँदैमा
कसरी बलशाली सोच्न सकिन्छ सत्तालाई ।
मलाई त
यो सत्ता जत्तिको कायर अरू केही लाग्दैन ।
जसले बर्दी लगाएर बस्तीहरू उठाउँछ
बुट बजारेर आवाजहरू दबाउँछ
आवाजसँग डराउने सत्ता
कसरी हुन सक्छ भयानक शक्तिशाली ?

उचाइ कविता यस खण्डको सबैभन्दा दार्शनिक र बहुअर्थी रचना हो । बाहिरबाट हेर्दा यो अहंकारविरुद्धको कविता जस्तो लाग्छ, तर यसको गहिराइमा राजनीतिक नेतृत्वको नैतिक विस्मृतिको आलोचना लुकेको छ । कविले उचाइलाई भौतिक अवस्थाको रूपमा प्रयोग गरेका छैनन्, यो सत्ता, प्रतिष्ठा र शक्ति प्राप्तिपछिको मानसिक अवस्थाको रूपक हो । उचाइमा पुगेपछि मानिसले तल हेर्न बिर्सन्छ । त्यसबेला उसलाई आफ्नै इतिहास, आफ्नै सहयात्री, आफ्नै संघर्ष र आफ्नै बलिदान साना देखिन थाल्छन् । हिमाल होचा देखिनु, नदी धर्काजस्ता देखिनु र मानिसहरू किरा–फट्यांग्र्राजस्ता देखिनु वास्तवमा दृष्टिकोणको विकृति हो । कविले जनयुद्धका घाइते, बेपत्ता, आमाहरूको प्रतीक्षा र संघर्षका स्मृतिहरूलाई सम्झाउँदै सत्तामा पुगेपछि आफ्नो विगत बिर्सने प्रवृत्तिको आलोचना गरेका छन् । कविताको अन्त्यमा आएको ‘डेथजोन’ को रूपक अत्यन्त अर्थपूर्ण छ । संसारकै अग्लो स्थानमा पुगेर पनि अक्सिजनको अभावले मानिस मर्छ, त्यसैगरी जनतासँगको सम्बन्ध र नैतिक आधार गुमाएको राजनीतिक उचाइ अन्ततः आत्मविनाशमा पुग्ने कविको संकेत हो ।

कोरा सपनाले आन्दोलन र सत्ताबीचको द्वन्द्वलाई केन्द्रमा राख्छ । जनताले भात दिए, काँध दिए, विचार दिए, रगत बगाए, स्वतन्त्रताका लागि लडे, तर त्यही आन्दोलन सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित भयो भन्ने गहिरो पीडा कवितामा व्यक्त भएको छ । ‘समाजवादको घोषणापत्र च्यातेर हिटलरको कित्तामा उभिन पुग्यो’ भन्ने पङ्क्तिले कुनै एक व्यक्तिको आलोचना मात्र गर्दैन, यसले क्रान्तिकारी आन्दोलनभित्र विकसित हुने अवसरवादको प्रवृत्तिलाई उजागर गर्छ । यो कविता आन्दोलनको विरोध होइन, आन्दोलनभित्रको आत्मालोचना हो । कविका लागि समस्या विचारमा होइन, विचारलाई सत्ता प्राप्तिको साधन बनाउने चरित्रमा छ ।
त्यसैगरी एउटा गद्दारको डायरी यस खण्डको सबैभन्दा तीक्ष्ण व्यंग्यात्मक कविता हो । यहाँ कविले गद्दारलाई आफैँ बोल्न दिएका छन् । यसले कवितालाई विशेष शक्ति दिएको छ, किनकि आरोप बाहिरबाट होइन, अपराधीको आत्मस्वीकारबाट स्थापित हुन्छ । बुद्ध बेच्न तयार हुनु, सगरमाथा सुम्पिन तयार हुनु वा स्वाभिमानलाई कुर्सीका लागि साट्न तयार हुनुजस्ता अभिव्यक्तिहरूले राष्ट्रियता र देशभक्तिलाई राजनीतिक नारा बनाउने प्रवृत्तिको पर्दाफास गर्छन् । कवितामा राष्ट्र बेच्नुको अर्थ भूगोल बेच्नु होइन, मूल्य, नैतिकता र जनताको विश्वास बेच्नु पनि हो । यसरी हेर्दा यो कविता समकालीन राजनीतिक संस्कृतिमाथिको गहिरो व्यग्य हो ।
मलाई जवाफ चाहिन्छ शीर्षकले नै यसको संरचना स्पष्ट पार्छ । यस कवितामा कविले उत्तर दिएका छैनन्, उत्तर मागेका छन् । ‘कहाँ पुग्यो समाजवाद ?’ भन्ने प्रश्न वास्तवमा सम्पूर्ण परिवर्तनकारी राजनीतिक आन्दोलनतर्फ निर्देशित नैतिक प्रश्न हो । कविले इतिहासलाई बिर्सन नसक्ने स्मृतिका रूपमा प्रस्तुत गरेका छन् । भेरी, रुकुम, थवाङजस्ता स्थानहरू कवितामा भूगोलका रूपमा होइन, बलिदानका प्रतीकका रूपमा उपस्थित छन् । कविका अनुसार समय बिते पनि विचारले बनाएका घाउ मेटिँदैनन् । त्यसैले इतिहास कुनै दिन जवाफ माग्न अवश्य फर्किन्छ ।

झिल्काहरूको योजनामा कविले परिवर्तनको द्वन्द्वात्मक प्रक्रियालाई काव्यात्मकरूपमा प्रस्तुत गरेका छन् । लामो समयसम्म अन्याय, भोक, अभाव र अपमान सहेर बसेको समाज अन्ततः विस्फोट हुन्छ । झिल्को सानो भए पनि त्यसले डढेलो निम्त्याउन सक्छ भन्ने रूपकले सत्तालाई चेतावनी दिन्छ । यहाँ कविले भ्यूटावर निर्माण भइरहँदा गाउँमा शिक्षा र स्वास्थ्य नपुगेको विडम्बनालाई पनि समेटेका छन् । विकासको भाषण र जनताको वास्तविक जीवनबीचको दूरीले नै प्रतिरोध जन्माउने कविको निष्कर्ष छ ।

मुखुण्डो विरुद्ध कविता बाह्य आदर्श र भित्री चरित्रबीचको द्वन्द्वमाथि केन्द्रित छ । बुद्धको भेषमा कसाई, रामको भेषमा रावण, न्यायको आवरणभित्र अन्यायजस्ता रूपकहरूले पाखण्डी राजनीतिक संस्कृतिको आलोचना गर्छन् । कविका अनुसार सत्यको मुखुण्डो लगाएर असत्य धेरै समय टिक्न सक्दैन । कुनै न कुनै दिन आवरण च्यातिन्छ र वास्तविक अनुहार सार्वजनिक हुन्छ । यो कविता प्रतिरोधको मात्र होइन, सत्य अन्ततः विजयी हुन्छ भन्ने विश्वासको पनि कविता हो ।

यस खण्डको अन्तिम कविता वर्गसंघर्षले सम्पूर्ण खण्डको वैचारिक निष्कर्ष प्रस्तुत गर्छ । किसान, श्रमिक र उत्पीडित वर्गको जीवनलाई कविले अत्यन्त यथार्थपरक ढंगले चित्रण गरेका छन् । विकासका आयोजना उनीहरूकै भूमिमा बन्छन्, सडक उनीहरूकै गाउँ हुँदै जान्छ, तर समृद्धिको लाभ उनीहरूलाई प्राप्त हुँदैन । यही असमानताबाट वर्गचेतना जन्मिन्छ । ‘बेल्चा चल्ने दिमागमा बन्छन् विचारका बन्दुक’ भन्ने पङ्क्तिले वर्गीय चेतनाको जन्मलाई अत्यन्त प्रभावकारी रूपमा व्यक्त गरेको छ । यस कविता पढ्दा कवि मार्क्सवादी वर्गदृष्टिकोणबाट समाजलाई व्याख्या गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ, तर त्यो वैचारिक आग्रह मात्र नभई नेपाली ग्रामीण यथार्थसँग जोडिएको अनुभूति पनि हो ।

भाषिक दृष्टिले हेर्दा ‘आक्रोशको आँधी’ का कविताहरू सरल, प्रत्यक्ष र संवादधर्मी छन् । कविले दुरूह प्रतीक र जटिल संरचनाभन्दा जीवनबाटै आएका बिम्ब र रूपकहरूलाई प्राथमिकता दिएका छन् । उनका कवितामा भाषणको लय, घोषणापत्रको ऊर्जा र गीतको संवेदनशीलता एकैसाथ भेटिन्छ । प्रश्नात्मक शैली, पुनरावृत्ति, व्यंग्य, विडम्बना र ऐतिहासिक सन्दर्भको प्रयोगले कवितालाई प्रभावशाली बनाएको छ । यद्यपि केही स्थानमा वैचारिक आग्रह यति प्रखर देखिन्छ कि कविता राजनीतिक वक्तव्यको नजिक पुगेको अनुभूति हुन्छ । काव्यात्मक बहुअर्थिताभन्दा प्रत्यक्ष सन्देश बलियो हुँदा केही कविता नारा वा घोषणापत्रजस्ता पनि लाग्न सक्छन् । तर यो कमजोरीभन्दा पनि कविको सचेत काव्यिक रणनीति हो, किनकि उनले कविता सौन्दर्यका लागि मात्र होइन, हस्तक्षेपका लागि लेखेका छन् ।
समग्रमा ‘आक्रोशको आँधी’ नेपाली समकालीन राजनीतिक कवितामा उल्लेखनीय उपस्थिति हो । यसले सत्ता परिवर्तनको मात्र कुरा गर्दैन, विचार, नैतिकता, इतिहास र जनउत्तरदायित्वको पुनर्समीक्षा गर्छ । केशव निमेषले यी कवितामार्फत पाठकलाई भावुक मात्र बनाउँदैनन्, असहज प्रश्नहरूको सामना गर्न बाध्य बनाउँछन् । यही कारण ‘आक्रोशको आँधी’ आक्रोशको मात्र काव्य होइन, इतिहाससँग गरिएको गम्भीर वैचारिक संवाद पनि हो । यहाँ कविता प्रतिरोधको भाषा बन्छ, स्मृतिको दस्तावेज बन्छ र भविष्यप्रतिको नैतिक प्रतिबद्धताको उद्घोष पनि बन्छ ।

यसभित्रका कविताहरुको समीक्षा क्रमशः प्रकाशन हुने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।