
लमही, साउन १९ । लुम्बिनी प्रदेशमा हुने अधिकांश सवारी दुर्घटनामा १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता देखिएकाले उनीहरूलाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ।
मंगलबार लमहीमा आयोजित प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा युवा उमेर समूह सबैभन्दा बढी प्रभावित रहेको बताउनुभयो। यसलाई प्रदेशकै प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै उहाँले विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी शिक्षा र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य गरी युवालाई ट्राफिक नियम, सुरक्षित सवारी सञ्चालन र जिम्मेवार नागरिकका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। यस अभियानमा प्रदेश सरकार आवश्यक साझेदारी गर्न तयार रहेको उहाँको भनाइ थियो।
मुख्यमन्त्री आचार्यले दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा सवारी दुर्घटना बढी हुने गरेको उल्लेख गर्दै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति, लागूऔषध सेवन तथा चालकको लापरबाही दुर्घटनाका प्रमुख कारण रहेको बताउनुभयो। लागूऔषध नियन्त्रणमा सबै सम्बन्धित निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले पुराना सवारीसाधन, गुणस्तरहीन सडक र प्राविधिक मापदण्डविपरीत निर्माण गरिएका सडकले पनि दुर्घटना बढाएको उल्लेख गर्नुभयो। बलियो र गुणस्तरीय सडक निर्माणसँगै ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न सके दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो।
मुख्यमन्त्री आचार्यले बालबालिकालाई कुलतबाट टाढा राख्न, समाजमा बढ्दो विकृति, विसंगति र अराजकता नियन्त्रण गर्न तथा दुर्घटनापछि घाइतेको समयमै उद्धार र उपचार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो भने आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले सडक सुरक्षा सम्बन्धी प्रशिक्षण अभियान सञ्चालन र कानुनको इमान्दारीपूर्वक पालना नै दुर्घटना न्यूनीकरणको प्रभावकारी उपाय भएको धारणा राख्नुभयो।
कार्यक्रममा प्रस्तुत पाँच वर्षको सडक दुर्घटना विश्लेषणअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म लुम्बिनी प्रदेशमा ७ हजार ८ सय ६६ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ हजार ५ सय २५ जनाको मृत्यु, ५ हजार ४ सय १६ जना गम्भीर घाइते र ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन्।
विश्लेषणअनुसार दुर्घटनामा संलग्न सवारीमध्ये ६ हजार २ सय ७१ वटा दुईपाङ्ग्रे रहेका छन्, जुन कुल दुर्घटनाको करिब ५७ प्रतिशत हो। अधिकांश दुर्घटना साँझ ६ बजेदेखि मध्यरातसम्म हुने गरेका छन् भने करिब ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ‘मृत्यु र गम्भीर घाइते शून्यमा झारौँ’ भन्ने लक्ष्यसहित सडक सुरक्षा प्रवर्द्धनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।





