
राप्तीसोनारी, साउन २७ राप्तीसोनारी गाउँपालिकामा दुई करोड रुपैयाँ लागतमा निर्माण गरिएको ६४० क्विन्टल क्षमताको शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमका बीच शीत भण्डारको उद्घाटन गरेका हुन् ।
साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमा शंकर वलीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत हाकिम मणिराम खराल, वडा नं. ४ का अध्यक्ष मिनराज खड्का लगायत जनप्रतिनिधि, सहकारीकर्मी र स्थानीय कृषकहरूको सहभागिता रहेको थियो ।
उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शीत भण्डार सञ्चालनमा आएपछि राप्तीसोनारीका किसानले उत्पादन गरेको आलु तथा अन्य कृषि उपज सुरक्षित रूपमा भण्डारण गर्न सक्ने बताए । उनले बजार अभाव वा मूल्य घटेका बेला किसानले तत्काल बिक्री गर्नुपर्ने बाध्यता कम हुने उल्लेख गर्दै कृषि उत्पादनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन यस्ता पूर्वाधार अत्यन्त आवश्यक रहेको बताए ।
अध्यक्ष पौडेलले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सिंचाइ, कृषि यान्त्रीकरण, भण्डारण तथा बजारीकरणसँग सम्बन्धित योजनाहरूलाई निरन्तर अघि बढाइरहेको पनि जानकारी दिए । ॅकिसानको उत्पादनलाई सुरक्षित राख्ने र उचित मूल्य दिलाउने दिशामा यो शीत भण्डार महत्वपूर्ण आधार बन्नेछ,’ उनले भने ।
गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले शीत भण्डारले विशेष गरी आलु उत्पादक किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिन् । उनले उत्पादनपछि भण्डारणको सुविधा नहुँदा किसानले कम मूल्यमा उपज बिक्री गर्नुपर्ने अवस्था अन्त्यतर्फ जाने बताउँदै महिलासहित साना तथा मध्यम किसानलाई यस पूर्वाधारले ठूलो राहत दिने धारणा राखिन् ।
साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमा शंकर वलीका अनुसार हाल शीत भण्डारमा करिब २१० क्विन्टल आलु भण्डारण गरिएको छ । उनले शीत भण्डार सञ्चालनसँगै किसानलाई गुणस्तरीय भण्डारण सेवा उपलब्ध गराइने र आगामी दिनमा यसको उपयोग थप विस्तार गरिने बताए ।
राप्तीसोनारी गाउँपालिका कृषि उत्पादनका हिसाबले बाँकेको महत्वपूर्ण क्षेत्र मानिन्छ । स्थानीय कृषकले उत्पादन गर्ने आलु, तरकारी तथा अन्य कृषि उपजलाई सुरक्षित भण्डारण गर्ने सुविधा अभाव भइरहेका बेला शीत भण्डार सञ्चालनमा आएकाले किसानको उत्पादन व्यवस्थापन र आम्दानी वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
कपिलवस्तु, साउन २६ बाहिर मुसलधारे वर्षा भइरहेको थियो । सडकमा गाडीको गति सुस्त थियो । एम्बुलेन्सभित्र भने १९ वर्षीया सुशीला कुमाल जीवनको अन्तिम आशा बोकेर उपचारको पर्खाइमा थिइन् । विषालु गोमन सर्पले डसेपछि उनको शरीरमा विष फैलिँदै थियो । सास फेर्न गाह्रो भइरहेको थियो, आँखा निद्राले लठ्ठिँदै थिए । उपचार केन्द्र पुग्न अझै समय लाग्ने थियो । तर त्यो समय कुर्नु उनका लागि जोखिमपूर्ण थियो ।
राति करिब १० बजे शिवराज नगरपालिका–५ स्थित शिवपुर चोकमा एउटा एम्बुलेन्स आएर रोकियो । केहीबेरमै अर्को एम्बुलेन्स पनि त्यहीँ आइपुग्यो । एउटा एम्बुलेन्समा थिइन् सर्पको विषसँग संघर्ष गरिरहेकी सुशीला, अर्कोमा थियो एन्टिस्नेक भेनमसहितको प्राविधिक टोली । त्यसपछि अस्पतालको शय्या होइन, सडक किनारमै रोकिएको एम्बुलेन्स उपचार कक्ष बन्यो । प्युठानको सरुमारानी गाउँपालिकाकी सुशीलालाई साँझ करिब ५ बजे घाँस काट्ने क्रममा विषालु गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि परिवारले तत्काल उपचारका लागि पहल गरे । तर देशभर एन्टिस्नेक भेनमको अभाव रहेको खबर सार्वजनिक भइरहेका बेला परिवारमा चिन्ता थपियो । उपचार पाइने हो कि होइन भन्ने अन्योलबीच उनीहरूले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा एन्टिस्नेक भेनम उपलब्ध रहेको जानकारी पाए ।
सुशीलालाई उपचारका लागि कपिलवस्तु ल्याउने तयारी भयो । तर उपचार केन्द्र पुग्न झन्डै तीन घण्टा लाग्ने अवस्था थियो । त्यसमाथि बाहिर मुसलधारे वर्षा भइरहेको थियो । बाटोमा गाडी तीव्र गतिमा चलाउन सकिने अवस्था थिएन । यात्राका क्रममा सुशीलाको अवस्था झन् गम्भीर बन्दै गयो । उनलाई सास फेर्न कठिन भयो । अत्यधिक निद्रा लाग्न थाल्यो । विषको प्रभाव बढ्दै गएको अनुमान गर्दै परिवारले उपचार केन्द्रलाई बाटोमै खबर गर्यो । राति करिब ८ बजे सूचना पाएपछि उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीको नेतृत्वमा नेपाली सेना शमशेर दल गणको प्राविधिक टोली एन्टिस्नेक भेनमसहित एम्बुलेन्स लिएर बिरामीको उद्धारका लागि निस्कियो ।
दुई घण्टापछि शिवपुर चोकमा दुवै एम्बुलेन्स भेटिए । उपचार केन्द्र पुग्नुअघि नै सुशीलाको उपचार सुरु गरियो । सडक किनारमा रोकिएको एम्बुलेन्सभित्रै उनलाई तत्काल १० भायल एन्टिस्नेक भेनम दिइयो । आवश्यक उपचार सुरु भयो । करिब तीन घण्टासम्म एम्बुलेन्समै उपचार गरेपछि सुशीलाको अवस्थामा सुधार आयो । त्यसपछि उनलाई गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा लगियो । अस्पतालको शय्यामा पुग्नुअघि नै उनको जीवन बचाउने निर्णायक उपचार भने सडकमा भइसकेको थियो । सुशीलाको घटना कपिलवस्तु सर्पदंश उपचार केन्द्रका लागि नयाँ होइन । पछिल्लो समय उपचार केन्द्रसम्म पुग्दा बाटोमै बिरामीको अवस्था बिग्रने र मृत्यु हुने घटना बढेपछि केन्द्रले दुई वर्षअघि सडकमै उद्धार तथा उपचार अभियान सुरु गरेको हो ।
उपचार केन्द्रका व्यवस्थापक भण्डारीका अनुसार पछिल्लो दुई वर्षमा ५० भन्दा बढी सर्पदंशका बिरामीको सडकमा नै उपचार गरेर ज्यान बचाइएको छ । चालु सिजनमा मात्रै गम्भीर अवस्थामा रहेका १० जनालाई सडकमा उपचार गरेर बचाइएको उनले बताए । ‘बिरामीलाई उपचार केन्द्रसम्म ल्याउँदा बाटोमै अवस्था बिग्रने र ज्यान जाने जोखिम हुन्छ,’ उनले भने, ‘त्यसैले सूचना पाउनासाथ औषधि र प्राविधिक टोलीसहित एम्बुलेन्स पठाएर बीच बाटोमै उपचार गर्ने व्यवस्था गरेका छौँ ।’
पछिल्लो एक सातामै कञ्चन गाउँपालिकाका रामरथी थारू र सरुमारानी गाउँपालिकाका समुन्द्र विकलाई पनि गम्भीर अवस्थामा सडकबाटै उद्धार गरी उपचार गरिएको केन्द्रले जनाएको छ । सर्पदंशका बिरामीका लागि समय नै सबैभन्दा ठूलो चुनौती हो । विषालु सर्पले डसेपछि शरीरमा विष फैलिँदै जाँदा श्वासप्रश्वासमा समस्या देखिन सक्छ । समयमै एन्टिस्नेक भेनम नपाए अवस्था झन् गम्भीर बन्न सक्छ । ग्रामीण क्षेत्रबाट उपचार केन्द्रसम्म पुग्न लाग्ने लामो समय, वर्षायाममा सडकको अवस्था र यातायातको कठिनाइले जोखिम अझ बढाउने गरेको छ । यही कारण कपिलवस्तु सर्पदंश उपचार केन्द्रले बिरामीलाई उपचार केन्द्रमा ल्याउने मात्रै होइन, बिरामी भएको ठाउँसम्म उपचार पुर्याउने अभ्यास थालेको हो ।
एम्बुलेन्स सामान्यतया बिरामीलाई अस्पतालसम्म पुर्याउने साधन हो । तर गोरुसिङ्गेको सर्पदंश उपचार केन्द्रका लागि पछिल्लो समय एम्बुलेन्स नै उपचारको पहिलो थलो बन्न थालेको छ । गम्भीर बिरामीको सूचना आएपछि एन्टिस्नेक भेनम र प्राविधिक टोलीसहित एम्बुलेन्स बाटोमै निस्किन्छ । बिरामी भेटिएपछि अवस्था हेरेर तत्काल उपचार सुरु गरिन्छ । सुशीलाको हकमा पनि यही भयो । अस्पताल पुग्नुअघि नै उनलाई एन्टिस्नेक भेनम दिइयो । एम्बुलेन्सभित्रै उपचार सुरु भयो । अवस्था सुधार भएपछि मात्रै उनलाई उपचार केन्द्रमा लगियो । कपिलवस्तुको गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा कपिलवस्तुका मात्रै होइन, रुपन्देही, दाङ, प्युठान र अर्घाखाँचीबाट समेत बिरामी आउने गरेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका भारतीय नागरिकसमेत उपचारका लागि यहाँ पुग्ने गरेका छन् । चालु सिजनमा मात्रै तीन सयभन्दा बढी सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएको व्यवस्थापक भण्डारीले बताए ।
वर्षायाममा सर्पदंशका घटना बढ्ने गरेका छन् । खेतबारीमा काम गर्दा, घाँस काट्दा, जंगल जाँदा वा घरआँगनमै पनि सर्पले डस्ने गरेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्था टाढा हुँदा सामान्य देखिने सर्पदंशको घटना पनि केही घण्टामै जीवनमरणको संकटमा परिणत हुन सक्छ । सुशीलाको घटनाले यही जोखिमलाई फेरि देखाएको छ । सर्पले डसेको केही घण्टामै उनको अवस्था गम्भीर बन्यो । उपचार केन्द्र टाढा थियो । वर्षाका कारण यात्रा सहज थिएन । तर बीच बाटोमै उपचार टोली पुगेपछि उपचार रोकिएन । सर्पदंशको उपचारमा औषधि उपलब्ध हुनु जति महत्वपूर्ण छ, त्यो औषधि बिरामीसम्म समयमै पुग्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कपिलवस्तु सर्पदंश उपचार केन्द्रले सुरु गरेको सडक उद्धार अभियानले यही आवश्यकता पूरा गर्ने प्रयास गरिरहेको छ । तर हरेक बिरामीका लागि एम्बुलेन्स सडकमा पुग्न सक्ने अवस्था सधैँ सम्भव हुँदैन । सर्पदंशको जोखिम भएका क्षेत्रमा पर्याप्त एन्टिस्नेक भेनमको भण्डारण, नजिकै उपचारको व्यवस्था र तत्काल उद्धार प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
सुशीलाका लागि भने त्यो रात उपचार केन्द्रको एम्बुलेन्स समयमै सडकमा पुग्यो । विष शरीरमा फैलिँदै थियो, अस्पताल टाढा थियो र बाहिर पानी परिरहेको थियो । तर उपचार सुरु गर्न अस्पतालको ढोका कुर्नुपरेन । सडक किनारमा रोकिएको एउटा एम्बुलेन्स नै उनका लागि त्यस रात अस्पताल बन्यो । त्यहीँ दिइएको एन्टिस्नेक भेनम र गरिएको उपचारले उनलाई मृत्युको मुखबाट फर्कायो ।
नेपालगन्ज, साउन २७ क्यान्सर उपचारका लागि आवश्यक कार्बोप्लाटिन र सिसप्लाटिन औषधी चार महिनादेखि नपाउँदा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा किमोथेरापी गराइरहेका बिरामी समस्यामा परेका छन् । अस्पतालको फार्मेसीमै औषधी उपलब्ध नभएपछि बिरामीका आफन्त बाहिरी बजारसँगै भारतसम्म पुगेर औषधी जुटाउन बाध्य भएका छन् ।
अस्पतालका अनुसार किमोथेरापीमा नियमित प्रयोग हुने यी दुवै औषधी लामो समयदेखि आपूर्ति हुन सकेको छैन । औषधी अभावले उपचार प्रक्रिया प्रभावित हुनुका साथै बिरामी र आफन्तमाथि थप आर्थिक भारसमेत परेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईका अनुसार करिब चार महिनादेखि अस्पतालको फार्मेसीमा कार्बोप्लाटिन र सिसप्लाटिन उपलब्ध छैन । अस्पताललाई औषधी आपूर्ति गर्दै आएको काठमाडौँस्थित नागार्जुन फार्मेसीले नै औषधी उपलब्ध नभएको जानकारी गराएपछि आपूर्ति रोकिएको उनले बताए ।
‘क्यान्सर उपचारमा नियमित प्रयोग हुने अत्यावश्यक औषधी लामो समयदेखि उपलब्ध नहुँदा उपचारमा समस्या भएको छ,’ उनले भने । अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार औषधी अभावका कारण अधिकांश बिरामीको किमोथेरापी प्रभावित भएको छ । कार्बोप्लाटिन र सिसप्लाटिन क्यान्सर उपचारमा महत्वपूर्ण औषधी भएकाले यसको आपूर्ति तत्काल सहज नभए उपचारमा थप जटिलता आउन सक्ने उनले बताए ।
अस्पतालको फार्मेसी विभागका प्रमुख दिनेश नेपालीले पनि चार महिनादेखि काठमाडौँबाट औषधी नआएको बताए । औषधी उपलब्ध गराउन आपूर्तिकर्तालाई पटक–पटक ताकेता गरिए पनि आपूर्ति हुन नसकेको उनले जानकारी दिए । आपूर्तिकर्ता नागार्जुन फार्मेसीका सञ्चालक प्रेम जेठाराले भने कच्चा पदार्थको मूल्य बढेका कारण औषधी आयातमा समस्या भएको बताए । उनका अनुसार प्लाटिनम समूहका कच्चा पदार्थको मूल्य बढेपछि औषधी उत्पादनको लागतसमेत बढेको छ । त्यसको असर कार्बोप्लाटिन र सिसप्लाटिनको आपूर्तिमा परेको उनले बताए ।
नेपालमा औषधीको मूल्य समायोजन हुन नसक्दा आयातकर्ताले घाटामा औषधी ल्याउन नसकेको जेठाराको भनाइ छ । भारतलगायतका देशमा समेत कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढेको उनले बताए । औषधी अभावको प्रत्यक्ष मार किमोथेरापीका लागि टाढा–टाढाबाट खजुरा आउने बिरामीले खेपिरहेका छन् । बाजुराबाट उपचारका लागि आएका मनोज थापाका आफन्तले अस्पतालमै औषधी नपाएपछि बाहिर खोज्नुपरेको बताए । ‘अस्पतालमा औषधी नपाएपछि भारतबाट समेत ल्याउनुपर्ने अवस्था आएको छ । यसले उपचार खर्चसँगै झन्झट पनि बढाएको छ,’ उनले भने ।
अस्पतालमा उपचाररत बिरामीले नियमित किमोथेरापीका लागि आवश्यक औषधी आफैं खोजेर ल्याउनुपर्ने अवस्था बनेपछि उपचार खर्चसमेत बढेको छ । विशेषगरी दुर्गम जिल्लाबाट उपचारका लागि आउने बिरामीलाई औषधी खोज्न अर्को ठाउँ धाउनुपर्ने बाध्यता थपिएको छ । चिकित्सकका अनुसार कार्बोप्लाटिन र सिसप्लाटिन पाठेघर, स्तन, फोक्सो, मिर्गौला, मूत्राशय तथा पुरुष प्रजनन अङ्गसम्बन्धी विभिन्न क्यान्सरको उपचारमा किमोथेरापीका क्रममा प्रयोग हुने औषधी हुन् । यी औषधीको नियमित आपूर्ति नहुँदा उपचारको निरन्तरतामा असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् । क्यान्सरजस्तो जटिल रोगको उपचारमा औषधी अभाव लामो समयसम्म कायम रहँदा बिरामीको उपचारसँगै आर्थिक र मानसिक समस्या पनि थपिने भएकाले तत्काल आपूर्ति सहज बनाउनुपर्ने अस्पतालको भनाइ छ ।
रौतहट, साउन २७ गते । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ भने एक बालिका अझै बेपत्ता छन् ।
बेपत्ता भएका करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुनमध्ये महमद रमतुलाह र सबनम खातुनको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महमद रमतुलाहको शव घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोलाको किनारमा बिहान ७ः३० बजे फेला परेको हो । सोही स्थानमा सबनम खातुनको शव पनि फेला परेको थियो । दुवै शव करिब २०० मिटरको दूरीमा भेटिएका हुन् ।
तीनै बालबालिका मंगलबार लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । घटना लगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा सात जना प्रहरी परिचालन गरिएको थियो ।
त्यस्तै, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको नेतृत्वमा पाँच जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा रबर बोर्डसहितको टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो ।
मृतक दुई बालबालिकाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता रौशन खातुनको खोजी कार्य भने जारी रहेको छ ।
सल्यान, साउन २७ घरपरिवार, छिमेक र चिनजानकै घेराभित्र सुरक्षित हुनुपर्ने महिला तथा बालिका त्यही घेराबाटै हिंसाको सिकार बन्न थालेका छन् । सल्यानमा पछिल्ला वर्षमा दर्ता भएका बलात्कार तथा बलात्कार उद्योगका घटनाको प्रकृति हेर्दा अपरिचितभन्दा आफन्त, छिमेकी र चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको तथ्यले महिला तथा बालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । गत असार १२ गते सिद्धकुमाख गाउँपालिकामा भएको घटना यसको एउटा उदाहरण हो । घरमा कोही नभएको मौका छोपेर छिमेकी ३० वर्षीय पुरुषले २६ वर्षीया सुस्त मनस्थितिकी महिलालाई विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको आरोप लागेको थियो । पीडितले परिवारलाई घटना सुनाएपछि भोलिपल्ट जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी परेको थियो । स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी मुद्दा चलाएको थियो । अदालतको आदेशपछि उनी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
त्यसको दुई दिनपछि, असार १४ गते, घरभित्रै अर्को गम्भीर घटना सार्वजनिक भयो । आफ्नै दाइकी ९ वर्षीया छोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परे । घटनाबारे हजुरआमाले थाहा पाएपछि प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । पक्राउ परेका अभियुक्त हाल पुर्पक्षका लागि कारागारमा छन् । यी दुई घटना केही दिनको अन्तरालमा सार्वजनिक भएका प्रतिनिधिमूलक घटना मात्रै हुन् । प्रहरीको तथ्यांकले पनि सल्यानमा महिला तथा बालिकामाथि हुने यौन हिंसाको जोखिम घरपरिवार र नजिकको सामाजिक सम्बन्धभित्रै बढी रहेको देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७९ मा बलात्कार तथा बलात्कार उद्योगका २८ वटा घटना दर्ता भएका थिए । २०८० मा २७, २०८१ मा २६ र आर्थिक वर्ष २०८२/८३ मा २४ वटा घटना दर्ता भएका छन् । तथ्यांकमा घटनाको संख्या केही घट्दो देखिए पनि अपराधको प्रकृति भने चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । दर्ता भएका घटनामध्ये १५ भन्दा बढीमा आफन्तकै संलग्नता देखिएको प्रहरीले जनाएको छ । बाँकी घटनामा पनि अधिकांश छिमेकी वा चिनेजानेका व्यक्तिको संलग्नता रहेको पाइएको छ । पीडितमध्ये महिला र बालिकाको संख्या पनि लगभग बराबर रहेको प्रहरीको तथ्यांक छ ।
प्रहरीका अनुसार महिला तथा बालिकामाथि हुने यौन हिंसामा अपरिचित व्यक्तिभन्दा विश्वासको सम्बन्धमा रहेका व्यक्तिको संलग्नता बढी देखिनु चुनौतीपूर्ण पक्ष हो । परिवारका सदस्य, आफन्त, छिमेकी वा नियमित सम्पर्कमा रहने व्यक्तिमाथि विश्वास हुने भएकाले उनीहरूबाट हुने जोखिमबारे परिवारले सहजै शंका नगर्ने अवस्था हुन्छ । यही विश्वासको दुरुपयोग गर्दै कतिपयले महिला तथा बालिकामाथि हिंसा गर्ने गरेको प्रहरीको अनुभव छ । मानवअधिकारकर्मीहरूका अनुसार यस्ता घटनाको वास्तविक संख्या प्रहरीमा दर्ता भएको भन्दा बढी हुनसक्छ । सामाजिक प्रतिष्ठा, पारिवारिक सम्बन्ध बिग्रने डर, पीडितलाई नै दोष दिने सामाजिक सोच र आर्थिक तथा सामाजिक दबाबका कारण कतिपय घटना बाहिर आउन नसकेको उनीहरूको भनाइ छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा घटना भएपछि प्रहरी तथा न्यायिक प्रक्रियामा जानुभन्दा गाउँमै मिलाउने प्रयास हुने गरेको पाइन्छ । बलात्कारजस्तो गम्भीर आपराधिक घटनामा समेत पीडित र पीडक पक्षबीच मिलापत्र गराउने अभ्यासले अपराधीलाई थप प्रोत्साहन गर्ने र पीडितलाई न्यायबाट वञ्चित गर्ने जोखिम रहन्छ ।
स्थानीय तहका जनप्रतिनिधि तथा अधिकारकर्मीका अनुसार महिला र बालिकामाथिको हिंसा रोक्न कानुनी कारबाहीसँगै सामाजिक सोचमा परिवर्तन आवश्यक छ । परिवार, विद्यालय, समुदाय र स्थानीय सरकार सबै तहबाट लैङ्गिक हिंसाविरुद्ध निरन्तर सचेतना आवश्यक देखिन्छ । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग, मदिरा तथा लागुऔषधको प्रभाव, अभिभावकको बेवास्ता र महिला तथा बालिकाको कमजोर निगरानीजस्ता पक्षलाई पनि यौन हिंसासँग जोडेर हेरेको छ । सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग सम्पर्क बढ्ने, प्रलोभनमा पार्ने वा सम्बन्धको दुरुपयोग गर्ने घटना पनि चुनौतीका रूपमा देखिन थालेका छन् ।
बालिकाको हकमा परिवारभित्रै हुने जोखिम अझ संवेदनशील हुन्छ । घरमै परिचित व्यक्तिको उपस्थितिलाई सामान्य रूपमा लिइने भएकाले बालिकाले असहज व्यवहार वा हिंसाबारे तत्काल बताउन नसक्ने अवस्था हुन सक्छ । त्यसैले अभिभावकले बालबालिकाको व्यवहारमा आएको परिवर्तन, डर, असहजता वा असामान्य सम्बन्धलाई बेवास्ता नगर्नुपर्ने अधिकारकर्मीहरू बताउँछन् । यौन हिंसाबाट पीडित महिला तथा बालिकालाई न्याय दिलाउन घटना सार्वजनिक भएपछि मात्रै सक्रिय हुनेभन्दा रोकथाममै ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
विद्यालय तहदेखि नै बालबालिकालाई सुरक्षित र असुरक्षित स्पर्शबारे जानकारी दिने, अभिभावकलाई सचेत बनाउने, समुदायमा हुने मिलापत्रको अभ्यास रोक्ने र पीडितलाई सहज रूपमा उजुरी गर्न सक्ने वातावरण बनाउने काम आवश्यक छ । सल्यानको पछिल्लो तथ्यांकले एउटा महत्वपूर्ण सन्देश दिएको छ—महिला र बालिकाका लागि जोखिम सधैँ अपरिचित व्यक्तिबाट मात्र हुँदैन । कहिलेकाहीँ सबैभन्दा नजिकको सम्बन्ध, चिनजान र विश्वासकै घेराभित्र अपराध लुकेको हुन्छ । त्यसैले महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्न बाहिरी जोखिमको निगरानीसँगै घर, परिवार र समुदायभित्रको व्यवहार र सम्बन्धमाथि पनि संवेदनशील दृष्टि आवश्यक देखिएको छ ।





