
रसुवा, भदौ–१० गते। रसुवामा आएको विनाशकारी बाढीपछि सशस्त्र प्रहरी बल, नेपालले प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य सेवा र सम्भावित थप जोखिम न्यूनीकरणका लागि ठूलो संख्यामा जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको छ। बाढीका कारण जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि हराइरहेका व्यक्तिको खोजी, सडक खुलाउने, स्वास्थ्य सेवा र राहत सामग्री पुर्याउने कामलाई सशस्त्र प्रहरीले प्राथमिकतामा राखेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा गम्भीर घाइतेको तत्काल उद्धार तथा प्राथमिक उपचारका लागि Mass Casualty Vehicles सहितको चिकित्सा तथा उद्धार टोली परिचालन गरिएको छ। प्रभावितको थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा आवश्यक बेडसमेत खाली राखिएको सशस्त्र प्रहरीले जनाएको छ। सम्भावित विपद्का लागि नुवाकोट, धादिङ र चितवनमा रहेका सशस्त्र प्रहरीका युनिटलाई समेत उच्च सतर्कतामा राखिएको छ।
नदी किनारका जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै सशस्त्र प्रहरीले गाडी र गस्ती टोलीमार्फत साइरन बजाउने तथा माइकिङ गर्ने काम गरिरहेको छ। नुवाकोटको विदुरमा अस्थायी हेल्थ क्याम्प स्थापना गरी सेवा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।
आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका Disaster Relief System (DRS) कन्टेनर आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउन थालिएको छ। देशका अन्य भागमा रहेका DRS कन्टेनरलाई समेत बाढी प्रभावित क्षेत्रमा केन्द्रित गरी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीका कारण नदी किनारका बस्ती, मुख्य सडक तथा कोरिडोरमा खसेका पहिरो हटाएर उद्धार र अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम पनि तीव्र पारिएको छ। थुनिएका वा हराइरहेका नागरिकको खोजी तथा बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन ड्रोन परिचालन गरिएको छ।
रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा बाढीले पुरिएका व्यक्तिको खोजीका लागि K9 Sniffer Dogs सहितको खोज तथा उद्धार टोलीसमेत परिचालन गरिएको छ। उद्धार कार्यलाई सहज बनाउन प्रभावित क्षेत्रमा आपत्कालीन हेलिप्याड (Landing Zones) तयार पार्ने काम भइरहेको छ, जसबाट नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरको सुरक्षित उडान र अवतरण गर्न सहज हुने अपेक्षा गरिएको छ।
यसैबीच, भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप हिमताल विस्फोट (GLOF) वा बाढीको जोखिमबारे पूर्वसूचना प्राप्त गर्न चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर सम्पर्क र सूचना आदानप्रदान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीका कारण विस्थापित नागरिक बसेका शिविरमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न नदिन आपत्कालीन खानेपानी शुद्धीकरणका औषधि वितरण गर्नसमेत सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ। सशस्त्र प्रहरीले तत्कालीन उद्धार तथा राहतसँगै सम्भावित थप विपद् रोकथाम र जोखिम न्यूनीकरणलाई समान प्राथमिकतामा राखेर प्रभावित क्षेत्रमा विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ।
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन सरकारले सेवा प्रदायकलाई सक्रिय बनाएको छ। प्रभावित जिल्लामा फोन सेवा निःशुल्क भइसकेको र डाटा सेवा पनि निःशुल्क उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले बाढीका कारण सञ्चार सम्पर्कविहीन भएका क्षेत्रमा सेवा छिटो सञ्चालन गर्न पहल भइरहेको जानकारी दिएका हुन्। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन सम्बन्धित निकाय र सेवा प्रदायकबीच आवश्यक समन्वय गरी काम गर्न निर्देशन दिइएको उनले बताए। विपद्का बेला उद्धार, राहत तथा सूचनाको आदानप्रदान सहज बनाउन सञ्चार सेवा नियमित गर्न सरकारले प्राथमिकता दिएको छ।
रसुवा, भदौ १० गते । भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले रसुवाको टिमुरे बजारसहितको बस्ती बगाउँदा त्यहाँ सञ्चालित आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ।
बाढीले टिमुरेमा रहेका माछापुच्छ्रे, सानिमा, नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आइएमई र इन्भेस्टमेन्ट मेगा बैंकका शाखा कार्यालयमा क्षति पुगेको बैंकर्स संघले जनाएको छ। बाढीले बस्ती नै बगाएपछि ती शाखाका कार्यालय तथा संरचनाको अवस्था गम्भीर रहेको बताइएको छ।
बाढीपछि टिमुरे क्षेत्रमा सञ्चार सेवा समेत अवरुद्ध भएकाले बैंकका कुनै पनि कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। कर्मचारीको अवस्था र बैंकका कार्यालयमा भएको क्षतिको यकिन विवरणसमेत संकलन गर्न नसकिएको बैंकर्स संघले जनाएको छ।
घटनापछि बैंकिङ क्षेत्रको अवस्थाबारे छलफल गर्न बुधबार बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेको थियो। बैठकले टिमुरेमा रहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको उद्धार तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्ने निर्णय गरेको संघका अध्यक्ष सन्तोष कोइरालाले बताए।
‘उद्धारका लागि नेपाली सेना, प्रहरीलगायत विभिन्न निकायमा अनुरोध गरिसकेका छौं,’ उनले भने, ‘अहिले कुनै पनि कर्मचारी सम्पर्कमा छैनन्। टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण संकलन गर्न कठिन भएको छ।’
भोटेकोशीमा आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएपछि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयसमेत प्रभावित भएका हुन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्रै कर्मचारीको अवस्था र बैंकका भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण प्राप्त हुने संघले जनाएको छ।
रमुवा, भदौ–१० गते। रसुवामा आएको आकस्मिक बाढीले जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याउँदा करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् प्रणालीबाट बाहिर गएको हो।
प्राधिकरणले बुधबार जारी गरेको सूचनामा बाढीका कारण जनधनमा अपूरणीय क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।
बाढीका कारण प्राधिकरणको उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको छ। रसुवागढी, चिलिमे, त्रिशूली–३ एलगायतका जलविद्युत् आयोजना तथा त्रिशूली–३ बी हब २२० केभी सबस्टेसनलगायतका संरचनामा समेत असर परेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बाढीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा स्थानान्तरण हुन प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत आग्रह गरेको छ। बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको अवस्था पहिचान गरी विद्युत् प्रणालीलाई सुरक्षित र सम्भव भएसम्म शीघ्र सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको प्राधिकरणले जनाएको छ।



