
बाजुराका नागरिकका भनाइले भने राजनीतिक परिवर्तनभन्दा बाहिरको अर्को कठोर यथार्थ देखाउँछन्, ‘विकासको असमानता ।’ बाजुराका हिमाल सार्की भन्छन्, ‘दुःख पाइरहेका छन् । सुविधा छैन । सडक छैन । विकट छ । बाढीपहिरोले मान्छे घर जानै सक्दैनन् ।’ यो भनाइले राज्यको विकास नीति अझै पनि भौगोलिकरूपमा समान हुन नसकेको प्रश्न उठाउँछ । बाजुराकै राजन सार्कीको धारणा अझै राजनीतिक परिवर्तनसँग जोडिएको छ । ‘आन्दोलन, सरकार जे फेरिए पनि विकटको विकास हुँदैन,’ उनी भन्छन् ।
बाँके, भदौ २४ गते । सरकार गठनसँगै सुशासन, पारदर्शिता, अनुशासन र मितव्यिताको प्रतिबद्धता सार्वजनिक भयो । आन्दोलनपछि राज्य सञ्चालनको शैलीमा परिवर्तन आउने र नागरिकले त्यसको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा पनि बढ्यो । तर जाजरकोट, बाजुरा र बाँकेका नागरिकका अनुभव सुन्दा परिवर्तनको तस्विर भने फरक छ । यहाँका नागरिकले सुधार काठमाडौं र केही सीमित क्षेत्रमा मात्र देखिएको, मोफसल र विकट क्षेत्रमा पुग्न नसकेको गुनासो गरेका छन् ।
जाजरकोटकी मनिषा विकको अनुभवले सरकारको प्रारम्भिक उत्साह र अहिलेको अवस्थाबीचको अन्तर देखाउँछ । ‘सरकार गठन हुँदा १/२ हप्ता सुशासन, अनुशासन, पारदर्शिता र काममा मितव्ययिता देखिए पनि अहिले बिस्तारै पुरानै लयमा जाँदैछ,’ उनी भन्छिन् । सरकारी कामकाजमा सुधार हुँदै गएको स्वीकार गरे पनि त्यो पर्याप्त नभएको उनको निष्कर्ष छ । यसले सरकारका लागि मुख्य चुनौती सुधार सुरु गर्नु मात्र नभई त्यसलाई निरन्तरता दिनु रहेको देखाउँछ । नयाँ नेतृत्व आएपछि केही समय देखिने सक्रियता र पारदर्शितालाई संस्थागत गर्न नसक्दा पुरानै कार्यशैली फर्किने जोखिम रहन्छ । नागरिकको अपेक्षा पनि यहीँ जोडिएको छ, ‘सरकार परिवर्तनसँगै केही दिनको उत्साह होइन, निरन्तर सुधार ।’
जाजरकोटकै रोशनी विक भने आन्दोलन र परिवर्तनका नाममा हुने हिंसात्मक गतिविधिप्रति असन्तुष्ट छिन् । ‘काम हुनु पर्ने हो । मान्छे मरे । तर किन मरे, सोहीअनुसार हुनुपर्छ,’ उनी भन्छिन् । उनको भनाइमा आन्दोलनका कारण, त्यसमा भएको क्षति र ज्यान गुमाएका नागरिकको विषयलाई गम्भीररूपमा बुझ्नुपर्ने आवश्यकता छ । ‘आगजनी पर्नु थिएन,’ उनको स्पष्ट धारणा छ । अर्थात् नागरिकले परिवर्तन चाहेका छन्, तर त्यसको बाटो हिंसा, आगजनी र सार्वजनिक सम्पत्तिको क्षतिबाट होइन, काम र परिणामबाट हुनुपर्ने उनीहरूको धारणा छ । सरकारमाथिको असन्तुष्टिलाई सम्बोधन गर्ने जिम्मेवारी राज्यको भए पनि सार्वजनिक सम्पत्तिमाथिको क्षतिलाई सामान्यरूपमा लिन नसकिने रोशनीको भनाइले देखाउँछ ।
बाजुराका नागरिकका भनाइले भने राजनीतिक परिवर्तनभन्दा बाहिरको अर्को कठोर यथार्थ देखाउँछन्, ‘विकासको असमानता ।’ बाजुराका हिमाल सार्की भन्छन्, ‘दुःख पाइरहेका छन् । सुविधा छैन । सडक छैन । विकट छ । बाढीपहिरोले मान्छे घर जानै सक्दैनन् ।’ यो भनाइले राज्यको विकास नीति अझै पनि भौगोलिकरूपमा समान हुन नसकेको प्रश्न उठाउँछ । बाजुराकै राजन सार्कीको धारणा अझै राजनीतिक परिवर्तनसँग जोडिएको छ । ‘आन्दोलन, सरकार जे फेरिए पनि विकटको विकास हुँदैन,’ उनी भन्छन् । उनको भनाइमा सरकार वा व्यवस्था परिवर्तनलाई विकासको पर्याय मान्न सकिँदैन । नागरिकको जीवनमा सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र अन्य आधारभूत सेवाको सुधार नआएसम्म परिवर्तनको अनुभूति अधुरै रहन्छ । तर सबै नागरिकको धारणा नकारात्मक छैन । मनिष सार्कीले विगतमा देखिएको भ्रष्टाचार र विकृतिबाट सुधारतर्फ जाने प्रयास भइरहेको बताएका छन् । ‘भ्रष्टाचार भयो, विकृति भयो । सुधार हुने चरणमा छ,’ उनको भनाइ छ । यसले नागरिक तहमा परिवर्तनको केही सकारात्मक संकेतसमेत देखिएको बुझाउँछ ।
मदनचोकका प्रवीण बुढा पनि पछिल्लो परिवर्तनलाई सकारात्मक रूपमा हेर्छन् । ‘परिवर्तन भएको छ । विकास गतिशील भइरहेको छ । समस्या समाधान हुने प्रयास भएको छ,’ उनी भन्छन् । विगतमा कर्मचारीलगायतबाट घुस खाने र आफन्तमुखी हुने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले अहिले त्यस्तो अवस्था नरहेको दाबी गरे । उनका अनुसार कानुनी राज्य, निष्पक्षता र नागरिकको अधिकार सुनिश्चित गर्ने दिशामा सुधार भइरहेको छ । उनले जेनजी आन्दोलनलाई पनि परिवर्तनको महत्त्वपूर्ण आधारका रूपमा हेरेका छन् । ‘आन्दोलन हुँदैनथ्यो भने देशमा यत्तिको परिवर्तन हुने थिएन,’ उनी भन्छन् । तर आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना औपचारिकतामा सीमित नभई सम्झनलायक कामबाट हुनुपर्ने उनको धारणा छ ।
बैजनाथकी सृष्टि चन्द ठकुरीको भनाइले सरकारको उपस्थिति पनि असमान रहेको देखाउँछ । ‘बाढीमा सरकार देखियो,’ उनी भन्छिन् । विपद्का बेला राज्य सक्रिय देखिए पनि सामान्य अवस्थामा नागरिकले त्यही स्तरको उपस्थिति महसुस गर्न नसकेको उनको भनाइको आशय हो । अञ्जना भण्डारीले भने परिवर्तनको भौगोलिक वितरणमै प्रश्न उठाएकी छन् । ‘काठमाडौं केन्द्रित भयो । मोफसलमा परिवर्तन भएन,’ उनी भन्छिन् । सरकारको निर्देशन भए पनि कार्यान्वयनमा कमजोरी रहेको उनको गुनासो छ । यसले नीति र घोषणाभन्दा कार्यान्वयनको तहमा सरकार कमजोर रहेको नागरिकको अनुभव देखाउँछ । यी धारणालाई समग्रमा हेर्दा नागरिक पूर्णरूपमा परिवर्तनविरोधी छैनन् । बरु उनीहरू परिवर्तनलाई परिणामसँग जोडेर हेर्न चाहन्छन् । कसैले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सुधार देखेका छन्, कसैले विकासका प्रयासलाई सकारात्मक मानेका छन् । तर विकट क्षेत्रका नागरिकका लागि सडक, सुविधा र राज्यको नियमित उपस्थिति अझै मुख्य प्रश्न बनेका छन् ।
यहाँका नागरिकका समस्या सरकारी सेवासुविधामा सहजता मात्र होइन, सामान्य आधारभूत आवश्यकता परिपूर्ति नहुनु पनि हो । अहिले पश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा सहज आवागमन छैन । सञ्चार सुविधा उस्तै समस्या छ । ‘रुखको टुप्पोमा पुगेर फोन गर्नू पर्ने बाध्यता छ,’ हुम्लाका राजन शाहीले भने, ‘स्वास्थ्य संस्था जान दिनभरि हिँडेर पनि पुगिँदैन ।’ कयौं बालबालिका विद्यालय टाढा हुँदा शिक्षाको पहुँच बाहिर भएको भन्दै उनले भने, ‘अहिले नै यी सबै कुरा एकैपटकमा समाधान हुन्छ भन्ने त छैन । तर, सरकारले यो विषयमा कत्तिको चासो दियो, जानकारी लियो भन्ने हो ।’ तर, सरकारको विषयमा ध्यान नगएको अनुभूति उनले प्रकट गरे ।
सरकारी कार्यालयहरुमा पनि केही दिन सेवा सहजताका लागि पहल भए पनि अहिले पुरानै अवस्थामा फर्किन थालेको नेपालगन्जका उमेश यादवले बताए । ‘अहिले यातायात तथा मालपोत कार्यालयमा जानु भयो भने घण्टौ लाइन लाग्नु पर्छ,’ उनले भने, ‘यहाँ सेवाग्राहीको धेरै भिडभाड हुने भए पनि समस्या समाधान हुन सकेको छैन ।’ यस्ता कार्यालयमा टोकन प्रणाली लागु गरेर सेवा सहज बनाउनु पनि सकिने भन्दै उनले यति सामान्य विषयमा समेत सरकार गम्भीर नभएको बताए ।
नेपालगञ्ज । दिवंगत विष्णादेवी जैसीको स्मृतिमा उनका परिवारजनले सामाजिक तथा सार्वजनिक हितका कार्यमा उपयोग गर्ने उद्देश्यले रु. ३ लाखको ‘विष्णादेवी जैसी स्मृति कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।
५३ वर्षको उमेरमा यही भदौ १७ गते राति असामयिक निधन भएकी जैसीको स्मृतिलाई चिरस्थायी बनाउन तथा दिवंगत आत्माको शान्तिको कामनासहित परिवारजनले अक्षयकोष स्थापना गर्ने निर्णय गरेका हुन् ।
परिवारका अनुसार कोषबाट सामाजिक तथा सार्वजनिक हितका विभिन्न कार्य सञ्चालन गरिनेछ । कोष सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया स्व. जैसीको प्रथम वार्षिक पुण्यतिथिसम्ममा पूरा गरिसक्ने तयारी गरिएको छ ।
परिवारजनले दिवंगत विष्णादेवी जैसीको भौतिक उपस्थिति नरहे पनि उनले दिएको संस्कार, मार्गदर्शन तथा अमूल्य सम्झनाहरू सदैव परिवारको मनमस्तिष्कमा जीवित रहने बताएका छन् ।
शोकसन्तप्त परिवारका तर्फबाट छोरा वीरेन्द्र जैसीले स्मृति कोष स्थापना सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन् । स्वर्गीय विष्णादेवीकी जेठा छोरा वीरेन्द्र (वीपी अस्तु) बाँकेमा क्रियाशील पत्रकार एवम् साहित्यकार हुन् । स्वर्गीय विष्णादेवीकी जेठी बुहारी एवम् वीरेन्द्रकी धर्मपत्नी अमृता जैसी (निशु) पनि बाँकेमै क्रियाशील पत्रकार हुन् । जैसी परिवारको स्थायी बसोबास कैलालीको जानकी गाउँपालिका वडा नम्बर ८ भगरियामा रहेको छ ।
नेपालगन्ज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधारका लागि वार्षिक समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन समारोहलाई बुधबार नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री पुनले समीक्षा बाध्यकारी र कर्मकाण्डी हुनु नहुनेमा जोड दिए ।
उनले समीक्षाका मुख्य दुई उद्देश्य उपलब्धिलाई संस्थागत गर्ने तथा कमजोरी पहिचान गरी सुधार गर्ने रहेको बताए । स्वास्थ्य क्षेत्रलाई ‘पूर्वाधारको पनि पूर्वाधार र धनको पनि धन’ का रूपमा चित्रण गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्रमा सुधार अपरिहार्य रहेको बताए । पेस्टिसाइडको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसअघि स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर (मलेरिया निरीक्षक) अधिकृत रत्नलाल शर्माले गत आर्थिक वर्षमा कार्यालयबाट सम्पादित कार्यक्रम, उपलब्धि, चुनौती तथा भावी योजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम संचालन जनस्वास्थ्य अधिकृत मानव नेपालीले गरेका थिए ।
बुधबार र बिहीबार गरी दुई दिन सञ्चालन हुने गोष्ठीमा बाँकेका आठ वटै स्थानीय तहले आ–आफ्नो पालिकामा सम्पादित स्वास्थ्य कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे प्रस्तुतीकरण गर्नेछन् ।
नेपालगञ्ज । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले बुधबार नेपालगञ्जस्थित बीपी चोकमा माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ । बीपीको शालिकमा माल्यार्पण गरी स्मरण गरिएको छ ।
कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान सभापति किरण कोइराला लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सचिव सुधांशु कोइरालाले जानकारी दिए ।
कार्यक्रममा सहभागी नेताहरूले बीपी कोइरालाको योगदान, विचार र लोकतान्त्रिक समाजवादको अवधारणालाई स्मरण गर्दै उनले देखाएको राजनीतिक तथा लोकतान्त्रिक मार्गलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए ।
बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेसले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।





