२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले आफन्तको जिम्मा लगाएर घरमै सुरक्षा दिने भएको छ। आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएका जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफन्तको जिम्मा लगाएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई आफन्तको जिम्मा लगाइएको पुष्टि गर्दै घरमै सुरक्षा प्रदान गरिने बताए। उनले भने, ‘घरमै सुरक्षा दिन्छौं।’

प्रहरीले आइतबार बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेको समयमा महाराजगञ्जस्थित निवासमा पुगेर उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरी अधिकारीहरूले जबरामाथि सुरक्षा खतरा रहेको जानकारी गराएपछि उनलाई सुरक्षित स्थानमा लैजाने प्रयास गरिएको बताइएको छ।

तर जबराले आफूलाई कुनै सुरक्षा खतराबारे जानकारी नभएको भन्दै घरमै थप सुरक्षाकर्मी खटाइदिन प्रहरीसँग आग्रह गरेका थिए। त्यसपछि उनलाई आफन्तको जिम्मा लगाएर घरमै सुरक्षा दिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

जबरालाई प्रहरीले औपचारिक रूपमा पक्राउ गरेको हो वा सुरक्षा प्रयोजनका लागि मात्रै नियन्त्रणमा लिएको हो भन्ने विषय भने स्पष्ट भएको छैन। सुरुमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरक्षा चुनौतीका कारण उनलाई सुरक्षित स्थानमा लगिएको जनाएको थियो।

प्रहरीले जबरामाथि देखिएको भनिएको सुरक्षा चुनौतीको प्रकृति, खतरा कसबाट वा केबाट थियो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन। त्यस्तै, उनलाई घरबाटै नियन्त्रणमा लिनुपर्ने अवस्था किन आयो भन्ने विषयमा पनि प्रहरीले स्पष्ट पारेको छैन।

जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको हो वा होइन भन्नेबारे पनि प्रहरीले औपचारिक जानकारी दिएको छैन। अहिले भने उनलाई आफन्तको जिम्मा लगाएर निवासमै सुरक्षा दिने व्यवस्था गरिएको छ।

 
 

जनकपुरधाम । अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु भएको छ। मिथिला नगरपालिका–११ आँपगाछीमा पहिरोले एक तले घर पुरिँदा स्थानीय अन्दाजी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार वर्षाका कारण पहिरो जाँदा श्रेष्ठ घरभित्रै पुरिएकी थिइन्। घटनास्थलबाट चार जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

श्रेष्ठको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।

यसैबीच, लगातारको वर्षाका कारण कमला नदीमा पानीको बहाव बढेपछि प्रहरीले नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। प्रहरीले जोखिममा रहेका क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान अनुरोध गरेको जनाएको छ।

बझाङ — भारतको केदारनाथमा तीर्थयात्रीलाई डोलीमा बोक्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर बझाङका एक नेपाली कामदारको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–१ कैलाशका ३६ वर्षीय धर्म खड्काको शनिबार साँझ गौरीकुण्ड नजिक ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको हो।

खड्का केदारनाथ क्षेत्रमा तीर्थयात्रीलाई डोलीमा बोक्ने काम गर्दै आएका थिए। शनिबार साँझ गौरीकुण्डबाट केदारनाथ मन्दिरतर्फ डोली बोकेर हिँडिरहेका बेला बाटोमाथिबाट अचानक खसेको ढुंगाले उनलाई लागेको उनका आफन्त सुरेशबहादुर सिंहले जानकारी दिए।

ढुंगा लागेपछि गम्भीर घाइते भएका खड्काको घटनास्थलमै मृत्यु भएको सिंहले बताए। उनी केही समयदेखि रोजगारीका लागि भारतमा रहेका थिए।

खड्काको परिवारको आर्थिक अवस्था कमजोर रहेको छ। घरमा वृद्ध आमा, पत्नी र चार महिनाका छोरा छन्। परिवारको मुख्य आम्दानीको स्रोत रहेका खड्काको मृत्यु भएपछि परिवारमा आर्थिक संकट थपिएको आफन्तले बताएका छन्।

मृतकको शव भारतबाट नेपाल ल्याउनसमेत परिवारलाई समस्या भएको छ। आर्थिक अभावका कारण शव ल्याउने खर्च जुटाउन कठिनाइ भइरहेको उनका भाइ नाता पर्ने भुवन खड्काले बताए। परिवारले सहयोगका लागि सम्बन्धित निकाय र नेपाली समुदायसँग आग्रह गरेको छ।


काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले सुरक्षा जोखिम रहेको भन्दै प्रहरी कार्यालयमा लिएर आएको बताइएको छ । अहिले जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई कुनै सम्भावित घटना हुनसक्ने अवस्थालाई ध्यानमा राखेर महाराजगञ्जस्थित निवासबाट कार्यालय ल्याइएको हो ।

एसएसपी खड्काले जबरालाई नियन्त्रणमा लिनुको कारणबारे भने, ‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं ।’

जबरालाई नियन्त्रणमा लिनु अघि प्रहरीले अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिन आएपछि जबराले आफ्ना भाइ प्रभु शम्शेरलाई फोनमार्फत जानकारी गराएका थिए । प्रभु शम्शेरका अनुसार प्रहरीले ‘जेनजी’ समूहबाट जबरालाई सुरक्षा खतरा रहेको भन्दै नियन्त्रणमा लिएर गएको थियो ।


नेपालगन्ज । पश्चिम नेपालको ऐतिहासिक तथा व्यापारिक केन्द्र नेपालगन्जको समृद्धिका लागि एकीकृत गुरुयोजना, सुशासन, खेलकुद तथा पर्यटन प्रवद्र्धनसँगै दूरदर्शी र साहसिक नेतृत्व अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् ।

कालपृष्ठ दैनिकको २९औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘नेपालगन्जको समृद्धिका सम्भावनाहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले समृद्धिका योजनालाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने नेतृत्वको अभाव रहेको बताएका हुन् ।

संघीयता कार्यान्वयनपछि नेपालगन्जले विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै वक्ताहरूले सहरलाई चलायमान बनाउन दूरदर्शी नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन् ।

कालपृष्ठ दैनिकका संस्थापक हेमन्त कर्माचार्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा राजनीतिज्ञ, पत्रकार, व्यवसायी, शिक्षाविद् तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले नेपालगन्जको समृद्धिका चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरेका थिए ।

व्यवसायी विनोद अग्रहरिले इमान्दार पत्रकारिता गर्नेहरूका लागि पछिल्लो समय आर्थिक उपार्जन चुनौतीपूर्ण बन्दै गएको बताए । सञ्चार क्षेत्रमा देखिएको कठिन परिस्थितिलाई सम्बोधन गर्न सामूहिक पत्रकारितालाई प्रोत्साहन गर्दै यस पेशाप्रति नयाँ पुस्ताको आकर्षण कायम राख्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वक्ताहरूले सही र सत्य सूचना प्रवाहले यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासमा प्रत्यक्ष सहयोग पुग्ने धारणा राखेका थिए । नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्माले स्वदेशी उत्पादनको खरिद–बिक्री तथा प्रवद्र्धनका लागि अनुकूल वातावरण निर्माण गर्न सञ्चारमाध्यमले पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सुशासन, सहरी विकास र समृद्धिका लागि स्पष्ट गुरुयोजना आवश्यक रहेको बताउँदै लुम्बिनी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका बासिन्दाका लागि नेपालगन्जमै उच्च शिक्षा तथा पीएचडी अध्ययनको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

सहरी विकास तीव्र गतिमा भइरहेको भए पनि यसको दीर्घकालीन निकासको बाटो पहिल्याउन सके मात्र राप्ती तथा आसपासका क्षेत्रको समृद्धि सम्भव हुने उनको भनाइ थियो । कालपृष्ठ दैनिकले आर्थिक समृद्धिसँग जोडिएको सहकारी क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको भन्दै उनले धन्यवाद दिए । आर्थिक विकासका लागि स्थानीय तह तथा सहरले स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपालगन्ज म्याराथनका संस्थापक टी.एस. ठकुरीले ‘नेपालगन्ज म्याराथन’ सहरको पहिचान बदल्ने प्रमुख ‘गेम चेन्जर’ आयोजना बन्न सक्ने सम्भावना रहेको बताए । सुशासनको क्षेत्रमा क्रियाशील अभियन्ता नमस्कार शाहले संघीयता कार्यान्वयनपछि अधिकार र बजेटको विकेन्द्रीकरणका कारण नेपालगन्ज केही पछाडि परेको महसुस भएको बताए ।

नेपालगन्जलाई चिनाउने ऐतिहासिक तथा सांस्कृतिक धरोहरको व्यापक प्रचार–प्रसार गर्दै गुरुयोजना निर्माण, सुशासन कायम र सुरक्षित सहर निर्माण गर्न सके नेपालगन्ज पर्यटन, व्यापार, शिक्षा र स्वास्थ्यको बलियो हब बन्न सक्ने उनले बताए ।

नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले नेपालगन्जको मुख्य पहिचान शिक्षा, स्वास्थ्य र खेलकुद रहेको भन्दै विद्यमान समस्या समाधानका लागि सबै राजनीतिक दल र नागरिक समाज एकताबद्ध हुनुपर्ने बताए ।

नेपालगन्जको समृद्धिका सम्भावनाबारे निरन्तर छलफल र सहकार्यका लागि साझा चौतारी (फोरम) आवश्यक रहेको वक्ताहरूले बताएका थिए । नेपाल भलिबल संघका उपाध्यक्ष भीम ओलीले नेपालगन्जवासीमा आपसमा जुट्नु भन्दा विभाजित हुने प्रवृत्तिका कारण अपेक्षित रूपमा समृद्धि हासिल गर्न नसकिएको टिप्पणी गरे । नेपालगन्जको विकासका लागि सबै क्षेत्रलाई समेट्ने साझा चौतारी आवश्यक रहेको बताउँदै उनले सहरलाई जोगाउने र समृद्ध बनाउने जिम्मेवारी अब नयाँ पुस्ताको काँधमा आएको बताए ।

साहित्यकार तथा उद्यमी ऋचा लुइटेलले प्रत्येक नागरिक र व्यवसायीले आफ्नो कर्म इमान्दारिताका साथ पूरा गरेमा मात्र सहरको समृद्धिको सम्भावना बढ्ने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेकपाका नेता नवीन शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिव दीपक शाही, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेल, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान महासचिव भीम रानाभाट, लुम्बिनी प्राविधिक विश्वविद्यालयका जेन्टिल गौतम, नाट्टा बाँकेका अध्यक्ष डिल्ली रेग्मी, शिक्षाविद् किरण आचार्य लगायतले आर्थिक गतिविधिलाई चलायमान बनाउन राजनीतिक नेतृत्वमा पारदर्शिता र स्पष्ट दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।

सहरी ब्रान्डिङ र पर्यटकीय सम्भावना

नाट्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटकीय प्रवद्र्धनका लागि ‘सिटी ब्रान्डिङ’को रणनीति तत्काल लागू गर्नुपर्ने बताए । त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाइ थियो । नेपालगन्ज उद्योग वाणिज्य संघले यस विषयमा अभिभावकीय नेतृत्व लिनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले समृद्धिका लागि सर्वप्रथम नगरवासीको चेतनास्तर फराकिलो हुनुपर्ने बताए । समृद्धिका लागि नेपालगन्जका चिल्ला र चौडा सडक जस्तै नागरिकको मानसिकता पनि फराकिलो हुनुपर्नेमा उनले जोड दिए ।

नेपालगन्जका पूर्व मेयर तथा वरिष्ठ अधिवक्ता विजय गुप्ताले करोडौँका संरचना निर्माण भए पनि रंगशालाको उचित र पूर्ण प्रयोग हुन नसकेकोमा चिन्ता व्यक्त गरे । नेपालगन्जको समृद्धिसँग प्रत्यक्ष जोडिएको नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना कार्यान्वयनमा सधैँ अवरोध आउने गरेको उनले बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले अर्थतन्त्र, प्रविधि र सोचमा रूपान्तरण आवश्यक रहेको बताए । पर्यटकीय व्यवसाय तथा साना–ठूला उद्योगमार्फत आर्थिक गतिविधि र उपार्जन बढाउन सकिने उल्लेख गर्दै उनले संघीयताको मर्मअनुसार आर्थिक गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले समृद्धिका योजनालाई कागजमा मात्र सीमित नराखी व्यावहारिक कार्यान्वयनका लागि सबै सरोकारवाला निकायबीच बलियो सहकार्य आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले समृद्धिको सपना पूरा गर्न व्यावसायिक पत्रकारिताको विकास आवश्यक रहेको बताए ।

कालपृष्ठ दैनिकका पूर्व सम्पादक झलक गैरेले कालपृष्ठ दैनिकमा काम गर्दाको अनुभव सुनाएका थिए । संस्थापक हेमन्त कर्माचार्यले सहरलाई चलायमान बनाउँदै समाजको समृद्धिसँग जोडिएका विषयलाई कालपृष्ठ दैनिकले आगामी दिनमा पनि प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण कालपृष्ठाका प्रकाशक सम्पादक कमल खत्रीले गरेका थिए । 


चितवन । अविरल वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोलाको पुलमाथि पहिरो खस्दा आइतबार बिहानदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७ः५५ बजे पुलमाथि पहिरो खसेपछि सडकखण्डमा सवारी आवागमन ठप्प भएको हो। पहिरो खसेसँगै सडकको दुवैतर्फ सवारी साधन रोकिएका छन्।

पहिरो हटाउन सडक डिभिजन कार्यालयले आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरेको जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।

निरन्तर वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने जोखिमसमेत रहेको भन्दै सडक डिभिजनले यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरो हटाउने काम सम्पन्न नभएसम्म उक्त सडकखण्डमा आवागमन प्रभावित हुने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।


नवलपरासी । नारायणी नदीमा पानीको बहाव बढेसँगै पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२ स्थित बोटेटोल बस्ती डुबानमा परेको छ। बाढी बस्तीमा पसेपछि आइतबार १ सय १० घरधुरीका करिब ४ सय स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

तीन दिनदेखि भइरहेको लगातार वर्षाका कारण नदीमा पानीको सतह बढेपछि बोटेटोलमा बाढी पसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। बाढी प्रभावितलाई महेन्द्र आधारभूत विद्यालय तथा आफन्तका घरमा स्थानान्तरण गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले जानकारी दिए।

प्रहरीका अनुसार स्थानीयका घरमा रहेका खाद्यान्न, लत्ताकपडा तथा अन्य सरसामानसमेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। बाढीबाट हालसम्म मानवीय तथा चौपाया क्षति भने भएको छैन।

लगातारको वर्षाका कारण जिल्लाका अन्य क्षेत्रमा समेत जनजीवन प्रभावित भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने क्षेत्रमा पहिरो खसेपछि सडकमा यातायात एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

वर्षा निरन्तर भइरहेकाले नदी आसपास तथा डुबानको जोखिम रहेका क्षेत्रमा थप सतर्कता अपनाइएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।