
नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा पूर्णप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दिएका वर्तमान सभापति पोषण केसीले आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका हुन् ।
उम्मेदवारी दर्तापछि दुई पक्षबीच भएको छलफल तथा सहमतिपछि केसीले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
आचार्य कोहलपुर नगरपालिकाका वर्तमान नगर प्रमुख समेत हुन् ।
बागलुङ । लगातारको वर्षापछि बागलुङका विभिन्न स्थानमा गएको बाढीपहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ। पछिल्लो तीन दिनमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा सोमबार पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोका रहेका छन्।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसअघि शनिबार ताराखोलामै पहिरोमा परी एक जनाको मृत्यु भएको थियो। आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए। सोही दिन निसीखोला गाउँपालिकामा पहिरोमा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक तथा बस्ती प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनको काम भइरहेको छ।
नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नरेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।
सोमबार राति भएको मतगणनामा चौधरीले निकटतम प्रतिस्पर्धी वीरेन्द्रबहादुर शाहलाई पराजित गर्दै सभापतिको जिम्मेवारी हात पारेका हुन् । क्षेत्रीय कार्यसमितिका पदाधिकारी चयनका लागि मतदान भएको थियो । निर्वाचनबाट क्षेत्रीय सचिवमा रमेशप्रसाद तिमिल्सेना निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ खुला समूहमा सुन्धान्सु कोइराला, सुरेन्द्रबहादुर हमाल, गोपालप्रसाद अधिकारी, रमेशकुमार गुप्ता, अजितकुमार शर्मा, राकेशबहादुर श्रीवास्तव, राजकुमार बर्मा, कृष्णकुमारी सापकोटा, सुनिल राणा र प्रशान्त विष्ट निर्वाचित भएका छन् ।
महिला खुलातर्फ उमा थापा मगर, रेनु सिंह ठाकुर, कल्पना रेग्मी र नारायणी रूपाखेती निर्वाचित भएका छन् ।
त्यस्तै मैकुलाल बाल्मिकी, ईश्वरीप्रसाद ज्ञवाली, ज्ञानेन्द्रकुमार चौधरी, फनबहादुर गुरुङ, जमालुदिन वागवान, निजामुदिन अन्सारी छोट्कौ, राजकुमार साहु, डम्बरबहादुर गोल्डस्मित, साहिदा वानो, ममता देवी कुर्मी, रत्ना राणा, सीता देवी काफ्ले, विष्णुप्रसाद भुषाल, लिलावती यादव, अमृतकुमार आचार्य, मेराज अहमद हल्वाई, दिपेन्द्र रेग्मी, अनुज बर्मा र सुनिल सिंह हमाल पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको जनाइएको छ ।



बैंकक । म्यान्मारको पश्चिमी रखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । घटनामा ५८ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ ।
सोमबार क्याउक्ताव टाउनसिपस्थित स्थानीय बजारनजिक एक लडाकु विमानले दुईवटा बम खसालेको अराकान आर्मी र उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । आक्रमणका बेला बजारमा व्यापारी, सामान खरिद गर्न आएका ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारणको भीड थियो ।
रखाइनमा उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी वाई हुन आङले घटनास्थलमा रहेका उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेका हुन् । उनका अनुसार उक्त बजार राज्यकै प्रमुख थोक व्यापारिक केन्द्रमध्ये एक हो, जहाँ विभिन्न क्षेत्रबाट व्यापारी तथा ग्राहक आउने गर्छन् ।
हवाई हमलापछि बजार क्षेत्रमा ठूलो क्षति पुगेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा भवनमा आगो लागेको, सवारीसाधन क्षतिग्रस्त भएको र नजिकैको पुलका केही भाग भत्किएको देखिएको बताइएको छ ।
अराकान आर्मीले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी गम्भीर हवाई हमला गरिएको आरोप लगाउँदै जिम्मेवार पक्ष र संस्थाविरुद्ध प्रभावकारी जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । म्यान्मारको सेनाले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सेनाले यसअघि भने आफूले वैध सैन्य संरचनालाई मात्र निशाना बनाउने दाबी गर्दै आएको छ । उसले विद्रोही समूहहरूलाई आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ ।
क्याउक्ताव म्यान्मारको दोस्रो ठूलो सहर माण्डलेबाट करिब ३४० किलोमिटर पश्चिममा पर्छ । उक्त क्षेत्र अहिले अराकान आर्मीको नियन्त्रणमा रहेको बताइएको छ । घटनाको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने कठिन रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
गृहयुद्धसँगै बढ्दो हवाई हमला
म्यान्मारमा सन् २०२१ फेब्रुअरी १ मा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि सशस्त्र द्वन्द्व चर्किएको हो । सैन्य शासनविरुद्धको आन्दोलनमाथि सुरक्षा बलले बल प्रयोग गरेपछि लोकतन्त्र समर्थक समूहका केही सदस्यले समेत हतियार उठाएका थिए । त्यसयता सेना, लोकतन्त्र समर्थक सशस्त्र समूह र जातीय सशस्त्र संगठनबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ ।
रखाइन राज्यमा अराकान आर्मीले सन् २०२३ नोभेम्बरदेखि सैन्य अभियान तीव्र बनाएको छ । पछिल्लो समय समूहले राज्यका अधिकांश भूभागमा आफ्नो नियन्त्रण विस्तार गरेको छ । द्वन्द्व चर्किएसँगै सेनाले व्यापारिक मार्गमा प्रतिबन्ध लगाएपछि रखाइनमा खाद्यान्न अभाव र मानवीय संकटसमेत बढ्दै गएको बताइएको छ ।
यसअघि रखाइनकै म्राउक–यू टाउनसिपस्थित एक अस्पतालमा भएको सैन्य हवाई हमलामा कम्तीमा ३४ जनाको मृत्यु र ८० जना घाइते भएको विवरण सार्वजनिक भएको थियो ।
क्याउक्तावको पछिल्लो घटनाले रखाइनमा जारी द्वन्द्वमा सर्वसाधारणमाथि पर्ने जोखिम थप बढेको देखाएको छ । तर हमलाको वास्तविक लक्ष्य, क्षतिको पूर्ण विवरण तथा घटनाको जिम्मेवारीबारे म्यान्मारको सेनाको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।





