२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

काठमाडौं ।  उद्यमी विनोद चौधरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको छ। चौधरीले पनि राष्ट्रिय सभागृहमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

संशोधित विधानअनुसार कांग्रेसले उपसभापतिको संख्या दुईबाट बढाएर पाँच पुर्‍याएको छ। पाँच उपसभापतिमध्ये एक जना वरिष्ठ उपसभापति रहने व्यवस्था गरिएको छ भने दुई जना समावेशी समूहबाट निर्वाचित हुनेछन्। समावेशी समूहमा एक महिला उपसभापति रहने व्यवस्था छ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको काम अघि बढाएको छ। विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको छ।

महाधिवेशनबाट कांग्रेसको नयाँ सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन हुनेछन्। उम्मेदवारी दर्तापछि निर्वाचन समितिले प्रक्रिया अघि बढाउने जनाएको छ।


पाल्पा।  कालीगण्डकी नदीको बाढीले सडक कटान गरेपछि ११ दिनदेखि अवरुद्ध राम्दी–दर्पुक सडक पुनः सञ्चालनमा आएको छ। चाडपर्वको समयमा यात्रुको आवागमन बढ्ने बेला सडक खुलेपछि राम्दीदेखि दर्पुक, मन्द्रान हुँदै रानीमहलसम्मको यातायात सहज हुने भएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत राम्दीदेखि दर्पुक हुँदै रानीमहल जोड्ने सडकको राम्दी क्षेत्रमा नदीको बहावले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो। नदीको बहाव कम भएपछि कालीगण्डकी करिडोर कार्यालय पाल्पाले हेभी मेसिन प्रयोग गरी सिद्धार्थ राजमार्ग नजिकै ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याएको हो।

राम्दीका स्थानीय केशव बस्यालका अनुसार नदीको बहाव घटेपछि सडकमा मेसिन लगाएर ट्रयाक खोलिएको हो। ट्रयाक खुलेसँगै राम्दी हुँदै दर्पुकतर्फ जाने सवारीसाधन सञ्चालनमा आएका छन्।

करिडोर कार्यालयले राम्दी नजिकै कालीगण्डकी किनारमा ट्रयाक खोलेपछि दर्पुक, मन्द्रान हुँदै रानीमहलसम्मको सडकमा समेत मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको छ। बाढी र पहिरोका कारण क्षति पुगेका अन्य स्थानमा पनि सडक सञ्चालनका लागि काम भइरहेको कार्यालयले जनाएको छ।

करिडोर कार्यालयका प्रशासन प्रमुख ओमप्रकाश न्यौपानेका अनुसार चाडपर्व नजिकिएसँगै करिडोरअन्तर्गतका सडकमा खसेका पहिरो हटाउने र बाढीले कटान गरेका स्थानमा ट्रयाक खोल्ने कामलाई प्राथमिकता दिइएको छ। सडकमा यातायात सहज बनाउन आवश्यक स्थानमा हेभी उपकरण परिचालन गरिएको उनले बताए।

यसैबीच, सिद्धार्थ राजमार्गको राम्दीदेखि रानीमहल खण्डमा करिब ४ सय मिटर सडकको ठेक्का व्यवस्थापन अझै हुन सकेको छैन। ठेक्का व्यवस्थापन नहुँदा उक्त खण्डमा कालोपत्र गर्ने तथा सडक चौडा बनाउने काम अघि बढ्न सकेको छैन।

कालीगण्डकी करिडोर सडक आयोजना कार्यालय, बर्तुङ, पाल्पाका अनुसार उक्त क्षेत्रमा सडक कालीगण्डकी नदीको किनारबाट लगिएको छ। नदीतर्फबाट सडक विस्तार गर्न जोखिम रहेको र माथिल्लो भागतर्फ पनि पर्याप्त स्थान नभएकाले सडक चौडा गर्ने काममा समस्या देखिएको कार्यालयले जनाएको छ।

ठेक्का व्यवस्थापन हुन नसकेको करिब ४ सय मिटर खण्डमा सडक विस्तार र कालोपत्रको काम अघि नबढ्दा दीर्घकालीन रूपमा सडकको अवस्था सुधार गर्न चुनौती कायमै छ। अहिले भने बाढीबाट क्षतिग्रस्त सडकमा अस्थायी रूपमा ट्रयाक खोलेर यातायात सञ्चालनमा ल्याइएको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।