२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

काठमाडौँ। नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएर गगन थापालाई समर्थन गरेका छन्। राठौरको उम्मेदवारी फिर्तासँगै कांग्रेस सभापतिमा अब गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।

राठौरले बुधबार पत्रकार सम्मेलनमार्फत थापालाई समर्थन गर्ने घोषणा गरेका हुन्। त्यसलगत्तै उनी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सभापति पदको उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएका थिए।

पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै राठौरले थापालाई समर्थन गरेको बताएका छन्।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ।


नेपालगन्ज, असोज २१  राप्तीसोनारी गाउँपालिका–२ खोरिया गाउँमा केही वर्षअघिसम्म पशुपालन घरायसी आवश्यकता पूरा गर्ने माध्यम थियो । खेतबारीसँगै एक–दुई वटा गाईभैँसी पाल्ने चलन रहेको गाउँमा अहिले भने पशुपालन आम्दानीको भरपर्दो आधार बन्न थालेको छ । आधुनिक प्रविधिसहित सञ्चालनमा आएको ‘जननी पशुपालन फर्म’ले गाउँको परम्परागत पशुपालनलाई व्यावसायिक रूप दिन थालेपछि स्थानीयस्तरमा यसको प्रभाव देखिन थालेको हो ।

जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित फर्ममा करिब डेढ करोड रुपियाँ लगानी गरिएको छ । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको फर्ममा होलिस्टन फ्रिजन र जर्सी जातका १० वटा गाई, हरियाणा जातका पाँच वटा भैँसी, एउटा साँढे तथा करिब एक सय ५० वटा बाच्छाबाच्छी र पाडापाडी छन् । फर्ममा अहिले दैनिक करिब १२० लिटरसम्म दुध उत्पादन भइरहेको सहकारीका व्यवस्थापक गणेशबहादुर खत्रीले बताए । उत्पादन भएको दुध स्थानीय बजार हुँदै कोहलपुर, नेपालगन्ज, अगैया र शमशेरगन्जसम्म नियमित रूपमा पुग्ने गरेको उनले बताए ।

‘गाउँमै उत्पादन भएको दुधको बजार विस्तार हुँदै गएको छ । गुणस्तरीय दुध उत्पादन गर्न सके बजारको समस्या हुँदैन,’ उनले भने । फर्मले मासिक करिब दुई लाख ५० हजार रुपियाँ बराबरको दुध बिक्री गर्दै आएको छ । दुध बिक्रीबाट खर्च कटाएर मासिक करिब एक लाख २५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको खत्रीले बताए । उनका अनुसार फर्मको उद्देश्य दुध बिक्रीमा मात्र सीमित नभई स्थानीय स्रोतसाधनको उपयोग गर्दै गाउँमै रोजगारी र आयआर्जनको वातावरण बनाउनु पनि हो ।

फर्ममा हाल सात जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । गाउँमै रोजगारीको अवसर पाएपछि स्थानीय युवादेखि महिलासम्म पशुपालन व्यवसायप्रति सकारात्मक हुन थालेका छन् । कृषि र सामान्य पशुपालनमा निर्भर परिवारका लागि व्यावसायिक पशुपालनले आम्दानीको नयाँ विकल्प देखाएको छ । ‘यहाँ घाँसे मैदान र वन क्षेत्र पर्याप्त छन् । पशुपालनका लागि आवश्यक वातावरण पनि छ । त्यसैले उपलब्ध स्रोतलाई व्यवस्थित रूपमा प्रयोग गर्न सकियो भने गाउँमै राम्रो व्यवसाय गर्न सकिन्छ,’ खत्रीले भने ।

राप्तीसोनारी गाउँपालिका पशुपालनका लागि सम्भावनायुक्त क्षेत्र मानिन्छ । गाउँपालिकाका विभिन्न बस्तीमा खेतीसँगै गाई, भैँसी, बाख्रा तथा अन्य पशुपालन गर्ने किसानको संख्या बढ्दै गएको छ । पछिल्ला वर्षमा पशुपालनलाई घरायसी कामका रूपमा मात्र नभई आयआर्जनको माध्यम बनाउने क्रम बढेको स्थानीय किसान गोर्खु चौधरी बताउँछन् । उनका अनुसार राप्तीसोनारीको भौगोलिक अवस्था, जलवायु, घाँसे मैदान र वन क्षेत्र पशुपालनका लागि अनुकूल छन् । ‘पहिले घरमा दूधका लागि गाईभैँसी पालिन्थ्यो । अहिले बजारमा बेचेर आम्दानी गर्ने उद्देश्यले पशु पाल्न थालिएको छ,’ उनले भने ।

जननी पशुपालन फर्मले पनि यही सम्भावनालाई व्यावसायिक उत्पादनसँग जोड्ने प्रयास गरिरहेको छ । व्यवस्थापक खत्रीका अनुसार परम्परागत शैलीमा हुँदै आएको पशुपालनलाई आधुनिक प्रविधि र व्यवस्थापनसँग जोडेर उत्पादन बढाउने लक्ष्य राखिएको छ । फर्ममा पशुको स्वास्थ्य, आहार तथा दुध उत्पादनमा ध्यान दिइएको छ । उपलब्ध घाँसे मैदान र स्थानीय स्रोतको प्रयोग गर्दै पशुपालनको लागत घटाउने प्रयाससमेत भइरहेको छ । यसले उत्पादनलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने फर्मको विश्वास छ ।

व्यावसायिक पशुपालन विस्तारसँगै गाउँमा यसको प्रभाव दुध उत्पादनमा मात्र सीमित छैन । पशुका लागि घाँस उत्पादन, श्रमको उपयोग, दुध संकलन तथा बजारसम्म पुर्‍याउने गतिविधिले स्थानीय आर्थिक गतिविधिलाई समेत चलायमान बनाएको छ । फर्मले आगामी दिनमा दुध उत्पादन क्षमता बढाउने योजना बनाएको छ । त्यसका लागि पशुको संख्या विस्तार गर्ने, उत्पादन प्रणालीलाई थप व्यवस्थित बनाउने र बजार विस्तार गर्ने तयारी भइरहेको खत्रीले बताए । दुधलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने योजनासमेत फर्मले अघि सारेको छ । दही, घिउ र पनिरलगायत दुग्धजन्य वस्तु उत्पादन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाइएको छ । त्यसो गर्न सके स्थानीय बजारमा दुध बिक्रीसँगै प्रशोधित उत्पादनबाट थप आम्दानी गर्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । खोरिया गाउँमा सुरु भएको यो प्रयासले परम्परागत पशुपालनलाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखाएको छ । स्थानीय स्रोत, बजारको माग र आधुनिक व्यवस्थापनलाई एकै ठाउँमा जोड्न सके राप्तीसोनारीका ग्रामीण बस्तीमा पशुपालन रोजगारी र आम्दानीको महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।