२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि काठमाडौंमा थप बस्नुपर्ने महाधिवेशन प्रतिनिधिहरूको आवास तथा खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिएका हुन्। कांग्रेसले महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा एक दिन लम्बिएको हो।

श्रेष्ठका अनुसार थप एक दिन काठमाडौं बस्नुपर्ने प्रतिनिधिहरूको आवास तथा खानपिनको खर्च पार्टीले नै व्यहोर्ने निर्णय गरिएको छ। यसका लागि प्रतिनिधिहरूको आवश्यकता पहिचान गरी छुट्टै व्यवस्थापन गरिने कांग्रेसले जनाएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार सूचना जारी गर्दै एक दिन महाधिवेशन लम्बिँदा मर्कामा परेका प्रतिनिधिहरूलाई आवश्यक आवास तथा भोजनको व्यवस्था गरिने जानकारी दिएका छन्।

आवास आवश्यक पर्ने प्रतिनिधिहरूले आफ्नो क्षेत्रीय सभापतिमार्फत बिहीबार साँझ वा शुक्रबार बिहान केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि आवश्यकताका आधारमा आवासको व्यवस्था गरिने कांग्रेसले जनाएको छ।

त्यस्तै, बिहीबार साँझसम्म पूर्वनिर्धारित तालिकाअनुसार भोजनको व्यवस्था यथावत् रहनेछ। थपिएको समयका लागि पनि भृकुटीमण्डपस्थित साविककै स्थानमा प्रतिनिधिहरूका लागि खानाको व्यवस्था गरिने जनाइएको छ।

यसैबीच, कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ। नयाँ कार्यतालिकाअनुसार शुक्रबार असोज २३ गते बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।


बर्दिया — दसैं नजिकिएसँगै बर्दियाका मूर्तिकारलाई दुर्गा भगवतीका मूर्ति बनाउन भ्याइनभ्याई भएको छ। घटस्थापनाका दिन मन्दिर, टोल तथा चोकमा स्थापना गरिने मूर्ति तयार गर्न उनीहरू तीन महिनाअघिदेखि नै दिनरात खटिरहेका छन्। तर, मूर्ति निर्माणको काम बढे पनि भारततर्फ बिक्रीका लागि लैजान सीमामा कडाइ भएपछि स्थानीय मूर्तिकार भने चिन्तित छन्।

गुलरिया नगरपालिका–७ गुलरिया गाउँका ४३ वर्षीय मूर्तिकार मितलेशकुमार यादव यस वर्ष दसैंका लागि ३७ सेट मूर्ति तयार गर्दै छन्। २१ वर्षदेखि मूर्ति बनाउँदै आएका यादवले घटस्थापनाका लागि आवश्यक मूर्ति समयमै तयार गर्न निरन्तर काम गरिरहेको बताए।

‘दसैंका लागि मूर्ति तयार गर्न तीन महिनाअघिदेखि निरन्तर काम गरिरहेको छु,’ उनले भने, ‘मूर्ति बनाउन आवश्यक सामग्री यहाँ सहजै नपाइने भएकाले भारतका ठूला सहरबाट ल्याउनुपर्ने बाध्यता छ।’

यादवले मूर्ति बनाउने कला गुलरियाका प्रसिद्ध मूर्तिकार स्वर्गीय मुरलीप्रसाद गोडियासँगै भारतमा गएर सिकेका हुन्। लामो समयदेखि यही पेशामा आबद्ध उनले अहिलेसम्म धेरैलाई मूर्ति निर्माणको सीपसमेत सिकाइसकेका छन्।

बर्दियामा दसैंका लागि दुर्गा भगवतीका मूर्ति बनाउने चलन पुरानै हो। घटस्थापनाका दिन विभिन्न स्थानमा मूर्ति स्थापना गरी श्रद्धालुले पूजा गर्ने र विजयादशमीका दिन विसर्जन गर्ने परम्परा छ। यसका कारण दसैं नजिकिँदा मूर्तिकारलाई मागअनुसार मूर्ति तयार गर्न चटारो हुने गरेको छ।

यादवका अनुसार मूर्ति निर्माणबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्लो समय बजार विस्तारमा समस्या देखिएको छ। विशेषगरी भारततर्फ मूर्ति बिक्रीका लागि लैजान सीमामा कडाइ गरिएपछि व्यवसाय प्रभावित भएको उनको भनाइ छ।

‘पहिला भारतमा सहजै मूर्ति बिक्री हुन्थ्यो,’ उनले भने, ‘तर पछिल्लो समय सीमामा कडाइका नाममा मूर्तिसमेत लैजान दिइएको छैन। दसैंका लागि तयार गरिएका मूर्तिको सम्पूर्ण जिम्मा लिँदासमेत लैजान नदिँदा हामी निरुत्साहित भएका छौं।’

भारतसँग सीमा जोडिएको बर्दियाका मूर्तिकारले विगतमा सीमापारिका बजारमा समेत मूर्ति बिक्री गर्दै आएका थिए। भारततर्फबाट आउने मागले स्थानीय मूर्तिकारलाई थप मूर्ति बनाउन प्रोत्साहन मिल्ने गरेको थियो। तर, सीमामा हुने कडाइका कारण बजार खुम्चिँदै गएको उनीहरूको गुनासो छ।

मूर्ति बनाउन माटो, पराल, बाँस, कपडा, रङ तथा अन्य सामग्री आवश्यक पर्छ। स्थानीयस्तरमा सबै सामग्री सहज रूपमा उपलब्ध नहुँदा कतिपय सामग्री भारतका विभिन्न सहरबाट ल्याउनुपर्ने अवस्था रहेको यादवले बताए।

दसैंका लागि अहिले तयार भइरहेका अधिकांश मूर्ति दुर्गा भगवतीसहित विभिन्न देवीदेवताका हुन्छन्। मूर्तिकारले ग्राहकको मागअनुसार आकार, डिजाइन र रंगरोगन गर्दै आएका छन्। घटस्थापना नजिकिँदै जाँदा तयार भएका मूर्ति सम्बन्धित स्थानमा लैजाने क्रमसमेत सुरु हुने गरेको छ।

मूर्ति निर्माणलाई व्यावसायिक बनाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीको स्रोत बढाउन सकिने भए पनि बजार र कच्चा पदार्थको समस्या समाधान गर्नुपर्ने मूर्तिकारहरूको भनाइ छ। सीमापार बिक्रीमा देखिएको अवरोध हटाउन सके बर्दियाका मूर्तिकारको परम्परागत सीपले थप बजार पाउने उनीहरूको अपेक्षा छ।


काठमाडौं ।   काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी, हातहतियार देखाएर सुनका गरगहना लुट्ने तथा अन्य लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने क्रममा प्रहरीले एक जनालाई गोलीसमेत हानेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित पुलमुनि प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्दै आएका २४ वर्षीय आयन माझीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार माझीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि दुई राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नियन्त्रणमा लिन कठिन भएपछि प्रहरीले उनको घुँडामुनि एक राउण्ड गोली प्रहार गरेको जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा माझीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विभिन्न मितिमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी गर्ने, हातहतियार देखाएर सुनका गरगहना खोस्ने तथा लुटपाट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

माझीसँगै संलग्न अन्य व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–७ का ३६ वर्षीय मनोजकुमार मोक्तान र वडा नम्बर ५ का ३४ वर्षीय राकेश थिङलाई पनि पक्राउ गरेको छ।

प्रहरीका अनुसार माझीविरुद्ध यसअघि नै २७ वटा मुद्दा रहेको खुलेको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


नेपालगन्ज । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ । उनको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो ।

निवासमै हृदयाघात भएपछि पाटेकरलाई बचाउने प्रयासस्वरूप करिब ४५ मिनेटसम्म मुटुको पुनर्जीवन प्रक्रिया (सीपीआर) दिइएको थियो । यद्यपि, चिकित्सकीय प्रयास सफल हुन सकेन ।

पाटेकर भारतीय चलचित्र क्षेत्रमा अभिनयका लागि विशेष पहिचान बनाएका कलाकार थिए । उनले तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । सन् १९८९ मा प्रदर्शनमा आएको ‘परिन्दा’ मा ‘अन्ना’को भूमिकाबाट उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार पाएका उनले सन् १९९४ मा ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेता तथा सन् १९९६ मा ‘अग्निसाक्षी’का लागि पुनः उत्कृष्ट सहायक अभिनेताको पुरस्कार जितेका थिए ।

हिन्दी र मराठी दुवै चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका पाटेकरलाई भारत सरकारले सन् २०१३ मा देशको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ प्रदान गरेको थियो ।

उमेर ढल्किँदै गए पनि उनी पछिल्लो समयसम्म अभिनयमा सक्रिय थिए । उनी अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख अभिनीत ‘हाउसफुल ५’मा देखिएका थिए । त्यस्तै, विशाल भारद्वाजको निर्देशनमा बनेको ‘ओ’रोमियो’मा शाहिद कपुर र तृप्ति डिमरीसँगै प्रहरी अधिकारीको भूमिकामा अभिनय गरेका थिए । अनिल कपुर र राधिका मदान अभिनीत ‘सुबेदार’ मा पनि उनको विशेष उपस्थिति रहेको थियो ।


दाङ, असोज २२। दसैँ नजिकिएसँगै थारू बस्तीमा सख्यापैयाँ नाचको तयारी सुरु भएको छ । बस्तीमा नाचको तयारी बढेसँगै मादलको माग पनि बढेको छ । यही माग पूरा गर्न घोराही उपमहानगरपालिका–१७, पछुर्काका ७१ वर्षीय मादल कारीगर चित्रबहादुर बादीलाई यतिबेला भ्याइनभ्याइ छ ।

१२ वर्षको उमेरदेखि मादल बनाउन थालेका बादीले यो सीप बाजे र बुवाबाट सिकेका हुन् । बाजे र बुवाले मादल बनाएको देख्दै हुर्किएका उनले किशोरावस्थादेखि नै यही कामलाई निरन्तरता दिए । अहिले उमेरले सात दशक पार गरे पनि मादल बनाउने काममा उनको सक्रियता घटेको छैन । ‘पहिला बाजेले मादल बनाउनुहुन्थ्यो, त्यसपछि बुवाले पनि बनाउनुभयो । उहाँहरूबाटै सिकेर मैले पनि बनाउन थालेँ,’ उनले भने ।

थारू समुदायमा दसैँ, माघीलगायतका चाडपर्वमा परम्परागत नाचगान गर्ने चलन छ । त्यस्ता नाचमा मादल प्रमुख बाजाका रूपमा प्रयोग हुन्छ । विशेषगरी दसैँमा सख्यापैयाँ नाचिने भएकाले यही समयमा मादलको माग बढ्ने गरेको बादीले बताए । ‘अहिले दसैँ आउन लागेको छ । मादल बनाउन भ्याइनभ्याइ छ । थारू गाउँमा दसैँमा विशेष गरी सख्यापैयाँ नाच्ने चलन भएकाले मादलको माग बढेको छ,’ उनले भने ।

उनका अनुसार एउटा थारू गाउँका लागि मात्रै २० देखि २५ वटासम्म मादल बनाउनुपर्ने हुन्छ । दसैँका बेला थारू बस्तीमा करिब एक महिनासम्म सख्यापैयाँ नाच्ने भएकाले मादलको माग पनि त्यहीअनुसार बढ्छ । मादलको आकारअनुसार उनले ज्याला लिने गरेका छन् । थारू समुदायबाट भने नगदभन्दा धान लिने चलन रहेको उनले बताए । एउटा मादल बनाएबापत सात पाथीदेखि १५ पाथीसम्म धान लिने गरेका छन् । अन्य ग्राहकबाट भने मादलको आकारअनुसार एक हजारदेखि पाँच हजार रुपियाँसम्म नगद लिने गरेको उनले बताए ।

मादल तयार गर्न तीनदेखि चार दिनसम्म लाग्छ । काठको आकार मिलाउनेदेखि छाला तयार गर्ने र मादलमा कस्नेसम्मका काम गर्नुपर्ने भएकाले समय लाग्ने गरेको उनको भनाइ छ । मादल निर्माणका लागि आवश्यक सामग्री जुटाउनु पनि अर्को चुनौती हो । बादीका लागि मादल बनाउने काम केवल आम्दानीको स्रोत मात्र होइन, पुर्खाबाट प्राप्त सीप जोगाउने माध्यम पनि हो । उनले आफ्नो जीवनको ठूलो हिस्सा यही काममा बिताएका छन् । यही सीपका कारण दसैँको समयमा उनको घरमा कामको चाप बढ्ने गरेको छ ।

तर, समयसँगै मादल बनाउने पेसाको अवस्था बदलिएको उनको अनुभव छ । पहिले गाउँगाउँबाट मादल बनाउन आउनेको सङ्ख्या धेरै हुने गरे पनि पछिल्लो समय नाचगान तथा सांस्कृतिक गतिविधि घट्दै जाँदा माग पनि कम भएको उनले बताए । आधुनिक बाजा र मनोरञ्जनका नयाँ माध्यमको विस्तारसँगै परम्परागत बाजाप्रतिको आकर्षण घट्दै गएको उनको बुझाइ छ । यद्यपि दसैँ र माघीजस्ता पर्वमा थारू समुदायले परम्परागत नाचगानलाई निरन्तरता दिएकाले मादलको आवश्यकता अझै कायमै छ ।

मादल बनाउने कामबाट जीवन धान्दै आएका बादीले आम्दानी भए पनि विगतमा कमाएको रकम बचत गर्न नसकेको बताए । ‘पैसा नकमाएको होइन, कमाएकै हो । तर, पैसा नचिनेर राख्न सकिएन,’ उनले भने । आफ्नो पुस्ताले मादल बनाउने सीपलाई निरन्तरता दिए पनि पछिल्लो पुस्तामा यसप्रति आकर्षण घट्दै गएको उनले बताए । उनका छोरा–नातिले पनि केही हदसम्म मादल बनाउन सिकेका छन् । तर, रोजगारीका लागि घरबाहिर जाने युवाको सङ्ख्या बढ्दै जाँदा पुर्ख्यौली सीप सिक्ने र त्यसलाई पेसाका रूपमा अघि बढाउने क्रम कमजोर हुँदै गएको उनको भनाइ छ ।

दसैँका बेला थारू बस्तीमा सख्यापैयाँको तालमा मादल गुञ्जिँदा त्यससँगै एउटा पुरानो सीप पनि जीवित रहन्छ । तर, त्यो सीपलाई नयाँ पुस्तासम्म पुर्‍याउने चुनौती भने बढ्दै गएको छ । ७१ वर्षीय बादीले अहिले पनि मादल बनाइरहेका छन्, तर उनको पुस्तापछि यही कामलाई निरन्तरता दिने हात कति रहनेछन् भन्ने प्रश्न भने अनुत्तरित छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।