२०८३ मंसिर ८ सोमबार
२०८३ मंसिर ८ सोमबार

काठमाडौं।   विश्वकै सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज बाइनान्समा भएको साइबर आक्रमणले डिजिटल सम्पत्ति कारोबारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। आक्रमणबाट करिब ६.३ अर्ब अमेरिकी डलर अर्थात् ९ खर्ब ५८ अर्ब रुपैयाँ बराबरका डिजिटल सम्पत्ति प्रभावित भएका छन्। चोरी भएको सम्पत्तिमध्ये करिब आधा अन्य क्रिप्टो प्लेटफर्मको सहयोगमा रोकिएको बाइनान्सले जनाएको छ।

बाइनान्सले बिहीबार घटनाको पुष्टि गर्दै साइबर आक्रमणबाट भएको सम्पूर्ण क्षति कम्पनी आफैंले व्यहोर्ने प्रतिबद्धता जनाएको हो। कम्पनीको प्रारम्भिक अनुसन्धानअनुसार एक इन्जिनियरको ल्यापटपमा रहेको सुरक्षा कमजोरीको फाइदा उठाउँदै आक्रमणकारीले अनधिकृत रूपमा डिजिटल सम्पत्ति निकालेका थिए।

क्रिप्टो विश्लेषण गर्ने दुई प्रमुख कम्पनीले आक्रमणमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडरट्रेटर’ नामक ह्याकर समूहको संलग्नता हुन सक्ने बताएका छन्। यो आक्रमणले सन् २०२५ मा बाइबिट एक्सचेन्जबाट १.५ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको घटनालाई समेत उछिनेको छ। उक्त घटना यसअघि क्रिप्टो क्षेत्रकै सबैभन्दा ठूलो साइबर आक्रमण मानिएको थियो।

एआईमा आधारित अनुसन्धान कम्पनी टीआरएम ल्याब्सले बाइनान्समाथिको आक्रमणका विभिन्न पक्ष यसअघि उत्तर कोरियाली ह्याकरसँग जोडिएका घटनासँग मिल्दोजुल्दो रहेको जनाएको छ। तीमध्ये बाइबिटमाथिको आक्रमण पनि एक हो।

टीआरएम ल्याब्सका विश्वव्यापी नीति प्रमुख एरी रेडबोर्डले बाइनान्समाथिको आक्रमणलाई क्रिप्टो उद्योगका लागि ठूलो मोडका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यसअघि उद्योगले यति ठूलो स्तरको आक्रमण सामना गरेको थिएन। आक्रमणकारीसँग अझै ठूलो परिमाणमा चोरी भएको डिजिटल सम्पत्ति रहेकाले त्यसको खोजी, पहिचान र पुनःप्राप्तिका लागि लामो प्रयास आवश्यक पर्ने उनले बताएका छन्।

अर्को क्रिप्टो विश्लेषण कम्पनी चेनालाइसिसले पनि आक्रमणमा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेकोमा आफू उच्च विश्वस्त रहेको जनाएको छ। कम्पनीका अनुसन्धान प्रमुख एरिक जार्डिनले ठूलो परिमाणमा डिजिटल सम्पत्ति सञ्चित हुने भएकाले क्रिप्टो एक्सचेन्ज ह्याकरका लागि आकर्षक लक्ष्य बन्ने गरेको बताएका छन्।

यद्यपि, बाइनान्सले आक्रमणमा उत्तर कोरियाको प्रत्यक्ष संलग्नताबारे कुनै टिप्पणी गरेको छैन। कम्पनीले घटनाको अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायसँग सहकार्य भइरहेको र संलग्न अपराधीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउने प्रयास भइरहेको जनाएको छ।

यो घटना बाइनान्सको अन्तर्राष्ट्रिय कारोबार गर्ने प्लेटफर्म बाइनान्स डटकममा भएको हो। अमेरिकी प्रयोगकर्तालाई छुट्टै सेवा प्रदान गर्ने बाइनान्स डट युएसले भने आफ्नो प्लेटफर्म प्रभावित नभएको स्पष्ट पारेको छ।

बाइनान्सकी सह–प्रमुख कार्यकारी अधिकृत यी हेले घटनापछि विभिन्न क्रिप्टोकरेन्सी जारीकर्ता तथा प्लेटफर्मले चोरी भएका सम्पत्ति रोक्न गरेको सहयोगप्रति आभार व्यक्त गरेकी छन्। उनले सुरक्षा अवस्था सुनिश्चित नभएसम्म निकासी सेवा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएकी छन्।

यसैबीच, स्टेबलक्वाइन जारीकर्ता टीथर र सर्कलले बाइनान्स ह्याकसँग सम्बन्धित करिब २.४ अर्ब अमेरिकी डलर बराबरका डिजिटल सम्पत्ति रोक्का गरेका छन्। अमेरिकी डलरसँग जोडिएको यूएसडीसी जारी गर्ने सर्कलका प्रमुख कार्यकारी जेरेमी एलायरले ८० करोड डलरभन्दा बढीको सम्पत्ति रोक्का गरिएको बताएका छन्। त्यस्तै, यूएसडीटी जारी गर्ने टीथरका प्रमुख कार्यकारी पाओलो अर्डोइनोलाई उद्धृत गर्दै कम्पनीले करिब १.६ अर्ब डलर बराबरका सम्पत्ति रोक्का गरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्धित क्रिप्टो कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलले पनि चोरी भएको रकम रोक्न साझेदारसँग सहकार्य गरिरहेको जनाएको छ। क्रिप्टो एक्सचेन्ज कोइनबेसले भने आफ्नो प्लेटफर्ममा कुनै असर नपरेको र घटनाको निगरानी गरिरहेको बताएको छ।

सन् २०१७ मा चीनमा स्थापना भएको बाइनान्स हाल विश्वकै ठूलो क्रिप्टो एक्सचेन्ज हो। कम्पनीसँग विश्वभर ३० करोडभन्दा बढी दर्ता भएका प्रयोगकर्ता रहेको अनुमान छ। बाइनान्सले विभिन्न देशमा नियामकीय छानबिनसमेत सामना गर्दै आएको छ। कम्पनीका अनुसार सन् २०२४ मा उसको नियन्त्रणमा १६० अर्ब डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति थिए।

आक्रमणको खबर सार्वजनिक भएसँगै क्रिप्टो बजारमा पनि असर परेको छ। बिटक्वाइनको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ भने इथेरियम र सोलानालगायत प्रमुख क्रिप्टोकरेन्सीको मूल्यसमेत ओरालो लागेको छ। घटनाले डिजिटल सम्पत्तिको सुरक्षा, क्रिप्टो एक्सचेन्जको प्राविधिक क्षमता र लगानीकर्ताको सम्पत्ति संरक्षणबारे थप बहस सिर्जना गरेको छ।

लुम्बिनीको औद्योगिक सम्भावनालाई व्यवहारमा उतार्न नसके प्रदेशको अर्थतन्त्र व्यापार र उपभोगमा निर्भर रहने जोखिम कायम रहनेछ । त्यसैले प्रदेशको आर्थिक विकासलाई गति दिन उद्योग विस्तार, रोजगारी सिर्जना र युवा जनशक्तिलाई स्थानीय अर्थतन्त्रमा आबद्ध गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न आवश्यक छ ।


नेपालगन्ज, कात्तिक १३  संघीयतापछि प्रदेश र स्थानीय तहले विकासको नेतृत्व गर्ने अपेक्षा गरिए पनि लुम्बिनी प्रदेशको आर्थिक विकासले अपेक्षित गति लिन सकेको छैन । औद्योगिक लगानीको असमान वितरण, उत्पादनमूलक उद्योगको अभाव र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा प्रदेशको अर्थतन्त्र संकुुचित हुने जोखिम बढेको छ । उद्योगधन्दाको विस्तार सुस्त हुँदा स्थानीय युवाहरू रोजगारीका लागि अन्य प्रदेश तथा विदेश पलायन भइरहेका छन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको योगदान १४.२ प्रतिशत छ । मुलुकको अर्थतन्त्रमा बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत हुँदा लुम्बिनीको हिस्सा त्यसको तुलनामा निकै कम देखिन्छ । कृषि, व्यापार, पर्यटन र औद्योगिक विकासको सम्भावना बोकेको प्रदेशले आफ्नो आर्थिक क्षमताअनुसार योगदान बढाउन नसक्नुमा लगानी, पूर्वाधार र उत्पादनमूलक क्षेत्रको विकासमा देखिएको कमजोरी प्रमुख कारणका रूपमा देखिएका छन् ।

लुम्बिनीमा नेपालगन्ज, भैरहवा, बुटवल, कोहलपुर र आसपासका क्षेत्रलाई औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । भारतसँग जोडिएका प्रमुख व्यापारिक नाका, कृषि उत्पादन, जडीबुटी तथा बजारको उपलब्धताले उद्योग स्थापनाका लागि आधार प्रदान गरे पनि कच्चा पदार्थको प्रशोधन, वस्तु उत्पादन र निर्यातमुखी उद्योगको विस्तार अपेक्षाकृत हुन सकेको छैन । नेपालगन्जका अगुवा व्यापारी ललितकुमार रौनियारका अनुसार पश्चिम नेपालमा उपलब्ध स्रोतसाधनलाई औद्योगिक उत्पादनसँग जोड्न राज्यले पर्याप्त पहल गर्न सकेको छैन । कृषि उपज र जडीबुटीलाई स्थानीय स्तरमै प्रशोधन गरी बजारमा पुर्‍याउने उद्योग स्थापना गर्न सके रोजगारी र आम्दानी दुवै बढाउन सकिने उनको भनाइ छ । बैंकको ब्याजदर, प्रशासनिक झन्झट र लगानीमैत्री वातावरणको अभावले नयाँ उद्योग स्थापनामा चुनौती थपेको उनले बताए ।

औद्योगिकीकरण कमजोर हुँदा त्यसको प्रत्यक्ष असर रोजगारीमा परेको छ । प्रदेशभित्र पर्याप्त अवसर नहुँदा युवा जनशक्ति काठमाडौंलगायत ठूला सहर र वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको छ । युवाको पलायनले गाउँमा कृषि श्रमिकको अभाव बढाएको छ भने स्थानीय बजारमा वस्तु तथा सेवाको माग विस्तार हुन सकेको छैन । उत्पादनशील उमेरका नागरिक बाहिरिँदा प्रदेशको दीर्घकालीन आर्थिक विकासमा समेत असर पर्ने जोखिम छ । लुम्बिनीको अर्थतन्त्रलाई बलियो बनाउन कृषि उत्पादनलाई उद्योगसँग जोड्ने, साना तथा मझौला उद्योगको क्षमता बढाउने र निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति आवश्यक देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा उत्पादित खाद्यान्न, तेलहन, दलहन, फलफूल र अन्य कृषि उपजको प्रशोधन तथा बजारीकरणका लागि उद्योग स्थापना गर्न सके स्थानीय उत्पादनले उचित मूल्य पाउने र रोजगारीका अवसर सिर्जना हुनेछन् ।

त्यस्तै, नेपालगन्ज र भैरहवाजस्ता सीमावर्ती व्यापारिक केन्द्रलाई उत्पादन तथा निर्यातसँग जोड्न सके भारतीय बजारको पहुँचलाई आर्थिक लाभमा रूपान्तरण गर्न सकिन्छ । औद्योगिक क्षेत्रको पूर्वाधार सुधार, नियमित विद्युत् आपूर्ति, सहज कर्जा, दक्ष जनशक्ति उत्पादन र प्रशासनिक प्रक्रिया सरल बनाउनु पनि उत्तिकै आवश्यक छ ।
संघीयताको उद्देश्य प्रशासनिक अधिकार हस्तान्तरणमा मात्र सीमित छैन । प्रदेशको आर्थिक क्षमता विस्तार गरी नागरिकलाई आफ्नै क्षेत्रमा रोजगारी र आम्दानीको अवसर उपलब्ध गराउनु पनि यसको महत्वपूर्ण पक्ष हो । त्यसका लागि लुम्बिनीमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने, औद्योगिक पूर्वाधार निर्माण गर्ने र स्थानीय स्रोतसाधनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्नुपर्ने देखिन्छ । लुम्बिनीको औद्योगिक सम्भावनालाई व्यवहारमा उतार्न नसके प्रदेशको अर्थतन्त्र व्यापार र उपभोगमा निर्भर रहने जोखिम कायम रहनेछ । त्यसैले प्रदेशको आर्थिक विकासलाई गति दिन उद्योग विस्तार, रोजगारी सिर्जना र युवा जनशक्तिलाई स्थानीय अर्थतन्त्रमा आबद्ध गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न आवश्यक छ ।

वीरगन्ज ।  सडक तथा सार्वजनिक स्थानमा सञ्चालन भइरहेका तरकारी र फलफूलका थोक बजारलाई व्यवस्थित गर्न वीरगन्ज महानगरपालिकाले व्यवसायीलाई २१ दिनभित्र निर्धारित स्थानमा सर्न निर्देशन दिएको छ। महानगरपालिकाले वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा आगामी मंसिर २ गतेभित्र कारोबार स्थानान्तरण गर्न बिहीबार सार्वजनिक सूचना जारी गरेको हो।

महानगरपालिकाका अनुसार महानगर क्षेत्रका विभिन्न स्थानमा छरिएर थोक कारोबार गरिरहेका सबै व्यवसायीले तोकिएको बजारमा सर्नुपर्नेछ। निर्धारित स्थानबाहेक अन्यत्र जथाभावी थोक बजार सञ्चालन गर्न तथा बजार लगाउनसमेत रोक लगाइएको छ।

सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा तरकारी र फलफूलको थोक कारोबार हुँदा बजार व्यवस्थापन, यातायात सञ्चालन र उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न हुने भएकाले थोक कारोबारलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा तोकिएको समयभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख छ। निर्धारित समयसीमाभित्र बजार नसार्दा उत्पन्न हुने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीले नै लिनुपर्ने महानगरपालिकाले स्पष्ट पारेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।