२०८३ मंसिर ८ सोमबार
२०८३ मंसिर ८ सोमबार

नेपालगन्ज ।  काठमाडौंमा पत्रकारमाथि प्रहरीले गरेको धरपकड र दुर्व्यवहारको घटनालाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप ठहर गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाले दोषीमाथि कारबाही गर्न माग गरेको छ। महासंघले पत्रकारलाई त्रसित बनाउने र समाचार संकलन तथा सम्प्रेषणको अधिकार कुण्ठित गर्ने कार्य लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत भएको जनाएको छ।

महासंघ बाँकेले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ काठमाडौंमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि प्रहरीले गरेको धरपकड, दुर्व्यवहार तथा नियन्त्रणमा लिने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता राज्यको कृपाको विषय नभई संविधानप्रदत्त मौलिक अधिकार भएको उल्लेख गरिएको छ। स्वतन्त्र प्रेसको आवाज दबाउने, पत्रकारलाई त्रसित बनाउने तथा समाचार संकलन र सम्प्रेषणको अधिकारमाथि अंकुश लगाउने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मविपरीत हुने महासंघको भनाइ छ।

पत्रकारमाथि राज्यशक्तिको दुरुपयोग गर्दै गरिएको व्यवहारले सरकारको लोकतान्त्रिक प्रतिबद्धता र चरित्रमाथि गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ। स्वतन्त्र पत्रकारिताको विश्वसनीयतामाथि आँच पुर्‍याउने, भ्रम सिर्जना गर्ने तथा पत्रकारलाई नै दोषी देखाउने प्रकृतिका घटनाक्रमप्रति समेत राज्य गम्भीर हुनुपर्ने महासंघले जनाएको छ।

महासंघले घटनाको वास्तविकता, पत्रकारमाथि धरपकड गर्नुको कारण र त्यसक्रममा सम्बन्धित व्यक्तिहरूले निर्वाह गरेको भूमिकाबारे निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न माग गरेको छ। घटनाको सत्यतथ्य सार्वजनिक गरी पत्रकारिता क्षेत्रलाई आश्वस्त पार्नु राज्यको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ।

राज्यका जिम्मेवार निकायहरूले एकअर्कामाथि जिम्मेवारी पन्छाउने, घटनाबारे अनभिज्ञता प्रकट गर्ने वा गम्भीर विषयलाई सामान्यीकरण गर्ने प्रवृत्ति स्वीकार्य नहुने महासंघले स्पष्ट पारेको छ। पत्रकारमाथिको धरपकडलाई सामान्य प्रशासनिक घटनाका रूपमा व्याख्या गरेर उम्कन नपाइने भन्दै दोषीमाथि कारबाही र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन ठोस प्रतिबद्धता आवश्यक रहेको जनाएको छ।

महासंघ बाँकेले पत्रकारमाथिको आक्रमण व्यक्तिमाथिको आक्रमणमा मात्र सीमित नरही नागरिकको सुसूचित हुने अधिकार र लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको जनाएको छ। प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आवश्यक परे हुने आन्दोलन तथा संघर्षमा सक्रिय सहभागिता र ऐक्यबद्धता जनाउने प्रतिबद्धतासमेत महासंघले व्यक्त गरेको छ।


डोल्पा ।  डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार भएको घटना सार्वजनिक भएको छ ।

शुक्रबार राति कारागारभित्र सुरुङ खनी उनीहरू बाहिरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनापछि कारागारको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ ।

कैदी फरार भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले कारागारको अवस्था, फरार हुने बाटो र घटनाको प्रकृतिबारे स्थलगत निरीक्षण गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार हालसम्म ८ जना कैदी फरार भएको सूचना प्राप्त भए पनि उनीहरूको पहिचान र वास्तविक संख्या आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ ।

घटनाबारे जिल्ला कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालय डोल्पाले औपचारिक विवरण सार्वजनिक गरेका छैनन् । प्रहरीले अनुसन्धान तथा निरीक्षणपछि घटनाको यथार्थ विवरण सार्वजनिक गर्ने जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।