
बाँके (फत्तेपुर) । स्थानीय युवालाई खेलकुदमा जोड्दै आपसी सद्भाव र सम्बन्ध विस्तार गर्ने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिका–६ मा पाँचौँ वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा विभिन्न सामुदायिक वनसहित १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
रोयल साहारा युवा क्लबको आयोजना तथा राप्तीसोनारी–६ वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु र वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष थारुले खेलाडीलाई शान्तिपूर्ण र मर्यादित रूपमा प्रतिस्पर्धा गर्न आग्रह गरिन् । चाडपर्वको समयमा खेलकुदमार्फत मनोरञ्जन लिनुका साथै आपसी सद्भाव कायम राख्नुपर्ने उनको भनाइ थियो ।
वडाध्यक्ष खरेलले फुटबल प्रतियोगिताले युवाबीचको सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने बताए । स्वस्थ जीवनका लागि खेलकुद र शारीरिक व्यायाम आवश्यक रहेको उल्लेख गर्दै उनले युवालाई खेलकुदमा सक्रिय हुन आग्रह गरे । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको सन्दर्भमा युवाहरूले नेतृत्वदायी भूमिका लिनुपर्ने उनको सुझाव थियो ।

क्लबका अध्यक्ष राम खरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य लक्ष्मी चौधरी, सरस्वती माध्यमिक विद्यालय पनेरियाका प्रधानाध्यापक तथा क्लबका सल्लाहकार महारुप जैसीलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सरिता बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राप्तीसोनारी–६ भित्रका विभिन्न सामुदायिक वनसहित १० टोली सहभागी छन् ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ। कार्कीले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै आईजीपीमा पुनर्बहालीको माग गरेका छन्।
सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् पदमा पुनर्बहाली गर्न मागसहित कार्कीले बिहीबार सर्वोच्चमा रिट पेस गरेका थिए। सुनुवाइको अवसर नदिई कुनै आधार र कारणबिना आफूलाई प्रहरी प्रमुखबाट हटाइएको उनको दाबी छ।
रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी भने तोकिएको छैन। सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार रिट दर्ता भइसकेको र सुनुवाइको मिति तय हुन बाँकी रहेको छ।
‘उहाँको रिट दर्ता भयो। सुनुवाइको पेसी तय हुन बाँकी छ,’ प्रशासन स्रोतले भन्यो।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको थियो। त्यसपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।
सरकारको उक्त निर्णय कार्यान्वयन रोक्दै आफूलाई पूर्ववत् रूपमा प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न कार्कीले सर्वोच्च अदालतसँग माग गरेका छन्।
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट निवेदन शुक्रबार सर्वोच्च अदालतमा दर्ता हुन सक्ने भएको छ।
सर्वोच्च अदालतको मुद्दा महाशाखाले रिट निवेदनको अध्ययन गरिरहेको र कानुनी प्रक्रिया पूरा भएको पाइए आजै दर्ता हुन सक्ने महाशाखा प्रमुख ठगिन्द्र कट्टेलले जानकारी दिएका छन्।
‘रिट अहिले मुद्दा महाशाखामा अध्ययन भइरहेको छ,’ उनले भने, ‘आज दर्ता हुन सक्छ।’
सामान्यतया कानुनी प्रक्रिया पूरा गरी पेस भएका रिट निवेदन मुद्दा महाशाखाले दर्ता गर्ने गर्छ। प्रक्रिया नमिलेको अवस्थामा भने निवेदन फर्काइने व्यवस्था छ।
कार्कीका अधिवक्ता टीकाबहादुर कुँवरले पनि रिट निवेदन अध्ययनकै क्रममा रहेको र शुक्रबार दर्ता हुन सक्ने बताएका छन्।
सरकारले आइजिपी पदबाट हटाएपछि कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्। उनले आफ्नो तर्फबाट वारेसमार्फत बिहीबार रिट निवेदन पेस गरेका थिए। तर, अध्ययन प्रक्रिया पूरा नभएकाले बिहीबार निवेदन दर्ता हुन सकेको थिएन।
रिट शुक्रबार दर्ता भए पनि त्यसको प्रारम्भिक सुनुवाइ भने तिहार बिदापछि मात्रै हुने छ।
नरैनापुर, कात्तिक २० । बाँकेको नरैनापुर गाउँपालिकामा नापी तथा मालपोतसम्बन्धी सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाले आफ्नै कार्यालयमा भूमि व्यवस्थापन शाखा स्थापना गरी जग्गा पास, कित्ताकाट र नामसारीलगायत सेवा सुरु गरेपछि स्थानीय नागरिकलाई जग्गासम्बन्धी कामका लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
यसअघि जग्गासम्बन्धी सामान्य प्रशासनिक कामका लागि समेत जिल्ला सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक विकटता र कमजोर यातायात पहुँचका कारण स्थानीयले सेवा लिन समय र पैसा खर्च गर्नुपर्ने अवस्था थियो । अब गाउँपालिकाबाटै सेवा उपलब्ध हुने भएपछि विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भूमि व्यवस्थापन शाखाको सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नागरिकलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकामै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरिएको बताए ।
उनले जग्गा पास, कित्ताकाट र नामसारीलगायत कामका लागि अब सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य हुने जनाउँदै यसबाट नागरिकको समय र खर्च दुवै बचत हुने बताए । स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा प्रशासनिक झन्झटसमेत कम हुने उनको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले देशभरका स्थानीय तहमा स्थापना भएका भूमि व्यवस्थापन शाखामध्ये नरैनापुर ३४औँ शाखा भएको जानकारी दिए । उनका अनुसार सेवा सञ्चालनका लागि आवश्यक संस्थागत तथा प्राविधिक व्यवस्थापन मिलाइएको छ ।
उनले आगामी दिनमा शाखाबाट प्रदान गरिने सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लैजाने बताए । आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी नागरिकले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गरिने उनको भनाइ छ । शाखा सञ्चालनको अवसरमा पहिलो सेवाग्राहीका रूपमा नरैनापुर–५ का विनय दीक्षित र नरैनापुर–४ का अर्का सेवाग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको थियो ।
पहिलो सेवाग्राही दीक्षितले गाउँपालिकाबाटै भूमि प्रशासनसम्बन्धी सेवा पाउने व्यवस्था सुरु हुनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । यसअघि यस्ता कामका लागि नेपालगञ्ज पुग्नुपर्ने अवस्थाको अन्त्य हुँदा समय र खर्च बचत हुने उनले बताए । भूमि प्रशासनसम्बन्धी सेवा गाउँपालिकामै सुरु भएपछि नरैनापुरका नागरिकलाई जग्गासम्बन्धी कामका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता कम हुने र स्थानीय स्तरमै सरकारी सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।





