
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा काग तिहार मनाइँदैछ । हिन्दू धर्म र संस्कृतिमा कागलाई यमराजको दूतका रूपमा मानिने भएकाले आज कागको पूजा गरी मीठा परिकार खान दिने परम्परा छ ।
धार्मिक मान्यताअनुसार कागले यमराजसमक्ष मानिसका सन्देश पुर्याउने विश्वास गरिन्छ । कागलाई सन्देशवाहकका रूपमा सम्मान गर्दै आज बिहान घरको छत, आँगन वा खुला स्थानमा खानेकुरा राखेर कागलाई बोलाउने र खुवाउने चलन छ । कागलाई पूजा गर्दा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वाससमेत रहेको छ । तिहारको पहिलो दिन कागको पूजा गरेर पाँच दिनसम्म मनाइने यस पर्वको औपचारिक सुरुआत गरिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा गर्ने परम्परा छ ।
आजकै दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको सम्झनामा धन्वन्तरि जयन्ती पनि मनाइँदैछ । समुद्र मन्थनका क्रममा अमृतको कलशसहित भगवान् धन्वन्तरिको प्रादुर्भाव भएको धार्मिक विश्वासका आधारमा प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरि जयन्ती मनाउने गरिन्छ । भगवान् धन्वन्तरिलाई आयुर्वेद चिकित्साका प्रवर्तक तथा स्वास्थ्य र आरोग्यका प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । यस अवसरमा वैद्य, चिकित्सक, आयुर्वेदका विद्यार्थी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरूले विशेष पूजा तथा विभिन्न कार्यक्रम आयोजना गर्छन् । नेपालमा विसं १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि विधिवत् रूपमा धन्वन्तरि जयन्ती मनाउन थालिएको मानिन्छ । विसं २०५६ देखि यस दिनलाई आरोग्य दिवसका रूपमा समेत मनाउन थालिएको हो ।
धन्वन्तरि जयन्तीका अवसरमा आयुर्वेद अस्पताल, क्याम्पस, वैद्यखाना तथा आयुर्वेद क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी आयुर्वेद चिकित्सा पद्धतिको महत्त्व र प्राकृतिक औषधिको उपयोगबारे जनचेतना फैलाउने गरेका छन् । काग तिहार र धन्वन्तरि जयन्तीले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै प्रकृति, स्वास्थ्य र जीवजन्तुप्रतिको सम्मानको सन्देश दिने विश्वास गरिन्छ ।
कोहलपुर नगरपालिका–१२ सुन्दरबस्तीका युवाहरू पछिल्लो समय फूल खेतीप्रति आकर्षित हुँदै गएका छन् । अन्य परम्परागत बालीको तुलनामा फूल खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि उनीहरूले यसलाई व्यावसायिक रूप दिएका हुन् । सात वर्षदेखि निरन्तर फूल खेती गर्दै आएका उनीहरूका लागि अहिले फूल उत्पादन आम्दानीको एउटा भरपर्दो माध्यम बन्दै गएको छ ।
कोहलपुर, कात्तिक २१। नेपालमा रोजगारीको खोजीमा ठूलो संख्यामा युवा जनशक्ति विदेशिने क्रम बढिरहेका बेला बाँकेको कोहलपुरका केही युवाले भने आफ्नै गाउँठाउँमा कृषि उद्यममार्फत भविष्य खोजिरहेका छन् । परम्परागत खेतीबाट फरक व्यवसाय रोज्दै उनीहरूले व्यावसायिक फूल खेतीलाई आम्दानीको स्रोत बनाएका छन् । तिहार नजिकिँदै गर्दा उनीहरूको बारीमा फुलेका सयपत्री फूल बजारसम्म पुग्ने तयारीमा छन् । पहेँलपुर र सुन्तला रङका फूलले ढाकिएको खेतले उनीहरूको मेहनत मात्र होइन, स्थानीय स्तरमै कृषि उद्यमबाट आत्मनिर्भर बन्न सकिने सम्भावनासमेत देखाएको छ ।
कोहलपुर नगरपालिका–१२ सुन्दरबस्तीका युवाहरू पछिल्लो समय फूल खेतीप्रति आकर्षित हुँदै गएका छन् । अन्य परम्परागत बालीको तुलनामा फूल खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि उनीहरूले यसलाई व्यावसायिक रूप दिएका हुन् । सात वर्षदेखि निरन्तर फूल खेती गर्दै आएका उनीहरूका लागि अहिले फूल उत्पादन आम्दानीको एउटा भरपर्दो माध्यम बन्दै गएको छ । थापा कृषि तथा नर्सरी फर्ममार्फत व्यावसायिक फूल खेती गर्दै आएका यहाँका युवाले विशेषगरी तिहारलाई लक्षित गरेर सयपत्री उत्पादन गरिरहेका छन् । तिहारमा घर, पसल, मठमन्दिर तथा सार्वजनिक स्थान सजाउन सयपत्री फूलको माग उच्च हुने भएकाले यसलाई बजारसँग जोडेर आम्दानी बढाउने उनीहरूको योजना छ । तिहारको समयमा फूलको खपत बढ्ने भएकाले उत्पादन र बिक्रीको तयारी पनि सोहीअनुसार गरिएको छ ।
पुष्प उद्यमी कर्णबहादुर थापा फूल खेतीबाट अन्य परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने भएकाले आफूहरू यसतर्फ आकर्षित भएको बताउँछन् । सुरुमा नयाँ व्यवसायका रूपमा फूल खेती थाले पनि अनुभव बढ्दै जाँदा यसको व्यावसायिक सम्भावना पनि स्पष्ट हुँदै गएको उनको भनाइ छ । ‘अन्य खेतीको तुलनामा फूलबाट राम्रो आम्दानी गर्न सकिने देखेपछि यसलाई निरन्तरता दिएका हौँ,’ उनले भने । यस वर्ष फर्मले उच्च गुणस्तरको कर्मा ५५५ जातको सयपत्री फूल खेती गरेको छ । १४ कठ्ठा क्षेत्रफलमा लगाइएको फूलबाट करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादनको अवस्था राम्रो रहेकाले तिहारको बजार माग पूरा गर्न सकिने उनीहरूको विश्वास छ । खेती लगाउनेदेखि फूलको हेरचाह, उत्पादन र बिक्रीसम्मको काममा युवाहरू सक्रिय छन् ।
फूल खेतीमा उत्पादन मात्रै पर्याप्त हुँदैन, उत्पादित फूल समयमै बजार पुर्याउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यसैले फर्मले उत्पादनसँगै बजार व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ । यस वर्ष उत्पादन भएका सयपत्री फूल कोहलपुर, नेपालगन्ज र बर्दियाको बाँसगढीका बजारमा स्टल राखेर बिक्री गर्ने तयारी गरिएको छ । यसबाट स्थानीय उपभोक्ताले ताजा फूल सहज रूपमा प्राप्त गर्ने र उत्पादकले पनि आफ्नो उत्पादनको बजार आफैँ खोज्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । थापा कृषि तथा नर्सरी फर्मका सञ्चालक जयबहादुर बस्नेत स्थानीय स्तरमा फूल उत्पादन बढाउन सके बाहिरी जिल्लाबाट आयात हुने फूलमाथिको निर्भरता घटाउन सकिने बताउँछन् । तिहारलगायत चाडपर्वमा स्थानीय बजारमा फूलको माग बढ्ने भए पनि मागअनुसार उत्पादन हुन नसक्दा बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
‘हामीले आफ्नै ठाउँमा फूल उत्पादन गर्न सक्यौँ भने स्थानीय बजारको माग पूरा गर्न सकिन्छ । यसले बाहिरबाट आउने फूलको निर्भरता घटाउनुका साथै युवालाई गाउँमै बसेर काम गर्ने अवसर पनि दिन्छ,’ बस्नेतले भने । नेपालमा चाडपर्वका बेला फूलको माग उल्लेख्य रूपमा बढ्ने गरेको छ । विशेषगरी तिहारमा सयपत्री र मखमली फूलको प्रयोग व्यापक हुन्छ । घरको ढोकादेखि मठमन्दिर, कार्यालय, पसल र सार्वजनिक स्थलसम्म फूलले सजाउने परम्परा छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीलाई माला लगाउने चलनले पनि सयपत्रीको माग बढाउँछ । यस्तो अवस्थामा स्थानीय स्तरमा व्यावसायिक फूल खेती विस्तार गर्न सके किसानले राम्रो बजार पाउने सम्भावना रहन्छ ।
तर फूल खेतीलाई सफल व्यवसाय बनाउन उत्पादन र बजारबीचको सम्बन्ध बलियो हुन आवश्यक छ । फूलको गुणस्तर, समयमै उत्पादन, उचित मूल्य र बिक्रीको सुनिश्चितता नहुँदा किसानले अपेक्षित लाभ लिन नसक्ने जोखिम पनि हुन्छ । त्यसैले कोहलपुरका युवाहरूले फूल खेतीलाई निरन्तरता दिन उत्पादनसँगै प्राविधिक ज्ञान र बजार व्यवस्थापनमा पनि ध्यान दिन थालेका छन् । यस कार्यमा सम्बन्धन परियोजनाबाट प्राप्त प्राविधिक सहयोगले उनीहरूलाई थप सहज बनाएको छ । फूल खेतीमा आवश्यक ज्ञान, उत्पादन प्रविधि तथा व्यवस्थापनसम्बन्धी सहयोगले युवाहरूलाई व्यावसायिक रूपमा खेती गर्न प्रोत्साहन मिलेको परियोजनाका पैरवी अधिकृत जयन जोशी बताउँछन् ।
जोशीका अनुसार फूल खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न किसानलाई गुणस्तरीय बीउबिजनको छनोट, खेती गर्ने तरिका, उत्पादन व्यवस्थापन र बजारसँग जोड्ने विषयमा जानकारी आवश्यक हुन्छ । प्राविधिक सहयोग उपलब्ध हुँदा किसानले खेतीका क्रममा देखिने समस्या समाधान गर्न र उत्पादनलाई व्यवस्थित बनाउन सहज हुने उनको भनाइ छ । ‘फूल खेतीमा सम्भावना छ, तर त्यसलाई दिगो व्यवसाय बनाउन किसानलाई प्राविधिक ज्ञान र बजारको पहुँच आवश्यक हुन्छ । परियोजनाबाट प्राप्त सहयोगले युवाहरूलाई यस क्षेत्रमा अघि बढ्न थप प्रोत्साहन गरेको छ,’ उनले बताए ।
कोहलपुरका युवाहरूले सुरु गरेको फूल खेतीले स्थानीय कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ । परम्परागत रूपमा धान, गहुँ र अन्य खाद्यान्न बालीमा निर्भर किसानका लागि फूल खेती वैकल्पिक आम्दानीको माध्यम बन्न सक्छ । थोरै क्षेत्रफलबाट पनि बजारको मागअनुसार उत्पादन गर्न सकिने भएकाले यसले कृषि व्यवसायमा नयाँ पुस्ताको आकर्षण बढाउन सहयोग पुर्याउन सक्छ । यद्यपि यसको दिगोपनका लागि केही चुनौती सम्बोधन गर्नुपर्ने देखिन्छ । गुणस्तरीय बीउबिजनको सहज उपलब्धता, नियमित सिँचाइ, खेतीसम्बन्धी प्राविधिक ज्ञान, उत्पादनको संरक्षण तथा बजार व्यवस्थापन फूल खेतीका मुख्य आवश्यकता हुन् । विशेषगरी चाडपर्वमा मात्र नभई वर्षभरि फूलको बजार विस्तार गर्न सके किसानले नियमित आम्दानी लिन सक्ने सम्भावना रहन्छ । त्यसका लागि फूलको व्यावसायिक उत्पादनलाई चाडपर्वकेन्द्रित गतिविधिमा सीमित नराखी वर्षभरि माग हुने बजार पहिचान गर्नुपर्ने देखिन्छ ।
स्थानीय सरकारले पनि फूल खेतीमा संलग्न किसान र युवालाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाको सुझाव छ । बीउबिजन, सिँचाइ, प्राविधिक तालिम र बजार व्यवस्थापनमा सहयोग गर्न सके स्थानीय उत्पादन वृद्धि गर्न सकिन्छ । त्यसैगरी प्लास्टिकका कृत्रिम फूलको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय स्तरमा उत्पादित प्राकृतिक फूलको प्रयोगलाई प्राथमिकता दिन सके स्वदेशी कृषि उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विदेशमा रोजगारी खोजिरहेका युवाका लागि कोहलपुरका यी उद्यमीको प्रयास एउटा उदाहरण बन्न सक्छ । आफ्नै माटोमा सम्भावना खोज्दै उनीहरूले फूल खेतीलाई व्यवसायका रूपमा अघि बढाएका छन् । यसले कृषि क्षेत्रमा नयाँ सोच, सीप र उद्यमशीलताको आवश्यकता पनि उजागर गरेको छ । तिहार नजिकिँदै गर्दा सुन्दरबस्तीको खेतमा तयार भएका सयपत्री फूल बजारमा पुग्ने प्रतीक्षामा छन् । ती फूल केवल चाडपर्वको सजावटका सामग्री मात्र होइनन्, स्थानीय युवाको श्रम, सीप र उद्यमशीलताका प्रतीक पनि हुन् । आफ्नै गाउँमा केही गर्न सकिन्छ भन्ने विश्वासका साथ खेतीमा जुटेका युवाहरूले देखाएको यो प्रयासले स्थानीय उत्पादन, रोजगारी र आत्मनिर्भरताको सम्भावनालाई उजागर गरेको छ ।




