२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

नेपालगन्ज आइसीपीबाट देशमै पहिलोपटक मिथाइल ब्रोमाइड फ्युमिगेशन सुरु

व्यवसायीको निरन्तर दबाब, पहल र समन्वयपछि अहिले नेपालगन्ज आइसीपीमै यो सेवा सुरु भएको हो । कानुन बनेको झन्डै पाँच दशकपछि देशमै पहिलोपटक यसको व्यवहारिक सुरुवात हुनुले स्थानीय व्यवसायीमा नयाँ उत्साह थपेको छ । लामो समयदेखि निर्यात रोकिँदा गोदाममा थन्किएका सामग्री अब बजारमा पुग्ने आशा पलाएको छ ।

 

नेपालगन्ज, मंसिर २९ नेपालको निर्यात व्यापारमा लामो समयदेखि देखिँदै आएको एक महŒवपूर्ण प्राविधिक अवरोध अन्ततः हटेको छ । नेपालगन्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) बाट देशमै पहिलोपटक मिथाइल ब्रोमाइड फ्युमिगेशन प्रक्रिया सुरु गरिएको छ । सल्लाको आख्लालगायत केही काठजन्य वस्तु र जडिबुटीको निर्यातमा भारत सरकारले अनिवार्य गरेको यो प्रक्रिया करिब ५० वर्षअघि कानुन बने पनि व्यवहारमा भने हालसम्म लागू हुन सकेको थिएन ।

मिथाइल ब्रोमाइड फ्युमिगेशन अन्तर्राष्ट्रिय क्वारेन्टाइन मापदण्डअनुसार प्रयोग गरिने वैज्ञानिक विधि हो । फलफूल, तरकारी, अन्न, जडिबुटी तथा काठ प्याकिङ सामग्रीभित्र लुकेका कीरा र रोगजनक जीव नष्ट गर्न यो ग्यास प्रयोग गरिन्छ । निर्यात तथा आयातका क्रममा गन्तव्य मुलुकले तोकेको जैविक सुरक्षाको मापदण्ड पूरा गर्न यसको ठूलो महत्व हुन्छ । विशेषगरी भारतले सल्लाको आख्ला, केही काठजन्य सामग्री र जडिबुटीको आयातमा मिथाइल ब्रोमाइड फ्युमिगेशन प्रमाणपत्र अनिवार्य गरेपछि नेपाली व्यवसायी समस्यामा परेका थिए ।

व्यवसायीको निरन्तर दबाब, पहल र समन्वयपछि अहिले नेपालगन्ज आइसीपीमै यो सेवा सुरु भएको हो । कानुन बनेको झन्डै पाँच दशकपछि देशमै पहिलोपटक यसको व्यवहारिक सुरुवात हुनुले स्थानीय व्यवसायीमा नयाँ उत्साह थपेको छ । लामो समयदेखि निर्यात रोकिँदा गोदाममा थन्किएका सामग्री अब बजारमा पुग्ने आशा पलाएको छ ।

नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माका अनुसार भारत सरकारको कडाइका कारण विगत दुई वर्षदेखि सल्लाको आख्लालगायत केही जडिबुटी गोदाममै थन्किएर बसेका थिए । ‘फ्युमिगेशनको सुविधा नहुँदा निर्यात सम्भव थिएन । अहिले आइसीपीमै सुविधा सुरु भएपछि पहिलो चरणमै ४० मेट्रिक टन सल्लाको आख्लाको मिथाइल ब्रोमाइड फ्युमिगेशन गरिएको छ,’ उनले भने ।

उनका अनुसार मिथाइल ब्रोमाइड फ्युमिगेशन भन्नाले सम्बन्धित वस्तुहरूलाई पूर्ण रूपमा बन्द र सुरक्षित स्थानमा राखेर निश्चित मात्रामा मिथाइल ब्रोमाइड ग्यास छाड्ने प्रक्रिया हो । यो ग्यासले सामग्रीभित्र रहेका कीट, लार्भा र रोगाणु नष्ट गर्छ, जसले गर्दा आयातकर्ता देशको क्वारेन्टाइन मापदण्ड पूरा हुन्छ ।
यो प्रक्रिया सुरु भएसँगै नेपालगन्जका स्थानीय गोदाममा थन्किएका करिब दुई हजार मेट्रिक टन सल्लाको आख्लाको निर्यात प्रक्रिया पनि अघि बढेको छ । संघका अनुसार लामो समयदेखि रोकिएको व्यापार खुल्दा व्यवसायी मात्र होइन, यससँग जोडिएका श्रमिक, ढुवानीकर्ता र संकलनकर्ता पनि लाभान्वित हुनेछन् ।

नेपाल जडिबुटी व्यवसायी संघका सल्लाहकार तथा व्यवसायी रविन्द्रनाथ शुक्लाले नेपालगन्जमा थन्किएको र पहाडी जिल्लाबाट संकलन भएर राखिएका सल्लाको आख्लाको निर्यात अब तीव्र रूपमा सुरु भएको बताए । उनका अनुसार जाजरकोट, सल्यान, दैलेख र रुकुमजस्ता जिल्लाबाट ठूलो परिमाणमा सल्लाको आख्ला संकलन हुने गरेको छ । ‘यी जिल्लामा पहिलेदेखि संकलन गरेर राखिएका करिब सय कन्टेनर बराबरका सल्लाको आख्ला अब निर्यात हुने अवस्थामा पुगेका छन्,’ शुक्लाले जानकारी दिए ।

मिथाइल ब्रोमाइड फ्युमिगेशन सेवा नेपालमै उपलब्ध भएपछि ढुवानी समय र लागत दुबै घट्ने व्यवसायीको विश्वास छ । यसअघि भारतीय नाकामा वा अन्यत्र फ्युमिगेशन गराउनुपर्ने अवस्था हुँदा खर्च बढ्नुका साथै ढिलाइ हुने गरेको थियो । अब भने आइसीपीमै प्रक्रिया पूरा भएर निर्यात सहज हुने अपेक्षा गरिएको छ ।

यद्यपि, सल्लाको आख्लाको निर्यातसँग जोडिएको अर्को चुनौती अझै कायम छ । सरकारले सल्लाको आख्लाको निर्यातमा लगाएको सय प्रतिशत करप्रति बाँकेका जडिबुटी व्यवसायी असन्तुष्ट छन् । उनीहरूले करको दर घटाउनुपर्ने माग गर्दै आएका छन् । व्यवसायीका अनुसार कर अत्यधिक हुँदा प्रतिस्पर्धात्मक बजारमा नेपाली उत्पादन महँगो पर्न जान्छ, जसले दीर्घकालीन निर्यातलाई असर गर्न सक्छ ।

जे भए पनि नेपालगन्ज आइसीपीबाट मिथाइल ब्रोमाइड फ्युमिगेशनको सुरुवातलाई जडिबुटी तथा काठजन्य वस्तुको निर्यातमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । लामो समयदेखि थन्किएको वस्तु बजारमा पुग्ने बाटो खुलेको छ, जसले स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ । अब सरकारको नीतिगत सहजीकरण र कर संरचनामा सुधार आएमा यो क्षेत्रले अझ ठूलो सम्भावना बोकेको व्यवसायीहरूको विश्वास छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।