खजुरा । बाँकेको खजुरामा आज आइतबारदेखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । स्थानीय स्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्दै नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजनामा तथा सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–४ को सह–आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनी रंगशालामा हुनेछ । उद्घाटन खेलमा न्यु डाँफे स्पोर्ट्स क्लब र कालिका युवा क्लबबीच प्रतिस्पर्धा हुने तय गरिएको छ ।
जेठ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बाँके जिल्लाका विभिन्न १२ क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्ट्स क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्ट्स क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा–११ (आयोजक), योगिनी युवा क्लब, बागमती युवा क्लब तथा महिन्द्र दल गण भु.पु सहभागी रहेका छन् ।
आयोजक दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेका अध्यक्ष कृष्णलाल गिरीका अनुसार प्रतियोगिताको विजेता टोलीलाई ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार रकम खजुरा गाउँपालिका–४ निवासी हाल अमेरिकामा रहेका समाजसेवी तथा खेलप्रेमी लीलबहादुर थापाले प्रायोजन गरेका हुन् । प्रतियोगिता संयोजक एवं खजुरा गाउँपालिका–४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारका अनुसार स्थानीय खेलकुदको विकास र युवालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
यसैगरी प्रतियोगिताको मुख्य प्रायोजन स्वर्गीय अशोक विकका भाइ तथा एलिसा ज्वैलर्सका सञ्चालक हरिप्रकाश विकले गरेका छन् । आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै गाउँस्तरमा फुटबल गतिविधि सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।















