दाङ, असार ४ रातको घडीले ११ बजा पार गरिसकेको थियो । अधिकांश मानिस निद्रामा थिए । तर घोराही–२ रामपुरस्थित साना किसान कृषि सहकारी संस्थाको गेटअगाडि भने किसानहरूको चहलपहल सुरु भइसकेको थियो । कसैले बोरा ओछ्याएर बसेका थिए, कसैले मोबाइलको टर्च बालेर पालो कुरिरहेका थिए । उनीहरू कुनै राहत लिन आएका थिएनन्, न कुनै सरकारी सुविधा । उनीहरूलाई चाहिएको थियो, ‘धान रोप्नका लागि अत्यावश्यक रासायनिक मल ।’
दाङमा बर्खे धान रोपाइँको चटारो सुरु भएसँगै किसान फेरि एकपटक मल अभावको पुरानै समस्यासँग जुध्न बाध्य भएका छन् । खेतमा पानी जम्न थालेको छ, ब्याडका बिरुवा रोपाइँका लागि तयार छन्, तर मलको अभावले किसानको चिन्ता बढेको छ । मल आउने खबर पाउनासाथ रातिदेखि नै सहकारी र बिक्री केन्द्रमा लाइन बस्ने क्रम यतिबेला जिल्लाभर देख्न सकिन्छ । घोराही उपमहानगरपालिका–१ पन्तटोलका किसान नवराज पन्त बिहीबार बिहान २ बजेदेखि घोराही–२ रामपुरस्थित जैविक विविधता कृषि सहकारी संस्थाको कार्यालयमा लाइनमा थिए । उनी एक्ला थिएनन्, दर्जनौं किसान उनीजस्तै रातभर जाग्राम बसेर मलको प्रतीक्षामा थिए ।
उनले भने, ‘मुख्य रोपाइँका लागि चाहिने मल अझै पाएका छैनौं । करिब १८ बोरा आवश्यक छ, एक बोरा पनि हात परेको छैन । मल आएको खबर पाएपछि राति नै लाइनमा बस्नुपर्यो ।’ घोराही–२ निमुरियाका किसान गोवर्धन गिरीको अवस्था पनि फरक छैन । उनी राति ११ बजेदेखि दुई बोरा युरिया मलको आशामा लाइनमा थिए । गाउँका अन्य किसान पनि साँझदेखि नै पालो कुरिरहेका थिए । ‘धान खेतीमा मल नभई हुँदैन,’ उनले भने, ‘मल नपाए रोपाइँ ढिला हुन्छ, उत्पादन घट्छ । त्यसैले रातभर जागेर बस्नुपरेको छ ।’
मलभन्दा लामो लाइन
दाङका अधिकांश सहकारी र बिक्री केन्द्रमा अहिले बिहान उज्यालो हुनुअघि नै किसानको भीड लाग्ने गरेको छ । मल आउनेबित्तिकै केही घण्टामै मौज्दात सकिने अवस्था छ । माग अत्यधिक र आपूर्ति सीमित हुँदा किसानले चाहिएको परिमाण त परको कुरा, आधा बोरा मलसमेत पाउन संघर्ष गर्नुपरेको छ । साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद खनालका अनुसार उपलब्ध मलले मागको सानो अंश मात्रै धान्न सक्छ ।
‘किसानको संख्या धेरै छ, मल कम आउँछ,’ उनले भने, ‘त्यसैले आधाआधा बोराका दरले युरिया वितरण गर्नुपरेको छ । सबैलाई केही न केही पुगोस भनेर यस्तो व्यवस्था गरेका हौं ।’ उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडबाट कोटा प्रणालीअनुसार आउने मलको परिमाण अत्यन्त न्यून छ । एकपटकमा करिब सय बोरा मल आउँदा केही घण्टामै सकिने अवस्था हुन्छ । ‘लाइनमा बसेका धेरै किसान अन्ततः खाली हात फर्कनुपर्छ,’ उनले भने, ‘माग र आपूर्तिबीचको अन्तर निकै ठूलो छ ।’

धानको जिल्ला, मलको संकट
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा ६५ हजार ९८० हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये करिब ३९ हजार हेक्टर क्षेत्रमा धान खेती गरिन्छ । यही क्षेत्रफलमा उत्पादन कायम राख्न वार्षिक ३२ हजार ८२१ मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने अनुमान छ । तर हरेक वर्षजस्तै यस वर्ष पनि बर्खे सिजनमा आवश्यक परिमाणमा मल उपलब्ध हुन सकेको छैन । परिणामस्वरूप किसानले रोपाइँको मुख्य समयमा सास्ती भोग्नुपरेको छ ।
कृषि विज्ञहरूका अनुसार धान रोपेको निश्चित अवधिभित्र युरिया र अन्य मल प्रयोग गर्न नसके उत्पादनमा प्रत्यक्ष असर पर्छ । समयमै मल नपाउँदा बिरुवाको वृद्धि कमजोर हुने, उत्पादन घट्ने र किसानको लागतसमेत बढ्ने जोखिम रहन्छ ।
गोदाममा मौज्दात, किसानलाई अभाव
कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका प्रमुख डेबिट हमालका अनुसार हालसम्म शाखाबाट युरिया एक हजार ८९८.९० मेट्रिक टन, डीएपी एक हजार १९८.५० मेट्रिक टन र पोटास १०६.१५ मेट्रिक टन बिक्री भइसकेको छ । हाल गोदाममा युरिया ८५६.८० मेट्रिक टन, डीएपी ७०५.८५ मेट्रिक टन र पोटास ८९ मेट्रिक टन मौज्दात रहेको उनले बताए ।
‘मौज्दात शून्य छैन,’ उनले भने, ‘तर माग अत्यधिक भएकाले वितरणमा ठूलो दबाब परेको छ ।’ तुलसीपुर शाखाका प्रमुख लीलाधर ओलीका अनुसार दाङसँगै सल्यान जिल्लाको मागसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले उपलब्ध मौज्दात पर्याप्त हुन सकेको छैन । तुलसीपुर शाखाबाट हालसम्म युरिया दुई हजार ९९५.५९ मेट्रिक टन, डीएपी एक हजार ९२१.४० मेट्रिक टन र पोटास ४७.०५ मेट्रिक टन बिक्री भइसकेको छ । तर किसानको आवश्यकता अझै पूरा भएको छैन । लमही शाखाले पनि युरिया ३०० मेट्रिक टन, डीएपी ४३ मेट्रिक टन र पोटास २६.६ मेट्रिक टन मल सहकारीमार्फत वितरण गरिसकेको जनाएको छ ।














