२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

न्यायको प्रतीक्षामा जाजरकोटकी साराकुमारी

जाजरकोट, असार ४   काठमाडौंको माइतीघर मण्डलामा बिहानदेखि बेलुकासम्म चलिरहने सहरको भीडबीच एउटी युवती काखमा तीन महिनाको शिशु च्यापेर चुपचाप बसिरहेकी छन् । सडकको चिसो ढुंगामाथि लगातार आठ दिनदेखि बसेकी उनी न्यायको खोजीमा थकित छन्, तर हार मान्न तयार छैनन् । उनको मौन उपस्थिति अहिले केवल व्यक्तिगत पीडा होइन, राज्यको न्याय प्रणालीप्रति उठेको गम्भीर प्रश्न बनेको छ ।

जाजरकोटकी २७ वर्षीया साराकुमारी शाही (शर्मिला) बलात्कारपछि न्याय र क्षतिपूर्तिको माग गर्दै फेरि माइतीघर मण्डलामा फर्किएकी हुन् । केही महिनाअघि पनि उनी यही स्थानमा न्यायको माग गर्दै धर्नामा बसेकी थिइन् । त्यसबेला राज्यपक्षबाट आएको आश्वासनपछि आन्दोलन स्थगित गरेर गाउँ फर्किएकी उनी अहिले फेरि त्यही ठाउँमा, तर यसपटक काखमा नवजात शिशु बोकेर बसेकी छन् । साराकुमारीका अनुसार मंसिर २५ गते आफूमाथि भएको बलात्कारपछि उनी गर्भवती भएकी थिइन् । घटनापछि न्यायको माग गर्दै उनी माघको अन्तिम सातासम्म लगातार माइतीघर मण्डलामा धर्नामा बसेकी थिइन् । त्यस समयमा प्रहरी प्रशासनले आरोपीलाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाउने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएको थियो । सोही आश्वासनपछि उनले आन्दोलन स्थगित गरेकी थिइन् ।

तर उनका अनुसार आश्वासन व्यवहारमा परिणत भएन । गाउँ फर्किएपछि केही समयमै उनले शिशु जन्माइन्, तर त्यसपछि पनि उनको जीवन सहज हुन सकेन । उनीमाथि निरन्तर धम्की आउन थालेको, सामाजिक सञ्जालमार्फत बदनाम गर्ने प्रयास भएको र परिवारलाई समेत त्रास देखाइएको उनले बताउँछिन् । सुरक्षित बस्ने ठाउँ नभएपछि उनी फेरि काठमाडौं फर्किन बाध्य भइन् । ‘कुटपिट गर्ने, नाङ्गा फोटो बनाएर सामाजिक सञ्जालमा हालिदिने धम्की आउँछ,’ उनी भन्छिन्, ‘त्यसैले कतै बस्न सक्ने अवस्था नै रहेन ।’ साराकुमारीले थप आरोप लगाउँदै थुनामा रहेका आरोपीबाट समेत फोनमार्फत धम्की आइरहेको बताएकी छन् । यसले आफू र आफ्नो परिवार अझै असुरक्षित रहेको उनको भनाइ छ । यस विषयमा प्रहरीले भने आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

हाल उनको मुद्दा जिल्ला अदालत सुर्खेतमा विचाराधीन छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता गरिएको जाहेरीपछि आरोपी पक्राउ परेका थिए र मुद्दा अदालतमा पुगेको हो । पीडित सहायता, क्षतिपूर्ति र पुनःस्थापना राज्यका कानुनी व्यवस्था भए पनि व्यवहारमा ती सेवा प्रभावकारी रूपमा नपुगेको गुनासो बारम्बार उठ्ने गरेको छ । साराकुमारीको अनुभव पनि यही वास्तविकतासँग मेल खान्छ । उनी भन्छिन्, आरोपी पक्राउ परेपछि क्षतिपूर्ति र सहयोग सुनिश्चित हुने आश्वासन पाए पनि अहिलेसम्म कुनै सहयोग प्राप्त भएको छैन । ‘धर्ना तोडेर गाउँ गएँ, बच्चा जन्मियो, तर अहिलेसम्म एक रुपैयाँ पनि सहयोग आएको छैन,’ उनको गुनासो छ ।

माइतीघर मण्डलामा अहिले उनी न्यायको प्रतीक्षामा दिन कटाइरहेकी छन् । काखमा शिशु, आँखामा थकान र मनमा अनिश्चित भविष्य बोकेकी उनको अवस्था संवेदनशील मात्र होइन, राज्यको जिम्मेवारीप्रति प्रश्न उठाउने खालको छ । धर्ना सुरु भएको केही दिनपछि गृहमन्त्री सुधन गुरुङले उनलाई भेटेर न्यायका लागि पहल गर्ने आश्वासन दिएको उनले बताएकी छन् । तर आश्वासनले मात्र आफ्नो जीवन नबदलिने उनको बुझाइ छ । ‘आश्वासन धेरै पाएँ, अब काम चाहिन्छ,’ उनी भन्छिन् ।

साराकुमारी शाहीको यो संघर्ष अहिले व्यक्तिगत पीडाभन्दा माथि उठेर न्याय प्रणालीको प्रभावकारिता, पीडित संरक्षण र राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न बनेको छ । माइतीघर मण्डलाको खुला आकाशमुनि शिशु च्यापेर बसेकी उनी न्याय मागिरहेकी छैनन्, बरु देशको संवेदनशील न्याय प्रणालीलाई नै कठघरामा उभ्याइरहेकी छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।