नेपालगन्ज, साउन ८ बाँके जिल्लास्थित संघीय कार्यालयहरूले आर्थिक वर्ष २०८२/८३ मा ८६.७४ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । चालूतर्फ उच्च खर्च प्रगति भए पनि पुँजीगत खर्च अपेक्षाकृत कमजोर रहँदा समग्र वित्तीय प्रगति शतप्रतिशत नपुगेको देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार बसेको जिल्ला स्तरीय कार्यालय प्रमुखहरूको आर्थिक वर्ष २०८३/८४ को पहिलो नियमित बैठकमा प्रस्तुत समीक्षा प्रतिवेदनअनुसार संघीय कार्यालयहरूको चालूतर्फ ९३.७४ प्रतिशत र पुँजीगततर्फ ७२.९४ प्रतिशत वित्तीय प्रगति भएको छ । बैठकमा गत आर्थिक वर्षको उपलब्धि र चुनौतीहरूको समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/८४ का स्वीकृत कार्यक्रमहरू स्पष्ट कार्ययोजनासहित प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ । सेवा प्रवाहलाई अझ सरल, नागरिकमैत्री, गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाउने विषयमा कार्यालय प्रमुखहरूबीच छलफल भएको थियो ।
समीक्षाअनुसार प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूको वित्तीय प्रगति भने संघीय कार्यालयको तुलनामा कम देखिएको छ । प्रदेश कार्यालयहरूले समग्र ६२.६० प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । प्रदेशतर्फ चालू खर्च ६९.६० प्रतिशत र पुँजीगत खर्च ५८.५० प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । राजस्व परिचालनमा भने संघीय कार्यालयहरूले उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । गत आर्थिक वर्षमा जिल्लास्थित संघीय कार्यालयहरूले २८ अर्ब ६८ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेका छन् भने प्रदेश कार्यालयहरूबाट १ अर्ब १२ करोड ९६ लाख रुपैयाँ राजस्व परिचालन भएको बैठकमा जानकारी दिइयो ।
बैठकले चालु आर्थिक वर्षका विकास आयोजना तथा सेवा प्रवाहका कार्यक्रमहरू समयमै सम्पन्न गर्न कार्यालयहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने, बजेट कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्ने तथा विशेषगरी पुँजीगत खर्चको प्रगतिमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।















