२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

जयेन्दु बालसुधार गृहका अधिकांश बालकमा छाला रोगको संक्रमण, भेरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

नेपालगञ्ज, श्रावण ८।  बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका अधिकांश बालकमा छाला रोगको संक्रमण देखिएको छ। भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३६औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरेको एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरका क्रममा गरिएको स्वास्थ्य परीक्षणबाट यस्तो अवस्था सार्वजनिक भएको हो।

भेरी अस्पतालले एडभोकेसी फोरम नेपाल र जयेन्दु बालसुधार गृहसँगको समन्वय तथा सहकार्यमा आयोजना गरेको शिविरमा सुधार गृहमा रहेका २७३ बालकमध्ये ९८ जनाले विशेषज्ञ स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन्। स्वास्थ्य परीक्षणपछि आठ जनालाई थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको छ। शिविरमा मनोसामाजिक परामर्श तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा सबैभन्दा बढी छाला रोगका बिरामी भेटिएका छन्। परीक्षण गरिएका ९८ बालकमध्ये ७३ जनामा छाला रोग, १४ जनामा मेडिसिनसम्बन्धी समस्या, १२ जनामा नाक–कान–घाँटीसम्बन्धी समस्या, पाँच जनामा मानसिक स्वास्थ्य समस्या तथा चार जनामा दन्तसम्बन्धी समस्या देखिएको स्वास्थ्य टोलीले जनाएको छ। केही बालकमा एकभन्दा बढी स्वास्थ्य समस्या समेत रहेको चिकित्सकहरूले बताएका छन्।

छाला तथा यौनरोग विशेषज्ञ डा. सुवास पौडेलका अनुसार अधिकांश बालकमा लुतो र दादजस्ता संक्रामक छाला रोग देखिएको छ। सुधार गृहमा बसोबास, सरसफाइ तथा व्यक्तिगत स्वास्थ्य व्यवस्थापनमा थप सुधार आवश्यक रहेको उनको भनाइ छ।

मानसिक रोग विशेषज्ञ डा. दिप्ती काफ्लेले केही बालकमा डिप्रेसन, चिन्ता (एन्जाइटी) तथा एक जनामा आत्महत्याको सोचसम्म आउने गम्भीर मानसिक समस्या देखिएको जानकारी दिइन्। उनले सुधार गृहमा नियमित मानसिक स्वास्थ्य सेवा र मनोसामाजिक परामर्शको आवश्यकता औँल्याइन्।

नाक–कान–घाँटी विशेषज्ञ डा. दिनेश चौधरीका अनुसार केही बालकमा कान पाक्ने, सुनाइ कम हुनेलगायतका समस्या देखिएका छन् भने दन्तरोग विशेषज्ञ डा. विवेक कुमार महतोले दाँतमा किरा लाग्ने, गिजा सुन्निने तथा दन्तहर्षजस्ता समस्या बढी देखिएको बताए। कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसालका अनुसार पेट दुख्ने, कमजोरी महसुस हुने र छाती दुख्ने समस्या भएका बालक पनि भेटिएका छन्।

शिविरमा मेडिसिन, छाला तथा यौनरोग, मानसिक स्वास्थ्य, बालरोग, दन्त, नाक–कान–घाँटी सेवा, मनोसामाजिक परामर्श तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। स्वास्थ्य टोलीमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसाल, छाला तथा यौनरोग विशेषज्ञ डा. सुवास पौडेल, मानसिक रोग विशेषज्ञ डा. दिप्ती काफ्ले, बालरोग विशेषज्ञ डा. कुलदेव गोइत, नाक–कान–घाँटी विशेषज्ञ डा. दिनेश चौधरी, दन्त विशेषज्ञ डा. विवेक कुमार महतो, मेडिकल अधिकृत डा. आनन्द न्यौपाने, फार्मेसी प्रमुख पदम अर्याल, नर्सिङ प्रशासक पदमा देवकोटा, नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवाली, नर्स एलिसा शिवहरि तथा मनोसामाजिक परामर्शदाता रुपा रावतलगायत सहभागी थिए।
नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता

शिविर उद्घाटन कार्यक्रममा बोल्दै भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बाँके जिल्ला अदालतसँग भएको पूर्वसम्झौताअनुसार अबदेखि जयेन्दु बालसुधार गृहमा नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले कानुनी विवादमा परेका बालकहरूको स्वास्थ्य सेवामा निरन्तर पहुँच सुनिश्चित गरिने बताउँदै सुधार गृहमा रहेका बालकहरूलाई आफ्नो जीवन सुधारेर जिम्मेवार नागरिकका रूपमा समाजमा पुनःस्थापित हुन प्रेरित गरे। रामायणका रचयिता वाल्मीकि ऋषिको उदाहरण दिँदै उनले ‘एकपटक गल्ती गर्दैमा जीवनभर दोषी ठहरिनु नपर्ने’ उल्लेख गर्दै सुधार गृहको उद्देश्य सजाय होइन, सुधार र पुनर्स्थापना भएको बताए।

भेरी अस्पताल विकास समितिका निमित्त अध्यक्ष डा. डक्टप्रसाद धितालले कानुनी विवादमा परेका बालकहरू निराश नभई आफूलाई सुधार्दै समाजका असल नागरिक बन्नुपर्नेमा जोड दिए।

नियमित स्वास्थ्य सेवाको माग

कार्यक्रममा कानुनी विवादमा परेका बालकहरूको तर्फबाट बोल्दै परिवर्तित नाम ‘कैलाली–७१, सुख्खड–४८’ ले सुधार गृहमा रहेका धेरै बालक छाला, कान, दाँत तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको उल्लेख गर्दै नियमित स्वास्थ्य शिविर सञ्चालन गर्न आग्रह गरे।
जग्गादाता समाजसेवी जयकेश सिंहले बालसुधार गृहलाई वास्तविक अर्थमा सुधार र पुनर्स्थापनाको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक तथा कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतमले कानुनी विवादमा परेका बालकहरूले पनि शिक्षा, स्वास्थ्यलगायत संविधान र बालअधिकारसम्बन्धी कानुनले सुनिश्चित गरेका आधारभूत अधिकार पूर्णरूपमा उपभोग गर्न पाउनुपर्ने बताए। उनले बालसुधार गृहलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधारमुखी बनाउँदै न्यूनतम आधारभूत बालअधिकारको संरक्षण सुनिश्चित गर्न सम्बन्धित सबै निकायले साझा रूपमा काम गर्नुपर्नेमा जोड दिए।

बालसुधार गृहका प्रमुख किशोर शर्माले स्वास्थ्य शिविरले बालकहरूको स्वास्थ्य अधिकार कार्यान्वयनमा महत्त्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै यस्ता विशेषज्ञ स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याए।

भेरी अस्पताल विकास समितिका निमित्त अध्यक्ष डा. डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, समाजसेवी जयकेश सिंह, अधिवक्ता बसन्त गौतम, बालसुधार गृह प्रमुख किशोर शर्मा, पत्रकार गजेन्द्र गुरुङ लगायतको सहभागिता रहेको थियो।

स्वास्थ्य शिविरले कानुनी विवादमा परेका बालकहरूको स्वास्थ्य अवस्था पहिलोपटक विशेषज्ञ स्तरबाट विस्तृत रूपमा परीक्षण गरेको र सुधार गृहमा छाला रोगसँगै मानसिक स्वास्थ्य समस्या समेत उल्लेखनीय रहेको तथ्य उजागर गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। नियमित स्वास्थ्य परीक्षण, सरसफाइ व्यवस्थापन, मानसिक स्वास्थ्य सेवा तथा निरन्तर उपचारको व्यवस्था गर्न सके सुधार गृहमा रहेका बालकहरूको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार ल्याउन सकिने चिकित्सकहरूको निष्कर्ष रहेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।