२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

‘ह्याकिङ’ र अनधिकृत ‘म्यासेज’को पीडा

नेपालगन्ज, मंसिर २४ नेपालगन्जस्थित भवानीयापुरकी एक शिक्षिकाले अनुभव गरेको डिजिटल पीडा आजको समाजमा प्रविधिको दोहोरो प्रभावलाई उजागर गरेको छ । फेसबुक म्यासेन्जरमार्फत उनलाई नभएको तर अनाधिकृतरूपमा पैसा माग्ने म्यासेज र केही अश्लील तस्विरहरू सेयर भयो । ह्याकरले उनको अकाउन्ट ह्याक गरी यो काम गरेका थिए । घटनाबारे तत्काल थाहा पाएपछि उनी जिल्ला प्रहरी कार्यालय बाँके पुगिन् र उजुरी दिइन् । तर, कानुनी प्रक्रियाको जटिलताले उनलाई न्याय पाउन सजिलो भएन । उनका अनुभवले देखाउँछ, प्रविधिको सहज पहुँच भए पनि यसको दुरुपयोगले व्यक्तिगत र सामाजिक जीवनमा गहिरो असर पार्न सक्छ ।

उनै शिक्षिकासँगै नेपालगन्जस्थित राँझाकी एक व्यवसायी महिलाले पनि यस्तै समस्याको सामना गर्नुपर्‍यो । उनीहरूले उजुरी दिएका भए पनि कानुनी प्रक्रियामा समय र ऊर्जा खर्च गर्ने चुनौती उनीहरूलाई थाहा भयो । यस्ता समस्या सामाजिक विकास मन्त्रालयको आयोजनामा १६ दिने ‘लैंगिक हिंसाविरुद्ध अभियान’ अन्तर्गत मंगलबार नेपालगन्जमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पनि उठाइए । सहभागीहरूले साझा अनुभवका माध्यमबाट एकदमै स्पष्ट रूपमा बताए, सामाजिक सञ्जालमा बढ्दो प्रविधि प्रयोगले लैंगिक हिंसाका घटनालाई थप व्यापक र जटिल बनाइरहेको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रविधिको दुरुपयोगबाट हुने हिंसाको स्वरुप परिवर्तन हुँदै गएको बताए । उनले भनिन्, ‘पारिवारिक पीडा नै सामाजिक पीडा हो । समाज बनाउने जिम्मा हामी सबैको हो । प्रविधि आफैं गलत होइन, यसको प्रयोग कसरी र कुन नियतले भइरहेको छ भन्ने कुरामा दुरुपयोग वा सदुपयोग ठहर हुन्छ । यसैले हिंसा रोक्न प्रविधिको सही सदुपयोग आवश्यक छ ।’ मन्त्री तिमिल्सिनाले अभिभावकहरूले आफ्ना सन्तानलाई डिजिटल साक्षरता प्रदान गर्नुपर्ने र विद्यालय तथा परिवारबाटै हिंसाविरुद्ध सचेतना अभियान सुरु गर्नुपर्नेमा जोड दिइन् ।

सामाजिक विकास मन्त्रालयकी बरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले प्रविधिको विकाससँगै लैंगिक हिंसाका स्वरुप र आयाम पनि परिवर्तन भइरहेका बताइन् । उनले समाजका सबै तहमा ऐक्यवद्धता आवश्यक रहेको भन्दै, ‘लैंगिक हिंसाविरुद्धको चेतना १६ दिनसम्म मात्र सीमित नराख्नुपर्छ । यसलाई निरन्तरता दिँदै सामाजिक, शैक्षिक र कानुनी पहल गर्नुपर्छ,’ भनिन् ।

अन्तर्क्रियामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्टले प्रविधिको दुरुपयोग र त्यसबाट हुने अपराधका उदाहरण प्रस्तुत गरे । लुम्बिनी प्राविधिक विश्वविद्यालयका वरिष्ठ उप–प्राध्यापक प्रतिक चन्दले डिजिटल प्लेटफर्ममा हुने हिंसाको प्रवृत्ति, सुरक्षा उपाय र सचेतनाबारे प्रस्तुती दिएका थिए । सहभागीहरूले प्रदेशमा हुने हिंसाका कारण, स्वरुप र रोकथाममा उनीहरूले खेल्न सक्ने भूमिका बारे खुला छलफल गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, प्रदेशसभा सदस्य सुशिलावादी र सञ्जु कुमारी चौधरी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उप–कुलपति डा. विनोद ढकाल, प्रहरी नायब महानिरीक्षक राजेन्द्र भट्ट र पत्रकार महासंघ लुम्बिनी अध्यक्ष शुक्रऋषि चौलागाईंले पनि लैंगिक हिंसा रोक्न समाजका सबै तहबाट सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । सहभागीहरूले सामूहिक रुपमा लिखित प्रतिबद्धता पनि जनाए, जसले भविष्यमा प्रविधि र सामाजिक सञ्जालको प्रयोगमा सतर्कता र जिम्मेवारी सुनिश्चित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरियो ।

नेपालगन्जमा भएको यो अभियानले स्पष्ट पारेको छ कि प्रविधि र सामाजिक सञ्जालको पहुँचले लैंगिक हिंसालाई दृष्टिगत रूपमा छिटो र व्यापक बनाएको छ । तर, सही सदुपयोग र समयमै सचेतना फैलाउने कामले यसलाई न्यूनिकरण गर्न सकिन्छ । घटना साना र व्यक्तिगत देखिए पनि यसको असर परिवार र समाजमा व्यापक रूपले परेको छ । आजको डिजिटल युगमा हिंसा रोक्न, सामाजिक सञ्जालमा हुने दुरुपयोग रोक्न र प्रविधिको सही उपयोग सुनिश्चित गर्न सबैको सक्रियता आवश्यक रहेको अभियानका सहभागीहरूले जोड दिएका छन् ।

यस अन्तर्क्रियाले एउटा सन्देश पनि दिएको छ—प्रविधि आफैंमा खतरनाक छैन, तर यसको दुरुपयोगबाट उत्पन्न हिंसा रोक्न जागरूक समाज, जिम्मेवार प्रयोगकर्ता र प्रभावकारी कानुनी व्यवस्था अनिवार्य छ । भविष्यमा लैंगिक हिंसा न्यूनीकरण र डिजिटल सुरक्षा सुनिश्चित गर्न, परिवार, विद्यालय र समाजले मिलेर निरन्तर पहल गर्नु अनिवार्य देखिन्छ ।

यो अभियान केवल १६ दिनसम्म सीमित छैन, यसको प्रभाव र चेतनालाई निरन्तरता दिँदै समाजलाई हिंसाविरुद्ध सचेत र सशक्त बनाउनु सबैको साझा जिम्मेवारी हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।