२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

बाँसको अस्थायी पुलमा स्थानीयको दैनिकी

भैरहवा, फागुन २९  बिहानको चिसो र धुंधमा धर्मेन्द्र लोध नदी किनारमा उभिएर हेरिरहेका छन् । उनको नजरले दानव नदी पार गर्ने बाँसको अस्थायी पुलतिर लाग्छ । ‘अहिले त अलिअलि सुविधा छ, तर वर्षा सुरु भएपछि यहाँ पानीमा हेलिएर जानुपर्छ,’ धर्मेन्द्रले ढुक्कसँग भने । यही पुल उनको दैनिक यात्रा र जीवनसँग जोडिएको छ । घर, खेत, र बजार यही बाटोले जोडिएको छ ।

भभइ–भटौलिया आसपासका बासिन्दा पक्की पुल नहुँदा अझै जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । नदीमा अहिले केवल काठको डुंगा र बाँसको अस्थायी पुलको सहारा छ । स्थानीय कोइल लोधका अनुसार नदीको वारि भटौलिया र पारि भभइ पर्छ । अहिले दुबे थुम्हवाका एक मल्लाहले अस्थायी पुल बनाएर मानिसलाई पार गराइरहेका छन् । ‘धेरै दुःख गरेर पुल बनाउनुहुन्छ । यसले उहाँको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउजाउ गर्न सजिलो भएको छ,’ कोइलले भने ।

स्थानीय कुमार लोधले बताए अनुसार दुवैतर्फका किसानको खेतीपाती नदीपारि रहेकोले आवतजावत झन् कठिन बनेको छ । ‘बाढी आउँदा त कोही आउजाउ गर्न सक्दैनन्,’ उनले भने । वर्षा सुरु भएपछि बाँसको अस्थायी पुल प्रयोग गर्न नसकिने भएकाले स्थानीयलाई पक्की पुलको आवश्यकता अझै महसुस हुन्छ । स्थानीय मल्लाह परिवारले पुल बनाउन दिनरात काम गर्दै आएका छन् । बासमती मल्लाह दिनभरि घाटमै बस्छिन् र परिवारका तीन जनाले मिलेर पुल बनाउँछन् । उनी बताउँछिन्, ‘पुल बनाउँदा दिनमा १००–२०० रुपैयाँसम्म आम्दानी हुन्छ । यात्रुहरूले कहिले नगद, कहिले धान, चामल, गहुँ पनि दिन्छन् । हाम्रो मुख्य आम्दानी यही घाटबाट नै चलेको छ ।’

वरपरका १०–१२ गाउँका करिब १ हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्ने भएकाले वर्षौंदेखि स्थानीयहरूले सरकारसँग पक्की पुल निर्माणको माग गर्दै आएका छन् । बाँसको अस्थायी पुलले अहिलेको आवतजावत सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि पक्की पुल अपरिहार्य बनेको स्थानीयहरूको भनाइ छ । सडकको हरियाली, नदीको बगान र घाटमा काम गर्दै गरेको मल्लाह परिवारको दृश्यले यहाँको संघर्ष र आत्मनिर्भरतालाई देखाउँछ । स्थानीयहरूका लागि यो पुल केवल आवतजावतको माध्यम होइन, जीवनको पहुँच र जीविकोपार्जनको आधार पनि हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।